देश | समाचार
जनतान्त्रिक विरुद्ध माओवादीको युद्ध घोषणा

जयकृष्ण गोइत |
देशमा युद्धविराम
र शान्ति प्रक्रिया चलिरहेको वेला सप्तरी र सिरहामा माओवादी र दुई
वर्षअघि उसबाट विभाजित जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच फेरि हिंसा
चर्किएको छ। नेकपा (माओवादी) का नेता मातृका यादवले मोर्चाविरुद्ध
युद्ध घोषणा गरेपछि सप्तरी र सिरहामा हिंसा–हत्याका घटना बढेका छन्।
जनतान्त्रिक मोर्चाले २१ असार राति ११ बजे सप्तरी,
छिन्नमस्ताका मुसहरू चौधरीको घरबाट भोज खाएर आइरहेका दुई माओवादी कार्यकर्ता
गुल्टेन भन्ने विजय झा र महेन्द्रप्रसाद यादवलाई लालापट्टी जाने बाटोमा
गोली हानी हत्या गरेपछि माओवादीले लोहजराका मोर्चा कार्यकर्ता कुलानन्द
भिन्डवारको हत्या गरेका र उनको परिवारलाई यातना दिएका छन््। यसअघि
माओवादीका जिल्ला जनसरकार प्रमुख उमेश यादवले मोर्चासँग हत्याको बदला
लिने बताएका थिए।
मोर्चाले रम्पुरामल्हनियाँका काङ्ग्रेसबाट निर्वाचित
निवर्तमान अध्यक्ष बद्रीनारायण यादवको पनि हत्या गरेको यसका पूर्वी
कमाण्ड इन्चार्ज ज्वालासिंहले स्वीकार गरेका छन्। राजविराज भन्सारका
निमित्त प्रमुख तीर्थराज खतिवडा र सिरहाको माडर भन्सार प्रमुख उद्धव
ढुङ्गानालाई जनतान्त्रिकले अपहरण गरी रकम लिएर छाडेको घटना ताजै छ।
माओवादीहरूले गाउँ–गाउँबाट डेढ सय लाल सेना जम्मा गरेर सप्तरी, भारदहमा
'बेसक्याम्प' खडा गरेका छन्। हातहतियारको सुरक्षाका लागि सो बेसक्याम्प
खडा गरिएको र अर्को क्याम्प छिन्नमस्तामा राखिने जनसरकार प्रमुख उमेश
यादव बताउँछन्।
माओवादीले जनतान्त्रिक मोर्चाको गढ मानिने सिरहाको सन्हैठा–३,
सहर्वामा आक्रमण गर्ने योजना गरेका थिए। तर त्यसअघि नै मोर्चाका कार्यकर्ता
अर्कै स्थानमा सेल्टर लिन गइसकेकाले सम्भाव्य हिंसा टरेको छ। माओवादीले
मोर्चाका जिवछ विश्वकर्मा, रामचन्द्र यादव, शम्भु यादव, रञ्जित यादव
र सफिक मियाँलाई काँकडभिट्टाबाट काठमाडौँ गइरहेको पाथीभरा ट्राभल्सको
बस गोलबजारमा जलाएको र लुटपाट गरेको आरोपमा स्थानीय प्रशासनको जिम्मा
लगाएको मोर्चाका सिरहा संयोजक बताउँछन्। माओवादी र मोर्चाका जिल्ला
नेता–कार्यकर्ताहरू दिनहुँजसो एकअर्कामाथि कुटपिट, लुटपाटको आरोप लगाइरहेका
छन्। यस्ता घटनाले जनतान्त्रिक तराई मुक्ति मोर्चा र माओवादीबीच जुनसुकै
बेला ठूलो भिडन्त हुनसक्ने स्थितिको सिर्जना भएको छ।
माओवादीले गरेको वार्ताको अनुरोध किन अस्वीकार गरेको
भन्ने प्रश्नमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइत
भन्छन्, “एकातिर हाम्रा नेता–कार्यकर्ताको हत्या गर्ने, अर्कोतिर वार्ताको
कुरा पनि गर्ने? त्यसमा पनि वार्ता त सरकारसँग पो गर्ने हो। माओवादीसँग
त समझदारीसम्म हुनसक्छ।” सरकारले बोलाए वार्तामा बस्ने बताउने गोइतको
आफ्नै गुनासो छ। उनी भन्छन्, “हामी त वार्ता गर्न तयार छौँ। तर सरकार
१२ वर्षसम्म हतियार उठाएको पार्टीसँग कुरा गर्छ, हामीसँग गर्दैन। यो
तराईवासीप्रति भेदभाव हो।”
•
शिवहरि भट्टराई, राजविराज
गहनाको लोभले बहिनीको
हत्या

विस्थापित बखतबहादुर शाही। |
२१ असारको
रात काभ्रे, कुशादेवी–१ मा सम्झँदै चित्त काटिने
घटना भयो। मर्नुअघि आमाले दिएको गहना र पैसा हत्याउन एउटा दाजुले बहिनीको
हत्या गर्यो, त्यो पनि नाटकीय शैलीमा।
२२ असार बिहान झिसमिसेमा एउटी केटी चिच्याएर
रोएको सुनेपछि घटनास्थल पुगेका गाउँलेहरूलाई आगोले पोलेर अर्धबेहोस
रोशनी सापकोटाले बचाउन आग्रह गरिन्। हतार–हतार काठमाडौँ लगेर उपचार
गराउँदा–गराउँदै ११ बजे उनको मृत्यु भयो।
अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय,
काभ्रेले दाजु रितबहादुर सापकोटालाई पक्राउ गरेर बयान गराएपछि यथार्थ
थाहा भयो। प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार, रितबहादुरले 'मर्नुअघि
आमाले बहिनीलाई दिएको गहना र पैसा आफूले मासेको र उसले माग्न थालेपछि
त्यसैको रिसमा मट्टितेल खन्याएर आगो लगाएको' बयान दिएर अपराध स्वीकार
गरेका छन्। घटनास्थलबाट प्रहरीले मट्टितेलको भाँडो पनि बरामद गरेको
छ। रोशनीका बाबु अर्जनुबहादुर सापकोटा आँशु पुछ्दै भन्छन्, “छोरा–बुहारी
पापी भए।”
•
जनकप्रसाद सापकोटा, काभ्रे
प्रतिकारीहरू
फेरि सक्रिय

|
| प्रतिकार समूहका कारण मर्चवारबाट विस्थापित भई भैरहवामा बस्दैआएका
नेका प्रजातान्त्रिकका रामरतन केवट लगायतका कार्यकर्ता। |
शाही शासनको
अन्त्यपछि केही समय कमजोर देखिएका रुपन्देही, नवलपरासी र कपिलवस्तुको
दक्षिणी भेगतिरका प्रतिकार समूहहरू फेरि सक्रिय हुनथालेका छन्।
१३ असारमा कपिलवस्तुको हथिहवामा प्रतिकार समूहले राजेन्द्र कुर्मी
र केशव भरको हत्या गर्यो। कुर्मी र भरलाई माओवादीले आफ्नो कार्यकर्ता
भनेका छन् भने उनीहरू सर्वसाधारण भएको गाउँलेहरू बताउँछन्। माओवादीको
दबाबमा गाउँको उप–स्वास्थ्य चौकी निर्माण उपभोक्ता समितिमा बसेर काम
गरेबापत प्रतिकारीले उनीहरूको हत्या गरेको स्थानीय राजकुमार यादव बताउँछन्।
कुर्मी र भर माओवादी र प्रतिकार समूहको द्वन्द्व बढेपछि गाउँमा बस्न
नसकेर भारत गएका र युद्धविरामपछि गाउँ फर्केका थिए।
असारको अन्तिम साता रुपन्देही प्रतिकार समूहका अध्यक्ष
सन्तोष श्रीवास्तवले कम्हरिया–६ का तुफानी भरलाई प्रतिकार समितिमा
बस्न दबाब दिए। सैनिक पोशाकमा राति ११ बजे घर आएर अरू दुई व्यक्तिसहित
श्रीवास्तवले भरलाई हिँड्न भनेका थिए। पहिले प्रतिकार समूहमा बसेर
अलग भएका तुफानी भरले आफूलाई असुरक्षित महसुस गरी नेपाली काङ्ग्रेसका
जिल्ला सदस्य कमल दिपलाई माओवादी र अन्य राजनीतिक पार्टीमा खबर गरिदिन
आग्रह गरेका छन्। प्रतिकार समूहमा अझै संलग्न उनका दाजु पञ्चम भर भारतमा
बस्छन्।
यी घटनाले शाही शासनकालमा सेना, प्रहरी र प्रशासनको सहयोगमा गठन भएका
प्रतिकार समूह फेरि जाग्न थालेका सङ्केत गरेका छन्। यिनलाई अहिले पनि
सुरक्षा निकायका केही मानिसले सहयोग पुर्याएको नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)
का महासमिति सदस्य एवं करौता गाविसका पूर्वअध्यक्ष विनोदकुमार श्रीवास्तव
बताउँछन्। २९ जेठ २०६३ मा उनकी ६ वर्षीया भतिजी अंकिता श्रीवास्तवलाई
प्रतिकार समूहका मानिसहरूले अपहरण गरे। उनले मझगवा इलाका प्रहरी कार्यालयमा
खबर गरेको चारघण्टापछि नै प्रहरीले करौताको चौराहास्थित अमरजीतको घरबाट
अंकितालाई सकुशल मुक्त गरेर ल्यायो। प्रहरीले बच्चासँगै प्रतिकारका
इमामुद्दिनलाई समातेको थियो। तर चौकीका निरीक्षक लोकनाथ तिमिल्सिनाले
त्यत्तिकै छाडिदिएको गाउँलेहरू बताउँछन्। प्रतिकारीहरूमाथि कार्वाही
गर्न काङ्ग्रेस (प्रजातान्त्रिक) ले बारम्बार दबाब दिएपछि प्रहरीले
नेपाल–भारत सीमाक्षेत्रबाट निसार अहमदलाई पक्राउ गरेर जिउ मास्ने–बेच्ने
मुद्दा चलाएको छ।
प्रतिकार समूहमा लागेकाहरू प्रायः भारतमा बस्छन्। रुपन्देही
प्रतिकार समितिका अध्यक्ष सन्तोष श्रीवास्तव लगायत राजकुमार यादव,
सलाउद्दिन मुसलमान, निसार अहमद, कमलापति यादव, सचितानन्द यादव आदि
भारत, सिद्धार्थनगरको ठौठरी, धमौली दिउलिया, हरिवंशपुर वडहरा लगायतका
सीमावर्ती क्षेत्रमा बस्ने गरेका छन्। अधिकांश प्रतिकारीहरू राप्रपा
र माओवादीले विशेष निशाना बनाएका शुक्ला परिवारसँग निकट छन्। यिनीहरूले
माओवादीसँग असहमत अरू केहीलाई पनि लिएका छन्। उनीहरू प्रायः रिसइवीका
आधारमा काम गर्छन्। गत जेठमा प्रतिकार समूहमा रहेका कमलापति यादवका
नातेदार ललइ यादवलाई विनोदकुमार श्रीवास्तवले पिट्न लगाएको बदलामा
उनकी भतिजी अङ्किताको अपहरण गरिएको थियो।
राजनीतिक दलहरूले प्रतिकार समूहका मानिसहरू विरुद्ध
आफ्ना राजनीतिक कार्यकर्ताको हत्या गरेको किटानी जाहेरी दिँदा पनि
प्रहरी–प्रशासनले कसैलाई पक्रेको छैन। नेकपा (एमाले) ले आफ्ना कार्यकर्ता
ब्रह्मानन्द वरुणको हत्यामा संलग्न भनेर सन्तोष श्रीवास्तवलाई कार्वाहीको
माग गरेको छ। अभियुक्त पक्रिन जाँगर नदेखाउनुले शङ्का गर्ने ठाउँ भएको
एमाले जिल्ला सचिव लिला गिरी बताउँछन्। माओवादीले त प्रतिकारीहरूसँग
प्रशासन र प्रहरीको मिलेमतो नै रहेकोले कारबाही नभएको हो भनेको छ।
हथिहवामा मारिएका व्यक्तिहरूको हत्यामा संलग्न भएको आरोपमा नेकपा (माओवादी)
ले सतिषचन्द्र शुक्लालाई नियन्त्रणमा लिएको छ। माओवादी जिल्ला सेक्रेटरी
सञ्जिव कुमार भन्छन्, “हत्यारालाई कार्वाही गर्न ढिलाइ गरे पार्टीको
नियमअनुसार हामी कार्वाही गर्दछौँ।”
चार–संहिताको उल्लङ्घन हुने हुनाले मात्रै अहिलेसम्म
केही नगरेको माओवादीको स्वीकारोक्ति छ। सामाजिक जागरण तथा विकास मञ्च
(फोसाड), रुपन्देहीका अध्यक्ष तिलक आचार्य प्रतिकार समितिका कामकार्वाहीमा
प्रशासन यसैगरी मौन भएर बसेमा स्थानीयस्तरमा हिंसाका घटना बढ्न सक्ने
बताउँछन्। आचार्य भन्छन्, “प्रशासनले काम गरोस्, नभए प्रतिशोध शुरु
हुन्छ र फेरि हत्याका घटना बढ्छन्।”
मिलेमतोमा तस्करी
सीमावर्ती गाउँमा बसेर हत्या र अपहरणका योजना बनाउने
प्रतिकारीहरू भन्सार छलेर चोरीका सामान पास गराउने काममा पनि संलग्न
भएको सीमावर्ती क्षेत्रका वासिन्दाहरू बताउँछन्। यसमा प्रहरीको पनि
मिलेमतो हुने गरेको असुरैना गाविसका निवर्तमान अध्यक्ष रामरतन केवटले
बताए। केवटको भनाइ छ, “राति–राति गाडीका गाडी मलखाद, हार्डवेयरका सामान
आदिको तस्करी हुने गरेको छ। त्यति धेरै गाडी आउँदा किन प्रहरीले समाउँदैन?
राजस्व तिरेर ल्याउने भए त दिउँसै ल्याउने थिए नि!”
•
मुकेश पोखरेल, भैरहवा
संस्थान–समुदाय पानी
विवाद
खानेपानी संस्थान
र मुहान क्षेत्रका वासिन्दाबीच समझदारी हुन नसक्दा काठमाडौँ उपत्यकामा
दैनिक ४० लाख पानी आपूर्ति गर्न सक्ने ग्वालिन्दह
(कोड्कु) खानेपानी आयोजना सात वर्षदेखि अलपत्र छ। २०५६ सालमा आयोजनाका
लागि निकासा भएको रु.२ करोड ५० लाखमध्ये १ करोड २० लाख खर्च गरेर ललितपुर,
बडिखेल गाविसस्थित आयोजनास्थलमा निर्माण गरिएको पानीट्याङ्की (हे.
तस्बिर) र तीन किलोमिटरसम्म बिछ्याइएको आठ इञ्चको पोलिथिन पाइप पनि
उपयोग र रेखदेखको अभावमा बिग्रिँदै गएको छ।
स्थानीय वासिन्दाको विरोधका कारण पछि हटेको संस्थानले
दुई वर्षअघि आयोजना पूरा गर्न सरकारबाट फेरि रु.३ करोड बजेट प्राप्त
गर्यो। ग्वालिन्दह र कोड्कु खोलाको पानी रिजर्भ्वायरमा जम्मा गरेर
खोलाकै सतह हुँदै आठ इञ्चको पाइपबाट आठ किमी पर सातदोबाटोसम्म ल्याई
उपत्यकाको वितरण प्रणालीमा मिसाउने तथा स्थानीय बडिखेल, ठैव, हरिसिद्धि
गाविसका जनतालाई ग्वालिन्दहमाथि डाँडामा ट्याङ्की बनाएर छुट्टै प्रणाली
निर्माण गरी खानेपानी वितरण गर्ने संस्थानको योजनाप्रति स्थानीय वासिन्दाहरू
अझै सहमत छैनन्। “हामीले पानी नलैजाऊ भनेको होइन, तर हाम्रो ओठ–मुख
सुकाएर, जमिन बाँझो पारेर लैजानु त भएन नि! आधा मात्र पानी लगे गाउँलेलाई
आपत्ति छैन”, ग्वालिन्दहको डिलैमा घर भएका विष्णुप्रसाद आचार्य भन्छन्।
ठैव गाविसका पूर्वअध्यक्ष गोविन्द महर्जनले पाइपलाइन खोलाको सतहबाट
लैजानुको सट्टा टौखेलबाट लगेर गाउँलेलाई पानी वितरण गर्ने प्रतिबद्धता
जनाएमा मात्र पुनर्विचार गर्न सकिने बताएका छन्। “त्यसो नगर्ने हो
र भोलि आवश्यकता अनुसार पानी पाएनौँ भने के गर्ने?”, महर्जनको प्रश्न
छ।
तर, नेपाल खानेपानी संस्थानका प्रबन्धक हरिप्रसाद ढकाल
भने मुहानभन्दा १८ मिटर अग्लो टौखेल भएर पाइपलाइन लैजान सम्भव देख्दैनन्।
उनी भन्छन्, “हामी गाउँका मानिसहरूलाई पानी वितरणमा पहिलो प्राथमिकता
हुने कुरामा सहमत छौँ। हरिसिद्धिमा मेनलाइनबाटै पानी दिन सक्छौँ भने
अग्लो सतहमा रहेका अन्य गाउँहरूको लागि वैकल्पिक व्यवस्था गर्छौँ।
तर, सोझै गुरुत्वाकर्षणबाट लैजान सकिने पानी पम्प गरेर लैजानु आर्थिक
र प्राविधिक दृष्टिले उपयुक्त हुँदैन।”
•
रामहरि पौडेल
लेवनानमा नेपालीबाटै
शोषण
इजरायली बमबारीबाट
जोगिन लेवनान छाडेर १० साउनमा स्वदेश आइपुगेका नेपाली महिलाहरूले त्यहाँ
आफ्नो चरम श्रमशोषण भएको बताए। राम्रो कमाइको आशमा हजारौँ रुपैयाँ
लगानी गरेर घरेलु कामदार बन्न गएका ती महिलाहरूमध्ये कतिसँग घर पुग्ने
खर्च समेत थिएन।
दुई वर्षअघि रु.३५ हजार खर्च गरेर बेरुत पुगेकी कञ्चनपुर, त्रिभुवनवस्तीकी
राममाया खड्काले मासिक १०० डलर मात्र पाउने गरेकी थिइन्। उनलाई ३००
डलर तलब पाइने आश्वासन दिइएको थियो। रु.४५ हजार खर्च गरेर गएकी म्याग्दी,
बाघखोला–३ की लोककुमारी पुर्जालाई रु.१२ हजार दिने लोभ देखाइएको थियो,
तर ८ हजार पनि पुगेन। रु.४० हजार लगानी गरेर गएकी पाँचखाल–७, मकवानपुरकी
सविना लामाले दुई महिना काम गरेको रु.१४ हजार मात्र पाइन्।
कसले गर्छ त उनीहरूको शोषण? लोककुमारी पुर्जा भन्छिन्,
“त्यहाँ एजेण्ट बनेर बस्ने नेपालीहरूले। कम्पनी र घरमालिकले दिने हाम्रो
तलबको आधा पैसा दाङका आनन्द खड्का र झापाका लेखनाथ दाहालले मिलेर खाने
गरेका छन्।” यस्ता एजेण्टले राम्रो काममा लगाइदिने लोभ देखाएर महिलाहरूको
यौन शोषण समेत गर्ने गरेको उनले बताइन्। “कार्वाही कहाँ चलाउने, बढी
बोल्यो वा जिद्दी गर्यो भने विदेशी लगाएर कुटाउँछन्। घरका छतहरूबाट
खसाउँछन्। मेरै अगाडि चार जना दिदीबहिनीलाई खसाले”, पुर्जाले भनिन्।
लेवनानबाट त्यस दिन आएका ३७ जना नेपालीमध्ये २४ महिला थिए। तीमध्ये
पनि अधिकांश अविवाहित युवती थिए। उनीहरूसँगै आएका दाङ, लमहीका नरेश
बुढाथोकी नेपालीमाथि नेपालीहरूद्वारा भएको शोषणको सरकारले छानबिन गर्नुपर्ने
बताउँछन्।
१४ वर्ष लेवनान बसेका झापाका मेघनाथ अधिकारी अहिले पनि
बेरुत वरपर मात्रै तीन हजार नेपाली महिला घरेलु कामदारका रूपमा रहेका,
कति घरमालिकले बाहिर निस्कन नदिएकाले जोखिमपूर्ण अवस्थामा भएका बताउँछन्।
घरेलु कामदार बनेर गएका नेपाली महिलाहरूले ट्वाइलेट सफा गर्ने, घर
सफा गर्ने, लुगा धुने आदि काम गर्ने गरेका छन्। “काम जति कठिन भए पनि
पाउने त्यही महिनाको १०० डलर मात्रै हो”, म्याग्दीकी रश्मि सिंह भन्छिन्।
भारतको सहयोगमा लेवनानबाट साइप्रस हुँदै दिल्ली र नेपाली
दूतावासको सहयोगमा दिल्लीबाट वनवासा हुँदै कञ्चनपुर आइपुगेका नेपालीहरू
मृत्युलाई जितेर आएकोमा खुशी भए पनि भोजपुर, कोदाकाउलीकी मेनुका राईलाई
साहुको ऋण कसरी तिर्ने भन्ने पिरले सताएको छ। करीब एक महिनाअघि १८
असारमा दिल्ली हुँदै बेरुत पुगेकी राईले त्यहाँ २२ दिन मात्र काम गर्न
पाएकी थिइन्। उनी भन्छिन्, “घर फर्किने बेला त्यति भए पनि काम गरेको
पैसा माग्दा मालिक्नीले घरमै थुन्ने प्रयास गरिन् र एक पैसा पनि नलिई
फर्किएँ।” उनले लेवनान पठाउने कम्पनीलाई अझै रु.५ हजार तिर्न बाँकी
छ। त्यहाँ जाँदा भएको रु.२८ हजारको खर्च पनि ऋण काढेर जुटाएकी थिइन्।
•
रवि धामी, महेन्द्रनगर
ठग डाक्टरको धम्की
'मलाई के गर्न सक्छौ'
नगर प्रहरी कार्यालय,
विराटनगरका प्रहरी निरीक्षक फिरोज बस्नेतकहाँ १८ असारमा डा. अभयकुमार
ठाकुरले ठगी गरेको उजुरी पर्यो। खोटाङ्गको दिक्तेलबाट आएका प्रकाश
फुयालसँग उनले रु.२५० को औषधिको रु.११०० लिएका रहेछन्। प्रहरीको सक्रियतामा
ठाकुरले सो रकम फिर्ता गरेपछि घटना साम्य भयो। तर, डा. ठाकुरको उपचार
प्रक्रिया र चिकित्सकको डिग्री तथा प्रमाणपत्र बरोबर शङ्काको घेरामा
परेका छन्।
डा. अभयकुमारले आफूकहाँ बिरामी ल्याउने हदैसम्मका तरिका अपनाउने गरेका
छन्। पहाड र तराईका गाउँतिरबाट उपचार गराउन आउने बिरामीहरूलाई गाडीबाट
उत्रिने वित्तिकै आफ्नो क्लिनिकमा ल्याइपुर्याउन उनले दुई सयभन्दा
बढी रिक्साचालकहरूलाई कमिसन दिएर शहरका बसपार्क र चोकहरूमा खटाएका
छन्। सुनसरी, अमही वेलाहाका रिक्साचालक प्रभुनारायण चौधरी भन्छन्,
“एउटा बिरामी बापत रु.३०० सम्म कमिसन पाउँछु।” आफ्नो क्लिनिक नजिकै
अरू कसैका होमियोप्याथिक क्लिनिक नखुलुन् भनेर ठाकुरले क्लिनिक रहेको
घर, त्यस अगाडि र वरिपरिका केही सटर आफैँ भाडामा लिई बन्द गरेर राखेका
छन्।
 |
| अभयकुमार ठाकुर र उनको क्लिनिक |
विराटनगरमा नक्कली चिकित्सकहरूले गैरकानूनी क्लिनिक
सञ्चालन गरेका गुनासोहरू आउन थालेपछि गत पुसमा जनस्वास्थ्य कार्यालय,
मोरङ्गका प्रमुख नवराज सुब्बाको संयोजकत्वमा गठन भएको छानबिन समितिले
११ फागुनमा डा. ठाकुरलाई पक्राउ गरेर (हे. तस्बिर) बयान लिएको थियो।
बयानको क्रममा ठाकुरले समितिलाई आफूले पास गरेको भनिएको बीएचएमएस डिग्रीको
पूरा रुप समेत बताउन सकेनन्। उनले आइएस्सी को पूरा रुप समेत भन्न नसकेको
समितिका संयोजक सुब्बा बताउँछन्। तर ठाकुरले नेपाल स्वास्थ्य व्यवसायी
परिषदबाट मान्यता र प्रमाणपत्र पाएको बताएका छन्। त्यसबेला ठाकुरले
समितिसमक्ष चिकित्सकको प्रमाणपत्र प्रस्तुत गर्न नसकेकाले उनलाई एकसाता
भित्र देखाउने शर्तमा छाडिएको थियो। औषधि व्यवस्था विभागले विराटनगरको
जलजला रोडस्थित ठाकुरको शोभा फार्मेसीमा पटक–पटक छापा मारेको छ। पहिले
छापा मारेर बिक्रीवितरण निषेध गरी पसलमा सिल गरिएका औषधि समेत पुनः
बिक्री गरेको गुनासो आएपछि विभागले १२ फागुनमा पनि छापा मार्यो। यतिका
प्रमाण फेला पर्दा पनि ठाकुर हाकाहाकी भन्छन्– “हेरौँ, मलाई कसले के
गर्न सक्छ?”
कतिपय स्वास्थ्य व्यवसायीले गैरकानूनी काम गरेको प्रमाणित
हुँदाहुँदै पनि कारबाही नभएका उदाहरण विराटनगरमै भेटिएका छन्। १६ असारमा
जलजलामा पशुपति होमियो क्लिनिक चलाइरहेका डा. प्रफुल्लकुमारले भोजपुरकी
पवीमाया कार्कीसँग रगत परीक्षणको रु.१३०० लिए। कार्कीले ठगिएको शङ्का
लागेर प्रहरीमा उजुर गरेपछि उनले स्थानीय युवराज ल्याबमा रगत जाँच
गराएबापत २५ प्रतिशत कमिसन लिने गरेको थाहा भयो। प्रहरीले डा. प्रफुल्ललाई
पक्राउ त गर्यो, तर कारबाही भएन।
•
खगेन्द्र कट्टेल, विराटनगर
अपराधी समात्ने–छाड्ने
सरकार–माओवादी सहकार्य
हिजोआज प्रहरीले कुनै अपराधमा संलग्न ठानी पक्रेको व्यक्तिलाई
माओवादीले चाहे भने तुरुन्तै छुटाउन सक्छन्। शान्तिवार्तामा सुस्त
गतिमा अघि बढिरहेका सरकार र माओवादीबीच अपराधी समात्ने–छुटाउने काममा
भने उदाहरणीय सहकार्य हुनेगरेको छ।
१२ चैत २०६२ मा पपगायक सचिन रौनियारको काठमाडौँ, भेडासिंस्थित सुनपसलमा
आफ्नै सुरक्षागार्ड कुलचन्द्र पौडेलले लगभग रु.३७ लाखको २३० तोला सुन
चोरे। सिन्धुपाल्चोक, जलबीरेका कुलचन्द्रलाई चौतारा प्रहरीले ५ साउन
२०६३ मा पक्रेर ल्याइरहेको बेला माओवादीले सिन्धुपाल्चोक 'जनसरकार
प्रमुख' रिता खड्का (अस्मिता) को आदेश भन्दै “यो हाम्रो जनसरकारको
क्षेत्र भएकोले हाम्रै हिरासतमा राखिनेछ” भनेपछि माओवादीका 'जिल्ला
न्यायालय प्रमुख' नेत्रप्रसाद दङ्गाललाई भर्पाइ गरेर बुझाएको अपराध
अनुसन्धान शाखा, हनुमानढोकाका नायब प्रहरी उपरीक्षक पिताम्बर अधिकारी
बताउँछन्। पौडेलको मुद्दामा स्थानीय माओवादीले प्रहरीलाई “हामी आफँै
अनुसन्धान गर्छौँ, पीडितलाई यतै पठाइदिनुस्” सम्म भनेका थिए।
काठमाडौँमा हराएको बुद्धिनारायण महर्जनको मोटरसाइकल
प्रहरीले बनेपाको एउटा वर्कशपमा फेला पार्यो। यादव अधिकारीले चन्द्रे
भन्ने माइला लामासँग रु.१२ हजारमा किनेका र कागजपत्र नपाएपछि माओवादीलाई
बुझाएको सो मोटरसाइकल प्रहरीलाई लैजान नदिई माओवादी आफैँले 'कारबाही'
अघि बढाए। उनीहरूले मोटरसाइकल धनी बुद्धिनारायणबाट यादव अधिकारीलाई
रु.१२ हजार दिलाएर मोटरसाइकल फिर्ता दिएका छन्। काभ्रेको नेपालथोकमा
माओवादीसँग यस्ता अरू १२–१५ वटा मोटरसाइकल कोही लिन नआएर थन्किएका
छन्। तीन वटा मोटरसाइकल चोरेको अभियोगमा चन्द्रे हनुमानढोका प्रहरी
कार्यालयमा थुनिएका छन्।
२ साउनमा हातमा चिर्पट लिएका चार–पाँच जना कोटेश्वर,
फूलबारीमार्गस्थित भूपेन्द्रराज गिरी र प्रज्ज्वलकुमार बज्राचार्यको
सिन्धु हाउजिङ्गमा आए र दुई वटा मोवाइल फोन तथा रु.६ लाख लुटेर लगे।
बाराका किशोर पौडेलले जग्गा किन्ने भनेर कैलालीका लहानु चौधरी र सिन्धुपाल्चोककी
विमला बि.क.लाई ल्याएको र यिनैको संलग्नतामा लुटपाट गरिएको सिन्धु
हाउजिङ्गका प्रोप्राइटर बज्राचार्य बताउँछन्। प्रहरी हिरासतमा रहेका
यिनै तीनजनामध्ये चौधरीले आफू थारुवान मुक्ति मोर्चाको सदस्य भएको
र पुरानो सत्ताले माओवादीमाथि कुनै कारबाही गर्न नपाउने भनी प्रतिवाद
गरेकाले उनी र उनकी श्रीमती बि.क. छुटेका प्रहरीहरू बताउँछन्। यो मुद्दालाई
प्रहरी प्रशासनले त्यत्तिकै 'डिसमिस' गर्न खोजेको पीडितहरूको गुनासो
छ।
•
ध्रुब सिम्खडा
दलित सञ्जाल अब देशव्यापी
हालसम्म केन्द्रीय तहमा मात्र क्रियाशील रहेको स्थानीय
विकास मन्त्रीको संयोजकत्वमा गठित उपेक्षित दलित वर्ग विकास समिति
अब ७५ वटै जिल्लामा विस्तार गरिने भएको छ। जिल्ला विकास समितिका सभापति
अध्यक्ष र जिविसका योजना अधिकृत सदस्यसचिव रहने यसको जिल्लास्तरीय
संयन्त्रमा दलित आन्दोलनमा सक्रिय एकजनालाई उपाध्यक्ष मनोनीत गरिनेछ।
समितिको केन्द्रीय संयन्त्रले स्थानीयस्तरसम्म काम गर्न
नसकेकोले नै विस्तार गर्न लागिएको स्थानीय विकास मन्त्री राजेन्द्र
पाण्डे बताउँछन्। “त्यसपछि दलित वर्गको समस्या र समावेशीकरण लगायतका
मुद्दाहरू स्थानीय स्तरबाटै सम्बोधन हुनेछन्” मन्त्री पाण्डेको विश्वास
छ। जिल्लामा गैरसरकारी संस्थाबाहेक दलित हकहितनिम्ति काम गर्ने आधिकारिक
निकाय नभएको अवस्थामा विस्तार हुनलागेको यस संयन्त्रको माध्यमबाट राज्यद्वारा
प्रदान गरिएका सेवा, सुविधा र अवसर दलित समुदायसम्म पुर्याउन सजिलो
हुने आशा गरिएको छ। “गाविसका निम्ति छुट्याइएको रु.१० लाखमध्ये हाललाई
कम्तीमा ५ प्रतिशत दलित समुदायको निम्ति खर्च गरिने योजना छ” समितिका
केन्द्रीय उपाध्यक्ष सुन्दर विश्वकर्मा भन्छन्।
•
राजु विश्वकर्मा
परोपकारी शिक्षिका बनिन् लक्ष्मी
उमेरले ३० काट्दा नकाट्दै पतिलाई गुमाउन
पुगेकी पाल्पाको रामपुर–८, तिलकपुरकी लक्ष्मी भण्डारीलाई त्यसको डेढ
महिनापछि आफूपनि एचआईभी सङ्क्रमित भएको खबर निकै पीडादायी बनेको थियो।
तर पतिवियोगको पीडा, बालबच्चाको भरणपोषणको जिम्मेवारी र एचआईभी पीडितप्रतिको
हेयपूर्ण सामाजिक दृष्टिकोणको परवाह नगरी यस बज्रपातलाई प्रेरणाको
रूपमा लिएर उनी एचआईभी सर्ने तरिका, यसबाट बच्ने उपाय, सङ्क्रमितले
पालन गर्नुपर्ने नियम आदिका बारेमा जनचेतना फैलाउँदै टोल–टोल चहार्न
थालेकी छन्।
स्थानीय शिव खरालको मूल्याङ्कनमा लक्ष्मीले ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी
सरहको भूमिका निर्वाह गरिरहेकी छन्। “एचआईभी रोगबारे हामीजस्ता अनपढहरूलाई
केही थाहा थिएन, जान्नै पर्ने रहेछ” लक्ष्मीबाटै धेरै सिकेको सुनाइन्,
कमला कुमालले। धेरै नेपालीले अज्ञानताका कारण एचआईभी सङ्क्रमित हुनुपरेको
बताउँदै सबैलाई चेतना जरूरी रहेको लक्ष्मी बताउँछिन्।
लक्ष्मी धेरै शारीरिक परिश्रम पर्ने काम
गर्न सक्दिनन्। ज्वरो र रुघाले सताइरहन्छ। “तैपनि बाँचुञ्जेल समाजको
निम्ति केही गर्छु” उत्साहसाथ सुनाउँछिन् उनी। त्यही प्रतिबद्धताले
नै हो, 'एचआईभी सङ्क्रमित' बाट 'परोपकारी शिक्षिका' मा रुपान्तरित
भएको छ, लक्ष्मीको परिचय।
•
गोविन्द लुइँटेल, पाल्पा
|