हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

नहोस् यस्तो अन्याय

हालै अन्यायपूर्ण अवकाशमा परेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको मर्मस्पर्शी अनुभूति (भोगाइ/खुसी नभएका तीन अनुहार, हिमाल १६–३१ जेठ) प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप कुन हदसम्म हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण हो। शाहीकालमा दुःख पाएको एक व्यक्तिलाई लोकतन्त्र आएपछि अन्यायपूर्ण रूपमा च्यूत गर्नु लोकतन्त्रवादी गृहमन्त्री कृष्ण सिटौलालाई सुहाउने कुरा थिएन। लोकतन्त्रमा कोही पनि अन्यायमा पर्नु हुँदैनथ्यो तर कुँवरमाथि कतैबाट न्याय भएन।

यहाँ हामी राष्ट्रसेवक प्रहरी कर्मचारीले यो कुरा किन पनि उठाउनुपर्‍यो भने कुँवरमाथि परेको यो अन्याय भोलि हामी माथि पनि पर्नसक्छ, परिरहेको पनि छ। किनकि हामी जुन पार्टीको गृहमन्त्री छ, त्यही पार्टीको कार्यकर्ता बन्न सक्दैनौँ। हाम्रो नैतिकताले पनि त्यो गर्न दिँदैन। हाम्रो काम देशमा अमनचयन कायम गर्न दिनरात खट्नु हो। पार्टीका नेताको झोला बोक्नु होइन।

प्रहरी कर्मचारी, प्रहरी प्रधान कार्यालय,
नक्साल, काठमाडौँ


चाहिन्छ 'सेन्सर'

'सेन्सर चाहिँदैन' भन्नेहरूले सबै सिने–निर्माता एकै सोचाइका हुँदैनन् भन्ने यथार्थलाई बिर्सनुहुँदैन (सेन्सरको बखेडा/रमझम १६–३१ जेठ)। समाजमा विकृति बढाउने, जातीय द्वन्द्व फैलाउने र राष्ट्रियतामा खलल पुग्ने किसिमका चलचित्र पनि निर्माण हुने सम्भावना भएकाले यस्ता चलचित्रमाथि प्रतिबन्ध र काँटछाँट गर्न सेन्सर बोर्ड चाहिन्छ नै। व्यावसायिकताका नाममा जथाभावी गर्ने छुट कसैलाई दिइनुहुँदैन।

सुव्रत स्वाँर, सुयश स्वार
पो.ब.नंं. ५०३, काठमाडौँ


धन्य! केही बाँकी छ

रविन साय्मिको कार्टुन (मुहूर्त, १–१५ जेठ) हेरेपछि उहाँकै लोलीमा केही थप्न मन लाग्यो– “नेपालीको बोलीचालीमा– लगाम छैन, कानुनबिनाको वर्ष– टुङ्गो लाग्ने थाहा छैन।” धन्य, प्राकृतिक सम्पदाले भने देश भरिपूर्ण छ। नत्र “सबै चीज छैन, थाहा छैन” मात्र सुनिन्थ्यो।

हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ


सजिलो छैन निर्माण

'छैनन् कार्यालय प्रमुख' (विशेष रिपोर्ट, १६–३१ वैशाख) ले थाप्लोमा हात राख्न बाध्य गरायो। देशमा देखिएका हालैका घटनाक्रमहरूपछि के प्रमाणित भएको छ भने जनताको नाममा 'महान् ध्वंस जिन्दावाद' को नारा उराल्न जति सजिलो थियो, 'महान् निर्माण र महान् शान्ति' को कार्यक्रम कार्यान्वयन गराउन निकै गाह्रो हुँदोरहेछ। माओवादीहरूकै कारणबाट सिर्जिएको तराई आन्दोलनको जिम्मेवारी उनीहरूले लिनुपर्छ र आफ्नो बुज्रुग्याइँ शान्ति अभियानमा खर्चिनुपर्छ– यो नागरिक समाजको आवाज हो।

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा


उपाय अरू पनि छन्

लामो समयदेखि देशले भोग्दैआएको ऊर्जा सङ्कट आगामी दिनमा झन् भयावह हुने चेतावनी ऊर्जा विशेषज्ञहरूले दिइसकेका छन्। यस्तो अवस्थामा साधारण परिवर्तनबाटै राम्रै परिमाणमा ऊर्जा खपत घटाउन सकिने उपायहरू दिएर 'विद्युत् खर्च आधा' (रिपोर्ट/ऊर्जा, १६–३१ जेठ) ले 'दिमागको बत्ती जलाउने' काम गरेको छ। विद्यमान ऊर्जा अभावको समाधानका निम्ति उपभोक्ताहरूलाई पनि उत्तिकै जिम्मेवार मान्ने विद्युत् प्राधिकरणले भने उपभोक्ताहरूलाई जिम्मेवारीबोध गराउन खासै केही गरे जस्तो देखिँदैन। सबै उपभोक्तामा प्राविधिक ज्ञान हुँदैन र विद्युत् बचतका साधारण उपायहरूसँग अनभिज्ञ रहन्छन्। उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी बोकेको विद्युत् प्राधिकरण स्वयंले पनि ऊर्जा बचतका उपायहरू आम उपभोक्तासमक्ष पुग्ने गरी प्रचारप्रसार गर्नु जरुरी छ।

हिमाल मा बल्लबल्ल स्थान पाएको ऊर्जा बचतसम्बन्धी रिपोर्ट फिलामेन्ट चिमको विस्थापन र 'पिक आवर'मा बचतमा मात्र सीमित देख्दा भने उदेक लाग्यो। ऊर्जा सङ्कट गहिरिँदै जाँदा बचतका उपायहरू 'पिकआवर' मा मात्र नभई 'नर्मल आवर' र 'अफ पिक आवर'मा समेत प्रयोग गर्न उपभोक्ताहरूलाई सचेत गराइनुपर्दछ।

यसै सिलसिलामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलताका उदाहरणहरूले ऊर्जा अभावमा बाँचिरहेका नेपालीहरूलाई बचततर्फ जागरुक गराउने छन्। ऊर्जा बचतका उपायहरू अवलम्बन गरेर संयुक्त राष्ट्र अमेरिकाको अर्थतन्त्रमा ४० प्रतिशत वृद्धि हुँदा पनि ऊर्जा खपत सन् १९७३ को जति रहेको र ऊर्जा बचतबाट मात्रै प्रति वर्ष २ खर्ब डलरको बचत हुने त्यहाँका ऊर्जा विशेषज्ञरुले दाबी गरेका छन्। त्यस्तै जापानको ऊर्जा खपत प्रति ईकाइ जीएनपी ३० प्रतिशतले घटेको छ। ऊर्जा बचत गर्ने उद्योगहरू नेपालमा नभएका भने होइनन्। केही उद्योगले साधारण लगानी गरेर मात्रै पनि राम्रै परिमाणमा ऊर्जा र खर्च बचत गरिरहेका छन्। यसलाई अरू प्रभावकारी बनाउन सम्पूर्ण उद्योगहरूमा अनिवार्य रूपले ऊर्जा बचत प्रणाली लागू गर्नुपर्ने नियम बनाई बढी ऊर्जा बचत गर्ने उद्योगहरूलाई पुरस्कृत गर्न सकेमा अभावको समस्या केही हदसम्म बचतमार्फत् समाधान गर्न सकिने थियो।

'अफ पिक आवर' र 'नर्मल आवर' मा उद्योग/कलकारखानाको तुलनामा अत्यन्त कम ऊर्जा खपत हुने भएपनि हाम्रो घर तथा कार्यालयमा विद्युतीय ऊर्जा बचतका प्रशस्त सम्भावनाहरू छन्। जस्तो, दिउँसोको समयमा सूर्यको प्रकाशलाई अधिकतम उपयोग गर्ने गरी घर कोठाको निर्माणमा ध्यान पुर्‍याउने। घरको भित्री भागमा सधैँ उज्यालो रङ्गको प्रयोग गर्ने। घर–कोठामा विद्युतीय प्रणाली जडान गर्दा सबै स्थानमा समान चिम जडान गर्नुको सट्टा बढी उज्यालो आवश्यक पर्ने स्थानमा मात्र बढी क्षमताको चिम जडान गर्ने अर्थात् 'टास्क लाइटिङ्ग' गर्ने। विद्युतीय चिमहरू सधैँ सफा राख्ने किनकि सफा चिम नै उज्यालो चिम हो। कम्प्युटर प्रयोग नभई खुलै रहेको अवस्थामा थोरै समयका लागि भएपनि 'मनिटर' बन्द गर्ने किनकि कम्प्युटर प्रयोग गर्दाको कुल ऊर्जा खपतमध्ये ६० प्रतिशत 'मनिटर'ले मात्र गर्दछ। ठूला–ठूला कार्यालय भवनहरूको भर्‍याङ्ग, करिडर, भूमिगत पार्किङ्ग जस्ता स्थानहरूमा सेन्सर जडान गर्ने जसले गर्दा मानिस आवतजावत गर्दा मात्र बत्ती बल्दछ र केही समयपछि आफैँ निभ्दछ। सडक बत्तीहरू बिहान उज्यालो भइसक्दा पनि बलिरहने समस्यालाई पनि बजारमा २–४ सय रुपैयाँमा पाइने सेन्सरहरू जडान गरेर समाधान गर्न सकिन्छ। र, सरकारी कार्यालयका प्रायः कोठाहरूमा हिटर/पंखा (मौसम अनुसार) खुलै राखेर हाकिमहरू चिया पिउन जाने परिपाटीको अन्त्य ऊर्जा बचतका सम्भाव्य क्षेत्रहरू हुन्। त्यसैले फिलामेन्ट चिमको परिवर्तन मात्र होइन, ऊर्जा खपत र बचतप्रतिको हाम्रो दृष्टिकोणमा पनि परिवर्तन आवश्यक छ।

वृजेश शर्मा, इञ्जिनियर
नेपाल टेलिकम