उकालो लाग्दा
फेरि पनि, पुष्पकमलजी
प्रिय पुष्पकमल दाहालजी,
तपाईँ र ममा धेरै अनुभव र अतीतका भेदहरू होलान्, तर
एउटा कुरामा हाम्रो दर्शन मिल्दो नै होला। कम्युनिष्ट विचार राख्ने
नेता तपाईँ पक्कै पनि नास्तिक हुनुहुन्छ। म पनि नास्तिक। भगवान छैन,
पुनर्जन्म छैन र जे–जति कृत्य गर्यो, यही पृथ्वीलोकमा गर्नुपर्छ किनकि
अर्को लोक छैन भन्ने विचार राखेर नै तपाईं मार्क्सवाद, माओवादमार्फत्
प्रचण्डपथमा लाग्नुभएको होला। त्यत्रो प्रभावशाली यात्रामा नलागे पनि
केही राम्रो गर्नुछ भने यही जगतमा गर्नुपर्छ, किनकि मरेपछि खरानी मात्र
बाँकी रहन्छ भन्ने मान्यताले मलाई पनि प्रेरित गर्दछ।
नागरिकको हैसियतले तपाईँको नेतृत्वमा नेकपा (माओवादी)
को राजनीतिक रुपान्तरण अरू झैँ म पनि नियालिरहेछु। आज तपाईँको नेतृत्वको
'जनयुद्ध' ले जग नै हल्लाइदिएको यो देशलाई कता लग्ने भन्ने तपाईँको
मुख्य ध्याउन्न हुनुपर्दछ। विगतका गल्ती र सफलताका बाबजूद अब कता,
भन्ने विचारले तपाईँलाई हरक्षण पिरोल्दो हो।
गल्तीको कुरा गर्दा, नास्तिक हुँदाहुँदै मध्यपश्चिम
पहाडमा घरघरमा पूजाआजा गर्न नदिँदा र मेला–जात्रा निषेधित गर्दा जनताको
सांस्कृतिक धरोहरलाई हल्लाइदिएकोमा बेठिक धेरै भयो भन्न मिल्छ कि?
औद्योगिक युगको युरोपको सन्दर्भमा 'धर्म' को खिलाफमा मार्क्सले प्रहार
गरेका हुन्, त्यो नेपाली जनताले अपनाएको 'धर्म' भन्दा अर्कै थियो।
उनीहरूको धर्म भगवान मान्नेको 'रिलिजन' हो भने हाम्रो 'धर्म' भनेको
जीवनयापन गर्ने संस्कृति हो, तसर्थ आफू नास्तिक हुँदाहुँदै पनि अरूलाई
पूजाआजा गर्न छूट दिनुपर्दथ्यो। यस्तै विदेशबाट सीधै भित्र्याइएका
अवधारणाहरूले नै तपाईँको क्रान्ति माटो नसुहाउँदो बनाइदिएको हो कि,
र यसै कारण घुमिफिरी प्रतिस्पर्धात्मक राजनीतिमा तपाईँ अवतरण गर्न
चाहनुभएको हो कि?
'भगवान' नमान्ने कुरामा हाम्रो सहमति हुँदाहुँदै मुलुकमा
राजनीतिक लक्ष्य प्राप्तिका लागि मान्छे मार्नुहुन्छ भन्ने तपाईँको
दर्शनसँग भने अलिकति पनि मन मिलेन। तर तपाईँले नेकपा (माओवादी) को
राजनीतिक स्वरुपलाई आतङ्कवादमा परिणत हुन भने दिनुभएन, र घरीघरी एकतर्फी
युद्धविराम गरेर भएपनि सो राजनीतिक चरित्र सदा अगाडि नै राखिराख्नुभयो।
राजनीतिक प्रतिस्पर्धामा आउने भएपछि त अब हिंसाको बाटो त्यागेकै भन्नुपर्यो,
जबकि यसको अड्कल जनताले गर्नु नपरे र घोषणामार्फत् नेकपा (माओवादी)
ले हत्या र सफायाको बाटो छाडेको सुन्न पाए मुलुकमा हर्षोल्लास छाउँथ्यो,
अर्थतन्त्र उचाइमा पुग्थ्यो, शान्तिको ढोका यसै खुल्दथ्यो। किन नगर्ने
हिंसा त्याग्ने घोषणा, पुष्पकमलजी? त्यो तपाईँको चाहना तथा वास्तविकता
हो भन्ने आखिर नागरिकले त बुझिसके।
पुष्पकमलजी, तपाईँलाई धेरै कुरा थाहा हुँदाहुँदै अहिलेको
बाध्यताका कारण प्रस्ट अभिव्यक्ति दिन सक्नुहुन्न जस्तो लाग्दछ। जस्तै,
गाउँघरमा जनता माओवादी बन्दुकबाट पीडित छन् भन्ने तपाईँलाई पक्कै थाहा
छ। भाषा र जातिका हिसाबले देशलाई स्वायत्त प्रदेश प्रदेशमा विभाजित
गर्दा प्रत्येक नागरिकको आर्थिक र सामाजिक उन्नतिको सपना चकनाचूर हुन्छ
भन्ने पनि तपाईँलाई पक्कै अनुमान छ।
खुला प्रतिस्पर्धामा विश्व अर्थतन्त्रमा मुकाविला गर्न
सक्ने क्षमता नेपालीको छ भन्ने तपाईँलाई थाहा छ र हाम्रो आर्थिक नीति
मिश्रित बजारमुखी हुनुको विकल्प छैन भन्ने पनि तपाईँलाई थाहा छ। मिश्रित
अर्थतन्त्रमार्फत् 'क्यापिटलिष्ट' प्रथा अँगाल्दा पनि सोसियल डेमोक्रेटिक
नीतिअन्तर्गत जनतालाई सरकारले स्वास्थ्य, शिक्षा, यातायात तथा अन्य
संरचनात्मक पूर्वाधार जुटाउन जिम्मेवार हुनुपर्छ भन्ने पनि तपाईँको
मान्यता पक्कै हो। प्रचण्डपथमार्फत् माओवादी राज्यव्यवस्था जनताले
रुचाएको खण्डमा आफ्नो देशमा बसाल्न पाउनुपर्ने हो, यो नेपाली नागरिकको
सार्वभौम अधिकार हो। तर तपाईँ र मलाई के पनि थाहा छ भने भारतलगायत
कुनै अन्तर्राष्ट्रिय शक्तिले आज माओवादीलाई 'माओवादी' भई काठमाडौँमा
राज गर्न दिँदैन। राष्ट्रवादी हुँदाहुँदै भूराजनीतिक यो यथार्थ तपाईँले
बुझ्नुभएको छ। क्रान्तिकारी नभई राजनीतिज्ञ भएको कारण तपाईँले यस्ता
कुरा प्रस्ट भन्न सक्नुभएको छैन। राजनीतिज्ञ जस्तै तपाईँ पनि आफ्नो
अनुयायी र संसारले के भन्ला भनेर चिन्तित हुनुहुन्छ। तपाइँको राजनीतिक
अवतरणको स्वागतयोग्य सङ्केत हो यो।
आज काठमाडौँका व्यापारी र बुद्धिजीवीसँगको आफ्नो 'रोमान्स'
धेरै नटिक्ने पनि तपाईँलाई प्रस्ट छ। तर फेरि पूर्वाधारको तयारी नगरी
हतार गर्यो भने प्रतिक्रियावादीले ठाउँ पाउने पीर पनि छ।
बन्दुकको भरमा सकेसम्म ठूलो राजनीतिक शक्तिको हिस्सा
आफ्नो हातमा पार्दै राष्ट्रिय राजनीतिक मैदानमा तपाईँ फड्को मार्न
चाहनुहुन्छ। आजसम्म तपाईँ र तपाईँका मित्रहरूले देखाउनुभएको चनाखोपनले
माओवादीको सशस्त्र मोर्चाबाट राजनीतिक दलमा परिणत हुनसक्ने पूर्ण क्षमता
देखाएको छ। समयको मागअनुसार आफ्नो अभिव्यक्ति बदल्न सक्ने र त्यस्तो
वैचारिक रुपान्तरणमा आफ्ना अनुयायीलाई मात्र नभई बृहत् समाजलाई समेत
मनाउन सक्ने क्षमता तपाईँले देखाउनुभएको छ।
यस्तो सक्षम नेतृत्व गर्न सक्ने तपाईँलाई यो पनि थाहा
होला कि नेपाली भविष्यको बाधक तपाईँको हातको हतियार हो। नेपाल सेना
र राजालाई तपाईँको सक्रिय संलग्नता भएको जनआन्दोलनले पछारिसकेका कारण
छिट्टै छिट्टै तपाईँको हतियारको व्यवस्थापन गर्नुपरेको छ, नत्र अन्तर्राष्ट्रिय
समुदायको चिन्ताका साथै देशभित्र पनि प्रतिगामी शक्तिले फेरि चलखेल
गर्ने ठाउँ पाउला। तपाईँहरूको बन्दुकले दक्षिणपन्थी शक्तिलाई पछार्ने
होइन कि आजको लोकतान्त्रिक राज्य व्यवस्थालाई ढाल्न नेपाल सेनाभित्रका
शक्तिलाई घच्घच्याउँछ। हतियार नछोड्दा राजनीतिक रुपान्तरण पनि त हुने
भएन नि नेकपा (माओवादी) को!
संयुक्त राष्ट्रसंघको टोलीसँग तपाईँको कुरा हुँदा र
उसको हतियार व्यवस्थापनमा सहयोग भनेको सुरक्षित निरस्त्रीकरण नै हो।
तपाईँले त बुझ्नुभयो, अब आफ्ना लडाकूलाई बुझाउनुपर्नेछ तपाईँले। तपाईँले
यसरी बुझाउन सक्नुमा नै मुलुकको भविष्य अहिले अडेको छ।
तपाईँलाई यो थाहा छ कि संसदका राजनीतिज्ञहरूले शान्तिका लागि निकास
नै खोजेका छन्, मात्र बहुलवादको रक्षा गर्दै। संसद र दलहरूलाई त्यति
गाली नगर्नुस् न पुष्पकमलजी, बन्दुक नबोकेको शक्तिमाथि किन त्यत्रो
प्रहार? यो बहुलवादको बाटोमा जाने बाहेक तपाईँको पनि त कुनै अर्को
बाटो नहोला। नेपाल सेनाको हकमा राष्ट्रको अङ्ग भएकोले हामी सबै मिलेर
यसको 'लोकतन्त्रीकरण' गरौँला। र, जनआन्दोलनको सम्झनालाई शिरमा राखेर
हामी नागरिक अठोट गरौँला कि निरस्त्रीकरणतर्फ उन्मुख माओवादीलाई कदापि,
कदापि नेपाल सेनाबाट हमला हुन दिने छैनौँ।
प्रगतिको बाटोमा मुलुक अघि बढ्दा, पुष्पकमलजी, तपाईँले
प्रचण्डपथलाई अन्ततोगत्वा त्याग्नै पर्ने हुन्छ। तपाईँ पनि 'सोसल डेमोक्रेट'
मा रुपान्तरण हुनुहुनेछ। यसको मतलब तपाईँले पनि बजार प्रतिस्पर्धालाई
अँगाल्दै राज्यको निरीह नागरिकतर्फको दायित्व स्वीकार्ने व्यवस्थाकै
वकालत गर्नुपर्ने हुन्छ। नेकपा (माओवादी) को नाम नबदले पनि कार्यक्रम
र सिद्धान्त फेरिने नै छन्, र भविष्यको उज्यालो त्यतैतिर छ। त्यतिबेला,
तपाईँ पनि सोसल डेमोक्रेट र म पनि सोसल डेमोक्रेट।

|