जनता
विजय–यात्रा
कुनै
बेला राजधानीका सडकहरूमा कराउँदै पत्रिका बेच्ने दाङवाङ–४, प्युठानका
विकासराज आचार्य (३०) अहिले अरूका पुस्तक छापेर देशव्यापी बनाइदिन्छन्।
उनले छ वर्र्षअघि काठमाडौँमा स्थापना गरेको विवेक सिर्जनशील प्रकाशन
प्रालिले पाँच सयभन्दा बढी साहित्यिक कृतिहरूको प्रकाशन, वितरण गरेर
धेरै स्रष्टाहरूलाई छपाइको चिन्ता नगरी लेख्न हौस्याएको छ।
एसएलसी परीक्षापछि भारतको हरियाणा पुगेर भाँडा माझेको,
त्यहाँ असहनीय हेपाइ भोगेपछि स्वदेश फर्किएर काठमाडौँका सडक–सडकमा
अखबार बेच्न थालेको, धेरै दिन भोकभोकै सुतेको विगतलाई करिअरको आधार
ठान्ने आचार्यले पाँच हजार रुपैयाँ ऋण काढेर राजधानीका सभा, सम्मेलन,
गोष्ठी तथा साहित्यिक कार्यक्रमहरूमा बोरा ओछ्याएर पुस्तक बेच्ने हिम्मत
जुटाएका थिए। राजनीति र दर्शनका किताब बेचेकै कारण पहिलो सङ्कटकाल
लागू भएलगत्तै माओवादीको आरोपमा चरम यातनासहित तीन महिना हिरासतमा
बस्नुपर्दा उनले भविष्यबारे धेरै सोचे। हिरासत–मुक्त भएपछि अक्षरमाथिको
सरकारी दुराग्रहविरुद्ध अक्षरकै खेती गर्ने उद्देश्य लिए अनि आफ्नै
प्रकाशन प्रा.लि. स्थापना गरेर युवा सर्जकका कृतिहरू छाप्न थाले। मोफसलका
कृतिलाई प्राथमिकता दिने प्रकाशन प्रा.लि.का सञ्चालक/निर्देशक आचार्यको
अहिलेको लक्षित बजार बनेका छन् राजधानीका स्कूल। मोफसलका प्रमुख शहरहरूमा
पनि उनी पुस्तक पुर्याउँछन्। बाल साहित्यका हिमायती, 'चम्किला चौध
कोपिला' मार्फत् २०६० सालको सर्वोत्कृष्ट बाल साहित्यिक पुरस्कार पाइसकेका
आचार्य भन्छन्, “समाजलाई केही दिन अक्षरको खेतीमा लागेको हुँ। वरिष्ठ
साहित्यकारदेखि लिएर कनिष्ठहरूको समेत स्याबासी पाएको छु। यही नै मेरो
अमूल्य कमाइ हो।”
शब्द/तस्बिरः सन्तोष बराइली
घरदैलोका डाक्टर
घरदैलोमै
डाक्टर, त्यसमाथि निःशुल्क सेवा! सुन्दा अपत्यारिलो लाग्ने यो काममा
लागिपरेका छन् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
कार्यरत डा. सञ्जीवकुमार शर्मा (३८)। उनी अस्पताल नआउनेहरूको समेत
घरदैलोमा गएर शुल्कबिनै रोग–परीक्षण गरिदिन्छन्, मिर्गौला तथा मधुमेहसम्बन्धी
रोगको उपचारका लागि चिकित्सकले बिरामीको घरदैलोमा जानुपर्छ भन्ने अवधारणाका
साथ। “मिर्गौल्ाा बिग्रिएका ९५ प्रतिशत नेपालीले उपचारको अभावमा ज्यान
गुमाउँछन्”, राजधानीबाहिरका एकमात्र मिर्गौला रोग विशेषज्ञ डा. शर्मा
भन्छन्, “दीर्घ रोगबाट अकालमा कसैले मर्नु नपरोस् भन्ने लागेर यो अभियान
शुरु गरेको हुँ।'
सन् २००४ देखि धरानका विभिन्न वडामा घरघरमै गएर मिर्गौला,
उच्चरक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको पहिचान एवम् उपचारमा सहयोग
पुर्याउदै आएका शर्माको यो अभियान अहिले दमक (झापा) मा समेत विस्तार
भएको छ। उनी विदाको दिन आफ्नै खर्च अनि संघसंस्थाहरूसँग औषधि र उपकरण
मागेर यो काम गर्दै आएका छन्। यही अभियानकै क्रममा
अ कम्युनिटी स्त्रि्कनिङ फर क्रोनिक किड्नी डिजिज्,
हाइपरटेन्सन, डायबिटिज एन्ड देयर म्यानेजमेन्ट इन धरान शीर्षकको अध्ययन
प्रतिवेदनमार्फत् हालैमात्र ब्राजिलमा सम्पन्न इन्टरनेसनल सोसाइटी
अफ नेफ्रोलोजीको वार्षिक बैठकमा पुरस्कृत भएका छन् डा. शर्मा। विश्वव्यापी
प्रतिस्पर्धामा दोस्रो बनेर यस्तो पुरस्कार पाउने पहिलो नेपाली बन्न
पाएकोमा उत्साहित हुँदै उनी भन्छन्, “धरानमा गरिरहेको कामले अन्तर्राष्ट्रिय
मान्यता पाएकोमा खुसी लागेको छ। यसले मेरो काममा जोश थपेको छ।”
शब्द/तस्बिरः गोपाल दाहाल
|