रिपोर्ट
| प्राकृतिक प्रकोप
बाढी आउन ठूलै पानी पर्नुपर्दैन
•
ङमिन्द्र दाहाल

|
त्रिभुवन विमानस्थलको
मौसम मापन केन्द्रमा २५ मिलिमिटर मात्र वर्षा रेकर्ड
भएको दिन १८ असारमा नजिकै पशुपति, तिलगङ्गामा बागमतीले झण्डै एकदर्जन
घर बगायो र करीब त्यति नै परिवारलाई विस्थापित गर्यो। त्यति ठूलो
पानी नपर्दै कसरी यति भयानक प्रकोप आइलाग्यो भन्ने जिज्ञासाले गर्दा
त्यो बाढी व्यापक चर्चामा आयो। हुनपनि त्यसदिन बागमतीमा आएको बाढी
सरदर किसिमकै थियो, असामान्य थिएन। पशुपति नजिकैको नहरका ढोका बन्द
गरिएका कारण बाढीले त्यत्रो क्षति पुर्याउन सकेको थियो। तर, क्षतिको
दोष बन्द नहरले हैन, त्यही सामान्य बाढीले नै पायो।
नेपालमा हुने यस्ता प्रकोपको मूल कारण प्रायः ठूलो भल–बाढीलाई मानिन्छ,
त्यस भित्रका मानवीय त्रुटिहरूलाई केलाइँदैन र सधैँ ओझेलमा राखिन्छ।
मानवीय त्रुटि भन्नुको अर्थ कसैले बाँधको ढोका खोल्यो कि खोलेन भन्ने
मात्रै होइन, बाँध व्यवस्थापन संयन्त्र कसरी बनेको छ भन्ने पनि हो।
बागमतीमा बगेर जाने 'भेल' लाई मात्र दोष दिइरहने तर प्राविधिक र व्यवस्थापन
गर्ने संयन्त्रमा सुधार चाहिँ नगर्ने हो भने भविष्यमा अझ भयानक प्रकोप
उत्पन्न हुने खतरा रहिरहने निश्चित नै छ। नेपालमा हुने गरेका बाढी–पहिरो
सम्बन्धी अधिकांश घटनाहरू टार्न वा क्षति कम गर्न सकिने खालका हुँदाहुँदै
पनि तिनले ठूलो जनधनको क्षति गर्नुका पछाडि मानवीय वा व्यवस्थापन पक्षका
कमजोरी रहने गरेका छन्।
यथार्थमा वर्षामा ठूलो पानी पर्नु, जमिन रसाउनु, खोलानालामा
बाढी आउनु आफैँमा प्रकोप होइनन्, प्राकृतिक घटना मात्र हुन्। तर यस्ता
प्राकृतिक घटनाको असरलाई सामना गर्न सकिएन भने त्यसले प्रकोपको रूप
लिन्छ। प्राकृतिक घटनाले प्रायः कमजोर र अशक्त समुदाय, परिवार एवं
व्यक्तिलाई बढी असर पार्ने हुनाले जब उनीहरू यसको सामना गर्न सक्दैनन्,
त्यहाँ प्रकोप उत्पन्न हुन्छ। एउटा सूत्र नै छः
प्राकृतिक प्रकोप 214 समुदायको जोखिम बहन गर्नसक्ने क्षमता 138 प्राकृतिक
घटना।
यसर्थ 'प्राकृतिक प्रकोप' भनेको प्राकृतिक घटनाले समुदायलाई
प्रभाव पारेपछि उत्पन्न हुने क्षति वा विपत्ति हो। उदाहरणका लागि जङ्गलमा
ठूलै पहिरो गएपनि मानवीय क्षति हुँदैन तर कहिलेकाहीँ टुकुचा जस्ता
सानातिना खोलाखहरेले पनि घरखेत बगाएको समाचार आउँछ।
पशुपति क्षेत्रमा आएको बाढीको क्षति व्यहोर्ने प्रायः
परिवारहरू नदीछेउका जोखिमपूर्ण क्षेत्रमा कमजोर घर बनाएर बसेका मध्यम
र न्यून वर्गका थिए। नहर व्यवस्थापन गर्ने संस्था र त्यसका पदाधिकारीहरू
आफैँ त्यस्तो जोखिम व्यहोर्नुपर्ने समुदाय भित्र पर्दैनथे। त्यसैले
यस्तो अवस्थाबाट बच्नका लागि तिनले पूर्व सतर्कता अपनाउनु जरुरी ठानेनन्।
यस्तो समस्याको समाधान भनेको सम्बद्ध पदाधिकारीहरूलाई नै प्रकोप नियन्त्रणमा
जिम्मेवार बनाउने संयन्त्र निर्माण गर्नु हो।
प्रकोप टार्न–घटाउन सकिन्छ
सामान्यतया प्राकृतिक घटनाहरू अवश्यम्भावी हुन्छन्। तिनलाई हुनै नदिन
वा नियन्त्रण गर्न सकिँदैन। तर, समुदायको जोखिम वहन गर्न सक्ने क्षमता
बढाउने अथवा तिनलाई प्राकृतिक घटनाबाट अलग राख्न मद्दत गर्ने हो भने
प्रकोपबाट हुने क्षतिलाई टार्न वा घटाउन सकिन्छ।
नेपालमा आउने बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट ठूलो
क्षति हुनुमा प्रमुख दुई कारण जिम्मेवार छन्। पहिलो समुदाय आफैँ कमजोर,
अल्पशिक्षित भएर वा जीविकोपार्जन गर्ने अवसरको खोजीमा जोखिमपूर्ण अवस्थालाई
बेवास्ता गर्दै भीरपाखा, नदीकिनारा वा बाढीग्रस्त क्षेत्रमा बसोबास
गर्न पुग्नु हो। दोस्रो, विकास निर्माणका नाममा होस् अथवा तत्कालको
जोखिम टाल्न गरिएका अस्थायी उपायको रूपमा बनाइएका त्रुटिपूर्ण भौतिक
संरचना (नहर, बाँध, सडक, तटबन्ध आदि) ले नै बाढीपहिरो र डुवानका घटनालाई
बढाउने र जनधनको अनावश्यक क्षति गराउँदै आएका छन्।
पशुपतिको यसपटकको बाढीको सन्दर्भमा नहर व्यवस्थापनको
जिम्मा लिने निकाय नै मूल रूपमा क्षतिका लागि जिम्मेवार मानिन्छ। हुन
त जोखिमको पर्वाह नगरी जानीजानी नदीकिनारामा बसोबास गर्ने समुदाय पनि
आंशिक रूपमा जिम्मेवार हुन्छन्। तर यहाँ पनि पशुपति क्षेत्र विकास
कोष जस्ता निकायहरूले नदीकिनारको संरक्षण गर्ने, यसको नजिकै घर निर्माण
र बसोबास गर्न पाइने नपाइने क्षेत्र तोकिदिने तथा यी कुरालाई कडाइका
साथ कार्यान्वयन गर्ने काम गर्नुपर्ने थियो। नदीकिनारमा जोखिम छ भन्ने
जान्दाजान्दै मानिसहरू जसोतसो झुपडी बारेर बस्छन् भने त्यसको पछाडि
उनीहरूका आ–आफ्नै किसिमका सामाजिक–आर्थिक बाध्यताहरू पनि हुन्छन्।
राज्यका नीति र कार्यक्रमले ती बाध्यताहरूलाई सम्बोधन गरेर जोखिमपूर्ण
अवस्थाका ठाउँ, समय र बचाउका उपाय बारे समुदायलाई सु–सूचित गराउने
सामान्य दायित्व निर्वाह गरे मात्र पनि हालका लागि ठूलो उपलब्धि सावित
हुनसक्छ।
पशुपति क्षेत्रको बाढीले प्राकृतिक घटनालाई 'दैवीप्रकोप'
भनेर मानवीय कमजोरीलाई ढाकछोप गर्ने पुरानो संस्कार छाड्न प्रेरित
गरेको छ। समुदाय आफैँ जानाजान खोलाकिनारा वा भीरपाखामा बसोबास गर्न
गएर प्रकोपको शिकार हुन पुगेको भए पनि राज्यले उनीहरूलाई जोखिमको सामना
गर्न सघाउने वा अन्यत्र सार्ने जिम्मेवारी लिनैपर्दछ। राज्यकै निकायका
कमजोरी वा फट्याइँले क्षति पुगेको अवस्थामा त बेलैमा राहत प्रदान गर्नु
र क्षतिपूर्ति एवं पुनर्निर्माण थाल्नुको विकल्प नै हुँदैन।
काठमाडौँ उपत्यकामा दह्रो वर्षा नभएर धान रोपाइँ गर्न
नपाएका कतिपय किसान परिवारका लागि १८ असारमा परेको पानीले आंशिक माग
मात्र पूरा गर्न सकेको अवस्थामा उल्टै बाढी प्रकोपको घटना हुनुले हाम्रो
समाजको जोखिम व्यवस्थापन गर्न सक्ने औकातलाई उदाङ्गो पारिदिएको छ।
तर यसबाट शिक्षा लिन सकिएमा बर्सेनि हुने मनसुनको बाढीबाट लाखौँ परिवारलाई
विचल्ली हुनबाट जोगाउन सकिन्छ। यो वर्षको मनसुन भर्खरै शुरु भएको हुनाले
यसबाट शिक्षा लिने सही बेला पनि शायद यही नै हो।
|