हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सूचना–प्रविधि

गुगल अर्थ केही लुक्दैन

गुगल अर्थले संसारलाई खुशी र भय सँगसँगै बाँडिरहेको छ।

विवेकराज मौर्य

गुगल–अर्थमा काठमाडौँ र राजदरबार क्षेत्र
(जुम गरिएको)।

भूगोलशास्त्र तथा ऐतिहासिक स्थलहरूमा रुचि राख्ने व्यक्तिहरूलाई लक्षित गर्दै सूचनाप्रविधि क्षेत्रमा अग्रणी मानिने अमेरिकी कम्पनी गुगलले सन् २००५ मा निःशुल्क सार्वजनिक गरेको सफ्टवेयर 'गुगल अर्थ' ले संसारलाई एकैचोटि खुसी र भय बाँडेको छ। अन्तरिक्ष तथा आकासबाट उतारिएका तस्बिरहरूको सम्मिश्रण रहेको यो सफ्टवेयरको निर्माण नितान्त शैक्षिक प्रयोजनका निम्ति गरिएको गुगलको दाबी छ। तर विश्वका थुप्रै राष्ट्रहरूले आफ्नो सुरक्षा व्यवस्था खल्बलिने भन्दै सो सफ्टवेयर र प्रविधिको भर्त्सना गर्दै आएका छन्। यसरी सबै तस्बिर सार्वजनिक हुँदा सुरक्षासम्बद्ध संवेदनशील ठाउँहरूबारेको गोप्यता नरहने उनीहरूको आरोप छ। यद्यपि भूगोल, देशविदेश र मानवीय संरचनाहरूमा चाख राख्ने वर्गका निम्ति भने गुगल अर्थ वरदान नै साबित भएको छ। एउटा कोठाभित्र बसी–बसी जो–कोही पनि पेरिसको आइफल टावर, मस्कोको रेडस्क्वायर, न्यूयोर्कको टाइमस्क्वायरजस्ता संसार–प्रसिद्ध ठाउँहरू विस्तृत रूपमा अवलोकन गर्न सक्छन्। नेपालकै पनि काठमाडौँलगायत पोखरा, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर जस्ता प्रमुख शहरहरूमा भएका प्रत्येक घर केलाउन सकिने गरी तस्बिरहरू हेर्न सकिन्छ।

“सफ्टवेयर शुरु गरेर ठाउँहरू चहार्न थाल्दा एक किसिमले 'कम्प्युटर गेम' खेलेजस्तो लाग्छ। ठ्याक्कै भन्नुपर्दा प्लेनबाट तल हेर्दाको जस्तो अनुभव हुन्छ,” एक वर्षअघिदेखि गुगल अर्थ चलाइरहेका धरानका सागर श्रेष्ठ भन्छन्। कुनै पनि ठाउँलाई विभिन्न कोणबाट घुमाउँदै ओल्टाई–पल्टाई गरेर हेर्न पाउने अवसर प्लेनबाट पनि कहाँ पाइन्छ र? सागर धरानको देवकोटा चोक नजिक रहेको आफ्नो घरलाई घरि बूढासुब्बा मन्दिरबाट त घरि चारकोसे झाडी जङ्गलमाथिबाट ओल्टाई–पोल्टाई हेर्छन्। नारायणघाटबाट पश्चिम कहिल्यै नपुगेका उनलाई कपिलवस्तुस्थित मायादेवी मन्दिर परिसर मात्र हैन, बर्दिया र कैलालीको सिमानास्थित कर्णाली पुलको बनोट र भूखण्ड समेत अब नौलो छैन।

अध्ययनको सिलसिलामा पहिलो पटक अमेरिका पुग्न लागेका काठमाडौँका विक्रम श्रेष्ठलाई आयोवा एअरपोर्टमा झरेपछि करीब डेढ घण्टाको बस यात्रापछि आफू भर्ना भएको महर्षि विश्वविद्यालय पुग्न कुन बाटो हुँदै जाने हो, उनलाई चिन्ता छैन। “एअरपोर्टनजिकैबाट ग्रेहाउन्ड बस समातेर म विश्वविद्यालय पुग्छु”, जुनसुकै प्रयोजनका लागि विदेश जानेहरूले यो सफ्टवेयरमार्फत् एक पटक गन्तव्यको राम्रो अध्ययन गर्न सल्लाह दिँदै श्रेष्ठ भन्छन्, “गुगल अर्थका विस्तृत नक्सा हेरिसकेको छु– आयोवाको कुन भागमा एअरपोर्ट छ, शहरको कतापट्टि विश्वविद्यालय छ सबै अध्ययन गरेको छु। एक्लै यात्रा गर्दा पनि गाह्रो नपर्ला।” गुगल अर्थका नक्साबाहेक अमेरिका, बेलायत र युरोपलगायत विश्वका ठूला–ठूला शहरहरूमा रेष्टुरेन्ट, अस्पताल, रेल–स्टेशन, सूचना केन्द्रजस्ता आधारभूत सेवा कहाँ–कहाँ छन् तिनको विवरण समेत यो सफ्टवेयरले देखाउँछ।

“हामी सन् २००१ मा भू–उपग्रहबाट खिचिएको काठमाडौँको नक्साको आधारमा अध्ययन/अनुसन्धान गरिरहेका छौँ तर गुगल अर्थमा देखिने काठमाडौंको पछिल्लो नक्सा सन् २००६ को शुरुतिर लिइएको तस्बिर हो।” अध्ययन–अनुसन्धानका निम्ति महङ्गो भू–उपग्रहबाट खिचिएको तस्बिर किन्नै पर्ने बाध्यता अब नहुने भन्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) मा भौगोलिक सूचना प्रणाली (जीआईएस) मा नक्सा तथा अन्य जानकारी व्यवस्थापन गर्दै आएका सुमन बज्राचार्य बताउँछन्। उनी थप्छन्, “गुगल अर्थमा काठमाडौँलगायत अन्य ठाउँको तस्बिर हामीसँग भएको तस्बिर भन्दा प्रस्ट र विस्तृत छ। यसले अध्ययनकर्ता र अनुसन्धानकर्तालाई त फाइदै मात्र हुन्छ।” यस सफ्टवेयरमा थुप्रै भू–उपग्रहबाट खिचिएका तस्बिरहरू समायोजन गरी देखिने तस्बिरहरूलाई बहुआयामिक दृश्यमा हेर्ने व्यवस्था मिलाइएको छ। सम्भवतः यो सफ्टवेयरमा जति छिटो एक ठाउँबाट अर्को ठाउँमा फोकस गर्न मिल्ने अन्य कुनै सफ्टवेयर बजारमा छैन। वार्षिक एक हजार अमेरिकी डलर तिरेर गुगल अर्थको विशिष्ट सेवा उपयोग गर्दै आएको ईसीमोडले हिन्दूकुश क्षेत्रमा सञ्चालन गरेको थुप्रै वातावरणीय संरक्षण परियोजनासम्बन्धी नक्सा तथा सूचना गुगल अर्थमा उतारेको छ। “यसले साझेदार संस्थाहरूबीच सूचना आदानप्रदान गर्न निकै सजिलो भएको छ,” तीन विकल्पमा उपलब्ध गुगल अर्थमध्ये 'प्रिमियम भर्सन' चलाउँदै आएका बज्राचार्य भन्छन्। गुगल अर्थले हरेक १८ महिनाको अन्तरमा पुरानो तस्बिरलाई नवीकरण गर्ने गरेको छ।

गुगलका मालिकद्वय लेरी पेज र सर्गे ब्रिन।

नाङ्गो आँखामा सुरक्षा!
विभिन्न देशको राष्ट्रिय सुरक्षा मामलालाई लिएर गुगल अर्थ थुप्रै पटक विवादमा परिसकेको छ। भारतमा भू–उपग्रह र आकासबाट खिचिएको तस्बिरको किनबेचमा निकै कडा कानुन भएको पृष्ठभूमिमा गुगल अर्थमार्फत संवेदनशील स्थानहरूको समेत विस्तृत तस्बिर देखिने भएकाले भारतका राष्ट्रपति अब्दुल कलाम स्वयम् उक्त कम्पनीसँग रुष्ट भएका थिए। “यसका कारण राष्ट्रिय सुरक्षामा सम्झौता गर्नुपर्ने स्थिति आएको छ। आफ्नो प्रणालीमा तस्बिर र नक्सा हाल्नुअघि कम्पनीले हामीलाई सोध्नुपर्ने थियो,” केही महिनाअघि भारतीय विज्ञान तथा प्रविधि विभागका सचिव भी एस रामामूर्तिले यसरी रोष व्यक्त गरेका थिए। दक्षिण कोरिया र थाइल्याण्डले पनि त्यस्तै प्रकृतिका वक्तव्यहरू दिइसकेका छन्। रसियाली सुरक्षा परिषदका एक अधिकारीले “आतङ्ककारीहरूलाई हमला गर्ने स्थानहरू खोजिदिने कामको जिम्मा (यही) कम्पनीले नै लिएको छ” भन्ने सम्मको टिप्पणी गरेका छन्।

सन् १९९० को दशकदेखि अमेरिकी सरकारले व्यावसायिक प्रयोजनका निम्ति निजी भू–उपग्रह प्रक्षेपण गर्न इजाजत दिएपछि थुप्रै अमेरिकी कम्पनीले पृथ्वी सतहको विस्तृत तस्बिरहरू बिक्री गर्दै आएका छन्। इच्छुक व्यक्तिहरूले संसारको जुनसुकै ठाउँको विस्तृत तस्बिर यस्ता भू–उपग्रह सेवा प्रदायकसँग सीधै किन्न सक्ने हुँदा राष्ट्रिय सुरक्षाको मुद्दा गलत तरिकाले उचालिएको विचार अर्का धारका विज्ञहरूको रहँदै आएको छ। गुगल कम्पनी आफैँले कुनै भू–उपग्रहमार्फत् तस्बिर खिच्दैन, यसले अरूले खिचेको तस्बिर किनेर गुगल अर्थमार्फत् प्रयोगकर्तासामु पस्कन्छ। यसर्थ गुगलले सार्वजनिक गरेको प्रविधिलाई विवादमा ल्याउन नहुने तर्क गुगलका समर्थकहरूको रहँदै आएको छ।

लामो समयदेखि पाकिस्तानसँगको तनावका कारण पनि भारतमा यो कुरा बढी संवेदनशील भएको हो भन्ने धेरैको अनुमान छ। यसै कारण भारतले सन् १९६७ देखि सरकारी अनुमति विना आकास र भू–उपग्रहबाट खिचिएको कुनै पनि संवेदनशील स्थानको तस्बिरमाथि बन्देज लगाउँदै आएको छ। “तस्बिर र नक्सामार्फत् प्राप्त हुने पृथ्वीको सतहको सूचना जति सुलभ भयो वातावरण संरक्षण, प्राकृतिक विपत्तिका बेला राहत–वितरण जस्ता काम कार्य गर्न त्यति नै सजिलो हुन्छ,” यो सफ्टवेयरको बेफाइदा भन्दा फाइदा बढी रहेको बताउँदै बज्राचार्य थप्छन्।

आकासमा रहेका भू–उपग्रहमार्फत् विश्व पारदर्शी समाजको निर्माण प्रक्रियातर्फ उन्मुख छ। अहिले कुनै स्थानको विस्तृत तस्बिर पाउन गुगल अर्थ नै चाहिँदैन, यो त केवल एउटा माध्यम मात्र हो। समयको परिवर्तन सँगसँगै देखिएका नयाँ प्रविधिहरू अँगाल्दै जानुबाहेक हामीसँग अन्य विकल्प पनि छैन।

गुगल अर्थ सञ्चालन गर्न चाहिने न्यूनतम आवश्यकता
सिस्टमः विन्डोज २००० वा एक्सपी, म्याक ओएक्स १०.३.९, लिनक्स (कर्नेल २.४)
सीपीयूः ५०० मेगा हर्ज प्रोशेसर, १२८ एमबी मेमोरी, ४०० एमबी खाली स्थान
नेटवर्कः १२८ किलोबिट्स सहितको इन्टरनेट कनेक्सन
स्त्रि्कनः १०२४138७६८, १६ विट कलर
ग्राफिक्स कार्डः थ्री–डी समर्थन गर्नसक्ने १६ एमबी
इन्टरनेट ठेगानाः http://earth.google.com