हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | वैदेशिक शिक्षा

विदेशको पढाइ, विदेशकै सपना

पढाइ, करिअर निर्माण, रोजगारी वा सुन्दर भविष्यको परिकल्पना जस्ता विविध कारणले विदेशिने विद्यार्थीहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। पश्चिमी जीवनशैली, स्वतन्त्रता र विलासिताको मोहले तानिनेहरू पनि उत्तिकै छन्। राम्रो गृहकार्य गर्ने, होश पुर्‍याउनेहरूले सोचेजस्तै संसार भेटेका छन् तर हतार गर्नेहरूलाई सङ्घर्ष, दुःखले उता पनि उत्तिकै पिरोलिरहेको छ।

विवेकराज मौर्य र शैली बस्नेत

किरण पाण्डे

२०६२ सालमा काठमाडौँ विश्व–विद्यालयको बीबीएतर्फ सर्वोत्कृष्ट भएकी विन्दिया झा अमेरिका उड्ने तयारीमा छिन्। 'अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तन' विषयमा स्नातकोत्तर गर्ने उनको योजना छ। “यो विषय नेपालमा पढ्न पाइन्न, त्यसैले विदेश जानुको विकल्प छैन,” विन्दिया भन्छिन्, “अनुसन्धानमूलक शिक्षा मेरो रोजाइ हो। यतै पढ्ने हो भने भएको खुबी पनि हराएर जान्छ।” त्यस्तै समस्या कम्प्युटर इञ्जिनियरिङ गरेका ओरिस श्रेष्ठको पनि छ। उनको विषयका लागि पनि स्तरीय स्नातकोत्तर शिक्षा नेपालमा उपलब्ध नभएकाले कि त आफ्नो विषय नै छोड्नुपर्ने कि भने विदेश जानैपर्ने बाध्यता रहेको उनको भनाइ छ।

आइटी, होटल म्यानेजमेन्ट; व्यवस्थापन, इञ्जिनियरिङ, विज्ञानका नयाँ–नयाँ 'स्ट्रिम'लगायतका थुप्र्रै विषयमा नेपालमा उच्च शिक्षाको स्तरीय व्यवस्था र विकल्प नभएकाले धेरै विद्यार्थी विदेश जान बाध्य भएका छन्। विशेषगरी स्तरीय निजी विद्यालय तथा कलेजहरूमा अध्ययन गरेका विद्यार्थीहरूका लागि स्नातक अथवा स्नातकोत्तर तहमा आइपुग्दा विकल्पहरू साँघुरिँदै जान्छन्। सरकारी क्याम्पसको वातावरण र पठनपाठनको स्तर उनीहरूलाई चित्त बुझ्दैन। निजी क्षेत्रमा पनि व्यावहारिक प्रणालीबाट पठनपाठन हुने शिक्षण संस्थाहरू निकै कम छन्। भएका संस्थाहरूमा पनि छनोटका लागि विषयहरू निकै सीमित छन्। इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्न अमेरिकाको टेक्सास जान लागेका अभिषेक यादव भन्छन्, “मैले छानेको कोर्स पूरा गर्दा मसँग २१ महिनाको कार्य–अनुभव पनि हुनेछ। यस्ता कार्यक्रम नेपालमा छैनन्, भए म विदेश जाँदैनथेँ।” राम्रै शैक्षिक संस्थामा पनि मानव–स्रोतको अभाव छ। स्नातक तहमा पढाउने शिक्षक/शिक्षिकाहरूले नै स्नातकोत्तरको कक्षा लिने गर्दछन्। यसले गर्दा पनि कतिपय विद्यार्थीहरू नेपालको उच्च शिक्षामा नयाँ कुरा सिक्न नपाइने ठान्दछन्।

पढाइ, करिअर निर्माण, रोजगारी वा सुन्दर भविष्यको परिकल्पना– यस्ता विविध कारणले विदेशिनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। तिनमा युवा पुस्ताको आधिक्य छ। रहर, बाध्यता, देखासिखी जे जस्ता कारणले भए पनि विदेशिने युवाहरूबाट प्रायः सुनिने गर्छ, “नेपालमा बसेर केही हुन्न,” “करिअरका लागि पनि विदेश जानै पर्छ”, “विदेशी शिक्षा र अनुभव लिएर आएपछि नेपालमा स्थापित हुन सजिलो हुन्छ” आदि। फरक मुलुक र फरक–फरक विषयको रोजाइ बोक्ने यस्ता युवाहरूको उद्देश्यमा पनि उत्तिकै भिन्नता देख्न सकिन्छ। 'स्टुडेन्ट भिसा' मा पढ्नकै लागि विदेशिनेमध्ये कतिपयको स्थायी रूपमा उतै बस्ने चाहना पाइएको छ। राम्रो 'करिअर' बनाएर नेपाल फर्कन चाहनेहरू पनि नभेटिने होइनन् तर तिनको सङ्ख्या तुलनात्मक रूपमा थोरै छ।

किरण पाण्डे
काठमाडौँको एक परामर्श केन्द्रमा विदेश जान चाहने नेपाली विद्यार्थीहरू।

त्यस्तै एक उदाहरण हुन् अमेरिकामा एमएस्सी गरिरहेका कुमार मैनाली। उनको दृष्टिमा अमेरिकामा पढ्नु भनेको अमेरिकी शैक्षिक योग्यता प्राप्त गर्नु हो जुन संसारभर स्वीकार्य छ। नेपालबाट प्रकाशन हुने हिमालय जर्नल अफ साइन्सेसका सम्पादक मैनाली पाँच वर्षपछि पीएचडी सकेर नेपालमै फर्कने सोचाइमा छन्। उनी भन्छन्, “उच्च शिक्षाका लागि विदेश पुग्नुको अर्को फाइदा त्यहाँ भेटिने धेरै मुलुकका अनुसन्धानकर्ताहरूसँग सम्पर्क स्थापित गर्नु पनि हो।”

विदेशी शिक्षाको व्यावहारिकताबाट आकर्षित भई बेलायतको लिड्स विश्वविद्यालयमा पीएचडी गर्न पुगेकी शोभा थापाले 'अब्रोड स्टडी' ले आफूमा ठूलै परिवर्तन ल्याएको र आत्मविश्वास बढेको अनुभव गरेकी छन्। उनी भन्छिन्, “अब म संसारको जुनसुकै कुनामा जस्तोसुकै परिस्थितिमा पनि काम गरेर जीवन धान्न सक्छु।”

कारण अरू पनि छन्
“नेपालमा सीमित कलेजमा मात्र प्राविधिक उच्च शिक्षाको अध्यापन हुने भएकाले पनि विद्यार्थीहरू विदेश जान बाध्य छन्” १२ वर्षदेखि विद्यार्थीहरूलाई विदेशको पढाइसम्बन्धी सेवा तथा परामर्श दिँदै आएका प्रोफेशन एजुकेशन (यस लेखमा उल्लिखित सबै परामर्श केन्द्रहरू काठमाडौँका हुन्) का राजु सिंह बताउँछन्। विदेशी शैक्षिक योग्यता प्राप्त व्यक्तिलाई रोजगारदाताहरूले प्राथमिकता दिने प्रवृत्ति बढ्न थालेकाले पनि विद्यार्थीहरू विदेश जान बढी उत्सुक भएको सिंहको ठम्याइ छ। विदेशबाट फर्किएको भन्नेबित्तिकै क्षमताको मूल्याङ्कन नगरी राम्रो काम र सम्मान दिइने धेरैको अनुभव छ। व्यवस्थापनमा स्नातक शीतल शर्मा भन्छन्, “क्षमता नभए पनि विदेशको जस्तोसुकै युनिभर्सिटीबाट पढेर आउनेलाई पनि व्यवहारै फरक गरिन्छ। कामको दौरानमा यो प्रवृत्ति मैले बारम्बार देखेको छु। मलाई एउटा डिग्री विदेशबाट ल्याउनैपर्छ जस्तो लागेको यो कारणले पनि हो।”

नेपालमा विद्यार्थीहरूले स्नातक र स्नातकोत्तर तहको पढाइ सकेर पनि रोजगारी पाउने कुनै 'ग्यारेन्टी' नभएकाले पनि स्वदेशको पढाइ र वातावरणसँग उनीहरू सन्तुष्ट छैनन्। नेपालमै बस्न चाहेर पनि विविध समस्याले विदेशतिर धकेलिनेहरू पनि छन्। चार वर्ष र चार लाख रुपैयाँको लगानीमा नेपालमा स्नातक गरेर एक वर्षसम्म जागिर खोज्दा पनि बेरोजगार बस्नु परेपछि बीना प्रधानले एक खालको 'फ्रस्टेसन' को अनुभव गरिन्। त्यसबाट निस्कन पढ्ने बहानाले विदेश जान बाध्य भएको बताउँछिन् उनी। बीना भन्छिन्, “नेपालमा मैले पढेको कलेजले मलाई किताबी ज्ञान मात्र दियो, पेशागत संसारको व्यावहारिक ज्ञान दिन सकेन। म र मेरा साथीहरूले पढाइ सकेपछि निकै दुःख पायौँ। यता (विदेश) को जीवनमा पनि दुःख त छ तर कमसेकम पढाइमा सम्झौता भने गर्नुपर्दैन।”

परिवारबाट टाढा रही स्वतन्त्र जीवन बिताउनेे रहरले पनि कतिलाई विदेश पुर्‍याउने गरेको छ। त्यसका लागि समेत भरपर्दो माध्यम बनिरहेको छ 'अब्रोड स्टडी'। काठमाडौँ विश्वविद्यालयबाट स्नातक तह पूरा गरेपछि विगत पाँच वर्षदेखि सूचनाप्रविधि सम्बन्धी सेवा तथा परामर्श दिँदै आएका २८ वर्षीय किशोर श्रेष्ठ घरमा बुबाआमाले अझै पनि सानो सानो कुरामा दिने 'अर्ती उपदेश' सहन नसकेर पढ्ने बहानाले विदेश जान लागेको सुनाउँछन्। उनी भन्छन्, “छुट्टिएर एक्लै बस्छु भन्न पनि सकिँदैन। अनि विदेश नगएर अरू के गर्ने त? त्यस्तै 'छोरी मान्छेले यो गर्नुहुँदैन, त्यो गर्नुहँुदैन' जस्ता कचकचले आजित भएर काठमाडौँमा स्नातक तहको पढाइ नसकिँदै क्रेडिट ट्रान्सफर (यहाँ पढेको विषय/समयावधिलाई उताको विश्वविद्यालयमा गरिने स्थानान्तरण) गरेर प्रिया काफ्ले अमेरिकातर्फ लागिसकेकी छन्।

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूः अमेरिकामा

साथीभाइको देखासिखी गर्दै पश्चिमी जीवन–शैली, स्वतन्त्रता र विलासिताको मोहमा विदेशिने विद्यार्थीहरूको सङ्ख्या पनि उल्लेख्य छ। आफ्नो परामर्श केन्द्रमा आउने विद्यार्थीहरू तीन वर्गमा विभाजन गर्न सकिने बताउँदै कस्मिक एजुकेशनका लक्ष्मण इतेनी भन्छन्, “राम्रो विद्यालयबाट पढाइ सकेकाहरूलाई कहाँ र के पढ्न जाने कुराको राम्रो सुझबुझ हुन्छ, यी पहिलो वर्गका विद्यार्थी हुन्। दोस्रोलाई के पढ्ने थाहा हुन्छ तर कहाँ पढ्ने थाहा हुँदैन। तेस्रो वर्गलाई नेपालबाट उम्कनु छ भन्ने बाहेक अरू केही थाहा हुँदैन।” यो कुरामा सहमति जनाउँदै नोबेल इन्स्टिच्युटका अशोक कार्की भन्छन्, “हामीकहाँ आउने धेरैजसो विद्यार्थी औसत नै हुन्छन्, त्यसैले हामी प्रायः औसतस्तरका विश्वविद्यालयकै सम्पर्कमा हुन्छौँ। तर राम्रा विद्यार्थी आएमा राम्रै विश्वविद्यालयमा सम्पर्क गर्ने/गराउने प्रयास गर्छौँ।”

बुझ्नु, पर्खनु, विकल्प खोज्नु बेस
शुरुमा अमेरिका र बेलायत जस्ता मुलुकमा भिसा नपाएपछि विद्यार्थीहरू सिङ्गापुर, साइप्रस, पोल्याण्ड आदि देश हँुदै अन्ततोगत्वा अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा 'क्रेडिट ट्रान्सफर' गर्ने लक्ष्यका साथ बाहिरिने प्रवृत्ति पनि पछिल्लो समयमा निकै बढेको छ। भिसाका लागि बेलायती दूतावासमा दुई पटक प्रयास गरेर असफल भएपछि अष्ट्रेलिया छिर्ने अपेक्षाका साथ डेढ वर्षअघि होटल–म्यानेजमेन्ट अध्ययनका निम्ति सिङ्गापुर पुगेका अनुप केसी भन्छन्, “सस्तोमा पढ्न र अष्ट्रेलिया जान पाइन्छ भनेर यहाँ (सिङ्गापुर) को एक निजी कलेजमा पढ्दैछु तर यहाँ काम पाउन सजिलो छैन। पढाइ पनि सोचेको जस्तो छैन। यहाँका सरकारी विश्वविद्यालयमा पढ्न पाएको भए कुरा भिन्नै हुन्थ्यो।” 'फ्रस्टेसन' का कारण हतारिएर सिङ्गापुर पुगेको केसीको स्वीकारोक्तिका पछाडि उनले भोगिरहेको पीडासमेत देखिन्छ।

विदेश जान खोज्नेहरू हतारिनु नहुने सल्लाह दिँदै कन्सल्ट नेपाल प्रालिका योगेश क्षेत्री भन्छन्, “विदेशमा पढ्ने मनस्थिति बनाइसकेकाहरूले कम्तीमा पनि एक वर्षअघिदेखि योजना बनाउनुपर्छ। 'सट कट' बाटो लिएर पनि विदेश त पुगिएला तर गलत ठाउँ र गलत कलेजका कारण समय र पैसा दुवै बर्बाद हुन सक्छ।” शैक्षिक योग्यता र आर्थिक अवस्था बलियो छैन भने अमेरिका, बेलायत जाने सपनामा अड्किनु भन्दा सिङ्गापुर, मलेशिला, जापान, कोरिया जस्ता मुलुकलाई भर्‍याङका रूपमा प्रयोग गर्नु लाभदायी हुने राइट एजुकेशन तथा सेभेन एजुकेशनका पीआर अधिकारीको सल्लाह छ। उनी भन्छन्, “यी देशबाट अन्तर्राष्ट्रियस्तरका डिग्री हासिल गर्न सकिन्छ। पढाइ पनि तुलनात्मक रूपले सस्तो हुन्छ र पछि पश्चिमी मुलुक छिर्न पनि सजिलो हुन्छ।”

फ्रान्स, फिनल्याण्ड, चीन, जर्मनी जस्ता देशका विश्वविद्यालयहरूमा आजभोलि अङ्ग्रेजीमा पढाइ हुन थालेकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू त्यतातिर पनि मोडिन थालेका छन्। “प्राविधिक शिक्षामा पश्चिमी मुलुकहरूको विकल्पका रूपमा स्थापित भइरहेका छन् यी देश।” ब्रेनहार्टका प्रदीप कार्की र मेरी गोल्डका वेदप्रकाश ढकाल एक स्वरले भन्छन्,“विशेषगरी, एमबीबीएसमा भर्ना हुन नेपालमा नाम निकाल्न र महँगो फी तिर्न नसक्ने औसत विद्यार्थीलाई चीनका मेडिकल कलेज राम्रा विकल्प हुन्।”

स्थायी बसोबास गर्ने उद्देश्य भएका धेरै विद्यार्थीहरू अष्ट्रेलियातर्फ आकर्षित भइरहेको बताउँदै एसआरजीएन एजुकेशन सर्भिस प्रालिका नरेन्द्रमान श्रेष्ठ भन्छन्, “गत वर्षदेखि 'व्युटिसियन', 'कुकिङ', 'इलेक्ट्रिसियन' जस्ता व्यावसायिक शिक्षामा अष्ट्रेलियामा डिप्लोमा गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ। चारवर्षे स्नातकको तुलनामा यस प्रकारका दुईवर्षे कार्यक्रम सस्ता पनि छन् र पढाइ सकिनेबित्तिकै 'पर्मानेन्ट रेसिडेन्स' का निम्ति आवेदन हाल्ने योग्यता पनि पुग्छ।” स्थायी बसोबासका निम्ति विश्वका अन्य मुलुकबाट समेत थुप्रै व्यक्तिहरू अष्ट्रेलिया पुग्ने गरेको बताउँदै विदेश इन्टरनेशनल कन्सल्ट्यान्सका प्रतीक प्रधान थप्छन्, “अष्ट्रेलियामा रङ्गभेदरहित समावेशी समाज भएकाले नेपाली विद्यार्थीहरूलाई त्यहाँको समाजमा घुलमिल हुन सजिलो हुन्छ।”

सोचेजस्तो नहुन सक्छ
नेपालका कन्सल्ट्यान्सीहरूले विद्यार्थीहरूलाई निजी खर्चमा विदेशमा पढ्न जाने बाटो सजिलो बनाइदिएका छन्। प्रायः कन्सल्ट्यान्सीहरू एक वा एकभन्दा बढी विश्वविद्यालयका प्रतिनिधि हुन्छन्। विद्यार्थी पठाएबापत उनीहरूले ती विश्वविद्यालयबाट कमिशन पाउँछन्। तर आफूले प्रतिनिधित्व गर्ने विश्वविद्यालयका बारेमा राम्रो जानकारी नराख्दा वा दिन नसक्दा ती संस्थामार्फत् भर्ना भएका विद्यार्थीहरूले दुःख पाएका घटनाहरू पनि प्रशस्त छन्। “नेपाली कमाइले विदेशी पढाइ धान्न नसकिने हुनाले विद्यार्थीले पढ्दै काम गर्नुपर्ने हुन्छ। त्यसैले शुरुका केही वर्ष गाह्रो हुनसक्छ,” नोबेल इन्स्टिच्युटका कार्कीको यो भनाइसँग मिल्दोजुल्दो छ विद्यार्थीहरूको अनुभव। नेपाली विद्यार्थीले विदेशमा गएर खान–बस्न र कलेजको ट्युशन फी तिर्न पेट्रोल पम्प, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर आदिमा काम गर्ने गरेको त्यहाँ जाने विद्यार्थीहरूले सुनाउने गरेका छन्। “आफ्नै खर्चमा पढ्न जानेहरूले सामान्य दुःख गर्नुपर्ने कुरा नौलो होइन,” विद्यार्थीहरूलाई सचेत हुन सल्लाह दिँदै अर्विट इन्टरनेशनलका मनिष खड्का भन्छन्, “छात्रवृित्त नपाउने मध्यमवर्गीय परिवारका विद्यार्थीहरूले विदेश पुगेपछि जीवन धान्न सबै प्रकारको काम गर्ने मानसिकता पहिल्यै बनाउनु राम्रो हुन्छ।” आफ्नै खर्चमा अमेरिका, बेलायत जस्ता मुलुकमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरूका लागि लामो छुट्टीमा सक्दो बढी काम गरी वर्षभरिको गर्जो टार्न रकम जम्मा गर्नै पर्ने हुन्छ। “अरू बेलामा पनि काम गरिन्छ, तर गर्मीको छुट्टीमा १५/१६ घण्टा काम गरिएन भने त वर्षभरि नै गाह्रो हुन्छ” अमेरिकामा रहेका प्रमोद सुवेदी आफ्नो अनुभव सुनाउँछन्।

साइप्रसमा।

विद्यार्थीहरूको अनुभवमा स्नातक तहमा तुलनात्मक रूपमा छात्रवृित्त पाइने सम्भावना कम हुने, पढाइ महँगो हुने र तीन/चार वर्षसम्म पढ्नुपर्ने भएकाले विद्यार्थीले अरू बढी दुःख गर्नुपर्ने हुन्छ। पैसा कमाउनुपर्ने बाध्यताका कारण विद्यार्थीहरूले पढाइमा राम्ररी ध्यान दिन पाउँदैनन्। ट्युशन फी तिर्न नसकेकाले बीचैमा पढाइ छोडेर 'आउट अफ स्ट्याटस' हुनेहरू पनि छन्।

काठमाडाँैमा कन्सल्टेन्सीको मद्दत लिएर अमेरिका पुगेका केशव सिम्खडाले अर्को झण्झट पनि व्यहोर्नुपर्‍यो। उनी भन्छन्, “मलाई सेमेस्टर सिष्टम (६ महिने सत्र) छ भनेर पठाइयो तर म आएको विश्वविद्यालयमा क्वार्टर सिष्टम (तीनमहिने सत्र) रहेछ।” सेमेस्टर सिष्टममा अन्तर्राष्ट्रिय विद्यार्थीले 'फुल टाइम' विद्यार्थी हुन ९ क्रेडिट आवर (६ महिनामा लिनुपर्ने) को कोर्स लिनुपर्छ तर क्वार्टर सिष्टममा भने प्रत्येक तीन महिनामा ६ क्रेडिट बराबरको कोर्स लिनुपर्ने हुन्छ। क्वार्टर सिष्टम भएको विश्वविद्यालयमा एक विद्यार्थीले ६ महिनामा १२ क्रेडिट बराबरको कोर्स लिनुपर्ने हुन्छ। अनि, ६ महिनालाई ल्याएको खर्च त्योभन्दा पहिले नै सकिन्छ। यसरी खान, बस्न र अरू खर्चका लागि ल्याएको पैसा पढाइमै सकिएपछि विद्यार्थीहरू बढी काम गर्न बाध्य हुन्छन्। कतिपय परिस्थितिमा गैरकानुनी रूपमा समेत काम नगरी सुखै पाउँदैनन्। मिलेनियम इन्स्टिच्यूटका शेखर उपाध्याय यो यथार्थलाई स्वीकार्दै भन्छन्, “कन्सल्ट्यान्सीले उताको कुरा आफैँले पनि राम्ररी बुझ्न र बुझाउन सक्नुपर्छ। यताबाट कुरा लुकाउने, झूठा सपना देखाउने गर्दा विद्यार्थीले कन्सल्ट्यान्सीले ठग्यो भन्छन् र हामी सबै बद्नाम हुन्छौँ। ”

जे जस्तो भए पनि केही वर्ष यता विद्यार्थीहरूको विदेशिने लहर नै चलेको छ (हे. बक्स) र विदेश जान परामर्श सेवा दिने कन्सल्टेन्सी संस्थाहरू पनि झाङ्गिएका छन्। यी संस्थाहरूले आई ट्वेन्टी (भर्ना स्वीकृति), भर्ना निवेदन, भिसाका लागि परामर्शलगायत टोफेल, आईईएलटिएस, जीम्याट, जीआरई जस्ता परीक्षाको तयारी कक्षा समेत सञ्चालन गर्छन्। कन्सल्ट्यान्सीको भीडमा नक्कली कागजात बनाइदिने, धेरै शुल्क उठाउने, विद्यार्थीलाई नराम्रा कलेजमा पठाइदिने संस्थाहरू पनि बजारमा देखापर्ने गरेका छन्। यो पृष्ठभूमिमा विद्यार्थीहरूलाई पारदर्शी रूपमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) एक दशकअघि नै स्थापना भएको थियो। बीचमा यो निष्त्रि्कय रह्योे। तर कन्सल्टेन्सीमार्फत् विद्यार्थीहरू ठगिएका घटना बढ्न थालेपछि देशमा तीन सयभन्दा बढीको सङ्ख्यामा रहेका कन्सल्टेन्सीहरूलाई अरू व्यावसायिक बनाउन उक्त संघ पुनः सक्रिय भएको छ। इक्यानले नैतिक तथा जिम्मेवारीपूर्ण परामर्श सेवालाई प्रोत्साहन गर्नका लागि आचारसंहिता समेत बनाएको छ। जसमा परामर्श शुल्कबापत प्रति विद्यार्थी रु.८ हजार भन्दा बढी असुल गर्न नपाइने उल्लेख छ। बेलायतका कलेजहरूबारे जानकारी दिने आधिकारिक संस्था ब्रिटिस काउन्सिलका प्रणय राई भन्छन्, “कन्सल्ट्यान्सीहरूले विद्यार्थीलाई सही जानकारी र सुझाव दिउन् भन्ने उद्देश्यले हामी उनीहरूलाई काउन्सिलिङ गर्ने तालिम नै दिन्छौँ। यसलाई सहज र व्यवस्थित बनाउन इक्यान जस्तो संस्थाको आवश्यकता छ।”

तर विदेशमा जाने सबैले दुःखै पाउने अवस्था पनि छैन। छात्रवृित्त वा अरू किसिमका राहत पाउने विद्यार्थीहरूले पढाइमै केन्द्रित भएर सीप विकास गर्ने राम्रो मौका पाइरहेका पनि छन्। अमेरिकाको ड्युक विश्वविद्यालयमा फुलब्राइट छात्रवृित्तमा स्नातकोत्तर अध्ययन गरिरहेकी रोजिना मानन्धरको दिनचर्या पढाइ र अनुसन्धानमै बितिरहेको छ। दायाँबायाँ हेर्नै पर्दैन। उनी भन्छिन्, “नेपालमै बसेर अलिकति गृहकार्य गर्‍यो र धैर्य राख्यो भने सक्षम विद्यार्थीले छात्रवृित्त पाउँछन् नै।” पर्याप्त अनुसन्धान नगरी हतारिएर आउने विद्यार्थीहरूले दुःख पाउने उनको मूल्याङ्कनसँग विदेशमा अध्ययनरत सबै खाले विद्यार्थी सहमत छन् ।

अमेरिकाबाट सन्दीप के.सी.को सहयोगमा


बिहे गर्न विदेश!

पवित्रा र राजन भर्खरै अस्ट्रेलियाका लागि उडे। स्नातकोत्तर गर्ने बहानाले विदेशिए पनि उता पुगेर विवाह गर्ने दुई जनाको मुख्य योजना छ। नेवार परिवारकी पवित्रा र ब्राह्मण परिवारका राजनले नेपालमै विवाहका लागि अभिभावकहरूको स्वीकृति पाउने सम्भावना देखेनन्। राजन भन्छन्, “यतै बसेर बिहे हुने सम्भावना शून्य बराबर थियो। त्यसैले विदेशिनुको विकल्प थिएन।” पवित्रा थप्छिन्, “यतै बस्दा जात मिल्ने चाहिन्छ, उता जाँदा जुनसुकै भएपनि नेपालीसँग बिहे गरे हुन्छ।”

तर, यसै साता अमेरिका जाने तयारीमा रहेका सूचनाप्रविधिमा स्नातक किशोर श्रेष्ठ भने पैसा कमाउन विदेशिन लागेका होइनन्। घरमा बुबाआमाले अर्कै जातको बुहारी भित्र्याउन नदिने अड्डी लिएपछि अन्तरजातीय विवाहको तयारीमा रहेका किशोर छट्पटिए। र, अन्ततः पढाइको निहुँमा विदेशिने निर्णय गरे। उनी भन्छन्, “दुवैको परिवारले हाम्रो सम्बन्ध स्वीकारेको भए हामी नेपाल छोड्दैनथ्यौँ।” थुप्रै छन् यस्ता युवायुवती। कोही जोडी बाँधेरै विदेश जान्छन् भने कोही जोडी भेट्न र प्रेम सम्बन्धलाई सार्थक बनाउन विदेशिन्छन्। त्यसका लागि सजिलो निहुँ बनेको छ– 'अब्रोड स्टडी'। एक वर्ष पहिले संयुक्त अधिराज्य पुगेकी रीता श्रेष्ठले इन्टरनेटमार्फत् सम्पर्कमा आएका प्रेमीका लागि नेपाल छाडेकी हुन्। हाल प्रेमीसँगै बसिरहेकी उनी भन्छिन्, “कति वेभक्याममा मात्र अनुहार हेर्नु? भेट्न मन लाग्यो, पढ्नु पनि पर्‍यो। अहिले अभिभावकलाई पनि सबै थाहा भइसकेको छ। अब चाँडै नै बिहे गर्दैछौँ।”

प्रेमिकासँगै अमेरिका उड्ने तयारीमा रहेका शेखर शर्मा पढाइका निम्ति विदेश जाँदा जोडी वा साथीहरूसँगै जानु राम्रो हुने धारणा राख्छन्। उनको विचारमा नयाँ ठाउँ, नयाँ परिवेशमा मन मिल्ने साथी हुनैपर्छ। भन्छन्, “मनको कुरा पोख्ने साथी नभएर डिप्रेसनका कारण मेरो चिनजानका दुई जनाले विदेशमा आत्महत्या गरिसके। त्यसैले गर्लफ्रेण्डको भिसा लागेपछि मैले पनि जाने निर्णय गरेको हुँ। भरपर्दो मान्छे सँगै भयो भने आर्थिक समस्या, विरामी पर्दा वा मानसिक तनाव हुँदा सजिलो हुन्छ।”
(नाम परिवर्तन गरिएको छ।)


धेरैको लक्ष्य अमेरिका
राष्ट्र २०६२/२०६३ २०६१/२०६२ २०६०/२०६१ २०५९/२०६० २०५८/२०५९
संयुक्त राज्य अमेरिका २४१८ १०९१ ११०६ ११२३ ८७७
संयक्त अधिराज्य २८३ २८१ २६४ २८६ २५२
अष्ट्रेलिया ९०१ ३१० १६० १३६ ९७
चीन ५१४ ४६४ ३२५ ३१९ -
जर्मनी ११३ ८८ ८१ ८५ ३८
बङ्गलादेश/पाकिस्तान २५९ १०० २६ ३८ ५४
अन्य ८८३ १३६२ ५२३ ३५८ ३८६
जम्मा ५३७१ ३६९६ २४८५ २३४५ १७०४

स्रोतः शिक्षा मन्त्रालय