हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

फुच्ची 'शटर'

तस्बिरहरू किरण पाण्डे

नामः सिपोरा गुरुङ,
उचाइः ५ फिट ५ इञ्च,
उमेरः १३ वर्ष,
अध्ययनः कक्षा ७,
विद्यालयः फिसटेल एकेडेमी, पोखरा,
ठेगानाः राष्ट्र ब्याङ्क चोक, पोखरा,
पहिचानः ओपन स्पाइकर, नेपाल राष्ट्रिय महिला भलिबल टीम,
व्यस्तताः दक्षिण एशियाली खेलकुदको तयारी।

व्यक्तिगत विवरण हेर्दा पत्याउनै गाह्रो, तर २–१२ भदौमा श्रीलङ्काको राजधानी कोलम्बोमा हुन गइरहेको दक्षिण एशियाली खेलकुद (साग) मा राष्ट्रिय भलिबल खेलाडीको रूपमा सहभागी हुँदैछिन्, सिपोरा गुरुङ। आजभोलि बेलुकीपख त्रिपुरेश्वरस्थित कभर्डहल भित्र छिर्ने हो भने, १३ वर्षीया ती कलिली ठिटीलाई सहकर्मीले माथि उठाइदिएको बललाई उफ्रिएर 'शट' हान्दै गरेको देख्न सकिन्छ। विपक्षी टिमलाई छक्याउँदै 'शट' हानेको देख्दा दर्शकको मन पनि रोमाञ्चित हुन्छ। उनी राष्ट्रिय टोलीमा छनौट भएका १२ खेलाडीमध्येका चार जना 'ओपन स्पाइकर' मा पर्दछिन्। ठूलो भएर 'यो बन्ने, ऊ बन्ने' कल्पनामा डुब्ने किशोरावस्थामा उनले भने भलिबल खेल्न थालेको करीब दुई वर्षमै 'स्पोर्ट्स करिअर' को उचाइ चुमेकी छिन्।

विद्यालयस्तरीय भलिबल टुर्नामेण्टमा खेल कौशल देखाएर वरिष्ठ प्रशिक्षक रिमबहादुर रानाभाटलाई लोभ्याएपछि सिपोराको खेल यात्राले व्यावसायिक चरणमा प्रवेश पाएको हो। गएको मङ्सिरमा सिपोरा सहितको पोखरेली टोलीले 'राष्ट्रिय च्याम्पियनसीप' जितेपछि राष्ट्रिय टिममा सामेल हुने बाटो झनै फराकिलो भयो। भन्छिन्, “सरले भनेपछि राष्ट्रिय टिम छनौटमा भाग लिन आएँ, छनौट पनि भएँ।” त्यस क्षणको अनुभूति नि? “खुशी र गर्व दुवै” किशोरी सिपोराले व्यावसायिक पारामा भनिन्, “सिनियर दिदीहरू झैँ खेल्ने कल्पना गरिरहेको बेला उहाँहरूसँगै अन्तर्राष्ट्रिय टोलीमा परुँला भन्ने त सोचेकै थिइनँ।” त्यसैले पनि विगतमा पढाइ बिग्रेला भनेर उनको खेल–प्रेम निको नमान्ने आमाले समेत 'खेल नछोड् है छोरी' भन्न थालेकी छन्।

आफ्नो द्रूत सफलताको श्रेय उनी बुबा मोतिलाल गुरुङ, जीवन 'गुरु' र प्रिन्सिपललाई दिन्छिन्। लक्ष्य सैनिक चिकित्सक बन्ने भएपनि सिपोराले भनिन्, “अहिले भने, सरले भने झैँ बलमाथिको 'ग्रिप' र 'स्टेप' सुधार्नु छ।”

शुभकामना सिपोरा!