पुस्तक | परिचय
अध्ययन–अनुसन्धानको खजाना
किताबः कानूनसम्बन्धी केही ऐतिहासिक
अभिलेखहरू
सम्पादक प्रकाश वस्ती
प्रकाशक कानून व्यवसायी क्लब, काठमाडौँ, २०६३
पृष्ठः ५२८+, मूल्यः रु.४००
झण्डै ६००
वर्षेदेखिका कानूनी कागजपत्र सङ्कलित किताब हो– कानूनसम्बन्धी
केही ऐतिहासिक अभिलेखहरू। यसमा जयस्थिति मल्लका पालाको (वि.सं. १४३७
अघि) मानव न्यायशास्त्रदेखि मुलुकलाई नयाँ संवैधानिक बाटोतिर डोर्याउने
पछिल्लो जनआन्दोलनका बेला ११ बैशाख २०६३ मा राजा ज्ञानेन्द्रबाट भएको
घोषणासम्म छन्।
मानव न्यायशास्त्र, रामशाहका थिति, पृथ्वीनारायण
शाहको उपदेश, रणबहादुर शाहको हत्या प्रतिवेदन, 'अठ्तीससाल काण्ड' (राजा
त्रैलोक्यका भाइ नरेन्द्र विक्रम शाहले धीर शम्शेरको हत्या गर्न रचेका
षडयन्त्र) का अभियोगीहरुले काटिनु वा धपाइनु पूर्व बोलेका कुरा, विभिन्न
पर्व र उत्सवमा नेवार जातिले गर्न पाउने खर्चको सीमा, मृत्युदण्ड मुल्तबी
राख्ने राणा प्रधानमन्त्रीका पटक–पटकका आदेश लगायत किताबमा थुप्रै
रोचक सामग्री छन्। वि.सं. १९८८ देखि पाँच–पाँच वर्षका लागि तीन पटक
गरिएको मृत्युदण्ड मुल्तबीको आफ्नै निर्णयलाई परवाह नगरी जुद्ध शम्शेरले
१९९७ को प्रजापरिषद मुद्दामा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथचन्द
र गङ्गालाललाई मृत्युदण्ड दिएका थिए। यसमा प्रजापरिषद मुद्दाको फैसला
पनि छापिएको छ।
किताबमा पशुपतिनाथका मूलभट्टले 'गोप्य' भनेर कानून
तथा न्याय मन्त्रालयले अभिलेखका लागि माग गर्दा समेत नदिएका १८६७ देखि
२०३१ सालसम्मका पशुपतिनाथसम्बन्धी सनद, सवाल, इस्तिहार र ताडपत्रका
पाँच वटा नक्कल पनि सङ्कलित छन्। मूलभट्टले यी कागजात एउटा मुद्दाको
सिलसिलामा काठमाडौँ जिल्ला अदालतमा पेश गरेपछि त्यहीँबाट नक्कल लिएर
कानून पत्रिकाले २०४४ फागुनमा सार्वजनिक गरेको थियो। हाल पशुपतिनाथको
हिसाब–किताबको खोजी गरिरहेको सार्वजनिक लेखा समितिलाई पनि यी कागजात
उपयोगी होलान्। किताबमा २०४७ को संविधान निर्माण हुँदाका केही रोचक
प्रसङ्ग पनि छन्। त्यसबेला मुकुन्द रेग्मी र माधवकुमार नेपालले नयाँ
राष्ट्रियगानका दुई अलग–अलग मस्यौदा प्रस्तुत गरेका थिए, तर पछि मतैक्य
नभएर पुरानै सदर भयो। यो प्रसङ्गले अहिले चलिरहेको राष्ट्रियगान परिवर्तनको
बहसका सहभागीहरुलाई पनि झक्झक्याउला नै।
किताबमा समावेश गरिएका सामग्रीले नेपालको कानूनी
इतिहासका धेरै अनुद्घाटित पक्षलाई समेटेका र छरिएका तथा लुप्त हुनलागेका
अभिलेखहरूलाई एकत्रित गरेका छन्। किताबका सम्पादक प्रकाश वस्तीका अनुसार,
विश्वकै न्यायिक पद्धतिमा योगदान पुर्याउने न्याय प्रणालीको विकास
भएको नेपालमा मानव न्यायशास्त्र, पृथ्वीनारायण शाहको दिव्यउपदेश, शक्ति
पृथक्कीकरणको सिद्धान्तबाट प्रेरित १२ असार १९९७ को सनदजस्ता नेपालीले
गर्व गर्नुपर्ने अभिलेखहरू छन्, तर नेपालीहरू भने पश्चिमा विद्वानद्वारा
लेखिएका पाठ घोक्छन्। किताबमा नेपालको न्याय–कानून व्यवस्थाका विविध
पक्षहरूबारे कर्कप्याटि्रक, ह्यामिल्टन, हड्सन र सिल्भाँ लेभीले लेखेका
विवरणहरु पनि छन्। बेलायतको राजदूत भएर सन् १८२० देखि १८२४ सम्म नेपालमा
कार्यरत ब्रायन हटन हड्सन नेपालको कानूनी व्यवस्थाको गहन अध्ययन गर्ने
विद्वानमध्ये मानिन्छन्। किताबमा समावेश उनका चार सामग्रीमध्ये ९८
वटा प्रश्नमा ढालेर तयार पारिएको नेपालको कानूनी र प्रहरी व्यवस्थासम्बन्धी
सामग्रीलाई सम्पादक वस्तीले नेपालीमा अनुवाद गरेर समेत राखिदिएका छन्।
किताबमा समावेश सामग्रीहरुको मौलिक भाषा–शैलीलाई
सकेसम्म जस्ताको तस्तै राखिएको छ। चन्द्र शम्शेरको दास विमोचनसम्बन्धी
भाषणको त्यतिबेलै भएको अङ्ग्रेजी अनुवाद समेत दिइएको छ, जसले तत्कालीन
नेपालमा प्रचलित अङग्रेजी भाषाको केही झलक पनि दिन्छ। पाठकहरूलाई सामग्रीको
पृष्ठभूमि र सन्दर्भ बुझ्न सजिलो होस् भनेर प्रत्येक सामग्रीको शुरुमा
सम्पादकीय टिप्पणी लेखिएको छ। यद्यपि कतिपय सामग्री बुझ्न यी टिप्पणीले
मात्र नपुगी विस्तृत विवेचनाको खाँचो देखिन्छ। पुरानो भाषा–शैलीले
गर्दा बुझ्न कठिन केही सामग्रीलाई पाठकहरुले सजिलोसँग बुझ्न सक्ने
गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता पनि देखिन्छ। किताबमा प्रस्तुत
सामग्रीहरु तिनको उत्पत्ति वा विषयवस्तुका आधारमा सिलसिलाबद्ध रुपमा
र पछिल्तिर शब्दानुक्रमणिका (इण्डेक्स) सहित राखिदिए पाठकहरुलाई अझ
सजिलो हुनेछ।
नेपालका कानूनसम्बन्धी ५५ वटा अभिलेखहरू एकै
ठाउँमा सङ्ग्रह गरिदिएर प्रस्तुत किताबले कानूनको इतिहासबारे अध्ययन–अनुसन्धान
गर्न र जानकारी लिन चाहनेहरूलाई राम्रै खजाना राखिदिएको छ। यतिका पुराना
सामग्रीहरु जम्मा पार्ने काम पक्कै सजिलो थिएन भन्ने कुरा सम्पादकले
किताबमा नाम लिएका सहयोगी व्यक्ति र संस्थाहरुको लामो सूचीबाटै स्पष्ट
हुन्छ।
•
बद्री पौड्याल
प्राप्त कृति
 |
संविधान, संविधानवाद, संविधानसभा र राज्यको
पुनर्संरचना (विश्लेषणात्मक कृति)
प्रकाशक विजया ज्ञवाली
ललितपुर, २०६३ पृषठः १४०, मूल्यः
रु.१३५
|
 |
लुम्बिनी
(ऐतिहासिक/पुरातात्त्िवक अध्ययनमा आधारित अनुसन्धानात्मक कृति
) लेखकः बसन्त महर्जन प्रकाशकः
बसामि डट कम काठमाडौँ, सन् २००५ पृष्ठः १७१,
मूल्यः रु.३७५ |
 |
चन्चलीको फुटबल
(बालबालिकाका लागि चित्र–कथा)
कथाकारः मनीषा अर्याल
चित्रः कौशल श्रेष्ठ
प्रकाशकः रातो बङ्गला किताब ललितपुर, सन् २००६
पृष्ठः ३१+, मूल्यः रु.८०
|
|
काव्यिक परिभ्रमण
(समालोचना सङ्ग्रह)
लेखकः डा. कुलप्रसाद
कोइराला
प्रकाशकः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
काठमाडौँ, २०६२
पृष्ठः १२७+, मूल्यः रु.१००
|
|
|
चक्रव्यूह र युद्धपीडाहरू
(कविता–सङ्ग्रह)
कविः सङ्गीत आयाम
प्रकाशकः देवकोटा अध्ययन केन्द्र, चितवन, २०६२
पृष्ठः ७७177, मूल्यः रु.१००
|
|
आँधीखोलाको बगर
(खण्डकाव्य)
कविः भेषजराज शर्मा
प्रकाशकः श्यामप्रसाद ढुङ्गाना स्याङ्जा, २०६२
पृष्ठः ४६, मूल्यः रु.४५
|
|