अन्तर्वार्ता
नेपाली माओवादीको 'लोकतान्त्रिक–यात्रा'
खुशी छैनन् भारतीय माओवादी
चालीसौँ वर्षदेखि
विभिन्न प्रान्तमा सशस्त्र विद्रोह गर्दै आइरहेका भारतका नक्सलाइट
अर्थात् माओवादी–कम्युनिष्टहरुले नेपालका माओवादीहरुको पछिल्लो लोकतान्त्रिक–यात्राक्रमलाई
कसरी हेरिरहेका छन् भन्ने आम जिज्ञाशा भाकपा (माओवादी) का प्रवक्ता
'कमरेड आजाद' को यो खुलस्त अन्तर्वार्ताले केही हदसम्म शान्त पार्नसक्छ।
भारतको केरलाबाट प्रकाशित हुने माओवादी समर्थक पत्रिका पिपुल्स मार्च
को जून महिनाको अङ्कमा छापिएको यो अन्तर्वार्ताको सार– नेपालका माओवादीले
रोजेको पछिल्लो बाटो र व्यवहारसँग भारतका माओवादीहरु प्रशन्न छैनन्,
बरु चिन्तित र दु:िखत् छन् भन्ने छ।
नेपालको
वर्तमान घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ?
नेपालको विकासलाई हामी बडो अभिरुचिका साथ हेरिरहेका छौँ। एक दशक लामो
सशस्त्र सङ्घर्षको परिदृश्यमा नेपाली जनताले राजा ज्ञानेन्द्रको प्रतिक्रियावादी
तनाशाही शासनविरुद्ध ऐतिहासिक आन्दोलन गरे, फाँसीवादी राजालाई हठ त्यागेर
संसदलाई सत्ता सुम्पन बाध्य बनाए। हाम्रो पार्टी जनतन्त्र र समुन्नत
समाजको लागि नेपाली जनताले गरेका ऐतिहासिक सङ्घर्षको अभिवादन गर्दछ।
भारतका क्रान्तिकारीहरूले नेपालको सङ्घर्ष राजा र तथाकथित संसदको विस्थापन
तथा क्रान्तिकारी र जनतान्त्रिक शक्तिद्वारा सत्ताकब्जा नभएसम्म जारी
रहने आशा राखेका छन्। वर्तमान राजनीतिक विकासक्रमलाई सही दिशातिर लैजानमा
माओवादीहरू सक्षम रहनेछन् भन्नेमा हामी आशावादी छौँ। माओवादीले राजासँग
सम्झौता गर्न र जनचाहनालाई धोका दिन उद्दत सातदल गठबन्धनसँग आफ्नो
सहकार्यप्रति सजग हुनैपर्दछ।
अन्तरिम सरकारमा सामेल हुने र संविधानसभाको
निर्णय मान्ने नेकपा (माओवादी) को कार्यनीतिलाई कसरी हेर्नुहुन्छ?
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीका कारण धेरै जनयुद्धहरू
असफल भएर अस्तित्वको लडाइँमा खुम्चिएका बेला पनि नेपालको कम्युनिष्ट
पार्टी र जनताले ऐतिहासिक विजय हासिल गरेका छन्। तर माओवादीले आफ्नो
वर्तमान कार्यनीतिप्रति होशियार रहनुपर्छ। परस्पर विपरीत वर्गीय हितको
प्रतिनिधित्व गर्ने माओवादी तथा दलाल पूँजीपति र सामन्तीहरूको प्रतिक्रियावादी
दल नेपाली काङ्ग्रेस, संशोधनवादी नेकपा (एमाले) लगायतका सत्तासीन पार्टीहरूको
संयुक्त सरकार सफल हुन्छ भन्ने हामीलाई लाग्दैन। त्यसले सामान्य सुधार
गर्न र विपन्न जनताका केही अंशको चित्त बुझाउन सक्ला, तर नेपाली जनताका
आधारभूत समस्या समाधान गर्न सक्दैन। पुरानो राज्यसत्तालाई जतिसुकै
सिँगारपटार गरेर नयाँ रूप दिए पनि, त्यसलाई प्रयोग गरेर कसैले पनि
नेपाली भूमिबाट सामन्तवादलाई परास्त गर्न र साम्राज्यवादलाई विस्थापित
गर्न सक्दैन। आम जनताको क्रान्तिकारी उभारविना यो उद्देश्य प्राप्त
हुँदैन।
देशभर व्यापक जनपरिचालन र जनउभार सिर्जना गरेर क्रान्तिलाई
अगाडि लैजाने सकारात्मक प्रयास गरिरहेको नेकपा (माओवादी) संविधानसभा
र सातदलसँगको गठबन्धनबाट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा
चाहिनेभन्दा बढी विश्वास गरिरहेको छ। २५ हजारको जनसेना, आधार क्षेत्र,
संयुक्त मोर्चा र नयाँसत्ताका निकायहरूको निर्माण गरिसकेको, प्रहरी
र शाही सेनालाई प्रभावकारी तवरले पराजित गर्न सफल भइसकेको तथा सत्ता
कब्जा गर्ने रणनीतिक प्रत्याक्रमणको चरणमा पुगिसकेको पार्टी अहिले
प्रत्याक्रमणबाट पछि हटेर जुन कुरामा जोड दिइरहेको छ, त्यसप्रति ऊ
सजग हुनैपर्छ। हुन त माओवादीहरूले यो 'फ्रेब्रुअरी क्रान्ति' हो र
अब 'अक्टोबर क्रान्ति' को तयारी गर्नुपर्छ भनेका छन्, तर उनीहरूको
रणनीतिक प्रत्याक्रमण योजनामा यसको उल्लेख भएको देखिँदैन।
आफ्ना 'नयाँसत्ता' भङ्ग र सेना एकीकरण गर्ने नेपाली माओवादीको तत्परताप्रति
तपाईंहरूको धारणा के छ?
माओवादीको तात्कालिक कार्यनीति जनयुद्धको उपजका रूपमा विकास भएका जनसत्ताका
निकायहरूलाई सुदृढ गर्ने तथा क्रान्तिकारी रूस र चीनका 'सोभियत' र
'कम्युन' को रूपमा बदल्ने हुनुपर्दछ। त्यसपछि बृहद् स्तरमा जनपरिचालन
गरेर विद्रोहलाई अगाडि बढाउनु र शहरहरू कब्जा गर्दै राज्यसत्ता कब्जा
गर्नुपर्दछ। नेपालको ठोस परिस्थितिमा माओवादीका सामु दुईवटा क्रान्तिकारी
विकल्प छन्– जनउभार चर्काउनु र राष्ट्रिय सत्ता कब्जा गर्न उपयुक्त
राजनीतिक सङ्गठनहरूको विकास गर्नु; त्यसो गर्न सम्भव नभए विद्यमान
आधार इलाकाहरूलाई सुदृढ एवं सबल बनाउनु र जनतान्त्रिक कार्यभारहरू
सम्पन्न गर्दै समाजवादी कार्यभारहरूको दिशामा अगाडि बढ्नु। यस क्रममा
सम्भवतः दुई वटा नेपालको उदय हुनेछ– काठमाडौँ र केही शहरको प्रतिक्रियावादी
नेपाल तथा मोफसलको क्रान्तिकारी नेपाल।
जनसेनालाई राज्यको सेनामा गाभ्नु खतरनाक हुनेछ। माओले
जनसेनाविनाको जनता केही होइन भनेका थिए। वर्गीय शासनको एउटा प्रमुख
हतियार हो, सेना। परस्पर विपरीत वर्गहरूको एउटै सेना कसरी हुनसक्छ?
राजाको वफादार सेवक रहेको प्रतिक्रियावादी सेनासँग जनसेनालाई मिलाएपछि
जनता प्रतिरक्षाविहीन हुनेछन्। क्रान्तिकारी शक्तिहरू निरस्त्र र कमजोर
भएपछि प्रतिक्रियावादी शासक वर्गले 'कु' नगर्ला भन्न सकिँदैन। युद्धविरामको
पर्यवेक्षण र जनसेना विघटनको अनुगमन गर्न संयुक्त राष्ट्रसंघलाई आमन्त्रण
गर्नु पनि खतरनाक हुनेछ। राष्ट्रसंघ प्रथमतः साम्राज्यवादको, खासगरी
अमेरिकी साम्राज्यवादको हतियार हो। त्यसैले यसले नेपालका प्रतिक्रियावादी
शासक वर्ग र साम्राज्यवादकै स्वार्थमा काम गर्नेछ।
समग्रमा, गाउँका क्रान्तिकारी जनसरकारहरू भङ्ग गर्ने
र जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनामा गाभ्ने नेकपा (माओवादी)
को निर्णयले अहिलेसम्म हासिल भएका सबै क्रान्तिकारी उपलब्धिहरूलाई
गुमाउँदै जाने स्थिति सिर्जना गर्नेछ।
भारतका संसदीय दल र भाकपा–माकपाजस्ता
वामपन्थी पार्टीहरूले नेपाली माओवादीको लाइनलाई स्वागत गर्दै भारतीय
माओवादी आन्दोलनमा यसको सकारात्मक प्रभाव पर्ने कुरा गरेका छन्। तपाईँको
मूल्याङ्कन के छ?
नेपालको विकासक्रमले भारतको माओवादी आन्दोलनमा 'सकारात्मक' प्रभाव
पार्छ भन्ने ती पार्टीहरूको आग्रहयुक्त आत्मपरक सोचाइ मात्र हो। उनीहरू
माओवादीले सशस्त्र सङ्घर्ष परित्याग गर्छन् र तथाकथित मूलप्रवाहको
संसदीय राजनीतिलाई अँगाल्छन् भन्ने सोच्दछन्। तर भारतको माओवादी आन्दोलन
कति दृढ छ भन्ने कुरा नक्सलवारी आन्दोलनपछिका चार दशकमा अनेकन् आरोह–अवरोह
पार गर्दै आएको इतिहाससँग परिचित सबैलाई राम्रो थाहा छ। कामरेड प्रचण्डले
नेतृत्व गरेका नेकपा (माओवादी) ले लाइन परिवर्तन गर्दा भारतका विभिन्न
शासक दल र तथाकथित वामपन्थी पार्टीहरू खुशी भए भनेर अचम्म मान्नुपर्दैन।
क्रान्तिका प्रखर शत्रु र विरोधी यी पार्टीहरू भारतमा चलिरहेको जनयुद्धलाई
दबाउन अग्रपंक्तिमा रहने गरेका छन्।
गएको फेब्रुअरीमा हिन्दू लाई दिएको अन्तर्वार्तामा कामरेड
प्रचण्डले पनि बहुदलीय प्रजातन्त्रको आफ्नो लाइनले भारतको माओवादी
आन्दोलनमा प्रभाव पार्ने कुरा गरे। नेपालमा सफलतापूर्वक बहुदलीय प्रजातन्त्र
स्थापना गरेर भारतको नक्सलवादी आन्दोलनलाई “सकारात्मक” सन्देश दिन
खोजेको कुरा प्रचण्डकै मुखबाट सुन्दा भारतीय शासक वर्गलाई ठूलो राहत
भयो होला। कामरेड प्रचण्डले विस्तारवादी भारतीय शासक वर्गहरूसँग नेपालको
आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न माग गर्नुको साटो भारतका माओवादीहरूको
दृष्टिकोणमा परिवर्तन आउने अपेक्षा राख्नु निश्चय नै गम्भीर चिन्ताको
विषय हो। तर यी कुरामा हाम्रो देशका क्रान्तिकारी जनसमूहले गहिरो असहमति
जनाउने छन्। किनभने उनीहरूले भारतमा संसदीय प्रजातन्त्रको मक्किँदो
अवस्था देखिसकेका छन् र आफ्नो क्रान्तिकारी क्रियाकलापबाट त्यसलाई
गलत प्रमाणित गरेरै छाड्ने छन्।
माओवादी र सातदल गठबन्धनलाई मिलाउने
मसिहाको रूपमा चित्रित मार्क्सवादी कम्युनिष्ट नेता सीताराम येचुरीले
पनि नेकपा (माओवादी) कै लाइन अनुसरण गर्न सल्लाह दिएका छन्। तपाईँ
यसलाई कसरी लिनुहुन्छ?
मार्क्सवादी कम्युनिष्ट पार्टी भारतीय शासकवर्गकै पार्टी हो। काङ्ग्रेसका
करन सिंहको असफलतापछि भारतीय शासकवर्गको लागि येचुरी र माकपाले नेपालका
माओवादीहरूलाई संसदीय 'मूलधार' मा ल्याउने काम गरे। भारतमा उनीहरू
हामीलाई पनि त्यस्तै उपदेश दिन्छन्। हामीले अस्वीकार गर्दा पश्चिम
बङ्गालमा हामीविरुद्ध निर्मम राज्य आतङ्क मच्चाए। दुवै देशमा उनीहरूको
समान उद्देश्य छ– माओवादीलाई शान्त पार्ने, भारतमा गोली हानेर र नेपालमा
ललीपपरुपी गोली खुवाएर।
नेकपा (माओवादी) को बहुदलीय प्रजातन्त्रको
कार्यनीतिप्रति तपाईँहरू किन असहमत हुनुहुन्छ?
हामी माओवादीको बहुदलीय प्रजातन्त्र–प्रतिको प्रतिबद्धतालाई लिएर चिन्तित
छौँ। नेकपा (माओवादी) को सन् २००३ को विस्तारित बैठकको दस्तावेज बहुदलीय
प्रजातन्त्र वा राजनीतिक प्रतिस्पर्धाको अवधारणा क्रान्तिकारी पार्टीद्वारा
सत्ता कब्जा भएपछि लागू हुने हो वा त्यसअघि भन्नेमा स्पष्ट छैन। त्यो
दस्तावेजले सामन्तवाद र साम्राज्यवाद विरोधी लोकतान्त्रिक राज्यको
संवैधानिक घेरा भित्र राजनीतिक प्रतिस्पर्धा सम्भव छ भनेको छ। तर नेकपा
(माओवादी) र सातदल गठबन्धनबीच नोभेम्बर २००५ मा सम्पन्न १२ बुँदे सहमतिपछि
आएका कामरेड प्रचण्डका अन्तर्वार्ता र दस्तावेजहरूले चाहिँ अहिलेकै
व्यवस्था अन्तर्गत संविधानसभाको निर्वाचन भएपछि प्रतिस्पर्धा आवश्यक
हुने कुरा औँल्याएका छन्।
माओवादीलाई आफूले राजनीतिक प्रतिस्पर्धा गर्ने पार्टीहरूको
वर्गीय चरित्रबारे पनि भ्रम छ। २००३ मा ती शक्तिहरू सामन्तवाद र साम्राज्यवाद
विरोधी चरित्रका हुनेछन् भनिएको थियो भने नोभेम्बर २००५ पछि सातदल
गठबन्धनका घटकहरू हुने सम्भावना देखाइयो, जो राजतन्त्र, त्यसमा पनि
खासगरी राजा ज्ञानेन्द्रको तानाशाही शासनका विरोधी भए पनि मूलभूत चरित्रले
दलाल पूँजीवादी तथा सामन्तवादी नै हुन्। नेपालका संसदीय दलहरूका बारेमा
यस्तो चित्रण नेकपा (माओवादी) को मे २००३ मा सम्पन्न केन्द्रीय समिति
बैठकद्वारा पारित कामरेड प्रचण्डले प्रस्तुत गरेका 'वर्तमान स्थिति
र हाम्रा कार्यहरू' भन्ने दस्तावेजले नै गरेको छ। तर दुर्भाग्यको कुरा,
अव यो पार्टी रणनीतिक र वर्गीय दृष्टिकोणले उक्त विश्लेषणमा अडिग रहेन।
मुख्य शत्रुविरुद्ध गठबन्धनको अवस्था परिपक्व भएका बेला संसदीय दलहरू
र साम्राज्यवादीहरूकै एउटा हिस्सासँग पनि, आवश्यक तालमेल, समझदारी
र कार्यनीतिक एकता गर्नु एउटा कुरा हो। तर ती पार्टीहरूको चरित्रकै
बारेमा भ्रम सिर्जना गर्नु वा साम्राज्यवादी र भारतीय विस्तारवादीहरूसँग
तिनीहरूको सम्बन्ध देख्यानदेख्यै गर्नुले दीर्घकालमा क्रान्तिकै लागि
ठूलो हानि पुर्याउँदछ।
कामरेड प्रचण्ड र नेकपा (माओवादी) ले आफ्नो कार्यनीतिलाई
२१ औँ शताब्दीको विश्व क्रान्तिकै रणनीति र बाटोको रूपमा प्रस्तुत
गरेका छन्। बहुदलीय प्रजातन्त्रलाई 'रणनीतिक र सैद्धान्तिक रूपमा विकसित
अडान' भनेर कामरेड प्रचण्डले खतरनाक प्रस्तावहरू अगाडि ल्याएका छन्–
शासक वर्गीय दलहरूलाई क्रान्तिद्वारा सत्ताच्यूत गर्नुको साटो उनीहरूसँग
शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने; कथित संसदीय निर्वाचनमा साम्राज्यवाद
र विदेशी प्रतिक्रियावादका पिछलग्गूसहितका संसदीय दलहरूसँग प्रतिस्पर्धा
गर्ने; समाजवाद निर्माणको उद्देश्यलाई अनिश्चित समयको लागि तिलाञ्जली
दिने; दलाल नोकरशाह पूँजीपति र सामन्ती एवं निम्न पूँजीपति शक्तिहरूका
लागि समाजको समग्र विकासको बाटोलाई आफ्नो नियन्त्रणमा लिएर समाजवादी
दिशा विपरीत प्रणाली कायम राख्न ढोका खुला गरिदिने।
सत्ता कब्जा गरेपछि चाहिँ तपाईँहरू
पनि कम्तीमा बहुदलीय प्रजातन्त्र अवलम्बन गर्नुहुन्छ हैन? नभए तपाईँहरूको
सरकार कस्तो हुन्छ?
मार्क्सवादी–लेनिनवादी–माओवादी अवधारणा अनुसार हाम्रो सरकारको स्वरुप
कम्युन वा सोभियत वा क्रान्तिकारी परिषद हुनेछ, जसले सर्वहारा वर्ग
र आम जनसमूहको ठूलो तप्कालाई सेवा पुर्याउनेछ। यी निकायका प्रतिनिधि
जनताबाट निर्वाचित हुनेछन् र जनतालाई तिनले आफ्नो हितमा काम नगरेको
महसूस भएमा कुनै पनि बेला फिर्ता बोलाइन सक्नेछन्।
नेकपा (माओवादी) ले राजनीतिक प्रतिस्पर्धा
र सत्तामा वैकल्पिक क्रान्तिकारी पार्टीलाई स्थापित गर्ने आम जनताको
अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी रूपमा
रोक्न सकिन्छ भन्ने दाबी गरेको छ, के भन्नुहुन्छ?
कुनै पनि राजनीतिक लाइनले सधैँ सर्वहारा वा बुर्जुवा दृष्टिकोणको प्रतिनिधित्व
गर्छ भन्ने कम्युनिष्ट पार्टीको मान्यता विपरीत वैकल्पिक क्रान्तिकारी
पार्टीहरू अस्तित्वमा रहन सक्छन् भन्ने कुरा पचाउन गाह्रो छ। सर्वहारा
वर्ग पूँजीवादबाट समाजवादमा सङ्क्रमण र सांस्कृतिक क्रान्तिको अनुभव
तथा नयाँ राज्य र समाज निर्माणबारे मार्क्स, एंेगेल्स, लेनिन, स्टालिन
र माओजस्ता गुरुहरूका लेखाइबाट समृद्ध भएको बेलामा समेत नेकपा (माओवादी)
यस्तो निष्कर्षमा पुग्नु आश्चर्यलाग्दो कुरा हो। के सर्वहारा वर्गको
पार्टीले पराजित वर्गलाई 'प्रजातान्त्रिक' प्रतिस्पर्धा गर्न दिएर
सत्तामा उनीहरूको पुनरागमन वा प्रतिक्रान्तिलाई रोक्न सक्छ? अक्टोबर
क्रान्तिपछिको रूसमा पिछडिएका गाउँहरूमा बोल्सेभिक पार्टीको उपस्थिति
लगभग शून्य रहेको र त्यहाँ प्रतिक्रियावादी शक्तिहरूको बोलवाला रहेको
बेला राजनीतिक प्रतिस्पर्धा गर्न दिएको भए बोल्सेभिक पार्टीले चुनाव
जित्थ्यो होला? यथार्थमा बोल्सेभिक पार्टीले सत्ता कब्जा गरेलगत्तै
संविधानसभा भङ्ग गर्नुपरेको थियो। किनभने बोल्सेभिकहरू संविधानसभामा
अल्पमतमा थिए र त्यसले प्रतिक्रियावादीहरूको हतियार बनेर क्रान्तिकारी
सुधारको कार्यान्वयन तथा सर्वहारा अधिनायकत्वको अभ्यासमा बाधा पुर्याउने
काम गरिरहेको थियो।
सही आशयबाट प्रस्तुत भए पनि नेकपा (माओवादी) को यो आदर्शवादी
र आत्मपरक प्रस्ताव अन्ततः पूँजीवादीहरूले सत्ता हत्याउने सुविधाजनक
हतियार बन्यो भने अचम्म मान्नुपर्दैन। नेपालमा माओवादीहरू सामन्तवादी
र दलाल नोकरशाह पूँजीवादी तत्वहरूसँग मिलेर सरकार बनाउन वर्गसङ्घर्षलाई
तिलाञ्जली दिँदैछन्।
कामरेड प्रचण्डले नेतृत्व गरेको नेकपा
(माओवादी) द्वारा प्रस्तावित २१ औँ शताब्दीको प्रजातन्त्रका सम्बन्धमा
तपाईँ के भन्नुहुन्छ?
बुर्जुवा र सर्वहारा प्रजातन्त्रको आ–आफ्नै वर्गीय चरित्र हुन्छ। विभिन्न
प्रकारका प्रजातन्त्रको गुणात्मक भिन्नता तिनको वर्गीय चरित्रमा निहित
हुन्छ। बुर्जुवा गणतन्त्रमा बुर्जुवा चरित्रको प्रजातन्त्र हुन्छ,
जसको ध्येय बहुसङ्ख्यक जनताहरूको दमन गरेर बुर्जुवावाजीलाई सेवा पुर्याउनु
हुनेछ। त्यसको सार बुर्जुवा अधिनायकवाद हो। जनगणतन्त्रमा प्रजातन्त्र
सामन्तवाद–साम्राज्यवादविरोधी वर्गहरूको लागि निर्देशित हुन्छ र यसअन्तर्गत
जनताका शत्रु र तिनका दलालहरूमाथि सर्वहारा अधिनायकवादको अभ्यास गरिन्छ।
तर नेकपा (माओवादी) ले वर्गीय चरित्रको उल्लेख नगरी २० औँ र २१ औँ
शताब्दीको प्रजातन्त्रबीच गुणात्मक भिन्नताको कुरा गर्छ भने त्यो अपत्यारिलो
मात्र होइन, अति आत्मगत हुनजान्छ।
२१ औँ शताब्दीको प्रजातन्त्रको पक्षमा दिइएको एउटा तर्कमा
“विश्वमा विज्ञान र प्रविधि, खासगरी विद्युतीय सञ्चार प्रविधिमा भएको
अद्वितीय विकास” को चर्चा गरिएको छ। तर क्रान्तिमा यो विकासको प्रभाव
के हुन्छ भन्ने स्पष्ट छैन। नेकपा (माओवादी) ले राजनीतिको क्षेत्रमा
“२० औँ शताब्दीमा स्थापित राजनीतिक र सैन्य रणनीति तथा कार्यनीतिसम्बन्धी
अवधारणामा गुणात्मक फड्को हासिल भएको” उल्लेख गरेको छ। तर त्यसमा बहुदलीय
प्रजातन्त्र र राजनीतिक प्रतिस्पर्धा बाहेक नयाँ अवधारणा र गुणात्मक
फड्को के छ भन्ने हामीले अहिलेसम्म बुझ्न सकेका छैनौँ।
नेपालको क्रान्ति कतातिर जाँदैछ जस्तो
लाग्छ?
जनमुक्ति सेनाले अझै आफ्नो हातहतियार र सतर्कतालाई कायमै राखेको छ।
फेब्रुअरी क्रान्तिपछि अक्टोबर क्रान्तिको तयारीकोे कुरा गरिँदैछ।
क्रान्तिको पक्षमा शहरी इलाकामा समेत विशाल जनपरिचालन भइरहेको छ। अमेरिकी
साम्राज्यवादी र भारतीय विस्तारवादीहरू माओवादीले हतियार बुझाउनुपर्ने
पूर्वशर्त राखेर माओवादी–सातदल गठबन्धनलाई भाँड्ने प्रयास गरिरहेका
छन्। माओवादीले हतियार नबुझाउने र सैन्य शिविरहरू कायमै राख्ने अडान
लिएका छन्। यी सबै नयाँ जनवादी क्रान्तितर्फ अघि बढ्ने दिशामा माओवादीको
तत्परताका सकारात्मक सङ्केत हुन्। यस क्रममा दुई वटा अवस्थाप्रति सजग
हुनुपर्दछ– पहिलो, शासक वर्ग र तिनका साम्राज्यवादी एवं विस्तारवादी
मालिकहरूले थापेको पासोमा पर्ने सम्भावना; दोस्रो, ग्रीस, इण्डोनेसिया,
चिले र अन्य कतिपय देशहरूमा जस्तो आकस्मिक तख्तापलट र कम्युनिष्टहरूको
आमसंहार। ती देशमा कम्युनिष्टहरूलाई प्राप्त विशाल जनसमर्थनले पनि
आमसंहारलाई रोक्न सकेका थिएनन्। तर हामी नेकपा (माओवादी) ले पार्टीलाई
अग्रगामी दिशामा डोर्याउनेछ र देशव्यापी सत्ताकब्जा गर्ने उद्देश्यले
क्रान्तिलाई अगााडि बढाउनेछ भन्ने अपेक्षा गर्दछौँ।
नेपालका क्रान्तिकारीहरूलाई तपाईँको
सन्देश के छ?
हामी नेकपा (माओवादी) र यसको नेतृत्वलाई आफ्ना पछिल्ला केही अडानहरूमाथि
पुनर्विचार गर्न र इतिहासका गल्तीहरूबाट पाठ सिक्न अनुरोध गर्दछौँ।
महान नेपाली जनताले आन्दोलनका अनेकौँ बाङ्गाटिङ्गा मोडहरू पार गरेर
क्रान्तिलाई अगााडि बढाउने छन् भन्ने कुरामा हामी विश्वस्त छौँ। अहिले
नेपालका कामरेडहरूलाई मित्रवत् सल्लाह–सुझाव दिनु भारतीय र विश्व सर्वहाराको
कर्तव्य हो। अन्ततोगत्वा, नेपाली क्रान्तिको हितमै विश्व क्रान्ति
र खासगरी छिमेकी भारतीय क्रान्तिको हित निहित छ। भारतका क्रान्तिकारी
जनता नेपाली क्रान्तिको लागि जुनसुकै बलिदान गर्न तयार छन्। हामी विश्व
साम्राज्यवाद र यसका स्थानीय अर्द्धसामन्ती मतियारहरूको घृणित प्रणालीविरुद्ध
सँगसँगै अगाडि बढ्ने सङ्कल्प गर्दछौँ।
|