रिपोर्ट
| अपराध
फरार 'अपराधी' कहाँ छन्
यिनीहरू?
विभिन्न हत्याकाण्डमा संलग्न भनेर प्रहरीले
खोजिरहेका १०१ 'अपराधी' हरू अहिलेसम्म फरार छन्। नेपाल प्रहरीको अनुसन्धान
प्रणाली र 'इन्टेलिजेन्स' कमजोर भएको कारण इन्टरपोलको सहयोग पनि प्रभावकारी
हुन सकिरहेको छैन।
•
दीपेशकुमार केसी
काठमाडौँ रानीबारीका इञ्जिनियर दम्पती हेमन्त र अञ्जली
श्रेष्ठको बीभत्स हत्या भएको चार वर्ष भयो। अहिलेसम्म हत्यारा यकिन
भएको छैन। औपचारिक प्रतिक्रियामा 'अनुसन्धान तीब्र पारिएको' बताउने
प्रहरीले गुमनाम हत्याराको एउटा 'पोट्रेट' निकालेको छ। ३१ असार २०५९
मा भएको सो हत्याकाण्डका दुई अभियुक्तमध्ये एक प्रकाश लामाको पहिचान
भएको भनिए पनि तिनको उमेर र ठेगानाबारे प्रहरीसँग कुनै जानकारी छैन।
ललितपुर बडिखेलमा नगरकोटी परिवारका पाँच सदस्यको सामूहिक
हत्या भएको दुई वर्ष नौ महिना बित्यो। अपराधी पत्ता लगाउन अपनाएका
अहिलेसम्मका उपाय निरर्थक सावित भएका छन्। एक प्रहरी अधिकारी 'प्रारम्भिक
अनुसन्धानका क्रममा गरिएको बेवास्ताले समय बित्दै जाँदा अनुसन्धानमा
कठिनाई भएको' बताउँछन्। २०६१ कात्तिक दशैँको अष्टमीको मध्यरातको सो
घटना अब बडिखेलवासी बाहेक अरूले बिर्सिसके पनि।
पहिचान नभएका यस्ता मात्रै होइन पहिचान भएका दर्जनौँ
'हत्यारा' हरू पनि फरार छन्। बडिखेल हत्याकाण्डकै आसपासमा भएको ललितपुर
खुमलटारका निलबहादुर राउतको हत्यामा संलग्न विजय लिम्बू अहिलेसम्म
पक्राउ पर्न सकेका छैनन्। लिम्बू विदेश पुगिसकेको अनुमान छ। १६ असार
२०६० मा ललितपुर धोबीधाराकी प्रनिता सुनुवारको हत्यामा संलग्न तेजेन्द्र
गुरुङ, राजबहादुर राई अहिलेसम्म फरार छन्। ३ माघ २०५९ मा दरबारमार्गको
रोयल डिस्कोमा राकेश लिम्बूलाई तरबार प्रहार गरी हत्या गर्ने राजु
भन्ने राजबहादुर गोरखाली अहिलेसम्म समातिएका छैनन्। राजनीतिज्ञदेखि
प्रहरीका उच्च अधिकृतसम्म राम्रो सम्बन्ध भएका गोरखाली नसमातिनुलाई
प्रहरीको कमजोरी मात्रै भन्न मिल्दैन।
सेन्ट जेभियर्स स्कूलका फादर थोमस ई ग्याफ्नेको हत्या
भएको नौ वर्ष बित्न लाग्यो। हत्यारा भनिएका गोकुल भन्ने ढालबहादुर
खड्का कहाँ छन् थाहा छैन। समाजसेवामा ख्याति कमाएका ग्याफ्नेको पैसा
लुट्नका लागि मारिएको अनुमान गरिएपनि अहिलेसम्म यो हत्याको रहस्य बाहिर
आउन सकेको छैन। २८ मङ्सिर २०५४ को सो घटना अब धेरैको मानसपटमा छैन।
त्यसैगरी ८ कात्तिक २०५७ मा ललितपुर लुभुमा आधा तोला सुनको औँठीका
लागि चक्रबहादुर थापाको हत्या गरेको अभियोग लागेका रामसुन्दर खत्री
अहिलेसम्म समातिएका छैनन्।
१०१ फरार 'हत्यारा'
जिल्ला प्रहरी कार्यालय काठमाडौँको अभिलेख अनुसार २०५४ साल
यताका विभिन्न हत्याकाण्डमा संलग्न भई फरार रहेका अभियुक्तको सङ्ख्या
१०१ छ। अनुसन्धानमा संलग्न प्रहरीहरू सरुवा हुने, प्रमाण लोप हुने
हुनाले घटनाको लामो समयपछि त्यसबारे अनुसन्धान गर्न कठिनाई हुनेगर्छ।
तर, दुई दशकअघिको अपराधमा पक्राउ परेका चार्ल्स शोभराज प्रकरणले 'अनुसन्धानको
फाइल कहिल्यै बन्द नहुने' सन्देश दिएको प्रहरीको दाबी छ।
अपराध अनुसन्धान शाखा हनुमानढोकाका प्रहरी निरीक्षक
चन्द्रकुवेर खापुङ्ग भन्छन्, “धेरैजसो हत्यारा भारतमा भएको जानकारी
पाएपनि हुलिया र तस्बिर पाउन नसक्दा इन्टरपोलमार्फत् वारेन्ट जारी
गर्न नसकिएको अवस्था छ।” खापुङ्ग स्वीकार गर्छन्, “जस्तो कि १३ असार
२०५९ मा हात्तीसारमा विदुर कार्कीलाई गोली हानी फरार भएका मिनबहादुर
मिश्र र मदनबहादुर मिश्र भारतमा भएपनि उनीहरूलाई पक्राउ गर्न सकिएको
छैन।”
तर, कतिपय अभियुक्तहरू नाम र रहनसहन बदलेर नेपालमै बसेको
हुनसक्ने अनुमान प्रहरीको छ। किनकि नेपाल लामो समयसम्म हिंसात्मक द्वन्द्वमा
फसेका कारण ग्रामीण भेगमा प्रहरीको पहुँच छँदै थिएन भने हुन्छ। यसले
अभियुक्त गाउँमा लुकेर बस्न सक्ने सम्भावना पनि नभएको होइन। तर अहिलेसम्म
यस्तो घटना प्रकाशमा भने आएको छैन। त्यसो त समय बित्दै जाने क्रममा
प्रमाण, पहिचानलगायतका समस्याका कारण अभियुक्त समात्न कठिनपर्नु स्वाभाविक
हो।
पुराना मात्रै होइन ताजा घटनाका अभियुक्तहरु पनि समातिएका
छैनन्। २० जेठ २०६१ मा मारिएका अर्जुन अधिकारीका हत्यारा चुडामणि बुढाथोकी,
२४ असोज २०६१ मा सामाखुशीका उज्ज्वल जोशीको हत्या गर्ने प्रज्ज्वल
ताम्राकार र मिलन घले, १३ माघ २०६० मा बौद्धका रोशन मगरको हत्या गर्ने
चाँद लामा, सुनील श्रेष्ठ र विजय लामा अहिलेसम्म फरार छन्।
त्यसैगरी १० जेठ २०६२ मा विद्युत् प्राधिकरण रत्नपार्कको
क्यान्टिनमा सुकराम तामाङको हत्या गर्ने नवीन राई, २४ असोज २०६२ मा
कलङ्कीमा जयचन्द्र शर्माको हत्या गर्ने राजु भन्ने राजेश श्रेष्ठ,
३१ भदौ २०६२ मा कोटेश्वरमा अमरबहादुर बुढाथोकीलाई गोली हानी हत्या
गर्ने कुमार लामा र ३ पुस २०६२ मा गोङ्गबुमा हेम लामाको हत्या गर्ने
श्याम थापा पनि फरार छन्।
किन यस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एआईजी डा.गोविन्दबहादुर
थापाका भनाइमा, “अपराधी फरार हुनुको मुख्य कारण प्रहरीको इन्टेलिजेन्सीकोे
कमी हो।” प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुख भइसकेका थापाको
विश्लेषणमा, “अपराध अनुसन्धानमा प्रहरी व्यावसायिक हुन नसक्नाले अपराधी
पत्ता लगाउन र पक्रने प्रयास विफल भएका उदाहरण छन्।”
इन्टरपोलः झञ्झटिलो प्रक्रिया
अभियुक्त पुगेको स्थान, उमेर, आमाबाबुको नाम, वतनसहितको विवरण चाहिन्छ
इन्टरपोललाई खबर गर्न। २०५४ सालमा लुम्बिनीमा मारिएका भिक्षु नावातामेको
हत्यारामध्ये पाँचलाई इन्टरपोलको सहायताले भारतमा पक्राउ गरिएपनि आवश्यक
हुलियाका अभावमा अबरार अहमद मुसलमान भने पक्राउ पर्न सकेनन्।
तर, नेपालमा अपराध गर्नेहरू लुक्न भारत पुग्छन् भन्ने
परम्परागत मान्यताबाट मुक्त हुनुपर्ने पछिल्लो घटनाबाट देखिन्छ। हालै
मात्र डा. हेमाङ्ग दीक्षितमाथि गोली प्रहार गर्ने गिरोहका नाइके सिङ्गापुरमा
बस्ने गरेको तथ्य प्रहरीले फेला पारेको छ। नेपाल प्रहरीको इन्टरपोल
शाखाका उपरीक्षक पशुपति उपाध्यायका भनाइमा, नेपालगञ्जमा हेमकर परिवारको
सम्भावित हत्याराले सीमा काटेको सुराकीका आधारमा इन्टरपोलका सदस्य
राष्ट्रहरूलाई गोप्य रूपमा पत्र पठाइएको छ।”
इन्टरपोलको प्रक्रिया सजिलो छैन। नेपाल प्रहरीका पूर्व
एआईजी थापाको भनाइमा, “अदालतमा प्रमाणसहित मुद्दा चलाएर दोषी ठहर्याएपछि
प्रमाणसहित अपराधी फरार भएको घोषणा गरेपछि मात्र औपचारिक रूपमा इन्टरपोलमा
रेडकर्नर नोटिस जारी हुनसक्छ।” नोटिस जारी भएपछि पनि अन्य देशलाई अपील
मात्र गर्न सकिन्छ। अपराधी भेटिएपनि अपराधीलाई स्वदेश ल्याउन त्यो
देशको कानुन र द्विपक्षीय सन्धि आवश्यक पर्छ। थापा भन्छन्, “अपराधी
भेटिनासाथ समाएर ल्याउन सकिन्न।
 |
 |
 |
 |
 |
 |
| चुडामणि बुढाथोकी |
राजन लिम्बू |
बीरबहादुर थापा |
रानीबारी हत्याकाण्डः |
दुई अभियुक्तको स्केच |
मीनबहादुर मिश्र |
 |
 |
 |
 |
 |
 |
| पदमबहादुर मिश्र |
राजु गोर्खाली |
प्रज्ज्वल ताम्राकार |
मिलन घले |
निमन लामा |
कंछ गुरुङ |
 |
 |
 |
 |
 |
 |
| कृतन बस्नेत |
रमेश श्रेष्ठ |
सुङ्गुल र आदन लामा |
गम्भीर महर्जन |
कर्म लामा |
दीपक लामा |
 |
 |
 |
 |
 |
 |
| च्याङ्बा तामाङ |
विनोद भुजेल |
तिर्खे राई |
पदम गुरुङ |
दुर्गा गुरुङ |
खुर्जियाद देवान |
 |
 |
 |
 |
 |
 |
| हरि गिरी |
नवीन राई |
राजेश श्रेष्ठ |
श्याम थापा |
दिनेश थापा |
अदिप राई |
 |
 |
 |
 |
 |
 |
| सन्तोष खड्का |
विक्रम राई |
कृष्णबहादुर राई |
सानु पोडे |
कुमार मगर |
सनित लामा |
|