हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

नेपाली नीम साबुन

हाई हिमालयन मल्टी प्रडक्ट्सले नीमसहित विभिन्न जडिबुटीको सम्मिश्रणबाट तयार पारिएको निमोमिक्स आयुर्वेदिक साबुन बजारमा ल्याएको छ। यो साबुन चर्म रोग र कपालको लागि अति उपयोगी रहेको कम्पनीको दाबी छ। १२५ ग्राम तौल भएको निमोमिक्स को उपभोक्ता मूल्य रु.३० तोकिएको छ।


टिभिएसका नयाँ मोटरसाइकल बजारमा

नेपालका लागि टिभिएस मोटर्सका अधिकृत वितरक एआईटी प्रा.लि. र महाबीर अटोमोबाइलले पछिल्लो मोडलकोटिभिएस अपाची, जिएलएक्स र स्टार सिटि मोटरसाइकलहरूको बिक्री वितरण शुरु गरेका छन्। यस वर्ष मात्र चार संस्थाबाट 'वर्षको सर्वोत्कृष्ट मोटरसाइकल' उपाधि जित्न सफल पाँच गियरको १५० सीसी इन्जिन क्षमताको अपाची को लगभग रु.१ लाख ४० हजार पर्छ। युवा पुस्तालाई सुहाउँदो आकार र मोडलमा निर्माण गरिएको १२५ सीसीको जिएलएक्स र १०० सीसीको स्टार सिटि को न्यूनतम मूल्य क्रमशः रु.१ लाख १२ हजार र रु.९७ हजार पर्दछ।



कुरियर संघमा राठी

गत हप्ता सम्पन्न नेपाल कुरियर सेवा संघको १२ औँ वार्षिक साधारण सभाले पवनकिशोर राठीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा रामेश्वर सिवा, निवर्तमान अध्यक्ष; नरेन्द्र खतिवडा, प्रथम उपाध्यक्ष; गोविन्द ढुङ्गेल, महासचिव; देवेन्द्र खड्का कोषाध्यक्ष एवं राजकुमार यादव, श्याम पहाडी, दुर्गाप्रसाद सुवेदी र निरञ्जन थापा सदस्य रहेका छन्। कुरियर कम्पनीहरूको पेशागत हकहितका लागि सङ्गठित उक्त संघअन्तर्गत ५६ वटा कुरियर कम्पनीहरू आबद्ध रहेका छन्।


बेन्ट्ले को शो–रुम विस्तार

'बेन्ट्ले... मच मोर' नाराका साथ बेन्ट्ले ले काठमाडौँ दरबारमार्गस्थित शो–रुम विस्तार गरेको छ। छालाका जुत्ता, चप्पल मात्र बिक्रीवितरण गर्दै आएको बेन्ट्ले ले अबदेखि सबै उमेरका महिलाहरूलाई लक्षित गरी विभिन्न श्रेणीका गर–गहना, लुगा, सौन्दर्यका सामान तथा छालाका ब्याग, जुत्ता, चप्पललगायतका सामग्रीहरू पनि बेच्ने भएको छ।


एउटै उपकरण टीभी र कम्प्युटर

'एउटै उपकरणमा विभिन्न सुविधा खोज्ने हाइब्रिड उपकरण प्रेमीहरूलाई लक्षित गर्दै एटीसी एक्जिम प्रा.लि.ल टीभी र कम्प्युटर दुवै सुविधा रहेको फुजित्सु कम्पनीको डेस्कपावर टीएक्स होम इन्टरटेन पीसी सिस्टम नेपाल भित्र्याएको छ। ३२ इन्चको एलसीडी स्त्रि्कन, ३ गिगाहर्जको प्रोसेसर र ६०० गिगाबाइट हार्डडिस्क क्षमता भएको यो उपकरणमा ४५० घण्टासम्म लामो टेलिभिजन कार्यक्रम वा चलचित्र भण्डारण गर्न सकिन्छ। यसको मूल्य रु.२ लाख ७५ हजार तोकिएको छ। यसैगरी उक्त कम्पनीले रु.१ लाखदेखि रु.२ लाखसम्म पर्ने विभिन्न मोडलका फुजित्सुको ट्याब्लेट (हातले लेख्न मिल्ने ल्यापटप) र ल्यापटप कम्प्युटर पनि बेच्न थालेको छ।


सोनी वर्ल्डकप अफर्स प्रदान

'विश्वकप फुटबलको अवसरमा सोनी इलेक्ट्रोनिक्सले स्थानीय बजारमा चलाएको वर्ल्डकप अफर्स कार्यक्रम अन्तर्गतको पहिलो पुरस्कार पाटनकी नविना महर्जनले जितेकी छिन्। सोनी उत्पादनहरूको बिक्री प्रवर्द्धनका लागि यसको नेपालस्थित अधिकृत बिक्रेता नेपा हिमा ट्रेड लिङ्कमार्फत् चलेको सो योजनाअन्तर्गत महर्जनले डिजिटल क्यामेरा जितेकी हुन्। ट्रेडलिङ्कका अनुसार उक्त योजनाअन्तर्गत दोस्रो तथा तेस्रो पुरस्कारको पनि घोषणा गरिएको छ।


मिडिया मार्केटिङ संघ गठन

मिडिया मार्केटिङको क्षेत्रमा कार्यरत पेशेवारहरूले आफ्नो छुट्टै सङ्गठन एशोसिएसन अफ मिडिया मार्केटिङ नेपाल स्थापना गरेका छन्। विज्ञापन प्रवर्द्धनको निम्ति विभिन्न मिडियामा क्रियाशील १८ जना पेशेवारहरू संस्थापक रहेको एशोसिएसनको नवगठित कार्यसमितिमा तीर्थ कार्की अध्यक्ष, दीपक सङ्ग्रौला उपाध्यक्ष, राजेश महर्जन महासचिव, ध्रुव कोइराला सचिव, मनिलता मानन्धर कोषाध्यक्ष र लक्ष्मी पोखरेल, लक्ष्मी पौडेल, मनिष अमात्य, सुधीर राजभण्डारी, सञ्जीव श्रेष्ठ र रवीन्द्र खड्का सदस्य रहेका छन्।