हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण | रिपोर्ट

जनसेनाका अस्पष्ट चाहना

माओवादीको 'जनमुक्ति सेना' मा संलग्न युवा–युवतीहरू बन्दुक र सैनिक पोशाक त्याग्ने मनस्थितिमा देखिँदैनन्। तर पनि अधिकांश युवा–युवतीको मलिन अनुहार र पार्टीको एकोहोरो सुगारटाइले तिनको भविष्य सङ्केत गर्दथ्यो– कहाँ पुगिने हो, निश्चित छैन।

ध्रुब सिम्खडा, मकवानपुर

किरण पाण्डे

रसिताको इच्छा स्वास्थ्यकर्मी बनेर बिरामीहरूको सेवा गर्ने थियो। तर रौतहट, मैराकी यी २० वर्षीया युवतीको काँधमा परिस्थितिले 'थ्री–नट–थ्री' राइफल भिराइदिएको छ। माओवादी जनमुक्ति सेनाको १७ औँ बटालियनकी 'सेक्सन कमान्डर' रसिता अधिकारी ३ साउनको बिहान मकवानपुर, हर्नामाडी स्थित विरुवाडाँडाको अस्थायी सैन्य शिविरमा 'सेन्ट्री' बसिरहेकी थिइन्। गाउँकै स्कूलमा ८ कक्षासम्म पढेकी रसिताका दाइ राजु माओवादीमा लागेपछि शाही सेनाले उनलाई घरमा बसिखान दिएनन्। सेनाले घरमा आएर घरीघरी खै तेरो दाजु कहाँ छ देखा भन्ने गरेको सम्झँदै उनी भन्छिन्, “त्यसपछि म पनि माओवादी मिलिसिया बनेँ।” उनकी दिदी उर्मिला बाराको बकियामा सेनाको कारबाहीमा मारिएकी थिइन्।

माओवादी सेनामा भर्ती भएपछि रसिताले डेढ महिनाको स्वास्थ्यकर्मीको तालिम लिइन्। मकवानपुरको झुरझुरे, काभ्रेको पनौती र सिन्धुपाल्चोकको चौतारा भिडन्तमा संलग्न रसिता उनीहरूलाई अहिले पार्टीले मासिक रु.५०० दिने गरेको बताउँछिन्। पार्टीले उनीहरूलाई वर्षमा एकजोर कपडाको जुत्ता र दुईजोर लुगा दिनेगरेको छ। राज्यको पेलाइका कारण माओवादी बनेकी यी युवती आफ्नो भविष्यका बारेमा भने पूरै अन्योलमा छिन्।

विरुवाडाँडा सैन्य शिविरमै परेड सकेर त्रिपालभित्र पसेकी काठमाडौँ, फर्पिङ्गकी १९ वर्षीया आशा शर्मा आफ्ना मनका कुरा कवितामा उतार्दै थिइन्। दुई वर्षअघि माओवादी सेनामा प्रवेश गरेकी आशाले लेखेको कविताका दुई पंक्ति यस्ता थिएः 'मृत्युभित्र जीवन देखेकी छु,
फेरि बम र बारुदभित्र खेल्ने प्रतीज्ञा गरेकी छु।'

हेर्दा सरल, कोमल र भावुक देखिने आशाले अत्यन्त कठोर शब्दमा सामन्तीहरूले पढ्न नदिएको पीडाका कारण बन्दुक बोक्नु परेको कथा सुनाइन्। माओवादीले भर्खरै स्थापना गरेको विरुवाडाँडा सैन्य शिविरमा महिला र पुरुष समेत गरी करीब ३५० छापामार देखिएका थिए। १० कक्षामा पढ्दै गरेका १७ वर्षीय 'प्रवेश' ईश्वरचन्द्र ज्ञवालीको हाम्रो रातो यात्रा कविता पढ्दैथिए। यी युवा साथीभाइहरूमार्फत् एक महिनाअघि मात्र जनमुक्ति सेनामा प्रवेश गरेको र मकवानपुरकै हाँडीखोलामा १५ दिनको तालिम लिएको बताउँछन्। अर्कोतिर, प्रचण्डका भर्खरै प्रकाशित अन्तर्वार्ताहरूको सङ्ग्रह पढ्दै थिइन् १५ वर्षीया शान्ति। दाइहरूको प्रेरणाले जनमुक्ति सेनामा प्रवेश गरेको बताउने यी किशोरी शिविरमा भेटिएका अरूभन्दा आफ्नो लक्ष्यमा बढी स्पष्ट देखिन्थिन्। सामान्य पोशाकमा रहेकी उनले भनिन्, “म जनमुक्ति सेनाको अध्यक्ष बन्न पनि सक्छु।”

नयाँ ठाउँम्ाा व्यारेक सरेर आएकोले हावापानी नमिलेर हुनसक्छ ललितपुरका रञ्जित सुनुवार दुई दिनदेखि रुघाखोकीले थलिएका छन्। उनको उपचारमा कालीकोट, सिपखानाका विरोेचन शर्मा खटिएका छन्। उनीसित सलाइन, सिरप, प्लास्टर, फोर्सेप, बीपी सेट, स्टेथेस्कोप आदि सबै उपचारका सामान छन्। उनी भन्छन्, “१० वर्षको भीषण जनयुद्धमा जेनेभा सन्धि अनुसार घाइतेहरूको उपचार गरेँ।”

कास्कीकी २२ वर्षीया विमला पौडेल माओवादी युद्ध सम्वाददाता हुन्। 'कम्ब्याट ड्रेस' मा रहेकी यी छापामार तीन वर्षदेखि डिजिटल क्यामरा बोकेर हिँड्छिन्। प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी विमला शुरुमा अखिल क्रान्तिकारीमा लागेकी र २०६० सालदेखि जनमुक्ति सेनामा सामेल भएकी हुन्। यो ब्रिगेडमा उनीसँगै अरू दुईजना पनि युद्ध सम्वाददाताका रूपमा पार्टी गतिविधिबारे समाचार सङ्कलन र लेखन कार्यमा जुटेका छन्। धादिङ, कृष्णभीरको आक्रमणमा पार्टीको तर्फबाट भिडियो समेत खिचेकी विमला त्यसलाई सुरक्षित राख्न नसकेकोमा भने पछुतो गर्छिन्। अहिलेसम्म सम्वाददाताको रूपमा उनले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग समेत प्रत्यक्ष कुराकानी गर्न पाएकी छैनन्। भन्छिन्, “हामी पनि अब बद्लिँदो परिस्थितिमा तपाईँहरूसँग व्यावसायिकता सिकेर अगाडि बढ्ने सोचमा छौँ।” जनमुक्ति सेनाका शिविरहरूमा पार्टीले निकालेका र माओवादी पक्षमा लेखिएका भन्दा अलग खालका पुस्तक र पत्रपत्रिकाहरू देखिएनन्।

माओवादी जनसेनाका कमाण्डरहरू सरकार–माओवादी २५ बुँदे आचारसंहिता विपरीत देशभरि नै हातहतियार प्रदर्शन र आफ्नो सेनालाई सुदृढ गर्ने काममा व्यस्त छन्। तर मकवानपुरको विरुवाडाँडामा जनसेनालाई तालिम दिइरहेका ब्रिगेडका कमाण्डर 'विकल्प' ले भने यसलाई हतियार प्रदर्शन होइन, एउटा सेनाको नियमित काम हो भने। उनी भन्छन्, “किनभने हामी सेना हौँ। सेनाले हतियार बोकेन र रोलकल गरेन भने त त्यो सेनै होइन।” हतियार व्यवस्थापनका विषयमा 'पुरानो सत्ता' भन्दा आफूहरू बढी गम्भीर रहेको उनले बताए। तर राज्यको सेना ब्यारेकमा बसेको बेला माओवादीहरू भने आचारसंहिता विपरीत गाउँगाउँमा हतियार प्रदर्शन र मार्चपास गर्ने, बन्दुक भिरेर जनताले रोपाइँ गरिरहेको ठाउँमा गई खेत रोप्ने जस्ता कामहरू गरिरहेका छन्।