रमझम
योग गुरु इरिना
धरानमा चार
वर्षअघि सम्पन्न मेगा मोडल २००३ को उपाधि जिते पनि इरिना प्रधानाङ्गले
फेशन/ मोडलिङलाई निरन्तरता दिइनन्। किनकि, मोडलिङतिर भन्दा पनि उनको
ध्यान योग साधनातिर गयो। धरान कलेज अफ म्यानेजमेण्टमा अध्ययनरत इरिना
धरान फिजिकल फिटनेश सेण्टरकी योग प्रशिक्षक हुन्। आफ्नै परिवारलेे
सञ्चालन गरेको फिजिकल फिटनेश सेण्टरमा उनका दाइले जीम हल चलाउँछन्
भने उनी योगाको नियमित कक्षा सञ्चालन गर्छिन्। हाल दैनिक डेढ दर्जन
तन्नेरी तथा अधबैँसेलाई योग सिकाउँदै आएकी इरिना भन्छिन्, “योग गर्नाले
शरीर र दिमाग दुवै स्वस्थ रहन्छ नै, यसबाट आध्यात्मिक शान्ति पनि मिल्छ।”
इरिनाको परिवारमा बुबा राजभगत बडी बिल्डिङ खेलका अन्तर्राष्ट्रिय
निर्णायक हुन् भने दाजु कविर मिस्टर धरान। अनि, भाउजू पहिलो मिस कोशी
१९९८ की विजेता हुन्। बहुआयामिक परिवारकी इरिना आफ्नै बुबा र विभिन्न
योग शिविरबाट योग सिकेको बताउँछिन्। फेशन डिजाइनको प्रशिक्षण समेत
लिएकी इरिना भविष्यमा व्यापारतिर लाग्ने, नमिले फेशन डिजाइनर बन्न
चाहन्छिन्। भन्छिन्, “पहिले पढाइ पूरा गर्छु, त्यसपछि के गर्ने भन्ने
सोचँुला।” इरिनालाई प्रेमपछिको 'एरेञ्ज्ड म्यारिज' मनपर्छ। तर, आफूले
अहिले नै बिहेबारे नसोचेको बताउँदै उनले भनिन् “मेरो कुनै योजना छैन
र घरमा पनि बिहेको कुरा चलेको छैन।”
अनुशील
तस्बिर: यात्रा थुलुङ
स्थान: इकिमा फोटो
पहिरन: गाइज एण्ड डल्स/ क्रेज, धरान
रमझम रिपोर्ट
मह का तीन दशक
महको तीन दशक लामो सहयात्रा मह जत्तिकै गुलियो र गुनिलो पनि
छ।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| मीन बज्राचार्य |
नेपाली कला क्षेत्रमा
तीन दशकदेखि निरन्तर छाइरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)
जोडीको प्रस्तुति हेर्न आज पनि दर्शक उत्तिकै मरिहत्ते गर्छन्। दुवैको
पहिलो प्रहसन ब्याङ्केश्वर देखि हाल टेलिभिजनमा प्रसारण भइरहेको मदनबहादुर–हरिबहादुर
सम्म आइपुग्दा महले नेपालीमाझ जनकलाकारका रूपमा विशिष्ट पहिचान बनाइसकेका
छन्।
विज्ञापन, दशैँ, १५ गते, भकुण्डे भूत, रात, लक्ष्मी होस् या लालपुर्जा,
कान्तिपुर, राजमार्ग या टिकेको तीन मन्त्र, मह चौतारी– मह जोडीका सबै
प्रस्तुतिले दर्शकमा अमिट छाप छाडेका छन्। तीन दर्जनभन्दा बढी टेलिसिरियल,
डेढ दर्जन चलचित्र र सयाँै रङ्गमञ्चका प्रस्तुतिहरूले विषयवस्तु र
अभिनय क्षमताका कारण पनि दर्शकमा अमिट छाप छाडेका छन्। दर्शकको बढ्दो
मागकै कारण महका पुराना प्रस्तुतिहरूको अडियो 'एमपी थ्री'मा एकैसाथ
बजारमा आएको छ भने पुराना टेलिसिरियलहरू पुनः प्रसारणको पालो पर्खेर
बसेका छन्। यो सहयात्रामा आफ्नो प्रतिभा लिएर संसारका ३१ देशमा पुगिसकेका
छन् मह। हरिवंश भन्छन्, “समाजमा लगातार नयाँ पुस्ताको उदय भइरहे पनि
हाम्रा प्रस्तुतिहरू सबै पुस्ताले निरन्तर आत्मसात् गर्दै लगेकाले
हिजो जत्तिकै जनताको माया आज पनि पाइरहेका छौँ।”
एक्ला–एक्लै र साथ–साथ
 |
| मदनबहादुर–हरिबहादुर को एक दृश्य। |
मदनकृष्ण र हरिवंशको भेट शुरुमा ०३३ सालमा मञ्चमै भएको थियो। पहिलो
पटक एउटै हास्यव्यङ्ग्य कार्यक्रम लिएर मञ्चमा एकै पटक प्रस्तुत हुने
संयोग भने १४ वैशाख २०३७ मा उनीहरूलाई जुरेको हो। नेपाल राष्ट्र ब्याङ्कको
वार्षिकोत्सवमा अलग–अलग कार्यक्रम दिन समय अभाव भएपछि ब्याङ्कमा कार्यरत
रुवी जोशीको अनुरोधमा दुवैले संयुक्त रूपमा ब्याङ्केश्वर नामक प्रहसन
प्रस्तुत गरेका थिए। यही मञ्चबाट दुवैको सहयात्रा शुरु भएपनि मदनकृष्णको
२०२२ सालबाटै र हरिवंशले २०३१ सालदेखि कलायात्रा शुरु गरेका हुन्।
हरिवंश (४९) सँग भेट हुनुभन्दा १५ वर्ष अघिदेखि नै कलाकारका रूपमा
दरिएका मदनकृष्ण (५८) सानैदेखि गीत गाउँथे। २०२२ सालमा रेडियो नेपालमा
गीत गाएका थिए उनले। २०२८ सालमा नेवारी भाषा संरक्षण गर्न स्थापित
संस्था मुनासका सचिव बनेका मदनकृष्णले गायनबाट त्यसबेलै उत्कृष्ट पुरस्कारहरू
पनि जितेका थिए। घर खर्च टार्न १४ वर्षको उमेरमै शिक्षक समेत बनेका
उनी ०२३ सालमा सञ्चयकोषको जागिरे समेत भए। ०३४ सालबाट उनले कृषि सूचना
शाखाबाट रेडियो नेपालमा रसरङ्ग नामक कार्यक्रम समेत सञ्चालन गरे। २०३२
सालमा राष्ट्रिय गाईजात्रा महोत्सव शुरु भएदेखि नै मदनकृष्ण त्यसको
एक प्रमुख आकर्षण बन्दै आएका थिए। उनी भन्छन्, “सँगै काम थाल्नुअघि
दुवैको चिनजान भएपनि हामी एउटै मञ्चमा अलग–अलग कार्यक्रम लिएर प्रतिस्पर्धी
जस्तै प्रस्तुत हुन्थ्याँै।”
मदनकृष्णसँग सहयात्रा गर्नुअघिका ६ वर्ष हरिवंशले कला क्षेत्रमा एक्लै
सङ्घर्ष गरेका थिए। ०३१ सालतिरै हरिप्रसाद रिमाल, जितेन्द्र महत अभिलासीसँग
रेडियोमा नाटकहरू गरेका उनी एक वर्षपछि राष्ट्रिय नाचघरमा जागिर खान
पुगेका थिए। २०३४ सालदेखि गाईजात्रा महोत्सवमा सहभागी भएका हरिवंश
अरूको क्यारिकेचर गर्नमा माहिर छन्। उनी सुरुआती दिनमा राति राति सडकमा
हिँड्दा कुकुरको आवाज निकालेर सडककै 'भुस्याहा' कुकुरलाई जिस्क्याउँथे।
सानै छँदा बुबा–आमा दुवैलाई गुमाएका हरिवंशले जीविकोपार्जन गर्न कलिलै
उमेरमा अनेकौँ काम गर्नु परेको थियो। पछि उनको कलाले मञ्च पाउन थालेपछि
निक्कै पुरस्कारहरू पनि जितेका थिए। मदनकृष्णसँगको पहिलो प्रस्तुति
दर्शकले निक्कै रुचाएका कारण सहयात्रा शुरु भएको उनी बताउँछन्। भन्छन्,
“ब्याङ्केश्वर पछि गाईजात्रा महोत्सवमा एकैसाथ यमलोक र प्यारालाइसिस
देखाएपछि हाम्रो सहयात्राले गति लियो।” त्यसपछि एक्ला–एक्लै भन्दा
साथ–साथ प्रस्तुत हुँदा नामसँगै दाम पनि निक्कै पाउन थालेपछि दुवै
हौसिए।
 |
| २०३७ सालको गाईजात्रामा प्रस्तुत महको दोस्रो प्रहसन यमलोक को
दृश्य। |
हरिवंश भन्छन्, “२०४० सालतिर हामीले एउटा शो गर्दा ५ हजार पाउँथ्याँै
भने त्यसको तीन वर्षभित्रै एउटा कार्यक्रमका आयोजकले एक लाख दिन थाले।”
मदनकृष्ण थप्छन्, “एक्लै मञ्चमा प्रस्तुत हुँदा पनि रमाइलै थियो, माया
उत्तिक्कै पाइन्थ्यो तर आर्थिक रूपमा केही हुन्नथ्यो।” हुनपनि साथ–साथ
काम थालेपछि महले पछाडि फर्केर हेर्नै परेन, सहयात्राले आर्थिक उन्नतिको
बाटो पनि खोल्यो। हुन पनि भिडियो, टेलिभिजन नभएको त्यो समयमा मञ्चमा
महको भाउ ह्वात्तै आकासियो। २०३७ सालमा गाईजात्रामा प्रस्तुत गरेको
प्रहसन यमलोक आफैँले अडियोमा रेकर्ड गरेर बेच्दा १ लाख ५० हजार प्रति
अल्बम हाताहात बिक्री भएको मह सम्झन्छन्। नेपालमा हास्यव्यङ्ग्यलाई
अडियोमा ल्याउने श्रेय यो जोडीलाई नै जान्छ। देशभरका मञ्चहरूमा ३७६
पटक प्रदर्शन गरिएको प्रहसन विज्ञापन ले मात्र २०४१ सालमा रु.४४ लाखको
कारोबार गरेको थियो। आज महको संस्था मह सञ्चार मा नियमित ५० जना भन्दा
बढी कलाकार, प्राविधिकहरूले रोजगारी पाइरहेका छन् भने उनीहरूकै साथ
लागेर दर्जनौँ यस क्षेत्रमा स्थापित कलाकार बनेका छन्।
सहयात्रा सफल बन्दै जाँदा महका प्रस्तुति भने तत्कालीन पञ्चायती शासकका
लागि आँखाको कसिङ्गर बन्दै गएका थिए। कार्यक्रम प्रस्तुत गर्नुअघि
स्थानीय प्रशासनमा सेन्सर गराउनुपर्थ्यो। मदनकृष्ण भन्छन्, “तर, हामी
सेन्सरमा एउटा विवरण दिएर मञ्चमा अर्कै प्रस्तुति गर्दथ्यौँ।” पञ्चायतमाथि
व्यङ्ग्य गर्दा उनीहरू हनुमानढोका खोरमा पनि थुनिए। सोही निहुँमा २०४२
सालमा हरिवंशको राष्ट्रिय ब्याङ्कको जागिर खोसियो। त्यही मेसोमा मदनकृष्ण
पनि जागिर छाडेर पूर्ण रूपले कला क्षेत्रमा होमिए।
रत्नदासदेखि दिव्य सुब्बासम्म
 |
| चर्चित प्रहसन श्राद्ध को एक दृश्यमा महका साथ कलाकार नरेन्द्र
कंसाकार। |
पञ्चायत, प्रजातन्त्र र अहिलेको लोकतन्त्रसम्म आइपुग्दा महले पुराना
सङ्गीतकर्मी मास्टर रत्नदास प्रकाशदेखि नयाँ पुस्ताका पप गायक दिव्य
सुब्बासम्म हरेक पुस्ताका कलाकारसँग एकै मञ्चमा कार्यक्रम प्रस्तुत
गरिसकेका छन्।
सुरुआतमा मञ्चबाट जमेका महले रेडियोमा रसरङ्ग जस्तो चर्चित कार्यक्रम
चलाए, घर–घर अडियोमार्फत् व्यङ्ग्य र चेतनामूलक सन्देश पुर्याए। यसरी
दर्शक–श्रोतामाझ छाइरहँदा भएको टेलिभिजनको प्रवेशले महको प्रतिभालाई
अझ विस्तार गरेर लग्यो। वासुदेव, के घर के डेरा देखि ट्रक ड्राइभर,
लोभीपापी, बलिदान, फिलिम लगायतका चलचित्रहरूमा पनि यो जोडीले जोडदार
अभिनय गरे। हरिवंश भन्छन्, “मञ्च र अडियोमा फड्को मारिरहँदा आएको टेलिभिजनमा
पनि हामी होमियौँ। यस अवधिमा सबै माध्यममा हामीले आफूलाई उतारेका छौँ
र दर्शकले उत्तिकै रुचाएको पाएका छौँ।” मदनकृष्ण थप्छन्, “हिजोदेखि
आजसम्म हाम्रा दर्शक उस्तै छन्, बरु बढेका छन्।” कामलाई नै भगवान मान्ने
मह कामप्रतिको वफादारीकै कारण आफूहरू निरन्तर टिक्न सकेको बताउँछन्।
बहुप्रतिभाशाली मह अभिनय मात्र हैन, कथा, पटकथा, संवाद लेखन, निर्देशनदेखि
चलचित्र निर्माणका सबै काममा पोख्त छन्। तिनका भनाइमा मञ्चमा काम गर्दा
सङ्गीत, भेषभूषा, सजावटसमेतको काममा आफैँ लागेर गर्दा मिहिनेत धेरै
परेपनि स्तरीयता पस्कन सकिन्छ। गायन क्षेत्रमा समेत दुवैले आफ्नो अलग
पहिचान बनाएका छन्। मदनकृष्णको नेपाली र नेवारी भाषामा ६ अल्बम निस्किएका
छन् भने हरिवंशको स्वरमा पनि दुई अल्बम निस्किएका छन्।
जेठको तेस्रो साता राजधानीको बूढानीलकण्ठमा रहेको मह स्टुडियोमा मदनबहादुर–हरिबहादुरको
१२ औं भागको छायाङ्कन गरिरहेका मदनकृष्णले हिमाल सँग भने “एउटा नेवार
र अर्को बाहुनका छोरा एकसाथ सधैँ टिक्दैनन् पनि भन्थे तर, भन्नेहरूले
भनिरहे हाम्रो सहयात्रा झन् प्रगाढ बन्दै गयो।” सँगैका हरिवंशले थपे
“हाम्रो शरीर र दिमागले काम गरुञ्जेल यो साथ टुट्दैन।” हुन पनि आज
महको सहयात्रा र सफलताको कथा एउटा मिथक नै बन्दै गएको छ। नेपाली समाजको
सूक्ष्म चित्रण गर्दै देशको सामाजिक, राजनीतिक विकृतिमाथि प्रहार गर्दै
र समाजमा विद्यमान कुरीति, कु–संस्कार र रोगहरू विरुद्ध चेतना लिएर
दर्शकमाझ प्रस्तुत हुँदै आएका मह साँच्चिकै मह जत्तिकै गुलियो र गुनिलो
पनि छन्। सदैव जनताका पक्षधर रहे मह। २०४६ सालको होस् या २०६२/०६३
को दोस्रो जनआन्दोलन– मह सडकमै थिए।
नीहरूले जनआन्दोलन–२ मा घाइतेहरूको उपचारका लागि सहयोग जुटाउन गरेको
एउटै आह्वानले केही करोड रुपैयाँ सङ्कलन भयो। महप्रति आमजनताको आकर्षण
देखेर कतिले राजनीतिमा लाग्न पनि सल्लाह दिन्छन् तर, उनीहरू जनताको
विश्वास र भरोसालाई राजनीतिमा लागेर डुबाउन चाहँदैनन्। मदनकृष्ण भन्छन्,
“राजनीति गर्ने दिमाग हामीसँग छैन र हामी कुनै पार्टीमा पनि छैनौँ।”
हरिवंश भने राजनीतिज्ञलाई सजग बनाएर लैजान राष्ट्रको पहरेदारको रूपमा
आफूहरू सदैव रहने बताउँछन्।
महका कामहरूलाई एक दर्शक र जनताका रूपमा निरन्तर नियालिरहेका वरिष्ठ
गायक रामेश उनीहरू जनताका कलाकार भएको बताउँछन्। जनआन्दोलनको कथामा
बनेको चलचित्र बलिदान मा एकैसाथ काम गरेका रामेश भन्छन्, “मह आफ्ना
प्रस्तुतिले जति देश र जनताप्रति जिम्मेवार छन् व्यक्तिगत रूपमा पनि
उत्तिकै निष्कपट, इमान्दार र सच्चा देशभक्त छन्।” शुरुमा बलिदान मा
महलाई नायक बनाउने भन्दा सुन्ने जति सबै हाँसेको बताउँदै उनले भने
“तर, बलिदान प्रदर्शन भएपछि हरिवंशको जिवन्त अभिनयका कारण धेरै रोए।”
महले जनताको चलचित्र भनेर बलिदान मा काम गरेको पारिश्रमिक समेत नलिएको
उनले बताए। रामेशका भनाइमा मह आज समाजका मार्गदर्शक र अभिभावकजस्तै
बनेका छन्।
सिर्जनाको सम्मान
विज्ञापनको धार, उद्योग वाणिज्यको आधार' भन्ने नाराका साथ आयोजना
हुँदै गरेको चौथो ओराङ्जेबुङ कृति अवार्ड मा यस वर्ष २४ विज्ञापन एजेन्सीहरूले
भाग लिँदैछन्। सिर्जनाको सम्मानार्थ स्थापना भएको यो अवार्डले विज्ञापन
व्यवसायको क्षेत्रमा नयाँ आयाम थप्दै लगेको छ।
नेपाल विज्ञापन संघ (आन)को आयोजनामा राजधानीको होटेल याक एण्ड यतीमा
१ असारमा सम्पन्न हुने यस कार्यक्रममा यसपटक विज्ञापनका १९ विधालाई
समावेश गरिएको छ। जसमा टेलिभिजन, रेडियोमा प्रसारण भएका तथा पत्र–पत्रिकामा
छापिएका विज्ञापनहरूबाट उत्कृष्ट चयन गरिने छ। आयोजना सम्पन्न गर्न
आनका उपाध्यक्ष राजकुमार भट्टराईको संयोजनमा आयोजक समिति नै गठन भएको
छ।
आनका अध्यक्ष निर्मलराज पौडेल कृति अवार्डले व्यवसायीहरूमा नयाँ उत्साह
थप्दै आएको बताउँछन्। उनी भन्छन्, “एजेन्सीहरूमा नयाँ सिर्जनाका लागि
निक्कै ठूलो प्रतिस्पर्धा छ, जसबाट स्तर वृद्धि पनि भइरहेको छ।”
रमझम
विविध
'ट्यालेण्ट' देखाउन होड
 |
| मीन बज्राचार्य |
वेभ
मिस्टर एण्ड मिस युनिभर्सिटी–२००७ प्रतियोगिताको अन्तिम चरणमा राजधानीका
विभिन्न कलेजमा अध्ययनरत् २४ विद्यार्थी १ असारमा अन्तिम प्रतिस्पर्धा
गर्दैछन्।
प्रतियोगिताका सहभागी १२ छात्रा र १२ छात्रले २८ असारमा
'ट्यालेण्ट शो' गर्ने क्रममा आफूलाई भिन्न–भिन्न रूपमा प्रस्तुत गरे।
अभिनय, नृत्य, गायन, साहित्य तथा वत्तृत्वकलामार्फत् उनीहरूले समाजको
बदलिँदो स्वरुपको चित्रण गरेका थिए। सहभागीमध्ये सौरमराज तण्डुकार,
गौरव खतिवडा र पर्वत श्रेष्ठले जिवन्त अभिनय प्रस्तुत गरे। जया काष्ठकारले
नेवारी वाजा दमौखी बजाइन् भने प्रज्ञा मानन्धर, इशा बज्राचार्य, रोशना
कार्की, इशा श्रेष्ठ, दुर्गा थापा मगर, निमेशमान तण्डुकार र सुलक्षण
भारतीले नृत्य गरेका थिए। डेविड शाक्य, आकृति श्रेष्ठ र अनुज थापाले
गीत गाए। त्यस्तै विक्रमसिंह बस्नेत, रमिला श्रेष्ठ, स्वेच्छा अधिकारी,
हेम्बुङ राई र सुस्मिता ताम्राकारले वत्तृत्वकला प्रदर्शन गरेका थिए।
समीक्षा भट्टराई, विश्वास केसी र अमृत परियारले कविता सुनाए। आफ्नो
प्रतिभा प्रस्तुत गर्ने क्रममा हेमन्त कुमार रौनियारले योग अभ्यास
देखाए भने अर्पणा सिंहले पवनकली बनेर सबैलाई हँसाइन्।
दुई साताको प्रशिक्षणका क्रममा सहभागीहरूले व्यक्तित्व
विकास तालिमसँगै विभिन्न चेतनासम्बन्धी प्रशिक्षण लिएका थिए। उनीहरूले
भक्तपुर क्यान्सर अस्पताल, सुस्तमनस्थितिहरूको जीवन कल्याण केन्द्रको
भ्रमणसँगै बाग्मती नदी सरसफाई कार्यक्रममा समेत सहभागी भएका थिए।
हिमाल मिडियाको आयोजना, यामाहा ग्लाडिएटरको प्रस्तुति
रहेको वर्ल्ड क्राप नेपालको कार्यक्रम रहेको आयोजनाको उपाधी विजेता
छात्रा–छात्रले यामाहाको ग्लाडिएटर मोटरसाइकल र मोपेड स्कुटर पुरस्कार
साथै उनीहरूले दक्षिण कोरियामा हुने मिस्टर एण्ड मिस युनिभर्सिटी–२००७
को अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुन् पाउनेछन्। अन्तर्राष्ट्रिय
सम्मेलन केन्द्रमा हुने यस प्रतियोगितामा अन्य ६ उपाधिहरू समेत राखिएका
छन्। आयोजनाको 'इभेण्ट' व्यवस्थापन वीज इण्टरनेशनल र कोरियोग्राफरमा
प्रशान्त ताम्राकार रहेका छन्।
नेपाली पहिचान
दार्जीलिङका २४ वर्षे
नेपाली ठिटो प्रशान्त तामाङ २६ जेठमा भारतीय टेलिभिजन च्यानल सोनीको
'इण्डियन आइडियल'को अन्तिम प्रतिस्पर्धामा छनौट भएपछि नेपालीहरूका
आँखाका तारा नै बनेका छन्। उनको प्रतिभाले भारतीय दर्शकमाझ नेपाली
पहिचान प्रस्तुत गरेको छ।
आफ्ना बुबाको निधनपछि १९ वर्षको उमेरमै कोलकाता पुलिसमा सिपाहीको
जागिर खान पुगेका प्रशान्तले सङ्गीत प्रशिक्षण लिएका छैनन्। राम्रो
स्वरका कारणले कोलकाता पुलिसको आर्केष्टा विभागमा गीत गाउँदै आएका
उनी प्रतियोगिताको दावेदारमध्येका एक बन्न पुगेका छन्। आकर्षक आवाजका
धनी प्रशान्तको प्रतिभा देखेर प्रतियोगिताका निर्णायक जावेद अख्तर
र अनु मल्लिकले समेत प्रशंसा गरेका छन्। घरमा नेपाली भाषा मात्र बोलिए
पनि प्रशान्तको हिन्दी उचारण अरू भन्दा राम्रो देखेर जावेद त छक्कै
परेका छन्। अर्का निर्णायक उदितनारायण झा र प्रशान्त बीचको नेपालीमै
हुने छोटो–मीठो वार्ताले नेपाली दर्शकको मन छुँदै आएको छ। उनलाई जिताउन
सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङ समेतले सबैमा भोटका लागि आह्वान
गरेका छन्। 'भारतका शान' को रूपमा छानिन लागेको यस प्रतिस्पर्धामा
नेपाली मूलका प्रशान्त 'सर्वोत्कृष्ट' भएको हेर्ने चाहना सबै नेपालीको
छ।
पर्दामा आदिवासी
नेपालमा आदिवासी जनजातिका
भाषामा हालसम्म करिब ८० चलचित्र बनिसकेका छन्। तर, गैर आदिवासी दर्शकबीच
प्रशस्त अन्तरक्रिया हुन भने पाएको छैन। जातीय संस्कृति, संस्कार र
कथावस्तुमा आधारित चलचित्रका बारेमा बृहत् छलफल नभइरहेको अवस्थामा
राजधानीका दर्शकले एकसाथ २० आदिवासी चलचित्र हेर्न पाउने भएका छन्।
नेपाली चलचित्रकर्मीमा रहेको चलचित्र ज्ञानलाई रचनात्मक शैलीमा अभिवृद्धि
गर्न इन्डिजिनियस फिल्म अर्काइभ ले आगामी ८–१० असारमा काठमाडौँमा 'नेपाल
इन्टरनेशनल इन्डिजिनियस् फिल्म फेस्टिभल' (निफ्)को आयोजना गर्न लागेको
हो। महोतसवमा हालसम्म बनेका आदिवासी चलचित्रमध्ये नेपालबाट १५ र अन्य
राष्ट्रका ५ वटा चलचित्र समावेश गरिने भएको छ। आदिवासीका मुद्दाहरू
उठान गर्ने चलचित्रलाई प्राथमिकतामा राखिने आयोजनाका संयोजक चलचित्रकर्मी
नवीन सुब्बाले बताए। सुब्बाका अनुसार आदिवासीसम्बन्धी चलचित्र निर्माण
गरिरहेकाहरूमा पनि सांस्कृतिक परिपक्वताको कमी महसूस भइरहेको छ। गैर
खस संस्कृतिलाई ओझेलमा पार्ने उद्देश्यले चलचित्र निर्माणमा जुन शैली
आयातित वा प्रचलित छ त्यही शैलीलाई अनुसरण गर्दै आदिवासी चलचित्र बनिरहेको
छ। आफ्नो भाषा, संस्कृति र मुद्दालाई सटिक ढङ्गले उठान गर्नबाट उनीहरू
चुकिरहेका छन्। आगामी वर्षदेखि विदेशी आदिवासी चलचित्र र चलचित्रकर्मीलाई
प्रत्यक्ष सहभागी गराई पूर्ण अन्तर्राष्ट्रिय महोत्सवको रूपमा रूपान्तरण
गरिने सुब्बा बताउँछन्।
|