हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया विषादी

सजगताको खाँचो

“किसानलाई विषादी छर्न हुन्न भन्ने थाहा छ। तर नछरे उत्पादन हँुदैन, राज्यले उचित विकल्प दिएको छैन।”

तरकारीमा विष' (१–१५ जेठ) पढेपछि केही कुरा नलेखिरहन सकिनँ। असारको दोस्रो–तेस्रो सातातिर पाक्ने मालदह र दशहरी आँप दुई महिनादेखि बजारमा उपलब्ध छ। यी आँप र बजारमा बाह्रै महिना पाइने केरालाई 'कार्बाइड' भनिने पाउडर हालेर छिटो पकाइन्छ। कार्बाइड मानव उपभोगका लागि अयोग्य रासायनिक तत्व हो, जसले श्वास–प्रश्वास प्रक्रियामा असर पार्दछ। अन्य विभिन्न फलफूल र तरकारीलाई रोग–कीराबाट बचाउन असुरक्षित तवरले प्रयोग भएका विषादीले पनि उपभोक्ताको स्वास्थ्यमा थरीथरीका असर पारिरहेका हुन्छन्।


विश्व स्वास्थ्य सङ्गठनको अनुमानमा विकासशील मुलुकहरुमा विषादीयुक्त खानाबाट बर्सेनि १० हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ भने ७० हजार भन्दा बढी अपाङ्ग, असक्त वा मानसिक रूपले सुस्त र सात लाख जति कुनै न कुनै हिसाबले प्रभावित हुन्छन्। नेपालको ठोस तथ्याङ्क कसैसँग नभए पनि समस्या विकराल छ। कृषिविज्ञ डा. केदार बुढाथोकी उपभोक्ताहरूले तरकारी, फलफूलमा अन्धाधुन्द विषादी हालेको देखे भने भोलिपल्टैदेखि बजारका तरकारी र फलफूल खान छाड्नसक्ने बताउँछन्। उनको भनाइ छ, “अब पनि किसानहरू सचेत भएनन् भने उनीहरूको लगानी डुब्ने स्थिति आउँछ।” विषादीको अन्धाधुन्द प्रयोगका कारण युरोपेली देशहरुले दक्षिण अफ्रिकाको कृषिउपज आयात गर्न छाडेका छन् भने भारतको चिया र अङ्गुरको निर्यात प्रभावित भएको छ। विषादीको अत्यधिक प्रयोग किसानहरूलाई आर्थिक रूपले पनि धान्नै नसकिने हुँदै हुन्छ। कपास खेती गर्ने पञ्जाव, हरिकिसनपुराका कैयौँ किसानले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन्।
नेपालमा उन्नत 'कृषिप्रविधि' को रूपमा भित्रिएको रासायनिक विषादी, असुरक्षित प्रयोगका कारण घातक बन्दै गएको छ। र, यसको असरबारे किसान, उपभोक्ता र सरकार कोही गम्भीर छैनन्। विषादीका बट्टामा चारकुने रेखा भित्र विषको तह सङ्केत गर्ने रातो, नीलो, पहेँलो र हरियो रंगले ती विषादी छरेको उत्पादन क्रमशः २१, १४, १० र ३ दिनसम्म उपभोग गर्नुहुँदैन भन्ने जनाउँछ। तर प्रायः किसानहरू छिटो काम गर्ने ठानेर कडा विषादी छर्छन् र एक–दुई दिनमै उत्पादन बजार पुर्‍याउँछन्। कतिले तरकारीमा ७५ दिनसम्म असर बाँकी रहने 'मेटायल अक्सिल' तथा ९० दिनसम्म असर बाँकी रहने, जस्तै गाजर छर्दा माटोमै मिसाएर हालिने 'फोरेट' जस्ता, प्रयोग गर्नै नहुने अत्यन्त घातक विषादी पनि हालेका हुन्छन्।

किसानका पनि आफ्नै समस्या छन्। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्ने धादिङ, नौबिसेका मधुसूदन अधिकारी भन्छन्, “किसानलाई विषादी छर्न हुन्न भन्ने थाहा छ। तर नछरे उत्पादन हँुदैन, राज्यले उचित विकल्प दिएको छैन।” विषादी बेच्ने व्यापारी पनि सजग छैनन्। किसानहरूलाई कस्तो विषादी दिने भन्नेमा पसलेहरूको निर्णायक भूमिका हुन्छ र उनीहरू सकेसम्म कडा र महङ्गा विषादी भिडाउँछन्।

शहरी क्षेत्रका प्रायः उपभोक्ताहरू बजारमा आएका तरकारी र फलफूलमध्ये चिल्ला, राम्रा र ताजा छानेर किन्न रुचाउँछन्। तर तिनमै बढी विषादी र रासायनिक तत्व प्रयोग भएको हुनसक्छ। जस्तै, गोलभेँडालाई चिल्लो पार्न 'क्याल्सियम क्लोराइड' पानीमा घोलेर हालिएको हुन्छ, जुन मान्छेले उपभोग गर्न योग्य रासायनिक तत्व नै होइन। कालीमाटी बजारकी व्यापारी शान्ता ढुङ्गानाले बजारको तरकारी केही समय उमालेको पानीमा डुबाउँदा तैरिने चिल्लो फ्याँकेर मात्र पकाउने गरेकी छन्। काभ्रे, फलाँटेका किसान भगवानचन्द्र उप्रेती तरकारीलाई चिसोपानीमा चार–पाँच घन्टा डुवाएर पकाउने हो भने विषादीको असर कम हुने बताउँछन्। कृषि विभाग, विषादी पञ्जीकरण तथा व्यवस्था शाखाका रजिष्ट्रार भक्तराज पालिखे पनि यी उपायहरुलाई केही हदसम्म सुरक्षित ठान्छन्।

काभ्रे जिल्ला कृषि विकास कार्यालयका प्रमुख ईश्वरीप्रसाद रिजाल सकेसम्म बजारमा तरकारी किन्दैनन्, किन्नै परे विषादी प्रयोग हुने सम्भावना कम भएका कर्कलो, फर्सीका मुन्टा, इस्कुस, टुसा, रायो, तोरी, सीमसाग र सिजनका तरकारीहरू छान्छन्। विषको असर कम हुने वा हुँदै नहुने ठानेर कीरा लागेका, बाङ्गाटिङ्गा, ख्याउटे र फुस्रा–नराम्रा तरकारी छान्नेहरू पनि भेटिन्छन्। किसानहरूले व्यावसायिक रूपमा उत्पादन गरेर ठूलो परिमाणमा बेच्नेे भन्दा उपभोग गरेर बचेको थोरै परिमाणमा बेच्ने तरकारीहरू बढी सुरक्षित हुनसक्छन्।
धेरैजसो विषादीले मानव स्वास्थ्यमा मन्द विषको काम गर्नुका साथै वातावरण पनि दूषित बनाउँछन्। भारत, केरलाको काजुखेतीमा जहाजबाट छरिएको 'इण्डोसल्फान' को असर सम्बन्धी एक अध्ययनले स्थानीय वासिन्दाहरूमा आँखाको ज्योति गुमेको, क्यान्सर भएको, दम बढेको, पेटका अनेक रोग लागेको, मानसिक सन्तुलन हराएको, छालाका समस्याहरू देखापरेको, प्रजनन शक्तिमा ह्रास वा असन्तुलन आएको, अपाङ्ग बच्चाहरू जन्मने गरेको देखाएको छ। मुलियार गाउँकी एउटी केटी ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा पुगेकी पाइएको छ (हे.तस्बिर)। पञ्जावमा कपास खेती भएको जमिन नै जर्जर भएको छ।

बेलैमा सचेत हुने हो भने नेपालको स्थिति अझै धेरै बिग्रिसकेको छैन। अहिलेसम्म ठूलो स्तरमा व्यावसायिक खेती गर्ने किसान कम भएकाले अधिकांश नेपाली किसानहरू जैविक खेती नै गर्दछन्। विषादी पञ्जीकरण तथा व्यवस्था शाखाका रजिष्ट्रार पालिखेका अनुसार यहाँ उपयोग हुने पञ्जीकृत विषादीहरू 'सुरक्षित' नै भएकाले छर्केको निश्चित अवधिपछि मात्रै उत्पादन बजारमा ल्याउने हो भने पनि आत्तिइहाल्नुपर्ने स्थिति छैन। तर खुला सिमाना, भारतमा खुल्लमखुल्ला किन्न पाइने स्थिति र देशभित्र नियन्त्रणको अभावले गर्दा पालिखेले भनेअनुसार पञ्जीकृत विषादी मात्रै प्रयोग भइरहेका छन् भनेर निश्चिन्त हुन भने गाह्रो छ। नेपालमा डीडीटी प्रतिबन्धित भएपनि यसकै अर्को रूप मानिने 'बीएचसी', 'डायल्टिन', 'मालाथिन' आदिको प्रयोग व्यापक छ। युरोप, अमेरिका, जापानमा प्रतिबन्ध लागिसकेका यस्ता विषादीलाई तुरुन्त प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नुपर्ने डा. बुढाथोकीको कथन छ।

विषादीका वैकल्पिक उपायहरू पनि छन्। जैविक विषादीको रूपमा तीतेपाती, खिर्रो, नीम, गाईको गहँुत आदि मिसाएर बनाइने झोलको प्रयोग हाम्रो परम्परागत उपाय हो। वनमा विषादीको गुण भएका कैयौँ वनस्पति हुन्छन्, जसलाई चिनेर उपयोग गर्न सकिन्छ। थोरै भएपनि यस्तो अभ्यास केही ठाउँमा हुनथालेको छ। विषादीकै प्रयोग गर्नुपरेको खण्डमा पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित र सुरक्षित तवरले गर्नुपर्छ। यति गर्न सके नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा हुने विविध प्रकारका कृषि उत्पादनले राम्रो विश्व बजार पाउन सक्छन्।

तुलसी गौतम