पुस्तक परिचय
पत्रकारको कीर्तिमान डायरी
पुस्तकः डेडलाइन चोमोलोङमा (२०६४)
लेखकः आङछिरिङ शेर्पा
पृष्ठः १८४, मूल्यः रु.२००
हिमाल आरोहणबारे अङ्ग्रेजी भाषाका पुस्तकहरू पर्यटकहरू
धेरै पुग्ने काठमाडौँको ठमेल र पोखरा, लेकसाइडका पत्रिका र पुस्तक
पसलमा प्रशस्तै पाइन्छन्। पर्वतारोहणमा नेपाली शेर्पाहरू विश्वभरि
कहलिएका छन् तर यससम्बन्धी गाइड हुन् वा रोमाञ्चक संस्मरण, तीमध्ये
अधिकांश विदेशीले आफ्नो बुझाइअनुसार लेखेका छन्। तर अहिले आएर नेपालका
पहिलो सगरमाथा आरोही पत्रकार आङछिरिङ शेर्पाले नेपालीमा डेडलाइन चोमोलोङमा
पुस्तक लेखेर आरोहण र लेखन दुवैमा कीर्तिमान कोरेका छन्।
आफ्नो पर्वतारोहण–अनुभवलाई आङछिरिङले २२ आकर्षक शीर्षकमा
उतारेका छन्। सोलुखुम्बु–सल्लेरीको सेर्गा गाउँमा हुर्किँदै गर्दा
आरोहणको सपना साँचेका उनले कान्तिपुर दैनिकमा पर्वतारोहण र हिमाली
पर्यटनलाई पत्रकारिताको बिट बनाउँदा बनाउँदै त्यसलाई अठोटमा बदले।
त्यही अठोटले उनलाई चार वर्षअघि सगरमाथाको चुचुरोमा उकाल्यो। पुस्तकमा
आङछिरिङले आमालाई ढाँटीढाँटी गरेको आरोहणको तयारी, लुक्लादेखि आधारशिविरसम्मको
पदयात्रा तथा सगरमाथा आरोहणको कष्टकर र रोमाञ्चक अनुभवलाई रोचक शैलीमा
प्रस्तुत गरेका छन्।
शेर्पाको पुस्तकमा पर्वतारोहणको परम्परासँग जोडिएका
धार्मिक, आध्यात्मिक प्रसङ्गहरू निकै छन्। रिम्पोचेसँग साइत हेराएको
र आशीर्वाद लिएको, रिम्पोचेको मन्त्र जपेर पाइला सार्दै, भर्याङ्ग
उक्लिँदै शिखरमा पुगेको, तेङबोचे गुम्बाका रिम्पोचेले दिएको विश्वशान्तिको
कलश शिखरमा चढाएको र मियोलोङसामा (सगरमाथादेवी) लाई प्रणाम गरेको घरीघरीका
प्रसङ्गले आरोहीहरू सफलताका लागि भगवानमा बढी नै विश्वास राख्छन् भन्ने
लाग्छ।
अप्रत्याशित रूपमा मौसम बिग्रेर दोस्रो शिविरबाट पहिलो
शिविरमा फर्किँदा विपद्मा परेपछि नेपाल–भारत संयुक्त सैनिक आरोहण दलको
क्याम्पमा आश्रय लिएको, सहयोगी मिन्डु बिरामी भएर फर्किएको, शिखरबाट
फर्किने क्रममा अक्सिजन सिद्धिएर जोखिममा परेको र शिखरमा स्लाइड खिचेको
क्यामेरा तेस्रो शिविरको क्रेबस (हिमखाल्डो) मा खसेको प्रसङ्गले यो
पुस्तक पढ्ने हरेकको मन छुन्छ। सगरमाथा आधारशिविरको साइबर क्याफे,
२५–३० डिग्री सेल्सियस चिसो दोस्रो शिविर र २५ हजार ९ सय फिट उचाइको
साउथ कोलबाट अक्सिजन प्रयोग नगरी समाचार पठाएको अनुभव पढेपछि छिरिङलाई
साहसी आरोही र मेहनती पत्रकार भन्नैपर्छ।
पुस्तकमा परिचयविहीन आइसफल डाक्टर, साहसी क्लाइम्बिङ
शेर्पा, हिमालयमा भारी बोक्ने ठगिएका भरिया र याकहरूका जीवनकथा पनि
छन्, जसको सहयोगबिना यस्ता आरोहण संभव हुँदैनन्। पुस्तकले कसरी सगरमाथा
चढिन्छ भन्ने जानकारी दिन्छ, सँगै पर्वतारोहण तथा हिमाली जनजीवन बुझ्न
मद्दत पुर्याउँछ।
द्वन्द्व रूपान्तरणको
अन्तर्कथा
पुस्तकः शान्तिवार्ता अन्तरकथा (२०६४)
लेखकः सुवास देवकोटा
पृष्ठः १९८, मूल्यः रु. १६०
ऐतिहासिक परिवर्तनका महत्त्वपूर्ण सूचनाहरू सार्वजनिक
हुनुअघि नै राजनीतिक खेलाडीहरूबीच जस लिने होडबाजी शुरु भइहाल्छ। तर
राजनीतिक घटनाक्रमका चाखलाग्दा अन्तरकथाहरू ढिलोचाँडो बाहिर आउँछन्
नै। पत्रकार सुवास देवकोटाले नेपालको पेचिलो र विदेशीका लागि आश्चर्यजनक
शान्तिप्रक्रिया र राजनीतिक परिवर्तनका लुप्त पक्षहरूलाई उजागर गर्ने
प्रयास गरेका छन् शान्तिवार्ता अन्तरकथा पुस्तकबाट।
पुस्तकमा तीन खण्ड छन्। पहिलो खण्डमा सात दल र माओवादीबीच
१२ बुँदे समझदारी भएदेखि अन्तरिम सरकार बन्दासम्मको राजनीतिक खिचातानी
र सहमतिको अन्तरकथा छ। दोस्रो खण्डमा १९ माघ २०६१ बाट राजाको प्रत्यक्ष
शासन शुरु भएदेखि ७ मङ्सिर २०६२ मा नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीसम्मको
राजनीतिक विकासक्रमलाई समेटिएको छ। तेस्रो खण्डमा राजाको कदमबारे माओवादीको
प्रतिक्रियादेखि अन्तरिम संविधानलाई समेत अनुसूचीका रूपमा समावेश गरिएको
छ।
दोस्रो खण्ड लेखकको यसअघि प्रकाशित पुस्तकको परिमार्जित
रूप र तेस्रो दस्तावेज खण्ड भएकाले मूलतः पहिलो खण्ड नै यस पुस्तकको
मौलिक स्वरुप हो जसमा सात दल र माओवादीबीच दोस्रो समझदारी तथा आन्दोलनको
शैली र समयका लागि भएको अन्तर्संंघर्ष, ११ वैशाख, २०६३ को राजाको घोषणाको
मस्यौदा गर्न दरबार, काङ्ग्रेस र एमालेबीच भएका भेटघाट तथा छलफलहरू
र कास्की, सिक्लेसमा कोरिएको शान्तिवार्ताको प्रारम्भिक खाकाको भित्री
कथाहरू खोतल्ने प्रयास गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा
दिनरात चलेका वार्ता–शृङ्खला र शक्ति बाँडफाँडको रस्साकस्सीका कथाहरू
निकै रोचक छन्। अन्तरिम संविधानमा राष्ट्रको परिभाषा गर्ने क्रममा
'नेपाल राष्ट्र नै बनिसकेको छैन' भन्ने माओवादीको अडान र 'राज्यले
स्वास्थ्य, शिक्षा, रोजगारी र खाद्यान्न पुर्याउन नसक्ने हुनाले त्यसलाई
मौलिक अधिकारमा राखिनुहुन्न' भन्ने अन्य दलको अडान कम्ती चाखलाग्दा
छैनन्।
माओवादीका वरिष्ठ नेताहरू अन्तरिम संसदमा नआएपछि झस्किएका
प्रधानमन्त्रीलाई प्रचण्डले आफूहरू संविधानसभाको चुनावमा उठ्ने आश्वासन
दिएर सम्झाएको प्रसङ्ग छ। यस्तै गृहमन्त्री काङ्ग्रेसबाट खोसेर नागरिक
समाजको भागमा पार्ने एमाले, माओवादी र जनमोर्चाको असफल योजनाको पाटोलाई
पनि पुस्तकमा उजागर गरिएको छ। लेखक आफैँले विवरणात्मक भनेकाले पुस्तक
विश्लेषणात्मक छैन भनिरहनु परेन। मिडियामा नआएका कतिपय नयाँ सूचनाहरूले
गर्दा द्वन्द्व रूपान्तरण र राजनीतिमा चासो राख्नेहरूका लागि पुस्तक
जानकारी–मूलक छ।
राज–सम्पत्तिको
दस्तावेज
पुस्तकः राजतन्त्रको अर्थराजनीति (२०६४)
लेखकः सूर्य थापा
पृष्ठः २७८, मूल्यः रु. २५०
१८ जेठ २०५९ को दरबार हत्याकाण्डसँगै राजतन्त्रका बारेमा
अनेक कोणबाट सार्वजनिक बहस हुन थाल्यो। नारायणहिटी हत्याकाण्डमा आधारित
भएर अङ्ग्रेजी र नेपालीमा आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भए।
राजतन्त्रको इतिहास, राजनीतिक चरित्र, आर्थिक आधारका बारेमा चासो बढ्न
थालेपछि यससम्बन्धी अध्ययन र प्रकाशनको क्रम बढ्दो छ। पत्रकार सूर्य
थापाको पछिल्लो पुस्तक राजतन्त्रको अर्थराजनीति ले नेपाली राजसंस्थाको
आश्चर्यजनक आर्थिक पाटोलाई बाहिर ल्याएको छ।
पुस्तकको पहिलो खण्डमा गोरखाका गरिब राजा पृथ्वीनारायण
शाहदेखि उनका दशौँ पुस्ता ज्ञानेन्द्रसम्म आइपुग्दा राजा र उनको परिवारले
आर्जन गरेको खरबौँको आर्थिक हैसियत र त्यससँग जोडिएको राजनीतिक सन्दर्भका
लेखहरू छन्। यस अध्यायमा राजा र राजपरिवारको नाममा रहेको ६४ हजार रोपनीभन्दा
बढी जमिन, झण्डै एक दर्जन दरबार, निजी जङ्गल, उद्योग व्यवसायमा भएको
अरबौँको लगानी र आम्दानीका विभिन्न स्रोतसम्बद्ध आँकडाहरूको विश्लेषण
गरिएको छ। २७८ पृष्ठको पुस्तकमा १६७ पृष्ठ अनुसूचीले नै ओगटेको छ,
जसले पुस्तकलाई तथ्यपूर्ण, विश्वसनीय र अलिकति बोझिलो समेत बनाएको
छ।
२००७ सालमा राणाशासनको अन्त्य हुँदासम्म सामान्य रहेको
राजपरिवारको आर्थिक स्थिति २०१७ सालमा निरङ्कुश पञ्चायती शासनको सुरुआतसँगै
र खासगरी २०३६ सालपछि कसरी आकासिँदै गयो भन्ने तस्बिर पुस्तकले स्पष्टसँग
देखाउँछ। पुस्तकको भूमिकामा बाबुराम भट्टराई र चैतन्य मिश्रले पञ्चायतकालमा
राजा र राजपरिवारले राज्यशक्तिको दुरुपयोग गरेर सार्वजनिक सम्पत्ति
निजी बनाएको प्रसङ्ग उठाएका छन् जुन कालखण्ड आर्थिक विकासका दृष्टिले
निकै दयनीय थियो। मिश्रले २०३६ सालको आन्दोलन र त्यसपछिको खुकुलो परिवेशमा
राजा र राजपरिवारले राजतन्त्रको अन्त्यको बलियो आभास पाएकाले आफ्नो
आयु लम्ब्याउन वा राजतन्त्रको अन्त्यपछिका दिनका लागि सम्पत्तिको जोहो
गरेको तर्क अगाडि सारेका छन्।
नारायणहिटी हत्याकाण्डपछि निरन्तर राजतन्त्रको आलोचनात्मक
अध्ययनमा लागेका थापाले यसअघि नै राजतन्त्र/राजसंस्थासम्बन्धी दुई
पुस्तक प्रकाशित गरेर आफूलाई यो विषयको अन्वेषकका रूपमा चिनाएका छन्।
पत्रकार हुनुको नाताले उनका पुस्तकहरू बढी जानकारीमूलक हुन्छन् नै,
तेस्रो पुस्तकसम्म आइपुग्दा सङ्गठित प्रस्तुति र विश्लेषणले पनि आकार
लिँदै गएको अनुभव गर्न सकिन्छ। ल
पूर्ण बस्नेत
|