रमझम
फेशनको गर्मी
गर्मी र वर्षाको बेला, साउनको अन्तिम साता काठमाडौँमा
फेशन–मोडलिङ महोत्सव मानिने सनसिल्क फेशन सप्ताह–२००६ हुने भएपछि राजधानीमा
फेशनको सरगर्मी बढेको छ।
साउनको झरी र चर्को गर्मीमा पनि झण्डै डेढ सय फेशन डिजाइनर
र मोडलहरू आफ्नो काममा भिडिरहेका छन्। २५–२९ साउनमा फेशन र मोडलिङको
महोत्सव मानिने सनसिल्क फेशन सप्ताह–२००६ हुने भएपछि राजधानीको फेशन
जगतमा सरगर्मी बढेको हो।
काठमाडौँका प्रतिष्ठा, मनिका र शालिनी, धनकुटाकी सुष्मा
र मोरङकी सरिता महिना दिनदेखि नयाँ डिजाइनका पहिरन बनाउन व्यस्त छन्।
उनीहरू फेशन सप्ताहमा सहभागी १३४ फेशन डिजाइनरमध्ये पर्दछन्। इण्डियन
एजुकेशन सेण्टर अफ फेशन डिजाइनिङ एण्ड इण्टेरियर डेकोरेशन (आइइसी)
मा विगत नौ महिनादेखि प्रशिक्षण लिइरहेका यी विद्यार्थी झैँ अहिले
व्यावसायिक डिजाइनरहरू पनि आफ्नो प्रतिभालाई निखारिरहेका छन्।
राम्रो सम्भावना देखेर यसतर्फ लागेकी दरबारमार्गकी प्रतिष्ठा श्रेष्ठको
बुटिक खोल्ने चाहना छ। कम्प्युटरमा रुचि भएकी शालिनी अग्रवाल आइइसी
मा डिजाइनर कोर्स गर्न थालेपछि यतातिर ढल्किएकी हुन्। उनी भन्छिन्,
“हामी जस्ता नयाँ पुस्ताको लागि यो पेशा राम्रो रहेछ।” स्नातक गरेपछि
फेशन डिजाइनिङमा केही गर्ने सोच बनाएर यतातिर लागेकी
धनकुटाकी सुष्मा श्रेष्ठ सिक्दै गएपछि आत्मविश्वास बढेको बताउँछिन्।
भन्छिन्, “पहिले सामान्य रुचि थियो, अहिले यो क्षेत्रमा धेरै सम्भावना
देखेकी छु।” यो क्षेत्रमा भर्खर पाइला हालेकी सुष्मा पनि मेहनत गरेर
पहिरन तयार पारिरहेकी छिन्। उनले वर्षात् र गर्मी मौसमका लागि उपयुक्त
लुगाहरू प्रदर्शन गर्नेछिन्।
 |
| अनिता |
फेशन डिजाइनिङ पढिरहेकी मोरङ, विराटनगरकी सरिता बोहरा
र काठमाडौँ, चावहिलकी मनिका श्रेष्ठले पनि आफ्नो पेशा यसैलाई बनाउने
विचार गरेका छन्। उनीहरू भन्छन्, “प्रतिस्पर्धा चर्को भएपनि यसको बजार
ठूलो छ।” उनीहरू फेशन सप्ताहकै समयमा बीबीएसको परीक्षा परेपनि परीक्षासँगै
पहिरनको पनि तयारी गरिरहेका छन्। “एकातिर परीक्षा, अर्कोतिर आफ्नो
क्षमता देखाउने अवसर। दुवैका लागि एकसाथ मेहनत गरिरहेका छौँ।”
|
| शैलजा अधिकारी, प्रबन्ध निर्देशक, आइइसी। |
सनसिल्क फेशन सप्ताह–२००६ मा दुई महिनादेखि डिजाइनर
तालिम लिन थालेकी शर्मिला थापादेखि आठ वर्षदेखि यो क्षेत्रमा लागेकी
आर्सिया बानुसम्मका डिजाइनरहरूका पहिरन देख्न पाइनेछ। यसमा आर्सियाका
साथै अपेरियल, इमेजिन, वुमेन्स प्लानेट र आकर्षण बुटिक पनि सहभागी
हुनेछन्।
बानेश्वरका सौरभ आचार्य र कोटेश्वरका किशोर राउतले आफ्ना
डिजाइनका ३० पहिरन प्रस्तुत गर्दैछन्। आइइसी मा १३ महिनादेखि प्रशिक्षण
लिइरहेका आचार्यले फेशन सप्ताहमा के गर्ने भनेर वर्षदिनदेखि योजना
गरिरहेका थिए। भन्छन्, “हामीले डिजाइनमा लोकतन्त्र र माओवादी विद्रोहको
झल्को पनि दिनेछौँ।”
होटल हायात् रिजेन्सीमा हुने फेशन सप्ताहमा १४ नेपाली
र ८ भारतीय मोडलहरू ७०० भन्दा बढी पहिरनमा पाँच दिनसम्म र्याम्पमा
प्रस्तुत हुनेछन्। त्यहाँ भारतीय ग्लाडर्स मोडल हण्ट का विजेताहरूलाई
पनि हेर्न पाइनेछ। मोडलहरूसँगै अन्य क्षेत्रका व्यक्तित्वहरू पनि र्याम्पमा
प्रस्तुत हुने बताइएको छ। भारतीय टेलिभिजन च्यानलहरूले समेत प्रसारण
गर्ने भनिएको सो फेशन सप्ताहमा कोरियोग्राफीमा क्षितिजा शाक्य र ब्युटिसियनमा
सहनाज हुसैन हर्वल स्किन केयरकी सुनिता सवरवल छन्।
यसपटक सहभागी हुने मोडलहरू रमनी जोशी, श्रृष्टि श्रेष्ठ,
सविता महर्जन, सब्रिना न्यौपाने, नसिम प्रधान गत वर्ष पनि र्याम्पमा
उत्रिएका थिए। निलिफर नियाज, पुनम थापा, दिपशिखा शाह, अनिता गुरुङ,
बबी सुब्बा र पूजा राई भने यसपटक देखापर्ने नयाँ मोडल हुन्। भारतकी
ग्लाडर्स सुपर मोडल उपाधि विजेता आरती शर्मा, फष्ट रनरअप हीना प्रियदर्शन,
सेकेण्ड रनरअप रुपाली सुरी तथा उत्कृष्ट मोडलहरू रोहिणी साहनी, सल्मा
लासर्दाे, पूजा प्रधान, रोलिया र्यान, वैदिता सिंह पनि सहभागी हँुदैछन्।
नेपाली मोडलहरूलाई साउनको पहिलो सातादेखि नै कोरियोग्राफर
क्षितिजा शाक्यले प्रशिक्षण दिइरहेकी छिन्।
यसअघि सनसिल्क फेशन सप्ताह–२००५ मा ७९ डिजाइनरका ७००
पहिरन प्रदर्शन गरिएको र रु.२५ लाख बराबरको ब्यापार भएको थियो। आयोजक
आइइसी का प्रबन्ध निर्देशक शैलजा अधिकारीले यसपटक रु.७५ लाख बराबरको
कारोबार हुने लक्ष्य राखेको बताइन्। फेशन सप्ताहमा पहिरन, घडी, ज्वेलर्स,
कस्मेटिकका ३२ स्टल समेत राखिने छन्। युनिलिवर नेपालको उत्पादन सनसिल्क
को मुख्य प्रायोजनमा हुन लागेको उक्त सप्ताहमा रु.५०० देखि रु.१ लाख
१५ हजारसम्म पर्ने पहिरनहरू राखिने छन्। यो फेशन सप्ताहको भारत र युरोपका
नागरिकहरूले पनि अवलोकन गर्ने भएकाले नेपाली डिजाइन अन्तर्राष्ट्रिय
बजारसम्म पुग्ने शैलजा अधिकारीको विश्वास छ।
•
अनुशील
सङ्गीत
जीवनसाथी नै सङ्गीत
•
कृष्ण अविरल
सङ्गीत सिकेर केही गर्छु भन्दाभन्दै उमेरले ३५
को नेटो काटिसक्यो। तर बिहे गर्ने संंयोग जुरेन। यसमा पछुतो छैन उनलाई।
किनकि उनी आफूले नजन्माएका करीब एक दर्जन 'छोराछोरी' को न्यानो मायाबाट
घेरिएकी छन्। “मेरा लागि विद्यार्थीहरू नै छोराछोरा हुन्” शास्त्रीय
सङ्गीतकी गुरुमा शारदा क्षेत्री भन्छिन् “मैले विद्यार्थीबाटै छोराछोरीको
माया पाएकी छु।”
काठमाडौँमा पहिले चावहिल र अहिले गौशाला–पिङ्गनस्थानस्थित
डेरामा शास्त्रीय सङ्गीत सिकाउँदै आएकी शारदा सङ्गीतका विद्यार्थीहरू
माझ निकै लोकप्रिय छिन्। जन्मदिनमा खुसियाली बाँड्दा होस् या बिरामी
हुँदा, साथ दिने विद्यार्थीहरू नै हुन्छन्। उनी भन्छिन्, “मेरो लागि
सङ्गीत नै जीवनसाथी भएको छ। अनि विद्यार्थी चाहिँ छोराछोरी।”
विद्यार्थीको उमेर, स्वरको स्तर र चाहना अनुसार
सिकाउने शारदा आफूकहाँ आउने सबैलाई विद्यार्थी बनाउँदिनन्। सङ्गीत
सिकेर तुरुन्तै 'पपुलर' हुन आएकाहरूलाई सिकाउन नचाहने उनी भरसक तिनीहरूको
सङ्गीतप्रतिको धारणा परिवर्तन गराउन चाहन्छिन्। नेपाली साहित्यमा एमए,
शास्त्रीय सङ्गीतमा विशारद (हालसालै भारतको रवीन्द्र भारती सङ्गीत
विश्वविद्यालयबाट सङ्गीत–रत्न (एमम्युज)) गरेकी शारदाको शास्त्रीय
सङ्गीतलाई सस्तो लोकप्रियताको सिंढी बनाउने प्रवृत्तिप्रति आपत्ति
छ।
सङ्गीत सिकाउने उनको आफ्नै शैली छ। शारदाका अनुसार
दुई जनाभन्दा बढीको भीडमा शास्त्रीय सङ्गीत सिकाउनु भनेको राग घोकाउनु
मात्रै हो। भन्छिन् “त्यसरी सिकाएर विद्यार्थीमाथि न्याय हुँदैन।”
जुन अहिले भइरहेको छ।
नाट्य–कलाकार बाबु र भजन गायिका आमाकी छोरी शारदाको
सङ्घर्षको आरम्भ दार्जीलिङबाट भएको हो। चौध–पन्ध्र वर्षको उमेरमा शास्त्रीय
सङ्गीत सिक्न थालेकी हुन्, उनले। कलकत्ताका स्व. मणिकुमार राई, सूर्य
रोय आदिबाट प्रशिक्षण लिएर शुरुका ६–७ वर्ष दार्जीलिङमै सङ्गीत सिकाइन्।
२०४८ सालतिर काठमाडौँ छिरेपछि केही वर्ष रेडियो नेपालमा करारमा शास्त्रीय
गायिकाको जागिर खाइन्। गोपाल योञ्जनले समेत पत्याएकी शास्त्रीय गुरु
शारदालाई अहिले भ्याइनभ्याई छ। बिहानदेखि बेलुकासम्म विद्यार्थीको
ताँती हुन्छ। युवा गायक/ गायिका जगदिश समाल, रिमा गुरुङ, शीतल–सुवानी
मोक्तान, राम धिमाल, जिवेश राई, दीपा घिमिरे उनका विद्यार्थीहरू हुन्।
छ वर्षदेखि निरन्तर शास्त्रीय सङ्गीत सिक्नेहरू देख्दा लाग्छ– भविष्यका
चर्चित गायक–गायिकाहरू उनीकहाँ थुप्रै छन्।
नयाँ विद्यार्थीलाई हार्मोनियम र पुरानालाई तानपुरामार्फत्
शास्त्रीय सङ्गीतका सूत्रहरू सिकाउने शारदा आफैँ पनि दैनिक तीन घण्टा
रियाज गर्छिन्। पशुपतिक्षेत्रस्थित किराँतेश्वर सङ्गीत आश्रममा आयोजना
हुने कार्यक्रममा उनले गाउँदा प्रशंसा नगर्ने कोही हुँदैनन्। तर उनी
आफ्नो छुट्टै क्यासेट अल्बम लिएर प्रतिस्पर्धाको बजारमा आउन सकेकी
छैनन्। भन्छिन्, “एउटै भएपनि राम्रो निकालुँ भनेर तयारी गर्दैछु।”
बेसुरा गीतहरूलाई 'हिट' भनेर टेलिभिजन, एफ्एम् रेडियोहरूले प्रचार
गरेको देख्दा उनको मन दुख्ने गरेको छ।
सिर्जना
कलकत्ते काइयो
एफ्एम् र टिभीका
साङ्गीतिक कार्यक्रम 'काउण्ट डाउन'मा एउटा रिमिक्स
गीत लोकप्रियताको चुलीमा पुग्यो– 'कलकत्ते काइयो'। जयनन्द लामाले २०३८/०३९
सालतिर सिर्जना गरेको यो गीतले उसबेलै पनि प्रसिद्धि पाइसकेको थियो।
युवा गायक रोज मोक्तानले रिमिक्स गरी अल्बम 'डम्फुरे'
मा समावेश गरेपछि त्यो पुरानो चर्चित गीतले पुनः लोकप्रियता कमाएको
हो। पछिल्लो पुस्ताको रुचि अनुसार 'रिमिक्स' भएकाले दुईदशकपछि पनि
गीतले लोकप्रियता हासिल गरेको गीतका जन्मदाता जयनन्द लामा बताउँछन्।
इमेज एफ्एम्को 'सेलेक्टेड–२०'मा यो गीत चार हप्ता पहिलो नम्बरमा र
कान्तिपुर एफ्एम्को 'काठमाण्डू वीट' मा यसले पहिलो नम्बरमा पाँच हप्ता
नघाएको थियो।
मोक्तानको आफ्नै मूल्याङ्कनमा सबै गीत राम्रै
भएपनि पहिलेदेखि नै जनजिब्रोमा झुण्डिएकाले 'कलकत्ते काइयो'ले लोकप्रियता
कमाएको हो। उनलाई अविनाश घिसिङको र्याप स्टाइलले राम्रै साथ दिएको
छ। 'डम्फुरे' अल्बम भित्रका 'हिउँ पर्यो फुरुरु...', 'रातो रातो गाला...'
गीत पनि श्रोताले मनपराएका छन्।
अमृतको हेराइमा नेपाल
|
(नेपथ्यका अमृत गुरुङसँग
कृष्ण शाह यात्रीको कुराकानीमा आधारित) |
साङ्गीतिक यात्राको दौरानमा मैले असारका २६ दिन पूर्वदेखि
पश्चिम नेपालका पचास जिल्लामा भ्रमण गर्न पाएँ। पन्ध्र वर्षअघिदेखि
म हरेक वर्ष फुर्सदको समय निकालेर देशका विभिन्न स्थानहरूमा यात्रा
गर्न निस्कन्छु। विगतका भन्दा यो पटकको यात्रामा सर्वथा भिन्न महसूस
गरेँ मैले।
२०६३ को जनआन्दोलनले नेपालमा धेरै परिवर्तनहरू ल्याएको
छ। मान्छेहरूलाई धेरै किसिमले आशावादी तुल्याएको र सबैमा उत्साह र
जाँगर जगाएको देखिन्छ। यसपालि पहाड, मधेश र राजमार्गतिरको भ्रमणमा
मैले यही देखेँ।
वितेको एक दशकयता हामी पीडामा बाँचिरहेका थियौँ भन्ने
प्रत्यक्ष अनुभव मलाई गरायो यो यात्राले। कुनै पनि ठाउँमा बन्दुक लिएको
मान्छेले बाटोमा रोक्दैन भने त्यस्तो बेला हिँड्न कति आनन्द हुँदोरहेछ
र मानसिक रूपमा कति स्वतन्त्र भइँदो रहेछ भन्ने राम्रै महसूस भयो।
यात्राको दौरानमा कुनै पनि ठाउँमा भिडन्त हुन सक्छ, बम राखिएको छ वा
सुरक्षाकर्मीले चेक गर्छ वा माओवादीको थ्रेट हुन सक्छ है भन्ने कुराको
भयबाट मुक्त भएर यात्रा गर्दाको रमाइलो नै बेग्लै हुँदोरहेछ।
यो पटक राजमार्गले छोएका शहरहरूमा चहलपहल बढी थियो।
मान्छेहरू व्यस्त र व्यापार व्यवसाय पनि भइरहेको देखिन्थ्यो। सहज जनजीवनमा
नयाँ आशा पलाएको देखिन्थ्यो। मलेखुमा बर्मेली बाजेले कुरा गरे, “बाबु!
यसरी नै सकारात्मक सङ्केतहरू देखा पर्दै जाने हो हाम्रो सानो देश दश
वर्षमा नै सबैभन्दा राम्रो देश बन्न सक्छ। तर माओवादी र राजनीतिक पार्टीहरू
मिलेर नेपाल र नेपालीका भलाइका लागि जुट्नुपर्छ।”
वास्तवमै यतिवेला नेपालको सुनौलो भविष्यका निम्ति अधिकांश
मानिस सचेत र सतर्क छन्। यात्रामा भेटिएका विद्यार्थी भाइबहिनीहरूले
खुलेर भने, “अब स्थिति सुधि्रनुपर्छ। फेरि विद्यालयको प्राङ्गण माओवादी
वा नेपाली सेनाले प्रयोग गर्नुहुँदैन। सबै मिल्नु पर्छ।”
कति राम्रो कुरा। वास्तवमा पछिल्ल्ाो समयमा मान्छे भएर मान्छे झैँ
बाँच्न गाह्रो हुँदै गएको थियो। गाउँ, शहरमा जीवनस्तर कठिन बन्दै गएको
थियो। दुई वर्षअघि दाङमा साङ्गीतिक कार्यक्रम लिएर जाँदा एउटी बूढीआमैले
भनेकी थिइन्, “यस्तो साङ्गीतिक कार्यक्रम लिएर आउनुभयो। ज्यादै खुशी
लाग्यो। तर समय राम्रो छैन। होस गरेर हिँड्नु है। अहिले त बिहान हिँडे
बेलुकी घर फर्किने/नफर्किने शङ्कै हुन्छ!” तर यो पटक त्यस्तो भावना
व्यक्त भएको पाइनँ।
पहिला सुदूरपश्चिममा माओवादीका गेट र नाराहरू बढी देखिन्थे
भने यसपालि पूर्वमा विभिन्न शहीदका नाममा स्वागत गेट बढी देखियो। यो
पटक हजारौँ सङ्ख्यामा खुला रूपमा गाउँ, शहरहरूमा माओवादी मित्रहरूले
आमसभा गरेको देख्दाको क्षण पनि रमाइलो थियो। सबैमा एक किसिमको उत्साह
देखिन्थ्यो।
यात्राकै क्रममा विगत दश वर्षयता आफन्त गुमाउनेहरूको
पीडा अझै रहिरहेको देखेँ। कतिपय अवस्थामा त्यो दबिएको र प्रतिशोधको
रूपमा देखा पर्ने सङ्केतहरू पनि देखेँ। यो डरलाग्दो पक्ष हो। डरको
कुरा गर्दा, माओवादीका हतियारले गर्दा सर्वसाधारण मानिसहरूमा एक किसिमको
भय भने यथावत् नै देखिन्थ्यो। त्यो भयको अवतरण गर्नका लागि माओवादीहरू
समाजमा सही किसिमले घुलमिल गर्नुपर्छ र राजनीतिमा आफूले गरेको गल्तीहरूलाई
आत्मसात् गरेर फेरि त्यो गल्ती नदोहोरिने किसिमले समझदारी साथ मूलधारमा
आएर जनतासँग मिलेर जानु पर्छ। सर्वसाधारणको भनाइ थियो, “उनीहरू आउनुपर्छ
र हतियार बिसाउनुपर्छ।” माओवादीले गरेका राम्रा काम जो कोहीले पनि
भन्ने तर नराम्रा कुरालाई लिएर मान्छेहरू हत्तपत्त बोल्न नचाहेको पनि
देखियो। यात्राकै क्रममा सुर्खेतमा माओवादीको सांस्कृतिक कार्यक्रम
भर्खरै सकिएपछि दर्शकको प्रतिक्रिया थियो, “कार्यक्रम राम्रो लाग्यो।
उनीहरूसँग बोल्न मन थियो तर सकिएन।”
विगत वा आगतको यात्राको क्रममा मैले विभिन्न ठाउँमा
यात्रा गर्दा साम्प्रदायिक भावना अलि बढी नै फैलिएको पाएँ। कतिपय ठाउँमा
साम्प्रदायिक भावनालाई राजनीतिक पार्टीहरूले अनावश्यक रूपमा उठाएको
पनि देखियो। पूर्वमा भन्दा पश्चिम निकै पिछडिएको महसूस गरेको छु। पश्चिममा
बमले उडाइएका पुलहरू अझै भत्किएकै अवस्थामा थिए। देश बाहिर जाँदा पनि
धेरै मानिसहरू मलाई हाम्रो पश्चिममा विकासका कामहरू किन हुँदैन भन्छन्।
जे भए पनि अहिले सबैको चाहना शान्ति नै हो। समग्रमा
माओवादीहरू राजनीतिको मूल प्रवाहमा आउनुपर्छ भन्नेहरू धेरै थिए। पहिले
बिग्रिएको भत्किएको भौतिक संरचनाहरू सबै मिलेर निर्माण गर्नुपर्छ भन्नेहरू
पनि थिए।
अहिले सबैले आ–आफ्नो 'डिमान्ड' गरिरहेका छन्। सबैको
समस्या छ पनि तर त्यो एकैपटक समाधान गर्ने जादुको छडी हामीसँग छैन।
महत्त्वपूर्ण कुरा के हो भने, अहिले नेकपा माओवादी मूलधारमा आएको बेला
सात दलले जुन एजेण्डा लिएर माओवादीसँग समझदारी गर्यो र त्यही अनुरुप
जनआन्दोलन भयो। अब हतियारको व्यवस्थापन गरेर राष्ट्र निर्माणमा एकजुट
भएर लाग्नु पर्छ। हामीले विगतमा भएका कुराबाट पाठ सिक्दै अब सुनौलो
नेपालको निर्माणमा जोड दिनुपर्छ।
विविध
उदितले जेठी स्वीकारे
बिहार र विवाहले गायक उदितनारायण झालाई सधैँ विवादमा
तानेको छ। कहिले 'बिहारमा जन्मेको भारतीय' भनेर नेपालीको चित्त दुःखाउने
उदित कहिले आफ्नै जेठी श्रीमतीलाई दुःख दिएर भारतीयहरूबीच नै बद्नाम
भएका छन्। पछिल्लो समय विवाहकै विवाद खेप्दै आएका उदितले अन्ततः जेठी
श्रीमती रञ्जना झालाई स्वीकारेका छन्।
पटनास्थित बिहार राज्य महिला आयोगसमक्ष उदितले
रञ्जनालाई श्रीमतीलाई दिनुपर्ने सम्पूर्ण हक र अधिकार दिने वचनबद्धताका
साथ एक पत्रमा हस्ताक्षर गरेका छन्। “उदित रञ्जनालाई आफ्नो वैध पत्नीको
सम्पूर्ण अधिकार दिन तयार भएका छन्। अब उनीहरूबीच कुनै मतभेद छैन,”
महिला आयोगकी अध्यक्ष मञ्जु प्रकाशले भनिन्। पटनाका पत्रकार सुजित
कुमारका अनुसार रञ्जनाले उदितविरुद्ध लगाएको सबै आरोप फिर्ता लिएकी
छिन्। उनले भनेकी छिन्, “मैले अन्ततः न्याय पाएकी छु।”
केही महिनाअघि उदित एक पारिवारिक कार्यक्रमको
सिलसिलामा दीपासँगै पटना गएका बेला पत्नीको हक खोज्दै रञ्जना पत्रकारहरूसहित
उनी बसेको होटलमा पुगेकी थिइन्। त्यसबेला उदितले उनलाई नचिनेको भनिदिएर
थप विवाद खडा गरे। त्यसपछि रञ्जनाले महिला आयोगमा उजुरी हालिन्। आयोगले
उपस्थित हुन चार–चार पटक दिएको आदेश नटेरी बसेका उदित अन्ततः अन्तिम
मौका दिएर बोलाएपछि १२ साउनमा हाजिर हुन पुगेका थिए।
पटनाकी समाजसेवी उषा किरण खान रञ्जनाले तत्काल
न्याय पाए पनि विवाद टुङ्गिइनसकेको बताउँछिन्। उनको भनाइ छ, “अब रञ्जना
र दीपाबीच को ठूली भनेर विवाद खडा हुनेछ।” पटनामा जे भयो, त्यसप्रति
मुम्बईकी दीपानारायण खुशी छैनन्। दीपाले मिडियाले जबर्जस्ती रञ्जनालाई
उदितकी जेठी पत्नी बनाइदिएको आरोप लगाएकी छिन्। मैथिल प्रबर्द्धन समितिका
अध्यक्ष उमेशचन्द्र झा भने पारिवारिक विवादलाई मिडिया र आयोगमा पुर्याउनुभन्दा
नेपाली मैथिली माटोमै सुल्झाएको थियो भने राम्रो हुनेथियो भन्छन्।
•
चन्द्रकिशोर, वीरगञ्ज
पलेँटीमा
मणिकमल
नेपालयको सातौँ पलेँटी शृङ्खलामा १२ साउनमा सुप्रसिद्ध
सङ्गीतकार मणिकमल छेत्री प्रस्तुत भए। दार्जीलिङका मणिकमलको यो पहिलो
एकल कार्यक्रम थियो। उनले नारायण गोपाललाई सम्झँदै गल्ती हजार हुन्छन्
यहाँ होश हराएको बेला सहित आफ्ना सृजनाहरू प्रस्तुत गरेका थिए। दार्जीलिङस्थित
सूचना र संस्कृति विभागको आधुनिक सङ्गीत शाखामा कार्यरत मणिकमलले आफूलाई
लामो अन्तरालपछि गायकको रूपमा प्रस्तुत गराएकोमा आयोजक नेपालयलाई जश
दिए।
सर्वनाम देश दौडाहामा
नेपालमा सडक नाटकको थालनी गर्ने सर्वनाम
नाट्य समूह देशको समसामयिक राजनीतिक अवस्थालाई लिएर अशेष मल्लद्वारा
लिखित तथा निर्देशित नयाँ नाटक असमाप्त यात्रा का साथ देशव्यापी दौडाहामा
निस्किएको छ। १ साउनमा ललितपुरबाट शुरु भएर काकडभिट्टा पुगेको यात्रा
अहिले पश्चिमतिर लागेको र ३० साउनमा काठमाडौँमा समापन हुने संयोजक
बद्री खनाल बताउँछन्।
•
गोपाल, धरान
मङ्गलेको रङ्गयात्रा
चर्चित नेपाली गीति नाटक 'मालती मङ्गले'
का नायक हरिबहादुर थापाको ३५ वर्षे रङ्गयात्राबारे पुस्तक प्रकाशित
भएको छ। उनको अनुभवलाई समेटेर ज्योतिपुञ्ज साइन थियटरले अङ्ग्रेजी
र नेपाली कृति 'रङ्गकर्मी हरिबहादुर थापा' सार्वजनिक गरेको छ।
पर्दामा निनि को कथा
शाक्य समुदायको विवाह परम्परामा केन्द्रित
रहेर धरानबाट निनि (फुपू) नामक चलचित्र निर्माण भएको छ। लचित्रको शीर्ष
भूमिकामा छिन् शारदा शाक्य। पानस पिक्चर्सको ब्यानरमा निर्मित यो चलचित्र
विनोद तखाछेंको कथा/निर्देशन, कृष्ण आचार्यको पटकथा, पूर्णकाजी शाक्य
र मोहन श्रेष्ठको लगानीमा बनेको हो। यसको छायाङ्कन रोजेश शाक्य र सम्पादन
सन्तोष श्रेष्ठ र विनोद श्रेष्ठले गरेका छन्।
•
रविन
पथप्रदर्शक सम्मान
सोभिनियर नेपाल र टुरिष्ट गाईड एसोसियसन
अफ नेपालद्वारा संयुक्त रूपमा आयोजित पथप्रर्दशक सम्मान तथा पर्यटन
धरोहर– २०६३ कार्यक्रममा पर्यटन क्षेत्रमा लागेका नौ जना सम्मानित
भए। यस क्रममा कर्ण शाक्यलाई पर्यटन धरोहर– २०६३ तथा श्रीमती प्रमी
श्रेष्ठ, तुलसीदास मानन्धर, मदन जोशी, कुमारेन्द्र श्रेष्ठलाई पथप्रदर्शक
सम्मान प्रदान गरिएको छ। कार्यक्रममा पथप्रदर्शक राजेन्द्र डङ्गोल,
प्रकाश राजभण्डारी, पी.जी. श्रेष्ठ र सुरेशमान महर्जनलाई पनि सम्मान
गरियो।
संगीतको मस्ती
रेज्ज इन्टरटेन्मेण्टको इभेण्ट म्यानेजमेण्टमा
फूलबारी रिसोर्टमा भएको ह्विस्पर इन द क्लाउडस् कन्सर्टमा १३ साउनमा
पोखरेली दर्शक मज्जाले रमाए। टिकटमा मेरो मोबाइलको सिम कार्ड भएकाले
पनि दर्शकहरूको सङ्ख्या बढेको थियो। कार्यक्रममा दिव्या सुब्बा, स्याडोज
ब्याण्ड, सुदिप गिरी, नवगायिका पूजा राई पोखरामा राम्रोसँग जमेका थिए। |