आवरण
| रिपोर्ट
माओवादी सेना र हतियार लुकाएर लुक्दैन
माओवादीको सेना र हतियार व्यवस्थापनको कुरा
चल्दा एउटा प्रश्न उठ्छ– उनीहरूसँग के, कस्ता र कति हतियार तथा सेना
होलान्? १ साउनमा सुर्खेतमा आयोजित छैटौँ डिभिजनको 'परेड' मा मुश्किलले
१५ सय सेना देखिएका थिए, तीमध्ये केहीसँग हतियार थिएन।
•
रामेश्वर बोहरा, सुर्खेत
सरकारले
माओवादी सेनाको
हतियार व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेर संयुक्त राष्ट्रसंघमा
पत्र पठाएका बेला माओवादी सेनाको छैटौँ डिभिजनले आफ्ना लडाकु र हातहतियार
सुर्खेतको गुमीमा बनाइएको अस्थायी ब्यारेकमा एकत्रित गरिसकेको थियो।
माओवादीले सेनालाई एकैठाउँमा जम्मा गर्नुको भित्री कारण जे भएपनि बाहिरी
चाहिँ राष्ट्रसंघको टोलीलाई 'आफ्नो हतियार र सेना शान्तिका लागि बाधक
नहुने' सन्देश दिनु हुनसक्छ।
जेठको अन्तिम सातादेखि गुमीमा डिभिजन हेडक्वार्टर खडा गरी बसेको माओवादी
सेनाको गतिविधि अहिले ब्यारेकको चौघेराभित्र मात्र सीमित छ। जनसेनाको
सम्भवतः सबैभन्दा ठूलो र बढी घुमफिर गर्ने यो डिभिजन केही महिनाअघिसम्म
'ढाडमा टेकेर टाउकोमा हान्ने215' रणनीति अनुसार गण्डक क्षेत्र अर्थात्
पोखरा आसपासमा परिचालित भएको थियो।
१० वर्षको 'जनयुद्ध' मा माओवादीले पहिलोपटक आफ्ना लडाकु र हतियार ब्यारेकमा
थन्क्याएको हो। डिभिजन कमाण्डर 'प्रतीक' भन्छन्, “राष्ट्रसंघलाई अनुगमन
गर्न सजिलो होस् भनेर सेना–हतियार थन्क्याएका हौँ।” तर माओवादीले यसरी
आफैँले सेना र हतियारको थान्को लगाउने हुन् भने उनीहरूको इच्छाअनुसार
कुनै पनि दिन प्रयोगमा आउन सक्ने सम्भावना पनि रहन्छ।
माओवादीलाई आफ्ना सेना र हतियार के कति छन् भन्नेबारे सूचना दिन पनि
सजिलो छैन। लडाइँको बेला आफ्ना सेना र हतियारबारे सूचना लुकाउँदै आएका
माओवादीलाई राष्ट्रसंघीय टोलीलाई त्यस्तो सूचना दिन पनि कठिनाई हुनसक्छ।
राष्ट्रसंघका हतियार र सैन्य विशेषज्ञले हतियार र सेना मात्रै होइन
त्यसको योग्यता, अनुभव र क्षमताका आधारमा पनि मूल्याङ्कन गर्ने हुनाले
माओवादीका मिलिसियाले 'सेना' को हैसियत नपाउने लगभग पक्का छ।
गुमीमा सेना र हतियार सङ्ख्या कति छ भन्ने हिमाल को प्रश्नमा डिभिजन
कमिसार समर सिंहले 'आन्तरिक सुरक्षाको विषय भएकोले भन्न नमिल्ने' बताए।
यथार्थमा माओवादी सेना र हतियारको सङ्ख्या उनीहरूले प्रचार गर्ने गरेको
भन्दा निकै कम हुनेगरेको बताइन्छ। माओवादीले आफ्नो एउटा ब्रिगेडमा
१५ सयदेखि २५ सयसम्म सेना हुनेगरेको दाबी गर्ने गरेअनुसार चार वटा
ब्रिगेड रहेको छैटौँ डिभिजनमा ४५ सयदेखि ७५ सयसम्म हुनुपर्ने हो, तर
१ साउनको परेडमा बढीमा १५ सयको हाराहारी मात्र देखिएका थिए।
हतियारको सङ्ख्या त झन् अनिश्चित छ। सेना, सशस्त्र प्रहरी र प्रहरीबाट
लुटिएका बाहेक माओवादी आफैँले खरीद गरेका हतियार पनि छन्। गुमीमा बसेको
डिभिजनमा भएका १५ सय लडाकु सबैसँग हतियार थिएन। यो क्षेत्रमा माओवादी
लडाकुले प्रयोग गर्ने गरेको भनी प्रचार भएका 'एके–४७' जस्ता आधुनिक
राइफलहरू डिभिजनमा कसैसँग देखिएन।
कमाण्डरहरूको मनस्थिति
सेना र हतियार व्यवस्थापनबारे स्वयं माओवादी सैन्य कमाण्डरहरू के भन्छन्?
छैटौँ डिभिजन कमाण्डर प्रतीकले छोटो उत्तर दिए, “जे निर्णय हुन्छ,
मान्न तयार छौँ।” माओवादी कमाण्डरहरू शान्तिवार्तामा जनसेना र हतियार
बाधक भइरहेको भन्ने भनाइलाई ठाडै इन्कार गर्छन्। डिभिजन कमिसार सरम
सिंह भन्छन्, “हामी शान्तिप्रक्रियाको बाधक होइन, साधक बन्न तयार छौँ।”
सिंह राजनीतिक तहबाट जनमुक्ति सेना विघटन गर्ने निर्णय भएपनि आफूहरूलाई
स्वीकार्य हुने, तर शान्तिवार्ताको बास्तविक बाधक नेपाली सेनाबारे
सबै चुप भएकोमा आश्चर्य लागेको बताउँछन्।
मर्न–मार्न तयार भएर लडाइँमा होमिएका माओवादी सेनाको सोचाइमा परिवर्तन
आएको बुझ्न सकिन्छ। सधैँ युद्ध लडिरहने जोश कमाण्डरहरूमा भेटिन्न।
उनीहरू राजनीतिक निकास निस्किए सधैँलाई बन्दुक बिसाउन तयार देखिन्छन्।
छैटौं डिभिजनको घोराही–सतवरिया ब्रिगेड कमाण्डर सन्तोष भन्छन्, “सधैँ
लडिरहन होइन, परिवर्तनका लागि बन्दुक उठायौँ। जनताले चाहेको निकास
सहितको शान्ति आउँछ भने किन लडिरहने?”
हिजोसम्म 'शक्ति बन्दुकको नालबाट निस्कन्छ' भन्ने माओवादी कमाण्डरहरू
आज 'शक्ति जनताबाट निस्कन्छ' भन्ने निर्क्योलमा पुगेको आभास हुन्छ।
तर, उनीहरूको यो मनस्थितिलाई सम्बोधन गर्ने प्रयास राज्यले गरेको छैन।
माओवादी सेनालाई शान्तिप्रक्रियामा प्रत्यक्ष सामेल गराउन सकिने उचित
राजनीतिक निर्णयको खाँचो रहेको अवस्थामा सरकार र माओवादी नेतृत्व राजनीतिक
तहमा त्यति गम्भीर भएर अगाडि बढेको देखिँंदैन। यसबाट माओवादी लडाकु
र कमाण्डरहरूलाई निरास बनाउने वातावरण सिर्जना हुँदै गएको छ।
भावी संरचना र स्थानको चिन्ता
माओवादी सेनाको भावी संरचना र राष्ट्रिय सेनामा एकीकरण भएमा आफ्नो
स्थानबारे छापामारहरूमा त्यति गम्भीर छलफल शुरु भइसकेको बुझिँदैन।
जीत स्मृति ब्रिगेडका कमाण्डर जितेन्द्र भन्छन्, “राष्ट्रिय सेनामा
पद पाउने कुनै महत्त्वाकांक्षा छैन। सिपाही भएरै बस्न पनि तयार छौँ।”
अर्का ब्रिगेड कमाण्डर रमेश भन्छन्, “सेनामै लामो जीवन विताएकाले सेनामा
नै जाने इच्छा छ, जहाँ खटाए पनि बस्न तयार छु।”
जसले जे–सुकै भने पनि राष्ट्रिय सेनाको भावी संरचनामा अटाउन माओवादी
छापामारलाई मुश्किल पार्ने एउटा विषय हो, शैक्षिक योग्यता। सामान्य
लेखपढ गर्न मात्र सक्ने युवाहरू धेरै रहेका माओवादी छापामार समूहलाई
राष्ट्रिय सेनामा समाहित हुन शैक्षिक योग्यता एउटा छेकवार हुनसक्छ।
त्यसैले शैक्षिक योग्यतालाई मात्रै मापदण्ड बनाइनुहुन्न भन्ने आवाज
माओवादी भित्र पनि बलियोसँग उठिरहेको छ। पिली स्मृति ब्रिगेडका कमाण्डर
जेम्सको भनाइ छ, “शोषित, पीडित र गरीबहरू युद्धमा लागेका छन््, उनीहरूको
र घरानियाँहरूको योग्यतालाई एउटै दर्जामा राख्नुहुन्न।” जनसेनामा राजनीतिक
चेतना र कुशल युद्धकला भएकाले यसलाई पनि मापदण्डको आधार बनाइनुपर्ने
तर्क गर्दै प्रतीक भन्छन्, “हामीसँग राजनीतिक विचार र युद्धकला छ।
उनीहरूसँग शैक्षिक योग्यता होला। दुवैको समायोजन गर्नुपर्छ।”
माओवादी छापामारमध्ये महिला लडाकुहरूको सङ्ख्या झण्डै ४० प्रतिशत रहेको
बताइन्छ। लडाइँमा प्रत्यक्ष नेतृत्व गर्दै माओवादी सैन्यमा सबैभन्दा
माथिल्लो दर्जामा पुग्ने महिला ब्रिगेड सहायक कमाण्डर कल्पना भन्छिन्,
“हामी जुन तहमा छौँ, राष्ट्रिय सेनामा पनि त्यो दाबी गर्नु स्वाभाविक
हो। तर, परिवर्तनपछि जुन मोर्चामा खटाए पनि स्वीकार्छौँ।”
|