रमझम
संज्ञाको शैली
संज्ञा सिंह,
मोडेल

तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटी पार्लर, बाघबजार
|
टीभी र
रेडियोमा अरूले कार्यक्रम चलाएको देख्दा, सुन्दा संज्ञा
सिंहलाई पनि त्यसै गर्ने चाहना हुन्थ्यो। त्यसैले बाबा–आमाले डाक्टर
बनाउन चाहे पनि अढाई वर्षअघि इमेज च्यानलमा कार्यक्रम प्रस्तोताको
रूपमा आफूले रोजेकै बाटोमा लागिन्, उनी।
संज्ञाले इमेज च्यानलमा प्रत्यक्ष प्रसारण
हुने कार्यक्रम म्युजिक अफेयर च्वाईस र फेशन सम्बन्धी ग्लामर एण्ड
स्टायल, अन द रोड र इमेज एफएममा चार वटा कार्यक्रम चलाउँछिन्। उनले
कोक, टु पीएम, युएफओ आदिको विज्ञापनमा पनि काम गरेकी छन्। उनी गायक
नविन के भट्टराईको म माया लाउँदिनँ, योगेश्वर अमात्यको एक नेवारी सहित
केही म्युजिक भिडियोमा समेत देखिन्छिन्।
मानिसहरूका अगाडि क्याट्वाक् गर्दै र्याम्पमा
हिँड्न भने उनलाई मन पर्दैन। भन्छिन्, “र्याम्प मोडलिङमा लुगा हैन
आफँैलाई देखाउन हिँडे जस्तो लाग्छ तर अरूले गरेकोलाई नराम्रो भने मान्दिनँ।”
ग्ल्यामर क्षेत्रमा लागेपछि आफ्नो जीवनशैलीमा निकै परिवर्तन आएको महसूस
गरेकी संज्ञा प्रतिस्पर्द्धात्मक तर रमाइलो क्षेत्रमा प्रवेश गरेकोले
'इन्जोय' गरिरहेको बताउँछिन्।
१२ कक्षा नसक्दै विना तालिम टेलिभिजनमा
काम गर्ने खबर छोरीले सुनाउँदा संज्ञाका बाबा–आमा छक्क मात्रै परेनन्,
फेशन–मोडलिङको क्षेत्र राम्रो हुँदैन भनेर नलाग्न कर समेत गरे।भन्छिन्
“अहिले त मेरो काम देखेर र अरूले राम्रो भनेको सुनेर खुशी हुनुहुन्छ।”
एफएम र टीभीका आरजे र भीजेहरूले नेपाली
भाषा तोडमोड गरेको आरोप लागिरहेको बेला अङ्ग्रेजी र नेपाली दुवै भाषामा
कार्यक्रम चलाउने बालुवाटारकी संज्ञा आफ्नो उमेरको पुस्तामा चल्ने
भाषा र शैलीमा कार्यक्रम प्रस्तुत गर्ने गरेको बताउँछिन्। “पुस्ता
र तिनको चाहना हेरी कार्यक्रम चलाउनु पर्छ।” युवाहरूले उपभोग गरिरहेको
स्वतन्त्रता बारे अगाडि थप्छिन्, “जिम्मेवारीबोध भए नराम्रो नभई सृजनशीलता
बढ्छ।”
प्रेम र विवाहको बारेमा सोच्ने बेला भई
नसकेको बताउँदै संज्ञा भन्छिन्, “प्रेमको अनुभव त छैन तर बुझ्दा एरेञ्ज
भन्दा लभ म्यारिज नै राम्रो लाग्छ।”
•
अनुशील
रिपोर्ट
“मिस”हरू नाम छ काम छैन
मिस नेपाल जस्तो प्रतिष्ठित र राजधानीका
केही प्रतियोगिताका विजेता बाहेक अधिकांश उपाधि विजेता सुन्दरीहरूले
चाहे जस्तो अवसर पाउन सकेका छैनन्।
•
अनुशील श्रेष्ठ/रामेश्वर बोहरा
|
 |
| पूर्व मिस
भेरी चन्दा र फस्ट रनरअप बिन्दु। |
मिस भेरी– २००५ को ताज जित्नासाथ मोडलिङको दुनियाँमा
छाउने सपना बोकेकी पद्मा शेर्पाल मिस नेपाल मा प्रतिस्पर्द्धा गर्ने
सोचाइ बनाएकी थिइन्। गत भदौमा माओवादीले दिएको धम्कीले उनको त्यो सपना
पूरा हुन दिएन। ६ महिनामै 'सुन्दरी ताज' फिर्ता गरेर उनले असुरक्षित
ठानेर नेपालगञ्ज नै छाडिन्।
अवसर नपाएर फुुर्सदिला बनेका सुन्दरी माओवादी
'थ्रेट'ले हैरान छन् भने आयोजकहरू यस्ता प्रतियोगिता गर्न डराउन थालेका
छन्। त्यसैले गत फागुनमा हुनुपर्ने मिस भेरी प्रतियोगिता अहिलेसम्म
हुनसकेको छैन। पद्मा भन्छिन्, “एक त अवसर नै बन्द हुँदैछन्, अर्कोतिर
यस्ता धम्कीले मानसिक तनाव दिन्छ।”

रामेश्वर बोहरा
|
| माओवादी धम्कीले गर्दा मिस भेरी पद्मा शेर्पाले
६ महिनामै ताज फिर्ता गर्नु मात्रै परेन, बस्न असुरक्षित ठानेर
नेपालगञ्ज समेत छाडिन्। |
राजधानी र बाहिरका शहरहरूमा बारम्बार भइरहने सुन्दरी
प्रतियोगिताहरूबाट छानिने सुन्दरीहरूको चर्चा केही समयपछि आफँै सेलाउँछ।
राजधानीमा हुने मिस नेपाल जस्तो प्रतिष्ठित केही प्रतियोगिताका विजेता
सुन्दरीहरू बाहेक अधिकांशले चाहेजस्तो अवसर पाउँदैनन्। मोडलिङमा लाग्नेको
पहिलो रोजाइ हुने गर्छ, म्युजिक भिडियोमा अभिनय गर्ने, विज्ञापन मोडलिङ
गर्ने। तर, मोफसलमा पर्याप्त अवसर छैन। पूर्व धरान, विराटनगरका केही
सुन्दरीहरू स्थानीय गायकहरूका म्युजिक भिडियोमा देखिए पनि नेपालगञ्जतिर
यो अवसर पनि छैन।
मिस कोशी १९९८ उपाधि विजेता कृति श्रेष्ठले मोडलिङ
क्षेत्र छाडेको अढाई वर्ष भयो। मिस कोशी नेपछि चर्चा सिवाय अवसर नपाएको
उनको अनुभव छ। केही वर्ष स्थानीय फेशन शोहरूमा कोरियोग्राफीमै सीमित
रहँदा समय खेर गएको अनुभव भएछ, कृतिलाई। हाल घरभित्र गृहिणीमा सीमित
उनको भनाइ छ, “राजधानीमा जस्तो अवसर यहाँ छैन। त्यसमाथि सुन्दरी प्रतियोगितालाई
अझै पनि समाजमा कतिपयले राम्रो नमान्ने भएकोले पनि मैले छाडेकी हुँ।”
दशकअघिको पूर्वाञ्चलकै पहिलोे सुन्दरी प्रतियोगितामा
मिस धरान बनेकी पार्वती श्रेष्ठदेखि चार वर्षअघि भएको मिस पूर्वाञ्चल
२००२ सगुन शर्मासम्मका धेरैले घरजम गरिसकेका छन्। बाँकी कोही अध्ययन
त कोही मोडलिङमा अवसरको पर्खाइमा छन्। मिस पूर्वाञ्चल विराटनगरकी सगुन
मिस नेपालमा सहभागी हुन काठमाडौँसम्म पुगेपनि उनले अरू अवसर भने पाइनन्।
समर मोडल कण्टेष्ट १९९७ को उपाधि जितेपछि मिस नेपाल १९९८ मा मिस क्याट्वाक्
बनेकी योगिता प्रधानले लगत्तै विवाह गरिन्। फस्ट र सेकेण्ड रनर अप
भगवती लिम्बू र रोमी श्रेष्ठले पनि बिहे गरिसकेका छन्। लिम्बूले राजधानीसम्म
पुगेर केही विज्ञापन, म्युजिक भिडियो र फेशन शोहरूमा मोडलिङ गरेकी
थिइन् भने धरानका केही फेशन शोमा कोरियोग्राफी गरेकी श्रेष्ठ स्थानीय
मेरिगोल्ड स्कूलमा शिक्षिका छन्।

अवसर नपाएपछि मिस कोशी कृति मोडलिङ छाडेर गृहिणीमै सीमित छिन्।
|
विराटनगरमा सम्पन्न पूर्वाञ्चल सुपर मोडल कन्टेष्ट
२००६ कि विजेता जय शर्मा, धरानमा भएकामिस भ्यालेण्टाइन १९९८ नित्य
लिम्बू, मिस स्वीट हर्ट १९९९ रिना लिम्बू, मेघा मोडल २००३ इरिना प्रधानाङ्ग
अवसरको खोजीसँगै अध्ययनलाई निरन्तरता दिइरहेका छन्। इरिना फिजिकल फिटनेश
सेण्टर धरानको योगा प्रशिक्षक पनि हुन्। युवाहरूलाई दैनिक योगा सिकाउँदै
आएकी उनी भन्छिन्, “फेशन, मोडलिङमा लाग्न काठमाडाँै गइएन, यहाँ अवसर
छैन।”
मिस भ्यालेण्टाइन १९९८ की फष्ट रनर अप सुप्रिया
माझीले ड्रेस डिजाइनिङ सिकेर धरानमा सन फ्लावर बुटिक चलाइरहेकी छन्।
मिस स्वीटहर्ट १९९९ कि सेकेण्ड रनरअप तारा चाम्लिङले आक्कलझुक्कल हुने
फेशन शोमा कोरियोग्राफी गर्छिन्। मिस कोशी १९९८ मा सेकेण्ड रनर अप
रेखा थापा मात्र यस्तो नाम हो जो अहिले नेपाली चलचित्र क्षेत्रकी व्यस्त
नायिका हुन्।
पूर्वाञ्चलमा सुन्दरी प्रतियोगिता र फेशन शो आयोजना
गर्दै आएका डिजाइनर उत्तम बनेपाली राजधानी बाहिर अवसर नै कम हुने र
अवसर पाउनेहरू पनि कम मात्रै राजधानी जाने गरेको बताउँछन्। आफूले आयोजना
गरेको प्रतियोगिताका विजयी सुन्दरीलाई मिस नेपालमा सहभागिताको अवसर
जुटाइदिने गरेको बताउने बनेपाली भन्छन्, “उपाधि जितेर २/४ जनाले चिने
भइहाल्यो भन्ने सोचाइ राख्नेहरू पनि छन्।”

मोजेश राई
|
| मेघा मोडल इरिना आफ्नै परिवारले धरानमा सञ्चालन
गरेको फिजिकल फिटनेश सेण्टरमा योगा प्रशिक्षक छिन्। |
मिस भेरी–२००४ चन्दा गुरुङ सुन्दरीको ताज जितेपछि
मोडलिङ र रंग दुनियाँमा छाउने आश बोकेरअसार पहिलो साता राजधानी पुगिन्।
उपाधि जितेलगत्तै थारूभाषी चलचित्र जाली संसार मा सहनायिका हुने बाहेक
उनले अरू केही अवसर पाइनन्। पहिलो मिस भेरी २००३ विना थापाको चाहना
पनि मोडलिङमै जम्ने थियो। भर्खरभर्खर नेपालगञ्जमा मोडलिङ र फेशनको
सुरुआत हुँदा उनले सुन्दरीको ताज पहिरिन्। तर उनका तीन वर्ष फुर्सदमै
बित्यो, कतैबाट अवसर आएन। गत महिना विनाले घरपरिवारले खोजेको केटासँग
घरजम गरेकी छन्।
मध्य र सुदूरपश्चिम नेपालमा नेपालगञ्जमा मात्र
मोडलिङ हुने गरेको छ। हालसम्म तीन वटा मिस भेरी प्रतियोगिता भएपनि
मोडलिङले गति लिन नसकेको अनुभव गर्नेहरू यसको भविष्यप्रति आशावादी
देखिँदैनन्। उत्साह बोकेर मोडलिङमा लागेकाहरू पनि छोटो समयमै निराश
बन्ने गरेका छन्। किनकि पूर्वाञ्चलमा झैँ पश्चिममा पनि इच्छा सिवाय
अवसर छैन। परिवारको विरोध र समाजको गलत दृष्टिकोणलाई तोड्दै मोडलिङमा
लाग्नेहरूलाई यसले झनै चिन्तित बनाएको छ। चन्दा भन्छिन्, “धेरै थोक
गर्ने इच्छा भएपनि अवसरको अभावले केही गरौँ भन्ने जोश त्यसै सेलाउँछ।”
सानैदेखिको रुचिले मोडलिङमा लाग्ने सुर कसेकी
मिस भेरी–२००३ की फस्ट रनरअप बिन्दु लम्साल पनि अवसर नपाएको दुःखेसो
पोख्दै भन्छिन्, “घरपरिवार र समाजको मुख थुनी–थुनी मोडलिङमा लागेँ,
अवसर नपाएपछि निराश भएकी छु।”
रिपोर्ट

आनन्द कोइराला |
| प्रतियोगितामा सरिना
राई (१७) मिस फेयरी तथा विमर्ष लिम्बू (१४) र अमृता लिम्बू (१४)
क्रमशः फस्ट र सेकेण्ड रनरअप भएका थिए। |
उपाधि फिर्ता
काठमाडौँको सुलक्ष्य
अ डिभिजन अफ जित हाम्रो प्रा.लि. नामक संस्थाले १७ असारमा धरानमागरेको
प्रथम मिस फेयरी २००६ प्रतियोगितामा आयोजकले मनपरी रकम उठाएको र छनौट
प्रक्रिया ठीक नभएको आरोप लगाउँदै पाँच विजेताले आफ्नो उपाधि फिर्ता
गरेका छन्।
प्रतियोगितामा वेष्ट स्माइल भावना सुनुवार, मष्ट ट्यालेण्टेड प्रशंसा
देवान, मिस फोटोजेनिक दिपाञ्जली थापा, वेष्ट स्किन अञ्जु लिम्बू र
वेष्ट हेयर तथा फिगर निलम लिम्बूले उपाधि फर्काएका हुन्। आयोजकले प्रतियोगिताका
लागि प्रति सहभागी रु.५ हजार, फर्म शुल्क पाँच सय र फोटो तथा सी.डी.
वापत एक हजार गरी कुल ६ हजार ५ सय लिएर ७ हजार बराबरको टिकट समेत बेच्न
लगाएका थिए। प्रशंसाकी आमा शान्ति देवानले आयोजकले असुल गरेको शुल्कबापत
तालिम नदिएको र धाँधली समेत गरेको आरोप लगाइन्।
•
आनन्द, धरान
विविध
झार्यो जिन्दगी, बित्यो जिन्दगी...

कुमार आले
|
म त लालीगुराँस भएछु ...।
झर्यो जिन्दगी बित्यो जिन्दगी...।
प्रियसीका यादहरू ...।
आधुनिक नेपाली सङ्गीतका बेजोड प्रतिभा दिव्य खालिङ
अब रहेनन्। वि.सं. २००९ सालमा दार्जीलिङमा जन्मिएका गायक तथा सङ्गीतकार
खालिङले नेपाली साङ्गीतिक क्षेत्रमा निकै ठूलो योगदान दिएर गए।
तीस र चालीसको दशकमा उनले नेपालका थुप्रै गायक/गायिकालाई आफ्नो सङ्गीतमा
स्वर भर्न दिएर प्रसिद्धिको शिखरमा पुर्याएका थिए। सङ्गीतकार खालिङका
असङ्ख्य गीतहरूमा नारायणगोपाल, प्रेमध्वज प्रधान, अरुण थापा लगायतका
नेपाली सङ्गीतका अग्रणी व्यक्तित्वहरूका कालजयी स्वर सजिएको छ।
सदाबहार गीतका सङ्गीतकार खालिङको पहिलो गीत २०३६ सालमा
रेकर्ड भएको देखिन्छ। दार्जीलिङबाट नेपाल आउनुअघि उनले सङ्गीत भरेका
र स्वर दिएका सयभन्दा बढी गीतहरू अल इण्डिया रेडियोबाट प्रसारण भएका
थिए। नेपाल आएपछि भने उनले गायनभन्दा सङ्गीतको क्षेत्रमा आफूलाई समर्पित
गरेको देखिन्छ। सङ्गीतकार खालिङले प्रायः आफ्नै शब्दहरूमा सङ्गीत दिने
गर्थे। अरूका रचनाहरूमा सङ्गीत दिनु पर्यो भने महिनाँै लगाएर त्यस
रचनालाई पूरै आत्मसात् गरेपछि मात्र सङ्गीत संयोजन गर्ने गरेको उनलाई
नजिकबाट चिन्नेहरू बताउँछन्। खालिङ भन्थे, “धेरैले मलाई हल्का फुल्का,
व्यावसायिक सङ्गीत दिन सक्दैन भन्ने पनि भ्रम बनाएको भेटेको छु। तर
वास्तवमा मलाई त्यस प्रकारको सङ्गीत सृजनामा रुचि लाग्दैन।”
सरगम सागर अल्बममा सङ्गीतकार खालिङले शास्त्रीय
सङ्गीत र पश्चिमेली सङ्गीतमा पनि आफूलाई सिद्धहस्त प्रमाणित गरेका
छन्।२०२९ सालमा सर्वश्रेष्ठ सङ्गीतकार र रचनाकार भई दार्जीलिङ
च्यालेन्ज शिल्ड पुरस्कार पाएका खालिङले विभिन्न नाटक तथा चलचित्र–हरूमा
पनि सङ्गीत दिएका थिए।
मुटुरोगी खालिङको भारत, सिलीगुडीस्थित अस्पतालमा ११
असारमा निधन भएको थियो। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।
बाल्यकालमा पोलियोले थला परेर दायाँ गोडा अशक्त भएका खालिङलाई 'मन
बहलाउन सकोस्' भनी उनका परिवारले सङ्गीत क्षेत्रमा लगाएका थिए। तर
कालान्तरमा सङ्गीत नै उनको अभिन्न अङ्ग बन्न पुग्यो।
•
कृष्ण शाह यात्री
गुरुकुलमा
रिमाल

अनुशील |
काठमाडौँ, बानेश्वरस्थित
गुरुकुल परिसरमा २४ असारमा कवि/नाटककार गोपालप्रसाद रिमाल र रङ्गकर्मी/गायक
हरिप्रसाद रिमालको नाममा रिमाल नाटक घरको उद्घाटन गरिएको छ। सोही दिन
संस्कृतविद् सत्यमोहन जोशीले गोपालप्रसाद रिमालको पूर्णकदको सालिक
अनावरण गरे। सालिक कलाकार पूर्ण वनेमले बनाएका हुन्।
हङकङमा भानुजयन्ती
नेपाली कला मन्दिर हङकङको आयोजनामा २९
असारमा हङकङमा रहेका कवि, साहित्यकार, गीतकार, पत्रकार रविद्यार्थीहरूले
१९२ औं भानुजयन्ती मनाए। सगरमाथा नेपाली विद्यालय, युनलङमा शिक्षाविद्
गणेशबहादुर राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कला मन्दिरका
अध्यक्ष एकराज राई, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, एभरेष्ट
साप्ताहिक का सम्पादक किसन राई, सगरमाथा किण्डरगार्टेनकी प्रिन्सिपल
कमला राईलगायतले नेपाली भाषामा भानुभक्तको योगदानको चर्चा गरेका थिए।
•
देवराज, हङकङ
क्याटमाण्डु क्याट्वाक्
आईआईएफटीको आयोजना तथा नेपाल लिभरको प्रायोजनमा
२३ असारमा हायात रिजेन्सीको रक्स बारमा लेक्मे क्याटमाण्डु क्याट्वाक्
गरियो। सूर्यकला फिल्मस्का तर्फबाट भारतीय कोरियोग्राफर कौशिक घोषको
कोरियोग्राफीमा पूर्व मिस इण्डिया तथा सुपर मोडलहरू टीना चटवाल, विनीता
बोरा, शेर्या मदन, हिमानी थापा, साहिबा सिंह आदि र्याम्पमा प्रस्तुत
भएका थिए।
मिष्टर एण्ड मिस
पोखरामा १७ असारमा भएको दोस्रो मिष्टर
एण्ड मिस पश्चिमाञ्चलको उपाधि सुवास पौडेल (२०) र सुनिता हेयु (१९)
ले हात पारेका छन्। सुनिताले बेष्ट पर्फमेन्सको उपाधि जितिन्। पुरुष
तर्फ फष्ट रनर अपसँगै ह्याण्डसम ब्वाई र फोटो जेनिकको उपाधि सुमन आले,
सेकेण्ड रनर अप विरेन बञ्जामी र महिलातर्फ क्रमशः पुष्पा कार्की र
मिरा गिरेल फष्ट र सेकेण्ड रनर अप भएका थिए। प्रतियोगिता दृष्टिविहिन
बालबालिकाको सहयोगार्थ द लुक्स फेसन होम इभेण्ट म्यानेजमेण्टले आयोजना
गरेको हो।
•
त्रिभुवन, पोखरा
|