खेलकुद
जहिले'नि हतारो
सागमा सहभागिता जनाइएका १८ खेलमध्ये एथलेटिक्स,
कराँते, तेक्वान्दो र उसुको प्रदर्शनले नै नेपालको स्थान निर्धारण
गर्नेछ।
|
अन्तिम तयारीमा रहेका
एथलेटिक्स्का खेलाडीहरू। |
अन्तिम समयमा आएर मात्र प्रशिक्षणलाई व्यस्त बनाउने
नेपाली खेलकुदको प्रवृत्ति पुनः एकपटक दक्षिण एशियाली खेलकुद (साग)
को क्रममा दोहोरिएको छ। प्रायः महिना/डेढ महिनाको बन्द प्रशिक्षणकै
भरमा महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउने नेपाली खेलाडीहरू
आउँदो महिना श्रीलङ्कामा हुन गइरहेको सागका लागि पनि एक महिनाको बन्द
प्रशिक्षणमार्फत् तयार हुँदैछन्।
जनआन्दोलनका कारण चैतमा रोकिएको प्रशिक्षण र खेलाडी छनोटको क्रम १२
वैशाखलगत्तै शुरु हुन सकेन। थुप्रै खाले असन्तुष्टिका कारण लामो समयदेखि
विद्रोही मानसिकतामा रहेका खेलाडीहरू र नेपाल ओलम्पिक कमिटीबीचको विवादले
प्रशिक्षण र छनोटलाई प्रभावित पार्यो। यी दुई बीच साउनको पहिलो सातामा
सहमति कायम भएपछि मात्रै प्रशिक्षण र छनोटले तीब्रता पाएको हो। यद्यपि
नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् गठन गर्नमा गरेको ढिलाइ पनि
प्रशिक्षण र छनोटलाई प्रभावित पार्ने अर्को कारण बन्यो।
ढिलै भएपनि आउँदो सागमा सहभागी हुने खेलाडीहरूको फेहरिस्त तयार भएको
छ। छनोट भएका खेलाडीहरू बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल जित्नका
लागि भाग लिइँदैछ भने कतिपय खेलमा मात्र सहभागिताका लागि। अधिकांश
खेलमा स्वदेशी प्रशिक्षकहरूबाटै प्रशिक्षण भइरहे पनि ब्याडमिन्टन,
तेक्वान्दो, कबड्डी र फूटबलको प्रशिक्षण विदेशी प्रशिक्षकहरूबाट भइरहेको
छ। अन्तिम समयमा नेपाल आएका प्रशिक्षकहरूबाट के कति सुधार हुने हो?
यसै भन्न सकिने अवस्था छैन। जापानी प्रशिक्षक रिजिमिया मोतो १५ चैतमै
नेपाल आएको भएपनि आन्दोलनका कारण ब्याडमिन्टनको नियमित प्रशिक्षण वैशाख
अन्त्यमा आएर मात्र हुनसक्यो। तेक्वान्दोका कोरियाली प्रशिक्षक क्वान
हुंग जोंग पनि २० असारमा आइपुगेका हुन्। विगतमा कुनै पनि पदक नजितेको
कबड्डीको बङ्गलादेशी प्रशिक्षक त ६ साउनमा मात्रै आइपुगे। फूटबलतर्फ
भने कोलकाताका श्याम थापा लामो समयदेखि नेपालमै प्रशिक्षणमा व्यस्त
छन्।
खेल अधिकारीहरू भने प्रशिक्षण छोटो अवधिका लागि भएपनि तयारी सन्तोषजनक
भएको बताउँछन्। परिषद्का नवनियुक्त उपाध्यक्ष सीताराम मास्के भन्छन्,
“अन्तिम समयमा तयारी शुरु भएपनि सन्तोष गर्न लायकको छ।” एथलेटिक्स्तर्फ
३ र ५ हजार मिटर दौडमा छनोट एथलेट राजेन्द्र भण्डारी पनि 'तयारी जे
जस्तो भए पनि खेलाडी र प्रशिक्षकको मेहनतकै कारण राम्रो नतिजा आउने'
सम्भावना व्यक्त गर्छन्।
कस्तो होला नेपालको प्रदर्शन?
आउँदो २–१२ भदौमा श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजना हुने दशौँ
दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले २० मध्ये १८ खेलमा
सहभागिता जनाउँदै छ। सहभागिता जनाइएका मध्ये एथलेटिक्स्, कराँते, तेक्वान्दो
र उसु आदिलाई पदक दिलाउने खेलका रूपमा हेरिएको छ। प्रतियोगितापूर्व
एक महिनाका लागि मात्र प्रशिक्षण अवधि पाएको भएपनि पदक तालिकामा नेपालको
नामलाई कुन स्थानमा पुर्याउने भन्ने कुरा यिनै खेलमा भएको प्रदर्शनले
निर्धारण गर्नेछ।
एथलेटिक्स्मा ३ हजार 'स्टीपल चेस' र ५ हजार मिटर दौडमा राजेन्द्र भण्डारीबाट
उच्च पदकको अपेक्षा नेपालको छ। सो स्पर्धामा भण्डारीको निकटतम प्रतिद्वन्द्वीका
रूपमा नवौँ साफका स्वर्ण विजेता श्रीलङ्काका उपेन्द्र इन्सिका भण्डारालाई
मानिएको छ। 'स्टीपल चेस' को छनोट चरणमा भण्डाराको उत्कृष्ट समय ८ मिनेट
५६.४१ सेकेन्ड रहेको छ भने गत साफ खेलकुदमा ८ मिनेट ५७ सेकेन्डमा पूरा
गरेका भण्डारी प्रशिक्षणका दौरान ८ मिनेट ४५ सेकेन्डको हाराहारीमा
दौडिरहेका छन्। प्रशिक्षक सुशील नरसिंह राणाको भनाइमा भण्डारीले दुवै
स्पर्धामा स्वर्ण पदक जित्ने सम्भावना छ। भन्छन्, “ऊ दुवैमा राम्रो
छ, तर पनि भण्डारा र भण्डारीबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ।”
यी दुई खेलाडीबीच ५ हजार मिटरमा पनि कडा प्रतिस्पर्धा
हुनेछ। भण्डारीले दुई वर्षअघि एथेन्स ओलम्पिकमा ५ हजार मिटरको दौडमा
१४ मिनेट ०४ सेकेण्डको दक्षिण एसियाली कीर्तिमान कायम गरेका थिए। त्यसलगत्तै
सोही स्पर्धामा उनले एसियन अलस्टार च्याम्पियनशीप पनि हात पारे। तथापि
पदकको लक्ष्य नभएको सो ओलम्पिक स्पर्धा र पदकको 'प्रेसर' सहितको यसपटकको
कुदाइ उस्तै होला भन्ने छैन। उता एथलेटिक्स्बाट १५ वटा स्वर्ण जित्ने
अनुमानमा रहेको श्रीलङ्काको 'गोल्ड मेडल लिष्ट' मा यी दुवै स्पर्धा
परेका छन्।
नेपालले उत्कृष्ट प्रदर्शनको आशा राखेको अर्को खेल कराँते
रहेको छ। कम्तीमा दीपक श्रेष्ठ, कृष्णकला केसी र अमृता शाक्यले स्वर्ण
पदक जित्नेमा विश्वस्त छन्, प्रशिक्षक दीपक श्रेष्ठ। एशियालीस्तरमै
चर्चित मलेशियाली प्रशिक्षक सुलेमानले नेपाली कराँते टोलीलाई अन्तिम
प्रशिक्षण दिइरहेका कारण पनि यो खेलबाट नेपालको आशा बढेको हो।
विगतका प्रतियोगिताहरूमा नेपालको साख निर्माणमा महत्त्वपूर्ण
भूमिका निर्वाह गरेको तेक्वान्दो र उसुको प्रदर्शनले पनि नेपालको स्थान
निर्धारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। तर पाकिस्तानमा सम्पन्न
साफमा ६ वटा स्वर्ण पदक दिलाउने तेक्वान्दो खेलाडीहरूमध्ये अहिले नेपालमा
रहेका सङ्गीना वैद्य र दीपक बिष्ट मात्र कोलम्बो जाने टोलीमा परेका
छन्। बाँकी चार खेलाडी विदेशिइसकेका छन्। त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा
सन्तोषजनक परिणाम दिँदै आएका फूटबल, बक्सिङ र जुडोमा पनि सफलताको अपेक्षा
भने गरिएको छ।
पहिलो पटक समावेश गरिएको आर्चरीले नेपाललाई सफलता दिलाउँछ कि भन्नेछ।
गत वर्ष बङ्गलादेशमा भएको दक्षिण एशियाली आर्चरी च्याम्पियनसीपमा पुरुष
टिम इभेण्ट उपाधि जितेकै कारण यसमा नेपालको सम्भावना बढेको हो। यद्यपि
अन्तिम समयसम्म आर्चरीका खेलाडीलाई बन्द प्रशिक्षणमा नराखिँदा यो सम्भावनामा
केही प्रश्न भने उठेको छ। परिषद्को तालिम तथा प्रशिक्षण विभागका प्रमुख
पार्थसारथी सेन गुप्ता भने परिषद र आर्चरी संघबीच तालिम संघले गर्ने
र राखेपले सहभागिताको व्यवस्था गर्ने सहमति भएका कारण यसो भएको बताउँछन्।
प्रतियोगिताका अन्य खेलहरू ब्याडमिन्टन, भलिबल, सुटिङ,
टेबुलटेनिस, स्क्वास, कबड्डी र साइक्लिङमा नेपालको स्तर सामान्य नै
मानिन्छ। तसर्थ यी खेलबाट कोलम्बोमा कुनै पदक आइहालेमा त्यो आश्चर्यजनक
मीठो सफलता हुनेछ।
मनोज घिमिरे
भत्तामा वृद्धि
अहिलेसम्म खेल 'अफिसियल'हरू
भन्दा कम भत्ता बुझ्दै आएका खेलाडीहरूले यस पटकको सागको सहभागितामा
चाहिँ बराबरी भत्ता पाउने भएका छन्। प्रत्येक अधिकारी र खेलाडीको दैनिक
भत्ता २० अमेरिकी डलर तोकिएको छ। यसअघि खेलाडीको दैनिक भत्ता १६ डलर
मात्र थियो। साग खेलका लागि सरकारले रु.४ करोड ९६ लाख ६३ हजार बजेट
छुट्याएको छ। यसमध्ये रु.३ करोड ३२ लाख ४२ हजार सहभागितामा तथा बाँकी
रकम तयारीको लागि रहेको छ। प्रतियोगितामा २१३ खेलाडी र १०२ अफिसियल
गरी कुल ३१५ जनाको सहभागिता रहनेछ।
|