विज्ञान–विचार
| भूगोल र राजनीति
लोकतन्त्र नेपालीको मात्र कि
नेपालको पनि?
“अंशै बण्डा गर्ने हो भने पनि यो देशका
एक करोड टुक्राहरूमध्ये
एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ
र यो देशका असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ”
– कवि भूपि शेरचन
•
डा. तीर्थबहादुर श्रेष्ठ
पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको हाम्रो
पुर्खाको नेपाल सन् १८१५ को सुगौली सन्धिपछि खुम्चिएर मेची–महाकालीभित्र
मात्र सीमित भयो। त्यस उप्रान्त ४५ वर्षपछि जङ्गबहादुरले हालको बाँके,
बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाले ओगटेको 'नयाँ मुलुक' अङ्ग्रेज
सरकारबाट फिर्ता गराएपछि यो राष्ट्रको क्षेत्रफल १,४७,१८१ मा कायम
भयो। तिनताका जन्मेका भए कवि भूपि शेरचनले आफ्नो अंशमा नेपालको ५२
लाख टुक्राबाट एक टुक्रा पाउन सक्थे। माथिको कविता २०२४ सालताकाको
भएकोले एक करोड टुक्राबाट एक टुक्राको दाबी भयो। आजका कविले दाबी गरे
भने २ करोड ३१ लाख टुक्रामध्येबाट एउटा टुक्रा पाउलान्।
भोलिका दिनमा त्यो पनि झन्झन् कम हुँदै जानेछ। किनभने
नेपालको जनसङ्ख्या तीव्र गतिले बढ्दैछ र नेपालको क्षेत्रफल चाहिँ स्थिर
छ। जङ्गबहादुरको पालामा एक वर्ग किलोमिटर नेपालमा औसत ३५ जना नेपाली
बस्दथे भने आज त्यही एक वर्ग किलोमिटरमा १५७ व्यक्ति अटाएका छन्। तर,
नेपालीहरू गिलासको पानीमा घोलिएको चिनीझैँ समानुपातिक ढङ्गले नेपाल
भित्र बस्दैनन्। बरु पानीको गिलासमा बालुवा घोलेर छोडेजस्तै माथिल्लो
तह सङ्लो, बीचको धमिलो र पीँधमा थुप्रो बालुवा थेग्रिएझैँ हिमाल र
भोटतिर थोरै जनघनत्व र मधेश–तराईतिर अधिक जनघनत्व थेग्रिएको अवस्थामा
छ। त्यसैले लोकतन्त्र र समावेशीकरणको बहसमा नेपालको भू–स्वरुप र तिनले
सिर्जेका विभिन्न विविधतालाई भुल्नुहुँदैन। नत्र यो लोकतन्त्र नेपालीको
मात्र हुन्छ, नेपालको हुनसक्दैन।
लोकतन्त्रले टाउकोको मात्र गन्ती गर्यो र टाउको अटाउने
ओतको हेक्का छोड्यो भने लोकतन्त्रको दिगोपनमा ढुक्क भएर बस्न सकिँदैन।
समानुपातिक प्रतिनिधित्वको सवालमा भौगोलिक यथार्थ समावेश हुन सक्नु
नै दिगोपनको द्योतक हुन आउँछ। त्यसैले आजको लोकतन्त्रले नेपाली र नेपाल
दुवैलाई समेट्न सक्नु जरुरी छ।
नेपालको नक्सामा नेपाली जनताको मौजुदा वितरणको चित्राङ्कन
गर्न प्रत्येक ५००० व्यक्तिका नाममा एक थोप्लो टीका टाँस्दै जाँदा
विचित्रको नक्सा बन्दछ। काठमाडौँ, मोरङ र रुपन्देही जिल्लाहरू धेरै
थोप्लो थापेर सबैभन्दा बढी छ्याकटे देखिन्छन्। हुम्ला, मुगु, जुम्ला,
डोल्पा, मुस्ताङ, मनाङ र रसुवा भने यताउति कालाकोठी छरिएको मुहारझैँ
सफा देखिन्छन्। पहाडी जिल्लामध्ये पनि कास्की, स्याङ्जा, तनहुँ, धादिङ,
मकवानपुर, काभ्रेपलाञ्चोक, एवं सिन्धुपाल्चोक छोडेर अन्य जिल्लाहरू
त्यति धेरै छ्याकटे देखिँदैनन्। मधेश–तराईका अधिकांश जिल्ला जनभारले
लादिएका छन्। बसोबासको भौगोलिक अनुपात हेर्दा एक डोल्पालीबाट प्रतिनिधित्व
हुने भू–भाग बराबर काठमाडौँवासी ७४० जनाबाट प्रतिनिधित्व हुन्छ। काठमाडौँमा
प्रतिवर्गकिलोमिटर भू–भागमा २८४७ जनसङ्ख्या अटेको छ। यही जनघनत्व डोल्पामा
कायम हुने हो अथवा काठमाडौँको जस्तै बाक्लो बस्ती बसाउने हो भने आजको
सम्पूर्ण नेपाली जनसङ्ख्या डोल्पा जिल्ला भित्रै अटाउँछ। स्रोतसाधन
र सुविधाको कुरा भने बेग्लै छ।
यस्तै अरू जिल्लाको तथ्याङ्क पनि अगाडि राख्यौँ भने
जनभारको विषमतामा हाम्रो यथार्थ खुल्छ। डोल्पा र मनाङ जस्ता जिल्लामा
प्रति वर्गकिलोमिटरमा चार व्यक्तिको जनघनत्व पनि छैन। नेपालको औसत
जनघनत्व भने १५७ को हाराहारीमा पुगेको छ। यस अर्थमा एक डोल्पालीले
झण्डै ४० औसत नेपालीको भूभार ओगटेको देखिन्छ। यस्तो भूभार (ज्योग्राफिकल
वैटेज) लाई कसरी मतभार (भोटिङ वैटेज) मा रुपान्तर गर्ने भन्ने राजनीतिक
चुनौतीलाई पन्छाउनुहुँदैन। वस्तुतः भौगोलिक अखण्डताको मूल कडीलाई मजबूत
राख्न लोकतन्त्रको निर्वाचनपद्धतिमा भौगोलिक समानुपात समेतलाई मध्यनजरमा
राख्ने नवीन सोचको कसरत हुनुपर्दछ। लोकतन्त्र, गणतन्त्र वा लोकतान्त्रिक
गणतन्त्र जस्तोसुकै राज्यव्यवस्थामा प्रवेश गरे पनि प्रादेशिक संरचनाको
आधारमा समानुपातिक प्रतिनिधित्व हुने मिश्रित निर्वाचन प्रणाली भित्र
भौगोलिक समावेशीकरणलाई पनि यथायोग्य स्थान प्रदान हुनुपर्छ। भौगोलिक
अग्राधिकारको व्यवस्थातिर पनि सोच्न सकिन्छ।
नेपालको सर्वाङ्गीण विकास गर्न अञ्चल विभाजन, विकास
क्षेत्र विभाजन जस्ता प्रयासहरू भएका थिए। विकेन्द्रीकरण ऐन र नियमावली
पनि अख्तियार भएकै हुन्। तर, परिणाम भने केन्द्रीकरणको रूपमा प्रस्फुटन
भयो। यसका धेरै कारणहरू छन्। तीमध्ये सर्वाधिक महत्त्व राख्ने कारण
मधेश–तराईमा लामखुट्टेको पहरा हट्नु हो। औलो उन्मूलनले बसाइँसराइको
प्रक्रिया तीव्र गतिमा बढ्यो। चितवन जिल्लामा ७५ जिल्लाबाट मानिसको
ओइरो लागेर त्यसलाई ७६ औँ जिल्ला बनायो भन्ने कथन असत्य होइन। त्यस
जिल्लामा २०१८ सालताका ६७,८८२ जनसङ्ख्या थियो। त्यसको लगत्तै १० वर्षपछि
२०२८ सालमा त्यो सङ्ख्या दोब्बरभन्दा बढी (१,८३,६४४) हुनपुग्यो। हालको
अनुमानले ५,४२,४१७ को आँकडा देखाउँदछ। हिमाल र पहाडतिर भने जनसङ्ख्या
पातलो हुने क्रममा नै छ। विगत १० वर्षको आन्दोलन र अशान्तिले पनि हिमाल
र पहाडतर्फबाट बढी युवाहरू विस्थापित हुनपुगे। आधुनिक शिक्षा प्रणालीले
पनि नयाँ पीँढीलाई आफ्नो परम्परागत पेशा र रैथाने परिवेश छोडेर सुविधासम्पन्न
शहर–बजार र मधेश–तराईतिर हिँड्न बाध्य बनायो। यसप्रकार एकातिर पर्याप्त
नेपाली बिनाको नेपाल भूभागको अंश बढ्दैछ भने अर्कातिर बेरोजगारको जमात
शहर, सदरमुकाम र राजधानीतिर केन्द्रित हुँदैछ।
 |
नक्सा सौजन्यः
इसिमोड |
नेपालको मौलिक धन भन्नु नै प्राकृतिक, सांस्कृतिक र
जलसम्पदाको विविधता हो। यी सम्पदा सम्पत्तिमा रुपान्तर नभएसम्म नेपाल
र नेपाली आत्मनिर्भर बन्न सक्तैनन्। त्यसका लागि सम्पदायुक्त क्षेत्रमा
मौलिक जनशक्तिको निर्माण हुनुपर्दछ। युवापुस्ताको पलायन प्रवृत्तिलाई
स्वस्थानीय विकासका आशा र भरोसाले प्रभावित गर्न सक्नुपर्दछ। नेपालको
अनुपम विविधतालाई राजनीतिक एकताको सूत्रमा बाँध्न युवापुस्ताले आफ्नो
हक र अधिकार आफ्नै रैथानमा प्रयोग गरेर आफ्नो परिवेश परिमार्जन गर्ने
वातावरण सिर्जना गर्न सक्नुपर्छ। निर्माणाधीन लोकतन्त्रले त्यो अवसर
सिर्जना गर्नेछ भन्ने विश्वास लिनुछ।
नेपालको भूस्वरुपतिर पुनः फर्किहेर्यौँ भने त्यहाँ
३५.२ प्रतिशत हिमाल र भोट प्रदेश छ तर जनसङ्ख्या ७.८ प्रतिशत मात्र
छ। पहाडी प्रदेशले ४१.७ प्रतिशत भूभाग ओगटेको छ। त्यहाँ ४५.५ प्रतिशत
जनसङ्ख्या छ। मधेश–तराईमा २३.१ प्रतिशत भूभाग छ। त्यहाँ ४६.७ प्रतिशत
जनसङ्ख्या छ। हिमाल, पहाड, लेक र बेँसी भइदिनाले दुर्गमका कम जनघनत्व
भएका जिल्लाहरू जैविक विविधता एवं जलस्रोत विविधतामा धनी छन्। उद्भिद
वनस्पतिका हिसाबले डोल्पा जिल्लामा सल्ला, देवदार, बाँझ, फलाँटका वनदेखि
लेकाली बुकी र डालेचुकका घारीलगायत २१ प्रकारका बोटविरुवा छन्। प्रत्येक
वर्ष बीसौँ हजार मान्छे विभिन्न जिल्लाबाट ओइरिएर पच्चीसौँ करोडको
यार्सागुम्बा बटुल्छन्। डोल्पा त्यो जिल्ला हो जहाँ यस पंक्तिकारले
सन् १९६६ मा तीन महिना घुम्दा तीन सय मानिस भेटेको थिएन। अहिले केवल
यार्सागुम्बाको एक अदतले गर्दा तीन महिनाभित्र तीसौँ हजारको हुल आउँछ,
जान्छ। बीस वर्ष पहिलेसम्म यार्सागुम्बा खोज्ने चलनै थिएन। केवल आम्चीहरू
(तिब्बती औषधिका चिकित्सक) मात्र यार्सागुम्बा जान्दथे र टिप्दथे।
यिनै आम्चीले प्रयोग गर्ने अरू सयौँ जडीबुटी छन्। तिनको
पालो पनि आउँछ। प्रयोग र बजार खोज्न सक्ने जनशक्तिको मात्र अभाव छ।
अर्को उदाहरण पूर्वाञ्चलतिर लिने हो भने संखुवासभा जिल्लाले प्राकृतिक
एवं जैविक विविधताको अनुपम सम्पदा पस्कन सक्दछ। प्राकृतिक सम्पदाले
युक्त हाम्रा विभिन्न जिल्लाहरू राजनीतिक एवं आर्थिक लगानीका कारण
नै निर्जन हुन पुगे भने नेपाल स्वतः निर्धन हुन्छ भन्ने कुरामा दुविधा
नरहला।
समावेशी लोकतन्त्रमा नेपाल र नेपालीको प्रतिरुपमा सदनको
स्वरुप कायम हुनुपर्दछ। यो प्राप्तिका लागि विभिन्न विद्वान्हरूबाट
जिल्ला विभाजनका नवीन प्रस्तावहरू अगाडि आएका छन्। डा. हर्क गुरुङबाट
'पच्चीस जिल्लाको नयाँ नेपाल' (हिमाल अङ्क २२, फागुन २०५८) र हर्कराज
चोङवाङको बहुजातीय मार्गचित्र (कान्तिपुर, १६ असार २०६३) बाट एक केन्द्रीय
राज्य र आठ प्रान्तीय राज्य प्रस्ताव भएका छन्। तर जुन तरिकाले विभाजन
गरे तापनि भौगोलिक क्षेत्र समानुपातिक गर्न सजिलो हुँदैन। मान्छे गन्तीको
आधारमा जिल्ला वा प्रान्त ठूलो सानो हुन जान्छ। भौगोलिक इकाइ, जनसङ्ख्या
र जनजातिको आधारमा जिल्ला वा प्रान्तको आकार निर्धारण गरिन्छ। यस अवस्थामा
पनि इकाइहरू बहुसङ्ख्यक र अल्पसङ्ख्यक देखिन आउँछन्। त्यसैले भौगोलिक
क्षेत्रको आधारमा व्यक्त हुने जनमतको व्यवस्था मिलाउनु अति जरुरी हुन्छ।
जमिन र जनसङ्ख्याको अनुपातमा मतभारको सूचाङ्क (ज्योग्राफिकल इन्टेक्स)
निर्धारण गर्न सकियो भने भौगोलिक समावेशी निश्चित हुनजान्छ।
प्राकृतिक सम्पदाको आधारमा जनसङ्ख्या वितरित भयो भने
त्यसले विकासको दिगोपन सुनिश्चित गर्न मद्दत पुर्याउँछ। सीमित स्रोतमा
असीमित जनभार बढ्दै गयो भने त्यो विकृतिले विनास निम्त्याउँछ। एकीकृत
पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र 'इसिमोड' को विश्लेषण
अनुसार नेपालका तराई र हिमाली जिल्लाहरू प्राकृतिक सम्पदाका आधारमा
धनी छन्। विशेष गरेर मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु, हुम्ला
र कालीकोट जिल्लाहरू प्राकृतिक सम्पदाले धनी भएपनि जनसङ्ख्याको घनत्व
भने ज्यादै कम छ। तराईका जिल्लामा जनघनत्व अहिले नै धान्न गाह्रो हुने
अवस्थामा छ। प्राकृतिक सम्पदा विशेष गरेर वनसम्पदामा पर्न गएको चापले
वातावरण सन्तुलनमा समेत चुनौती खडा गरेको छ। तसर्थ कम जनघनत्व भएका
क्षेत्रमा आकर्षणका आधारहरू निर्माण गर्नु अपरिहार्य छ। यस पृष्ठभूमिमा
राजनीतिक आकर्षण थप्नु वाञ्छनीय हुन्छ।
निर्जन भूमिको पनि प्रतिनिधित्व हुने गरी राज्यव्यवस्थाका
लागि केही नवीन सोच हुनु आवश्यक छ। किनभने भोलिको सिन्धु–गङ्गा समथर
भूमि र त्यहाँको मानवसागरको तिर्खा मेट्ने अविरल जलभण्डार हाम्रो हिमाली
भेगमा छ। विश्वविख्यात् सगरमाथालगायत सयौँ प्रख्यात् हिमचुली र हिमक्षेत्रको
बारेमा चर्चा गर्दा वर्तमान ७५ जिल्लामध्ये सर्वाधिक हिमक्षेत्र भएको
जिल्ला बझाङ हो। त्यहाँ ५००० मिटर भन्दा उच्च क्षेत्रले जिल्लाको ३०
प्रतिशत भूभाग ओगटेको छ। जनघनत्व भने प्रतिवर्गकिलोमिटर ४७.६ मात्र
पुग्न आउँछ। दोस्रो क्रममा संखुवासभामा २८.४४ प्रतिशत, मनाङमा २५.३६
प्रतिशत र सोलुखुम्बुमा २४.४५ प्रतिशत जिल्लाको भूभाग हिम क्षेत्रमा
पर्दछ। जनघनत्व भने संखुवासभामा ४६, मनाङमा ४.१७ र सोलुखुम्बुमा ३१.६
को आँकडा देखापर्दछ। एक व्यक्ति एक मतदानको अङ्कगणितमा मात्र राज्यव्यवस्था
निर्माण हुन गयो भने नेपाली लोकतन्त्रमा हिमालय पनि यथार्थ रूपमा समावेश
हुन सक्तैन। तसर्थ, भौगोलिक समावेशीकरणका आधारहरू समेत पहिल्याई नेपालको
लोकतन्त्र निर्माण हुनुपर्दछ।
सन्दर्भ नागपञ्चमी
के सर्पले दूध पिउँछ?
हाम्रो संस्कृतिमा प्राणी–पूजाको विशेष महत्त्व छ। ऋतु
र मौसमअनुसार कहिले भ्यागुता, कुकुर गाईको पूजा हुन्छ त कहिले सर्पको।
नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। यो वर्ष पनि श्रावण शुक्लपक्षको
पञ्चमी (१४ साउन २०६३) का दिन घरघरमा नागपूजा भयो। धेरैले नागलाई दूध
समेत चढाए; तर सर्प, साँप वा नागले दूध पिउँछ, पिउँदैन भन्ने कुरा
नबुझिकनै।
वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका प्रजातिहरूले
दूध पिउँदैनन्। यिनीहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन्
भने कोही भ्यागुता, मुसा। अजिङ्गरले त स–साना बनेल, हरिणका पाठालगायत
मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ
हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ, भ्रम
र भ्रान्तिबोधका शिकार बन्दछौँ। नाग वा सर्पले दूध पिउँछ भन्ने पनि
त्यस्तै एक भ्रम हो।
यथार्थमा सर्पको बाहिरी कान हुँदैन। जमिनको कम्पनका
आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ। सपेराहरूको बिन पनि सर्पले सुन्दैन।
बिनको नचाइमा सर्प झुल्ने मात्र हो। सपेराले बिन नघुमाउने हो भने गोमनले
टाउको झुलाउँदैन। बिन सुनेर सर्प झुल्छ भन्ने पनि अर्को भ्रम हो।
सर्पको जिब्रो देखेर हामी तर्सन्छौँ। हामीलाई विषवमन
गर्ने, डस्ने अवयव नै त्यो फाटेको जिब्रो हो कि जस्तो लाग्छ तर त्यो
अर्को भ्रम हो। सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रीय हो। यसले
आफ्नो शिकारको गन्ध पछ्याउन मद्दत गर्दछ। हाम्रो जिब्रोजस्तो खाद्यपदार्थको
स्वादानन्द दिने अवयव पनि यो होइन।
सर्पले आँखा बन्द गर्न, झिम्क्याउन सक्दैन। सर्पको आँखाले
क्यामराले जस्तो चित्र छायाङ्कन गर्ने र शत्रुको चित्र आफ्नो जोडी
वा मित्रलाई उपलब्ध गराउने कुरा पनि मिथ्या हो। बरु कुनै कुनै सर्पले
अँध्यारोमा देख्न सक्छन्। हिमाली क्षेत्रमा पाइने भाइपर सर्पको थुतुनोनिर
केही थोप्ला हुन्छन्। ती थोप्लाका सहायताले उसले न्यायो बस्तु ठम्याउन
सक्छ। अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारे क्यामरा यही सिद्धान्तमा
निर्माण भएको हो।
कहिलेकाहीँ दुई सर्पले आपसमा बेरिएर टाउको उठाउँछन्
र हेर्नेलाई अनौठो द्विविधामा पारिदिन्छन्। कसै कसैले यसलाई सर्पको
सम्भोगका रुपमा अर्थ्याउँछन्। वास्तवमा यो दुई भालेको चाहिँ झगडा हो।
निर्धो हारेर फर्केपछि बलियोले त्यस क्षेत्रको पोथीलाई आफ्नो बनाउँछ।
नेपालमा ८० प्रतिशत प्रजातिका सर्प छन्। तीमध्ये २०
प्रजाति मात्र विषालु हुन्छन्। त्यसैले सर्प देख्नासाथ त्रसित हुनु
आवश्यक छैन तर सतर्क भने हुनैपर्छ। किनकि सर्प चिन्न गाह्रो हुन्छ।
विषालु सर्पका मुखमा दाह्राजस्तै दाँत हुन्छ। त्यसले डस्यो भने हाम्रो
शरीरभित्र विष प्रवाहित हुन्छ। संसारको सर्वाधिक विषालु सर्प राजगोमन
अनि ठूला सर्पमध्ये एक मानिने अजिङ्गर पनि हामीकहाँ पाइन्छन्। अजिङ्गर
६–७ मिटरसम्म लामो हुन्छ र यसको तौल झण्डै १०० किलोग्राम हुन्छ। हाम्रो
तेलिया साँप पनि संसारको सबैभन्दा सानो सापको श्रेणीमा पर्छ। १५ सेन्टीमिटर
जति लामो यो साप गड्यौला जस्तो देखिन्छ।
हाम्रो पर्यावरणमा समेत सर्पको महत्त्वपूर्ण भूमिका
छ। तिनको संरक्षणमा विशेष ध्यान पुर्याउनुपर्दछ किनभने तिनलाई बिनाकाम
मार्ने गरिएको छ। वैज्ञानिकहरूले पनि हाम्रो गोमन सर्पलाई नाग भन्ने
नाम दिएका छन्। नागको संरक्षण गर्न हाम्रो संस्कृतिले परोक्ष रुपमा
सघाइरहेको उदाहरण हो नागपञ्चमी।
•
तीर्थबहादुर
|