हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

माओवादी, युद्धविराम र आचारसंहिता

'जनअदालत विघटन' प्रचार मात्रै

जति बेला अध्यक्ष प्रचण्ड राजधानी र शहरी क्षेत्रमा खोलिएका 'जनअदालत' बन्द गर्न कार्यकर्तालाई 'विज्ञप्ति'मार्फत् निर्देशन दिँदैथिए त्यहीबेला रुपन्देहीका घनश्याम यादव, भगतसिंह सहितका स्थानीय माओवादी नेताहरू नेपाली काङ्ग्रेस महासमिति सदस्य अष्टभुजा पाठकलाई अपहरण गर्ने योजना बुनिरहेका थिए। २० असारमा पाठकलाई घरबाटै अपहरण गरी उनीहरूले भन्ने गरेको 'जनअदालत'मा केरकार गरिरहेको अवस्थामा रुपन्देही मजगहा प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीहरूले छुटाएका थिए। त्यसको एकदिन अघि पाल्पा 'जनअदालत' ले शाही–सत्ता कालका तानसेनका मेयर धातानन्द भट्टराईलाई तीन वर्ष श्रम–कैद र १५ हजार जरिवाना सुनाएको थियो। पाँच वर्षसम्मका लागि जिल्ला निष्कासन गर्ने 'जनअदालत'को आदेश अवज्ञा गरेको भन्दै भट्टराईलाई नियन्त्रणमा लिई माओवादीका गिरबहादुर थापा (वीरबल) ले त्यस्तो निर्णय सुनाएका थिए। सयौँ जनताका सामु उनलाई कान समाएर उठबस गर्न र माफी माग्न लगाइएको थियो।

जेबी पुन मगर


जेबी पुन

मेयर धातानन्द भट्टराईलाई श्रमशिविरको सजाय सुनाउँदै पाल्पा जनसरकार कामु प्रमुख वीरबल

शहरबजारमा स्थापना गरिएका माओवादीका सम्पर्क कार्यालयबाट समेत मुद्दाहरूको छिनोफानो हुनथालेपछि त्यसको व्यापक आलोचना भएको थियो। त्यही आलोचना ढाकछोप गर्न प्रचण्डले शहरकेन्द्रित त्यस्ता 'जनअदालत' बन्द गर्न निर्देशन दिएपनि उनीहरूकै दाबी अनुसार ८० प्रतिशत भू–भागमा रहेको माओवादीको जनसत्ता र त्यसको प्रमुख अङ्ग 'जनअदालत' भने यथावत् राखिएको छ। यसबाट जनअदालतको नाममा गाउँगाउँमा पुर्जी काट्ने, अपहरण गर्ने, आरोप स्वीकार्न बाध्य पार्ने, यातना दिने र मार्नेसम्मका कार्यहरू यथावत् रहने देखिन्छ। कान्छी श्रीमती भित्र्याएको भन्दै डेढ महिनाअघि नेपाली काङ्ग्रेसका कार्यकर्ता दिनेश शेखर बज्राचार्यलाई जुत्ता र कालोमोसो घसेर कान्छी श्रीमती लक्ष्मीसहित तानसेन बजार घुमाएका थिए। त्यति सजायले नपुगेर पाल्पा जनअदालतले ६ महिने गर्भवती लक्ष्मीलाई देउराली गाविसस्थित एउटा श्रमशिविरमा दुई महिनासम्म राखिएको थियो। अहिले पनि गाउँगाउँमा जनअदालतको नाउँमा दलका कार्यकर्ता र सर्वसाधारणको सातो लिने गरी माओवादी कार्यकर्ताका उर्दी यत्रतत्र भेटिन्छन्। शहरमा खडा गरिएको जनअदालत केही प्रभावशाली वर्गको दबाबमा बन्द गरिएतापनि गाउँघरमा वर्षौँदेखि जनअदालतका नाममा सास्ती भोग्दै आइरहेका सर्वसाधारण जनताको बारेमा कोही बोलेका छैनन्। जनअदालतको नाममा जनताले अहिलेसम्म जे–जति सास्ती भोगेका छन् ती सबै गाउँकेन्द्रित छन्। एमालेका एक जिल्लास्तरीय नेता भन्छन्, “शहरकेन्द्रित जनअदालत बन्द हुनु नहुनुको कुनै अर्थ छैन।”

प्रतिद्वन्द्वी सिध्याउने हतियार
टुहुरा, अशक्त र दलित बालबालिका पढाइने रुपन्देहीको अमुवास्थित बुद्धज्योति बालविकास केन्द्रकी सहजकर्ता मुन्नी उपाध्यायलाई माओवादी बने काम गर्न दिइने नत्र विद्यालय बन्द गरिने धम्की दिइयो। सो विद्यालय मुन्नी आफैँले स्थापना गरेकी थिइन्। एमाले महिला सङ्गठनकी इलाका कमिटी अध्यक्ष मुन्नीले राजनीतिक लाइन परिवर्तन गर्न नमानेपछि उनलाई जबर्जस्ती निकाली अर्को कर्मचारी भर्ना गरियो। माओवादी 'जनअदालत'का न्यायाधीश भरत अर्यालले मध्यरातमा त्यस्तो निर्णय सुनाएका थिए। सोही गाउँका एमाले कार्यकर्ता सुनिता बिकलाई पनि भरत अर्यालको ठाडो आदेशमा एक गैरसरकारी संस्थाबाट निष्कासन गरिएको छ। अर्का एमाले समर्थक शिक्षक अविराम बिकलाई नेतागिरी नछाडे कारबाही गरिने धम्की दिइएको छ। एमालेको राम्रो पकड मानिएको सो क्षेत्रमा उसको अगुवाईमा हुने हरेक क्रियाकलापको 'आफूहरूलाई जानकारी नदिइएको' भन्दै हस्तक्षेप गर्ने, उल्ट्याइने गरिएको छ। ८ असारमा मानमटेरीया कोटैयाका श्रीपत लोध (२१) र रामापति लोध (१५) बीच ६ वर्षअघि सम्पन्न विवाह स्थानीय एमाले नेतासहितका गाउँलेले अनमेल भन्दै सम्बन्धबिच्छेद गरिदिएका थिए। रामापति लोधलाई उनका श्रीमान श्रीपतले हातखुट्टा बाँधी निर्घात चुटी कपाल काटिदिएकाले उनी माइत बस्दै आएकी थिइन्। एमालेले अन्याय गर्‍यो भन्दै भरत अर्यालले श्रीपत लोधलाई पक्रन पठाई जनअदालतमा उभ्याए। एमालेले गरेको काम अवैधानिक भन्दै उनले फैसला उल्ट्याई बधुलाई भरणपोषणबापत ३० हजार दिइनुपर्ने तमसुक बनाए। एकदिनअघि नियन्त्रणमा लिइएका श्रीपत लोधलाई माओवादी कार्यकर्ताले उनको गल्तीको सजाय रातभर चुटेर दिइसकेका थिए।

आफूलाई चित्त नबुझे मृत्युदण्ड समेत दिने जनअदालतको आतङ्क श्रीपतका ६० वर्षीय बुबा अलगु लोधले व्यहोरिसकेकोले छोरा फर्कने आश गुमाइसकेका थिए। सोही ठाउँमा दुई महिनाअघि स्थानीय जनअदालतले चोरीको आरोपमा विक्रम थापा, चुरे थापा र चिनक थारूलाई मृत्युदण्ड दिएको थियो भने जनताको सामु अन्य ६ जनाको घनले ठोकेर खुट्टा भाँचिएको थियो। तीन जनालाई श्रमकैदमा पठाइएको थियो। त्यसको एक हप्तापछि जनअदालतको निर्देशनमा चोरीको आरोप नस्वीकार्दा मात्र स्थानीय ६ जना थारू युवाहरूलाई मरसान्न हुने गरी कुटपिट गरिएको थियो। स्थानीय माओवादी कार्यकर्ताकै भनाइ अनुसार उनीहरू काङ्ग्रेस, एमाले, सद्भावना र राप्रपाका खोल ओढेका चोरहरू थिए।

स्याङ्जा चण्डीभन्ज्याङका कृष्णबहादुर बिकको हत्याको आरोपमा रूरू जनसरकार प्रमुख चेतबहादुर क्षेत्रीले चार महिनाअघि नियन्त्रणमा लिएका एमालेका पाँच कार्यकर्तालाई अझै मुक्त गरिएको छैन। अपहरित एघार मध्ये पाँच जनाले आरोप स्वीकारेको भन्दै उनीहरूलाई आजन्म श्रमकैद सुनाइएको थियो। 'माओवादी मोटाउने भनेको एमाले दुब्लाएर हो' एमाले रुपन्देही जिल्ला सदस्य मानबहादुर क्षेत्री भन्छन्, त्यसैले जनअदालतको ज्ञाने शैलीको शिकार हामी नै भएका छौँ। रुपन्देहीमा मात्र जनअदालतको आदेशमा अहिलेसम्म दुई एमालेका कार्यकर्तालाई कुटेर मारिएको, चार जनालाई हातखुट्टा भाँचिदिएका र कैयौँलाई गोली हानी, बम विष्फोट गराई उठिबास लगाइएको छ।


मेयर भट्टराई।

जनअदालतको कोपभाजन दलका कार्यकर्ता मात्र नभई धर्म र जातीय समुदाय पनि हुने गरेका छन्। ुपन्देही सिक्टहन प्रगतिनगरका बहुसङ्ख्यक मगर, गुरुङ जनजातिले गाउँ नजिक रहेको खाली जग्गामा बौद्ध बिहार बनाउन लाग्दा माओवादीले हस्तक्षेप गरी शिक्षक तेजबहादुर थापा, दुरमान गुरुङ र धनबहादुर गुरुङलाई जनअदालतमा हाजिर गराए। “बौद्ध धर्मले राजा ज्ञानेको सत्तालाई वैधानिकता दिने, बुद्ध पनि राजपरिवारका भएकाले उनी पनि सामन्त राजतन्त्रका पक्षपोषक भएको” जस्ता तर्क दिई उनीहरूलाई बिहार नबनाउन आदेश दिइयो। बुद्धजयन्ती समेत नमनाउन भनियो। तर बौद्ध अनुयायीहरूले उनीहरूको आदेश अवज्ञा गर्दै खाली जग्गामा बौद्ध मूर्ति स्थापना गरे।

परिणामतः माओवादीका यस्ता क्रियाकलापप्रति जनतामा दिनानुदिन आक्रोश बढिरहेको छ। गत वैशाखमा माओवादीद्वारा मारिएका मर्चवार क्षेत्रका नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जनार्दन यादव, काङ्ग्रेसबाट निर्वाचित गाविस उपाध्यक्ष जैस मुहम्मद, वडा अध्यक्ष लक्ष्मण मौर्य र सर्वसाधारण बाबु छोरा प्रल्हाद र द्वारिका लोधका परिवारका युवा सदस्यहरू प्रायशः सशस्त्र प्रतिकार समूहमा लागी माओवादी विरुद्ध मोर्चाबन्दी कसेका छन्। कपिलवस्तु, रुपन्देही र नवलपरासीमा प्रतिकार समूहमा सङ्गठित हुनेहरूमा 'जनअदालत'द्वारा सताइएका बढी छन्। माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि उनीहरू झन् बढी सङ्गठित हुँदै गइरहेका छन् र, माओवादी कार्यकर्ता र समर्थकहरूको हत्या समेत गरिरहेका छन्। तर पछिल्लो पटक निरस्त्र जनता पनि जनअदालतको शैलीप्रति आक्रोशित भई प्रतिकारमा उत्रन थालेका छन्। बौद्ध बिहार बनाउन नदिएपछि सिक्टहन प्रगतिनगरका आक्रोशित महिलाहरूले धम्क्याउन आएका रुपन्देही जनसरकार प्रमुख विनोद उपाध्याय विरुद्ध प्रतिकारमा उत्रिएपछि उनी भाग्न बाध्य भएका थिए। 'जातीय स्वायत्तता र धार्मिक समानताका गफ छाँटेर नथाक्नेले नै हामीमाथि अन्याय गरिरहेका छन्' २६ साउनमा कार्वाहीको धम्की सहित पठाइएको पत्र देखाउँदै तेजबहादुर थापा भन्छन्, “तर हामी उनीहरूको तानाशाही निर्णयका अगाडि मरिगए झुक्ने छैनौँ।”

मुद्दा थुत्न दबाब
अष्टभुजा पाठकलाई जनअदालतमा उभ्याई जिल्ला अदालतमा चलिरहेको उनका हजुरबुबा सम्बन्धी मुद्दा झिक्न भनिएको थियो। जिल्ला अदालतमा चलिरहेको सो मुद्दा विपक्षीले जनअदालतमा पनि दर्ता गरेकोले त्यसको छिनोफानो आफूहरूले गर्ने उनीहरूले बताएका थिए। त्यसैगरी पाल्पा जिल्ला अदालतमा चलिरहेको माना चामल सम्बन्धी मुद्दा जनअदालतमा पनि दर्ता गरिएपछि वादी कमला बिकलाई सो मुद्दा थुत्न भनियो। श्रीमानले हेला गरेकोले मानाचामल भराईपाउँ्क भनी उनले हालेको मुद्दाको फैसला हुन नपाउँदै जनअदालत पाल्पाले दुई हजार नगद र केही भाँडाकुडा बुझाउने शर्तमा श्रीमान विकास गाहासँग सम्बन्धबिच्छेद गराइदियो। जनअदालतको आदेश बमोजिम उनले १८ असारमा अदालतबाट मुद्दा फिर्ता लिइन्।

तर यसरी आउनेहरूमा खराब नियत हुनेहरू प्रशस्त भेटिन्छन्। तानसेन नगरपालिकाका गणेश बिकले विभिन्न ब्याङ्क र साहुहरूसँग ऋण लिई नतिरेकाले कर्जा असुली गर्न लाग्दा उनले साहुहरू विरुद्ध जिल्ला अदालत पाल्पामा मुद्दा दर्ता गरे तर उनी हारे। अहिले उनी २२ लाखसम्ममा मिलाइदिनु पर्‍यो भन्दै जनअदालतको शरणमा पुगेका छन्। उनको नाममा करीब एक करोड ऋण रहेको उनले जनअदालतमा दर्ता गराएको निवेदनमा उल्लेख छ।

पुनरावेदन अदालत बुटवलका रजिष्टार डिल्लीराज आचार्यका अनुसार अदालतहरूमा रहेको परम्परागत कार्यशैलीको जटिलताले मुद्दा छिनोफानो ढिलो हुनाले न्यायप्रणाली खर्चिलो छ। त्यसैले जनता जनअदालततर्फ आकर्षित भएका हुनसक्छन्। नेपाल अधिराज्यभरका न्यायालयमा दर्ता भएका मुद्दा सङ्ख्याले पनि यसको पुष्टि गर्छ। आ.व. ०५६/०५७ मा १ लाख ४२ हजार २७८ मुद्दा दर्ता थिए भने आ.व. ०६१/०६२ सम्म आइपुग्दा मुद्दा सङ्ख्या घटेर १ लाख ६ हजार ४०३ पुगेको छ। तैपनि छिटो न्याय सम्पादन भएको देखिँदैन। दुई वर्ष नाघेका मुद्दाहरूको सङ्ख्या मात्र कुल मुद्दाको १५ प्रतिशत रहेको छ। परम्परागत कानुन र परम्परागत कार्यशैली छिटो न्यायको प्रमुख बाधक बनेको छ, विद्युतीय सरकार र विद्युतीय न्यायपालिकाका लेखकद्वय डिल्लीराज आचार्य र शशिन्द्र खाती लेख्छन्, सूचनाप्रविधिको प्रयोगमा नेपालको न्यायपालिका धेरै पछि परेको छ।

कुटाइले मानसिक सन्तुलन गुम्यो

जनअदालतले रुपन्देही देवदह ७ घोडाहाका रामु मल्ललाई कार्वाही गरेपछि उनको मानसिक सन्तुलन बिग्रेको छ। उनी भैरहवास्थित मेडिकल कलेजमा उपचार गराइरहेका छन्।

बहुविवाह गरेको आरोपमा असार ७ गते माओवादीले घरैबाट अपहरण गरी तीन दिनसम्म नियन्त्रणमा राखेर लट्ठीले शरीरभरी पिटेको रामुले बताए। “जङ्गलको बीचमा लगेर शरीरका सबै ठाउँमा हाने, तीन दिनसम्म राखेर पत्रकारलाई खबर गरेमा मार्ने धम्कीसम्म दिए” उनले भने। कार्वाहीको समाचार एफएम र पत्रिकामा आए परिवारका सबैजनालाई मारिदिने धम्की दिएकाले आफ्नो पीडालाई लुकाएर राख्नुपरेको रामुकी आमा विष्णुकुमारीले रुँदै बताइन्। पत्रकारको एक टोली २६ असारमा अस्पताल पुग्दा उनी खाजा खाने बहानामा लुकेकी थिइन्।

मानसिक तथा स्नायु वार्डमा भर्ना गरिएको रामु घरमा जाने कुरा गर्नासाथ बेहोस हुन्छन्। घरमा जाने कुरा गर्दा बेहोस भएपछि उनलाई डाक्टरहरूले काठमाडौँ उपचारका लागि लैजाने सल्लाह दिएको तर पैसाको अभावले काठमाडाँै लैजान नसकेको आमा विष्णुले बताइन्। “म घरमा जान्नँ मलाई मार्छन्”, रामु एकोहोरो बर्बराइरहन्छन्।

रामुले ६ वर्षअघि नवलपरासीे हर्कटाकी बत्ती कुमारीसँग पहिलो विवाह गरेका थिए भने वैशाखको दोस्रो साता कान्छी बेहुली रुपन्देहीको नयाँगाउँबाट भित्र्याएका थिए। पहिली श्रीमतीलाई नेपालको कानुन अनुसार अंशबण्डा दिन सहमत हुँदाहुँदै माओवादीले एकोहोरो उजुरीका आधारमा कार्वाही गरेर आफूमाथि अन्याय गरेको रामुले बताए।

माओवादी नेतृत्व भने आफूहरूको जनअदालत नभएको र कोही कसैलाई लट्ठीले पिटेर कार्वाही गर्ने पार्टीको नीति नरहेको बताउँछ। माओवादीको नाममा गलत त्ात्वले काम गरेको हुनसक्ने बताउँदै रुपन्देही सेक्रेटरी माधव शर्मा भन्छन्, “कसले कुटेको हो, नाम दिनुपर्‍यो, हामी कार्वाही गर्दछौँ।” कुटाइ खाएका रामु मल्लले आफूलाई जसवन्तलगायतका माओवादीले पिटेको बताएका छन्।
जनअदालतका नाममा आफ्ना कार्यकर्ता माथि धमाधम कार्वाही गर्न थालेपछि यस्ता क्रियाकलाप रोक्न नेपाली काङ्ग्रेस रुपन्देहीले माओवादीलाई चेतावनी दिएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रुपन्देहीका अनुसार माओवादीको ज्यादती गाउँ तहमा बढ्दै गएपछि मर्चवार क्षेत्रबाट कार्यकर्ता विस्थापित हुने क्रम फेरि शुरु भएको छ। अहिलेसम्म नेपाली काङ्ग्रेस असुरैना गाविसका निवर्तमान उपाध्यक्ष राजकुमार सिंह, रायपुर गाविसका ज्ञानप्रसाद मिश्रलगायतका काङ्ग्रेस कार्यकर्ता भारततिर विस्थापित भइसकेका छन्।

मुकेश पोख्रेल,
भैरहवा