हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अन्तर्वार्ता

'सीडीएमए वरदान हो'

सीडीएमए प्रविधिको फोनले देशभर चल्ने गरी 'फुल मोबिलिटी' पाएपछि नेपालका ६५ जिल्लामा टेलिफोन पुगेको र इन्टरनेटको पहुँच सहज भएको छ। नेपाल टेलिकमका महाप्रबन्धक सुगतरत्न कंसाकार भन्छन्, “प्रविधि छिरेपछि त्यसको फाइदा समाजले आफैं लिन थालिहाल्छ।”

मीन बज्राचार्य।

सीडीएमए कस्तो किसिमको फोन हो र किन ल्याइएको हो?
'सीडीएमए' मोबाइल र साधारण दुवै किसिमको ताररहित फोन हो। हामीले यो फोन ल्याउनुको मूल कारण आज पनि देशका टेलिफोन नपुगेका करिब १२–१३ सय गाविसमा सस्तो र भरपर्दो साधारण फोन सेवा पुर्‍याउनु र प्रति सय तीनजनामा सीमित साधारण फोनको घनत्व बढाउनु हो। हाम्रो अनुभवमा दुर्गम गाउँघरमा सीडीएमए साधारण फोनको माग बढेको छ। तार तानेर आफ्नो घरसम्म फोन कहिले ल्याउन सकिएला भन्ने सोचिरहेकाहरूलाई सीडीएमएले चमत्कार गरिदिएको छ। यो प्रविधिबाट मोबाइल सेवा समेत दिन सकिने भएकोले त्यो पनि दिन थालेका छौँ।

सीडीएमए 'फुल मोबिलिटी' मा जाँदा के हुन्छ?
हामीले वितरण गरेको सीडीएमए साधारण फोन 'डब्ल्यूएलएल' र मोबाइल 'स्काई फोन' हिजोसम्म सीमित मोबिलिटीमा थिए, काठमाडौँमा लिएको फोन पोखरा लैजाँदा चल्दैनथ्यो भने अब एक ठाउँमा लिएको सीडीएमए अर्को कुनै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ। अहिलेसम्म ६५ जिल्लामा पुगिसकेको सीडीएमए ४२ जिल्लासम्म मात्र पुग्न सकेकाले 'जीएसएम' मोबाइलभन्दा व्यापक भएको छ। ग्राहकहरूले दुई प्रकारका मोबाइल सेवाको विकल्प पाएका छन्।

टेलिकमले जीएसएम मोबाइल हुँदाहुँदै सीडीएमए किन ल्याएको नि?
हामी एकैचोटि जीएसएम र सीडीएमए दुवै प्रविधि प्रयोग गर्ने विश्वका थोरै सेवा प्रदायकमध्ये पर्दछौँ। चार वर्षअघि जीएसएमको 'थ्रीजी' भित्र्याउने कुरा चलिरहँदा हाम्रो मुलुकको विशिष्ट भौगोलिक अवस्थामा सीडीएमए प्रविधि वरदान हुन्छ भन्ने मेरो अडान थियो। प्रतिव्यक्ति फोनको अनुपात एकदमै कम रहेको हाम्रोजस्तो मुलुकमा सेवा विस्तार गर्न कुनै एक प्रविधिमै भरपर्नुहुँदैन। कुन प्रविधिलाई बढावा दिने बजारलाई निर्धारण गर्न दिनुपर्छ। हामीसँग दुवै प्रविधि भयो भने ग्राहकले उपलब्ध सेवामध्ये विकल्प पाउँछन्। त्यसैले दुवै प्रविधिलाई सँगै लिएर हिँड्नुपर्छ भन्ने निर्क्योलमा टेलिकम पुग्यो।

अहिलेसम्म कति सीडीएमए लाइन वितरण गरिसक्नुभयो?
६५ जिल्लामा १ लाख ५० हजार वितरण भइसकेको छ र आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पाँच लाख पुर्‍याउने लक्ष्य छ। यो वर्षभित्र कम्तीमा ७५ वटै जिल्ला सदरमुकाममा र आगामी दुई–तीन वर्षभित्रमा देशका प्रत्येक गाविसमा यो सेवा पुग्नेछ। हाम्रो मुख्य ध्येय नै गाउँगाउँमा फोन सेवा पुर्‍याउनु हो। अहिले यो उच्च पहाडी र हिमाली क्षेत्रमा विस्तार भइरहेको छ।

नेपाल टेलिकमले यो सेवालाई कसरी विस्तार गर्दैछ?
यसअघिसम्मका हाम्रा सेवाहरू शहरबाट शुरु गरेर ग्रामीण भेगमा विस्तार गर्ने रणनीति अनुसार चलेका थिए। तर सीडीएमएको विस्तार चाहिँ विपरीत दिशाबाट भइरहेको छ। हामी अहिले तत्कालिक नाफा–नोक्सान नहेरी नितान्त सेवा विस्तारमा मात्रै ध्यान दिइरहेका छौँ। सीडीएमए पुगेका ठाउँमा हामीलाई दुई तरिकाले फाइदा हुन्छ– फोन र इन्टरनेट। सेवा बढाउँदै लगे कालान्तरमा यसबाट नाफा हुन्छ भन्नेमा म विश्वस्त छु।

यसका प्राविधिक फाइदा के छन् नि?
यसअघि अपनाउँदै आएको 'मार्ट्स' र 'भिस्याट' जस्ता ताररहित प्रविधिलाई सीडीएमएबाट विस्थापित गर्दै लैजाने हाम्रो योजना छ। मार्ट्स प्रविधि विकास गर्ने कम्पनी नै बन्द भइसकेको छ भने भिस्याट प्रविधिबाट एक ठाउँमा आठ वटा फोन लाइन मात्र बाँड्न सकिन्छ। तर सीडीएमको एउटा 'बेस स्टेशन' बाट ५०० देखि २००० फोन लाइन बाँड्न सकिन्छ। प्राविधिक रूपमा 'बेस स्टेशन' को १०–१२ किलोमिटरको परिधिसम्म चल्नुपर्ने हो, तर २५ किमिसम्म चलेको खबर हामीले पाएका छौँ।

यसले समाजमा कस्तो प्रभाव पार्ला भन्ने ठान्नुहुन्छ?
समाजमा प्रविधि छिरेपछि त्यहाँका मानिस र बजारले आफैँ फाइदा लिँदै जान्छन्। ५–६ वर्षअघि सरकारले गाउँगाउँमा टेली सेन्टर (सूचना केन्द्र) स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो। इन्टरनेटबाट सूचना आदानप्रदान गर्ने लक्ष्य राखेका त्यस्ता सूचना केन्द्रको मुख्य समस्या 'कनेक्टीभिटी' अर्थात् इन्टरनेटसँग जोडिने प्रविधि थियो। सीडीएमएको विस्तारले नेपालका ६५ जिल्लामा इमेल, इन्टरनेट प्रयोग गर्न सकिन्छ। ल्यापटप कम्प्युटरमा 'पीसीएमसीआई कार्ड' राखेमा सीडीएमए सेवा पुगेको जुनसुकै ठाउँमा इन्टरनेट चल्छ। यसले नेपालमा इन्टरनेट सेवाको जालो फैलाएको छ। हामीले 'कनेक्टीभिटी' को पूर्वाधार स्थापना गरिदिएका छौँ, त्यसको प्रयोग बढाउने काम अन्य सम्बद्ध निकायको हो। बाङ्लादेशमा ग्रामीण ब्याङ्कमार्फत् विस्तार भएको सूचना केन्द्रको अवधारणालाई यहाँ पनि कार्यान्वयन गर्न सकिन्छ। यसको फाइदा र प्रभाव त विस्तारै देखिँदै जानेछ