| •
ऋतुराज |
 |
ऋतुविचार
बुद्धिको लडाइँ
जता जानोस् बुद्धिजीवीहरूमाझ
चर्चा छ यस अन्तरिम सरकारको प्राथमिकता के हो भनेर। त्यस्तो चर्चा
प्रायशः मदिरालयमा हुने गर्छ। किनभने राजनीति र मदिरा सेवनको अन्योन्याश्रित
सम्बन्ध छ। मदिरा सेवनपछि नेपाली बुद्धिजीवीहरूलाई राजनीतिक गफ गर्नै
पर्छ। अथवा, राजनीतिक कुरा गर्नलाई मदिरा सेवन गर्नै पर्ने उनीहरूको
बाध्यता हुन्छ।
त्यस्ता चर्चामा सबैको जिज्ञासाको
विषय रहन्छ- सेनाप्रमुखलाई चाहिँ पूर्ण छुट र अरूमाथि चाहिँ कारबाही
किन? राजाले छानेका सदस्यहरू रहेका बडेबडे आयोगलाई चाहिँ छुँदै नछुने
अनि साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानमा चाहिँ पहिलो प्रहार?
खाँट्टी बुद्धिजीवीको कोटिमा
नपरेकाले होला आफूलाई त सरकारको प्राथमिकता ठीक ठाउँमा रहेको लाग्दछ।
हाम्रा ठूला नेताहरू शैक्षिक सामर्थ्यका लागि नभई राजनीतिक कार्यका
लागि चिनिन्छन्। जन विश्वविद्यालयमा पढेका हुनाले उनीहरूसित उच्च औपचारिक
शिक्षाको प्रमाणपत्र नहोला। त्यसो भन्दैमा उनीहरूले मगजको महत्त्वलाई
नबुझेका होइनन्। उनीहरूले राम्ररी बुझेका छन् लोकतन्त्रको अन्तिम लडाइँ
मुढेबलका भरमा जित्न सकिँदैन त्यसका लागि बौद्धिक शक्ति चाहिन्छ। त्यसै
हुनाले यस सरकारले जिम्मेवारी सम्हाल्नासाथ सबभन्दा पहिले साझा प्रकाशनमा
नयाँ अध्यक्ष पठायो र प्रज्ञा–प्रतिष्ठानको साबिकको मण्डलीलाई खारेज
गरिदियो। अब सरकारले प्राथमिकताका आधारमा गर्ने परिवर्तनमा जनक शिक्षा
सामग्री केन्द्र, सीटीईभीटी, एसएलसी बोर्ड आदि पर्नेछन्। प्रत्येक
सरकारी प्राथमिक विद्यालयका हेडमास्टरहरू छानीछानी हटाइनेछन्। यी ठाउँ
भनेका बुद्धिका अखाडा हुन् र शत्रुलाई त्यसै अखाडामा पछार्नुपर्छ।
सेनातेना भनेका बन्दुके हुन् त्यसलाई त जहिले पनि ठीक पार्न सकिन्छ।
आखिर बित्दो के छ? आफ्नो विचार
यस्तो छ, तर यी बुद्धिजीवी भनाउँदाहरू मसँग पटक्कै सहमत हुँदैनन्,
गर्ने के?

|
राष्ट्रिय गानको सुझाव
राष्ट्रिय गानका लागि पनि दरखास्त आह्वान गरिएको रहेछ, त्यसका लागि
अन्तिम म्याद पनि तोकिएको रहेछ। ती सब कुरा आफूलाई पत्तै भएन। थाहा
पाउँदा राष्ट्रिय गानका लागि निवेदन हाल्ने म्याद गुजि्रसकेछ।
तर म्याद गुज्रेको भनिए पनि आफूलाई त्यसको साह्रै पीर
छैन। म्याद गुजि्रएको खानेकुरा, म्याद गुजि्रएको औषधि पनि लेबल बदलेर
ढुक्कै बेच्न पाइएकै छ नेपालमा। म्याद गुजि्रएका गाडी पनि धूँवाको
मुस्लो ओकल्दै गुडिरहेकै छन् यहाँ। हुँदाहुँदा उहिल्यै म्याद गुजि्रएको
संसद् त चालू छ अहिले। आफूखुसी म्याद बढाउन जत्ति मिल्दो रहेछ। त्यसैले
म्याद–स्याद जेसुकै होस् नयाँ राष्ट्रिय गानको सुझाव नदिई नछाड्ने
आफ्नो इरादा छ, त्यो पनि सार्वजनिक रूपमा। कुनै सरकारी अड्डाको नासुको
हातमा खुसुक्क सुझाव बुझाउने पक्षमा आफू त छैन।
अब गोल्छा सेठजीले जस्तो आफैँले मौलिक राष्ट्रिय गान
कथ्न सकिएन त्यो बेग्लै कुरा हो। उहाँहरूले जस्तो मौसमअनुसारको ट्युनिक
फेर्न जानिएन। आफू परियो कोरा अनाडी नागरिक। त्यसैले अरूले नै लेखेको
र अरूले नै गाइसकेको गीत भए पनि तिनलाई राष्ट्रिय गीत बनाउनेबारे विचार
गरिनुपर्छ भन्ने सुझाव यो अनाडी अघि सार्दछ। राष्ट्रिय गीत यस्तो हुनुपर्छ
जसमा नेपाली मुटुको ढुकढुकी होस्, जसमा मादलको ताल होस्, जो हरेक नेपालीको
ओठमा सजिलै झुण्डियोस्, जो राष्ट्रभाषा नेपालीमा होस्, जो अतिशय लोकप्रिय
होस्। यी यावत् गुणका आधारमा निम्न गीतहरूमध्ये कुनै पनि एक राष्ट्रिय
गीत घोषित गरिन लायक छन्। कृपया यी गीतका गुणवत्ताउपर ध्यान जावोस्।
१. वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनोकामना
खेम गुरुङले गाएको यस गीतमा साँच्चिकै नेपाली लोकलय घन्केको छ मादलको
गम्किएको तालमा। भलाद्मी पाराले जोसुकै यस गीतको धुनमा नाच्न सक्छन्।
गीत सीडीमा पनि उपलब्ध छ। त्यो यसको विशेषता हो।
२. सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा
यो अर्को लोकलहरी हो जसको भाकाले एकपटक सारा नेपाल थर्काएको थियो।
कोदाको रसको मात्राअनुसार यस गीतको 'टेम्पो' लाई घटीबढी पार्न सकिन्छ
र सोहीबमोजिम सामूहिक नृत्य गर्न सकिन्छ। यो गीत अडियो क्यासेटमा पनि
पाइन्छ।
३. रेसम फिरिरी रेसम फिरिरी
यस गीतको लोकप्रियतालाई भेट्टाउने कुनै गीत नेपालीले विगत २५ वर्षदेखि
गाएको छैन र सुनेको पनि छैन। यस गीतको बोलसहित र बिनाबोलको वाद्यधुन
मात्र भएको अडियो क्यासेट र सिडीसमेत जताततै पाइन्छ। यो गीत नेपालीबाहेक
नेपाल आउने प्रत्येक विदेशी पर्यटक, पदयात्री र पर्वतारोहीले सुनेका
छन्। उनीहरू पनि नेपालीसँगै कम्मर भाँचीभाँची यस गीतमा नाच्न सक्छन्।
यसको अन्तर्राष्ट्रिय अपील बडो भारी छ।
४. रातो भाले कोयाँक कोयाँक
यस गीतले पनि एक ताका नेपाल पिटेकै हो। अडियो क्यासेटको प्रचलन हुनुअघि
रेडियो नेपालबाट सधैँ बज्ने यो गीत नसुन्ने र सुनेपछि ननाच्ने कोही
छैन। पोहोर त हो 'गुरुकुल' को मञ्चबाट गणेश रसिकले यो गीत गाउँदा वृद्धवृद्धासमेत
जोसले 'कुकुरी काँ' भन्दै नाचेका यिनै आँखाले देखेका हुन्। माग भएमा
गणेश रसिकजीले यसको सीडी पनि निकाल्न सक्नुहुनेछ।
हुन त मानिसहरू लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद
रिमाल, माधव घिमिरे, भूपि शेरचन आदिका रचनाहरू अघि सार्छन् राष्ट्रिय
गान बनाउनु पर्यो भनेर। तर यी विभूतिहरूद्वारा रचित कुनै पनि मानिसलाई
उफार्ने तत्व फेला पार्न सकिएको छैन।
झ्याम झ्याम ताली बजाएर नाच्न नसकिने गीत पनि कतै राष्ट्रिय
गान हुन्छ?
माथि उल्लेखित गीतहरूको प्रस्ताव त्यसै आएको होइन।
यो त अमेरिकीहरूले गर्ने जस्तो 'सिन्के मत सर्वेक्षण' बाट निस्केको
परिणाम हो र पत्रपत्रिकामा व्यक्त जनमत हो।
लोकतन्त्रमा जे कुरा पनि लोकप्रिय हुनुपर्छ। लोकप्रियता
लोकतन्त्रको पहिलो कसी हो। यही लोकप्रियताका आधारमा माथिका गीतहरू
छनौटका अनेक राउन्ड पार गरेर यहाँ आइपुगेका हुन्। अब 'फाइनल राउन्ड'
जनताको हातमा छ। एस.एम.एस. पठाउनोस् र आफ्नो मत जाहेर गर्नोस्, तपाईं
कुन गीतलाई राष्ट्रिय गानका रूपमा सुन्न चाहनुहुन्छ भनेर।
|