अर्थ | संक्षेप
टे्रडयुनियनको राजनीतिः मारमा
उद्योगी
बीरगञ्ज–पथलैया
औद्योगिक करिडोर यतिखेर पूरै खल्बलिएको छ। विगतमा
माओवादीको बम र चन्दा आतङ्कबाट पीडित यस करिडोरका उद्योगहरू लोकतन्त्र
पुनर्वहालीपछि माओवादी र एमाले निकट मजदुर सङ्गठनहरूको प्रभाव विस्तारको
चेपुवामा परेका छन्।
३ साउनमा अग्रणी अल्मुनियमका म्यानेजर विश्वराज शर्मा र लेखापाल दीपेन्द्र
चौधरीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउँदै अभद्र व्यवहार गरियो।
अभद्रताको यो पराकाष्ठा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन समर्थितहरूबाट
देखाइएको थियो। म्यानेजर शर्मा भन्छन्, “एक वर्षअघि नै काम छाडेका
१२ कामदारलाई स्थायी गर्नुपर्ने निहुँमा त्यस्तो तुच्छ व्यवहार गरियो।”
त्यसअघि ३२ असारमा जगदम्बा स्टिल्सका म्यानेजर
बाबुलाल सेठिया तथा प्रशासकीय अधिकृत रामेश्वर गुप्तालाई पनि कार्यकक्षमै
बन्दी बनाइएको थियो। तिनलाई थुन्ने अरू कोही नभएर एमाले निकट मजदुर
सङ्गठन 'जिफन्ट' समर्थित मजदुर थिए। युनियन गठनका लागि ८९ कामदारको
नाम तत्कालै प्रमाणित नगरिदिएको निहुँमा आफूहरूलाई बन्दी बनाइएको जगदम्बा
स्टिल्सका प्रशासकीय अधिकृत रामेश्वर गुप्ता बताउँछन्।
यी त मजदुर सङ्गठनहरूको अराजकताका उदाहरणहरू मात्र
हुन्। ११ वैशाख २०६३ मा शाही शासनको अन्त्य भएयता यस्ता दर्जनौँ घटना
घटिसकेका छन्, यो क्षेत्रमा। प्रशस्त रोजगारी अनि मुलुकको राजस्व सङ्कलनमा
उल्लेख्य योगदान दिने यहाँका उद्योगहरूमा यी मजदुर सङ्गठनहरूले शृङ्खलाबद्ध
अपहरण, तालाबन्दी, हड्ताल र कालोमोसो दल्ने जस्ता अभियान नै चलाएका
छन्।
श्रम ऐन २०४८ ले सङ्गठनसहित श्रमिकको हकहित सुरक्षित
गरेको छ। र, त्यसका निम्ति प्रक्रियागत प्रावधानहरू पनि रहेका छन्।
तर यतिखेर मजदुरहरूलाई आ–आफ्नो सङ्गठनमा आवद्ध गराउन दुवै मजदुर सङ्गठनहरू
जे पनि गर्न उद्दत देखिएका हुन्। वीरगञ्ज उद्योग बाणिज्य संघ रोजगारदाता
समितिका संयोजक सुशील मित्तलका शब्दमा अहिले 'आ–आफ्नो पक्षमा पार्न
ट्रेड युनियन पसले भएर मजदुरलाई ग्राहक बनाइएको छ।'
आ–आफ्नो अस्तित्व रक्षाका निम्ति अराजक लडाइँलाई
रोजेका दुवै युनियनका पदाधिकारीहरू भने मजदुर हकहितका लागि उद्योगीहरू
बाधक रहेको बताउँछन्। जिफन्टका केन्द्रीय सदस्य दिनेश राईको भनाइमा
'श्रम ऐन लागू गराउन प्रमुख बाधक उद्योगपतिहरू हुन्।' माओवादी निकट
ट्रेड युनियनका केन्द्रीय सचिव राजन तिमिल्सेना पनि मजदुरको श्रम र
स्वाभिमान मालिकबाट अवमूल्यन भएको आरोप लगाउँछन्। भन्छन्, “फूल वा
जुत्ताको माला के लगाउने भन्ने उद्योगपतिकै व्यवहारमा भरपर्ने कुरा
हो।”
स्थानीय श्रम कार्यालयले पनि उद्योगहरूमा अराजक
प्रवृत्ति बढेको अनुभव गरेको छ। वीरगञ्जस्थित श्रम कार्यालय प्रमुख
पुष्कर श्रीवास्तव भन्छन्, “जसले जे गर्दा पनि हुने खालको अराजक प्रवृत्ति
यतिखेर बढेको छ।” वीरगञ्जस्थित आर्थिक अनुसन्धान केन्द्रका संयोजक
केएल देवकोटाको भनाइमा मजदुर सङ्गठनहरूबीच आ–आफ्नो अस्तित्वलाई लिएर
चलेको लडाइँमा उद्योग र उद्योगीहरू पेलिएका छन्।
•
वीरेन्द्रकुमार साह, बारा
उमेर अनुसार कर
मुगुमा माओवादीले अनौठो कर प्रणाली लागु गरेका छन्।
सदरमुकामबाट चार दिन लाग्ने तिब्बती सीमास्थित नाक्चे लाग्ना भञ्ज्याङ्ग
इलाकामा यार्सागुम्बा टिप्न जानेहरूलाई माओवादीले उमेर अनुसार 'कर'
लगाएका छन्। यार्सागुम्बा पाइने सो इलाका प्रवेश गर्ने नाकामा बसेका
माओवादी हतियारधारीले १५ वर्ष मुनिकालाई रु.३ सय 'कर' तोकेका छन् भने
सोभन्दा माथिकालाई रु.५ सय।
जेठ दोस्रो सातापछि बाजुरा, जाजरकोट, कालीकोट, जुम्ला,
हुम्लाबाट हजारौँको लस्कर यार्सागुम्बा टिप्न मुगुको उत्तरी भेगतर्फ
लाग्छ। उनीहरू सबै उमेर अनुसार कर तिरेर मात्र सो क्षेत्रमा प्रवेश
गर्न पाउँछन्। सङ्कलनकर्तालाई मात्रै होइन यार्सागुम्बाको कारोबार
गर्ने व्यापारीले माओवादीलाई 'अग्रिम कर' बापत रु.३५ हजार बुझाउनुपर्छ।
माओवादी कार्यकर्ताहरू यसलाई जबरजस्ती मान्दैनन्। सदरमुकाम गमगढीमा
भेटिएका एक माओवादी भन्छन्, “यो नियमित प्रक्रिया हो।”
• सुमन मल्ल, गमगढी
टुसा व्यापार र उपहार दुवै
अमिलो तरकारी रुचाउनेहरूको भान्छासम्म पहुँच पुगेको
निगालोको मुनाबाट निस्कने टुसा अब कोसेली समेत बन्न थालेको छ। पोखराको
बजारमा बढेको टुसाको खपतले यस्तै देखाउँछ। पछिल्ला दिनमा पोखरेलीहरूले
आफ्नो लागि तरकारीसँगै आफन्तलाई कोसेली पठाउन समेत माछापुच्छ्रे्र
हिमालको फेदीबाट ल्याइएका ताजा टुसा किन्न थालेका छन्।
पोखराको चिप्लेढुङ्गामा टुसाको बजारै लाग्ने गरेको छ।
खपत बढेपछि यसको आपूर्तिमा वृद्धि हुनगई हिजोको तुलनामा यसको मूल्यमा
समेत कमी आएको छ। विगतमा प्रति मुठा रु.५० सम्म पर्ने टुसा हिजोआज
रु.१५–२० मै पाइन्छ।
चैतदेखि असोजसम्म पाइने भएपनि साउन/भदौलाई टुसाकै मौसम
मानिन्छ। यो बेला निगालोको घारीमा असङ्ख्य टुसा पलाएका हुन्छन्। बजारमा
थुप्रै प्रजातिका पाइने भएपनि तिते, जरबुटे, मेसजषे, फस्रे जातका टुसाको
उपभोग ज्यादा हुने गरेको छ।
पोखरादेखि १८–२० घण्टाको पैदल दूरीमा रहेका मर्दी,
हर्पाक, घाचोक, सिक्लेस, भुर्जुङखोला, घले खर्क, याङजाकोटलगायतका गाउँका
बासिन्दाहरूको आयआर्जनको माध्यम बनेको छ, टुसा भाँच्ने काम। स्थानीय
क्लबहरूको स्वीकृतिमा मात्र टिप्न पाइने टुसा पोखरा ल्याउनका लागि
प्रति मुठा रु.२ कर समेत तिर्नुपर्छ। भाँच्नेले प्रतिमुठा ५ देखि ७
रुपैयाँसम्म पाउँछ। स्थानीय टुसा व्यापारी नारायण वास्तोला भन्छन्,
“यी गाउँका कतिपय मानिस च्र महिना टुसा भाँचेर १२ महिनाको गर्जो टार्छन्।”
टुसा व्यापारी राममाया परियार भन्छिन्, “टुसा भाँचेर ऋण नै तिरौँला
भनेर साहुसँग भाखा मिलाउनेहरू पनि छन्।”
•
रमेश पौडेल
|