पुस्तक | परिचय
थप आधुनिकताको पक्षमा
किताबः उत्तरआधुनिक ऐना
लेखकः डा. गोविन्दराज भट्टराई
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६२
पृष्ठः ३४३+, मूल्यः रु.२९५
 |
साहित्यिक समालोचनामा
नयाँ चिन्तनहरूको व्याख्या गरिरहेका डा. गोविन्दराज भट्टराई प्रायः
भनिरहन्छन्, “समालोचक मार्गदर्शक मात्र हैन, समय–दर्शक पनि हो।” सबैले
समयसँगै हिँड्नुपर्छ; दौडिन नसक्ने वाद, चिन्तनहरूको अस्तित्व छैन
भन्ने निर्क्योल उनको नवीनतम कृति उत्तरआधुनिक ऐना मा अझ स्पष्टताका
साथ प्रकट भएको छ। किताबमा नेपाली साहित्यमा नयाँ गति र प्रवृत्तिको
विस्तृत लेखाजोखा भेट्न सकिन्छ।
लेखकको मूल्याङ्कनमा नेपाली साहित्य नयाँपन, विचित्रता, बहुलतातिर
प्रवृत्त छ। यो गतिमय, विविधतायुक्त, प्रयोगोन्मुख हुँदैछ। सात खण्डमा
विभाजित पुस्तकमा त्यही गतिशीलताको सैद्धान्तिक विश्लेषण र प्रयोगात्मक
उदाहरणहरूको रोचक संयोजन अनुभव गर्न सकिन्छ। पहिलो खण्ड 'नयाँ सिमाना'
मा समाविष्ट पन्ध्र आलेखमार्फत् लेखकले स्रष्टा, समालोचकहरूलाई समयप्रतिको
दायित्वबोध गराउन खोजेका छन्। कृतिलाई अनुभवजन्य निष्कर्ष ठान्दै लेखकले
भनेका छन्, “मुुगलान (२०३१ सालमा प्रकाशित लेखकको पहिलो कृति) निकालेयताका
सबै चिन्ता, अनुभव, ज्ञान र पीर यसैमा उनिएका छन्।” पढ्दा त्यस्तै
लाग्छ। समालोचना जस्तो गह्रौँ, चुनौतीपूर्ण विधामा निर्लिप्त डा. भट्टराईले
नेपाली साहित्यका नयाँ आन्दोलन, अभियान, स्वतन्त्रतामुखी लेखनीलाई
दिल खोलेर हौस्याएका छन् भने केही रुढ मान्यताहरूलाई 'च्याप्नुको अर्थ
छैन' भन्दै तीखो आलोचना गरेका छन्, यो कृतिमा। उनले आयामेली आन्दोलनलाई
सीधै 'भ्रान्तिवृक्ष' को संज्ञा दिएका छन्। अनि, तेस्रो आयामकै एक
अभियन्ता इन्द्रबहादुर राईबाट उद्घोषित 'लीलालेखन' को औचित्य समाप्त
भइसकेको ठोकुवा गरेका छन्।
साहित्यका 'नौल्याइँ' हरूलाई गज्जवले धाप मार्ने
र 'अर्घेल्याइँ' हरूको शिष्ट शैलीमा उछित्तो काढ्ने लेखकको आनीबानी
किताबमा सङ्गृहीत कृति–समीक्षाहरूबाट स्पष्ट अनुभव गर्न सकिन्छ। आम
पाठकलाई केही बोझिलो लाग्ने समालोचनात्मक आलेखहरूलाई आत्मपरक शैलीमा
सुरुचिपूर्ण बनाउने लेखकीय खुबी पुस्तकको उल्लेख्य विशेषता हो। प्रयोग
र आधुनिकताले साहित्यलाई गतिशील बनाउने दृष्टिकोण नयाँ नभएपनि लेखकले
जुन अडान र प्रतिबद्धताका साथ उत्तर–आधुनिकताको वकालत गरेका छन्, त्यसले
नेपाली साहित्यमा नयाँ बहस भित्र्याउने पक्का छ।
राजनीतिक
दस्तावेज
किताबः ऐतिहासिक दस्तावेज सङ्ग्रह भाग–२
लेखकः डा. सुरेन्द्र के.सी.
प्रकाशकः पैरवी प्रकाशन, काठमाडौँ, २०६३
पृष्ठः ४७१+, मूल्यः रु.२६५
नेपाली कम्युनिष्ट
आन्दोलनका अध्येता डा. सुरेन्द्र के.सी.ले अनुसन्धानका क्रममा भेटेका
अभिलेख, दस्तावेजहरूकै अर्को सङ्ग्रह हो, ऐतिहासिक दस्तावेज सङ्ग्रह
भाग–२। यो किताब डा. के.सी.को २०६० सालमा प्रकाशित नेपालमा कम्युनिष्ट
आन्दोलनको इतिहास भाग–२ सँग सम्बद्ध सहायक सामग्रीहरूको सँगालो हो।
यसमा २०४६ सालपूर्व नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बन्न सफल
नेकपा (माले) सम्बद्ध सामग्रीहरूकै आधिक्य छ। त्यो अर्थमा किताबलाई
तत्कालीन मालेको विचार, चिन्तनहरूको दस्तावेज भन्न सकिन्छ।
तीसको दशकको प्रारम्भमा सङ्कटापन्न कम्युनिष्ट
आन्दोलनलाई पुनर्गठन गर्न नेकपा (माले) लेे के कस्तो भूमिका निर्वाह
गर्यो? पार्टीभित्र के कस्ता सङ्कीर्णता र अन्तर्विरोधहरू देखिए?
विचार–प्रणालीमा के कस्ता हलचलहरू आए? २०३६ सालको जनमत सङ्ग्रहलाई
'जनक्रान्तिविरोधी षड्यन्त्र', बहुदलीय प्रजातन्त्रलाई 'प्रतिक्रियावादी
व्यवस्था' र बीपी कोइरालालाई 'देशद्रोही' भन्ने अपरिपक्व राजनीतिक
जमातले कसरी आफूलाई परिमार्जित, परिपक्व बनाउँदै लग्यो? विगतको उग्रवामपन्थी
सोचलाई विसर्जन गर्ने चेतना यसले कहिले, कसरी बटुल्यो? जस्ता धेरै
पक्षहरूलाई पुस्तकमा सङ्गृहीत अन्तरपार्टी निर्देशनहरूले स्पष्ट देखाउँछन्।
नेकपा (माले) को सङ्गठनात्मक संरचना सार्वजनिक हुनुअघिका यी दस्तावेजहरू
वामपन्थी राजनीति र यसको पृष्ठभूमि नियाल्न खोज्नेहरूका लागि रुचिकर
र उपयोगी हुनसक्छन्।
मनोहारी कविता
किताबः सहर र सपना
कविः हेम हमाल
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६३
पृष्ठः ८५+, मूल्यः रु.११५
हेम हमाल–
यो नाम जति छोटो, श्रुतिमधुर लाग्छ; त्यतिकै मीठा, चोटिला छन् उनका
कविता। यो सहर छोड्नुभन्दा पहिले (२०२९) देखि चौथो कविता–कृति सहर
र सपना सम्म आइपुग्दा पनि कविको यो खुबी उसरी नै प्रवाहशील देखिन्छ।
सहरसँग विचित्रको नाता छ कविको। अधिकांश कविता र शीर्षक सहरकै सेरोफेरोमा
छन्। सहरसँगको आत्मीयता र गुनासाहरूलाई सँगसँगै उन्न खप्पिस हमालका
प्रत्येक कवितामा एउटा सिङ्गो कथा भेट्न सकिन्छ। सहर र सपना मा त्यस्तै
कविताको आधिक्य छ;
यो सहरमा सबैभन्दा सस्तो कुरा
सपना किन्न सकिन्छ
सन्दुकभरि, दराजभरि, खल्तीभरि सपना लिएर
जिन्दगानी गुजार्न सकिन्छ।
सरल शब्द–संयोजनमार्फत् प्रतीकात्मक लेखनमा ठूलै
उचाइ भेटिसकेका कवि हमालको नयाँ सङ्ग्रहका प्रायः कविता छोटा छन् तर
यति सशक्त छन् कि पढ्न शुरु गरेपछि किताब नटुङ्याई अडिनै मन लाग्दैन।
पाँच, छ हरफका अभिव्यक्तिमा समेत कविताको सम्पूर्णता देखाउने खुबी
सहर र सपना मा पनि ठाउँठाउँमा देख्न सकिन्छ।
प्राप्त कृति
 |
तस्वीर २०६२
(०६१ सालका घटनाहरूको तस्बिर–सङ्ग्रह)
सम्पादक/प्रकाशकः
नरेश श्रेष्ठ,
काठमाडौँ २०६२ पृष्ठः ९ण्६, मूल्यः
रु.५००
|
 |
काव्य लहर
(कविता/गीत/गजल–सङ्ग्रह)
लेखकः 'दुःखी महल' तिम्सिना
प्रकाशकः काठमाडौँ जेसीज, काठमाडौँ, २०६२ पृष्ठः
८३ |
 |
च्यात्न नसकेको चिठी
(लघु उपन्यास)
लेखकः डा. दीपक खड्का
प्रकाशकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन
डीसी, अमेरिका, सन् २००५ पृष्ठः ७८+, मूल्यः रु.५०
|
|
|
|