हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जीव परिचय | जुका

जुका जोगाउने जाँगर

पहाडी क्षेत्रका घाँस–दाउरे, गोठाला, भरिया र कतिपय किसानलाई चिन्ता लाग्छ– बर्खा लाग्यो, जुकाबाट कसरी बँच्ने? तर जुका विशेषज्ञहरूको चिन्ता अलग्गै छ– स्वास्थ्योपचारमा सहयोगी हुँदै गएको जुकाका विभिन्न प्रजातिहरूलाई लोप हुनबाट कसरी जोगाउने?


मीन बज्राचार्य

वर्षाद्सँगै पहाडी लेकमा वनजङ्गल, घाँसेमैदान, खोलाखोल्सा र खेतबारीमा जुका (लिच) को चलखेल शुरु भइसकेको छ। पहाडका गाउँ–बस्तीमा मेलापात, घाँसदाउरा जानेहरूका लागि नियमित दिनचर्याभित्रै पर्छ जुकासँगको भेटघाट। तर तिनै जुका शहरबजार, बेसी वा तराईवासीका निम्ति भने यदाकदा ठूलो आतङ्क बन्ने गर्छन्। रातबिहान वनजङ्गलमै धेरै बिताउने 'जङ्गली' दाजुभाइ–दिदीबहिनीहरू अर्थात् माओवादीका लागि जुकाको झम्टाइ झनै दिक्दारलाग्दो बन्दो हो! माओवादीको परिवर्तन स्मृति ब्रिगेडका छापामारहरूले लम्जुङका जङ्गलमा जुकाले दिएको हैरानी सम्झँदै जुकालाई 'अर्को शोषक' को संज्ञा नै दिएका छन् (हे. नेपाली टाइम्स, २३–३० जून)। ओसिला वनजङ्गलमा रूखबुट्यानबाट फुत्तफुत्त मान्छे तथा जनावरको शरीरमा झर्ने खरीजुकाको आतङ्क त झनै ठूलो हुन्छ।

यिनै जुकामा थुप्रै औषधीय गुण भएको कुरा धेरैलाई आश्चर्य लाग्न सक्छ। हिरूडो मेडिसिनालिस भनिने सानो जुका प्लास्टिक सर्जरीका निम्ति उपयोगी मानिन्छ। प्रायः सूक्ष्म शल्यक्रियामा प्रयोग हुने यस्तो जुका आँखा र कानको उपचारका अतिरिक्त औंला, कान प्रत्यारोपणमा समेत उपयोगी सावित भएका उदाहरणहरू छन्। जुकाको र्‍यालमा पाइने रगत जम्न नदिने तत्व (एण्टी–कोगुलेण्टस्) हृदयाघातको उपचारमा सहयोगी भएको समेत पुष्टि भइसकेको छ।

न्युयोर्क टाइम्स मा हालै प्रकाशित कार्ल जिमरको आलेखअनुसार जुकामाथि नयाँ अनुसन्धान र प्रयोगहरू हुन थालेका छन्। जिमरका अनुसार, अमेरिकन म्युजियम अफ न्याचुरल हिस्ट्री, न्युयोर्कमा कार्यरत अनुसन्धाता मार्क सिद्दलको कार्यकक्षमा पानी भरिएको एउटा बाल्टीभरि जुका नै जुका थिए। अचानक एउटा जुका विभिन्न आकार बनाउँदै उफ्रिन थाल्यो। डा. सिद्दलले भने, “अनौठो आनीबानी छ यसको। ह्वेल र सिल जस्तै ठाडै पौडिन सक्ने तेस्रो प्राणी हो जुका।”

डा. सिद्दल जुकाहरूको यो सङ्ग्रहमाथि गर्व गर्छन्। उनको कार्यकक्षका भित्तैभरि जुकाका विशालकाय तस्बिरहरू छन्। प्रयोगशालासमेत जुकैजुकाले भरिएका ठूल्ठूला भाँडाहरू छन्। ती जुका उनले संसारका केही जोखिमपूर्ण ठाउँहरूबाट सङ्कलन गरेका हुन्। अहिले त्यो जोखिमलाई उनी आफ्नो उपलव्धि ठान्छन्। त्यसकै आधारमा उनी जुकाको विकासक्रम लेख्ने विशेषज्ञ भइसकेका छन्। हजारौँ वर्षअघिको एउटा सामान्य कीरा कसरी रक्तपिपासु/रक्तशोषक बन्यो भन्ने विषयमा उनी प्रवचन दिन सक्छन्।

क्यानडामा बाल्यकाल बिताउँदा सिद्दल पहिलोपल्ट जुकाको शिकार बनेका थिए। जङ्गलको एउटा पोखरीमा पौडिदापौडिदै उनलाई जुका लाग्यो। पछि, टोरन्टो विश्वविद्यालयमा पढ्न थालेपछि उनलाई जुकाको जैविक संरचनाले लोभ्याउन थाल्यो। जुकाले भ्यागुता र माछामा परजीवी सार्ने तरिका बारेको अनुसन्धान जुका–अध्येताका रूपमा उनको पहिलो काम थियो। “त्यतिखेर पारिवारिक कुराकानीमा जुकाको नाम समेत लिन गाह्रो थियोे”, डा. सिद्दल भन्छन्, “अझ डिनरमा त जुकाको कल्पना समेत गर्न सकिन्नथ्यो।” यस्तै अप्ठ्याराहरूबीच सन् १९९९ मा न्युयोर्क म्युजियममा काम शुरु गरेका

डा. सिद्दलको अहिलेको मूल कार्यक्षेत्र बनेको छ– जुकाको विकासक्रममाथि अनुसन्धान। यो विकासक्रमलाई रेखाचित्रमा उतार्न डा. सिद्दलले जुकाको वंशवृक्षका मुख्य–मुख्य हाँगाबाट जात–जातका जुका सङ्कलन गरेका छन्। त्यसका लागि उनले दक्षिण अफ्रिका, म्याडागास्कर, फ्रेञ्च गुयना, बोलिभिया, चिले, अर्जेन्टिना जस्ता धेरै ठाउँको यात्रा गरे, जहाँ खोज टोलीका लागि जुत्ता खोलेर प्यान्ट सुर्कदै पानीमा हेलिनुको विकल्प थिएन। उनी भन्छन्, “किनकि जुकालाई कुनै धरापमा पार्न सकिन्नथ्यो, हामी आफैँ नै बल्छीका रूपमा प्रस्तुत हुनुपर्थ्यो।”

डा. सिद्दलको अनुसन्धानले देखाएअनुसार, जुकाका पुर्खाहरू संभवतः पानी गड्यौला जस्ता कीरा थिए। तिनीहरू माछा तथा अन्य जलचरसँगै हुर्कन्थे। बिस्तारै तिनमा रगत चुस्न मिल्ने थुतुनो र शिकारको छाला छेड्न सक्ने मसिना दाँतको विकास भयो। त्यसरी चुसेको रगत जम्न नदिने रसायनसँगै शरीरभित्रको ताप रोक्ने सूक्ष्म कणहरूको समेत विकास हुँदै गयो। फर्मास्युटिकल कम्पनीहरूले यस्तै केही 'मोलेक्युल' पत्ता लगाएर तिनलाई 'एण्टी कोगुलेटस' औषधिका रूपमा बेचबिखन गरिरहेका छन्।

 

डा. सिद्दलले पत्ता लगाएको एउटा रोचक कुरा हो– प्राचीन रोमका चिकित्सकहरू जुकालाई टाउकोदुखाइ तथा मोटाइको उपचारका निम्ति प्रयोग गर्थे र दुई हजार वर्षसम्म त्यो परम्परा कायमै रह्यो। त्यतिखेर फिजिसियन आफैँले विरामीको रगत निकाल्दैनथे, जुकाबाटै त्यो काम गराइन्थ्यो। हातका औंला तथा कान प्रत्यारोपणमा जुकाको सहयोग लिएमा त्यो काम छिटोछरितो हुने तथ्यसमेत चिकित्सकहरूले पत्ता लगाए। उनीहरूका अनुसार जुकाले पुनः जडित रक्तनलीमा रक्तसञ्चार बढाउँछ।

कतिपयलाई जुका–संरक्षणको अवधारणा अनौठो लाग्न सक्छ। तर, जुकाले चिकित्सा विज्ञानमा धेरै खालका आश्चर्य भित्र्याएको डा. सिद्दलको निष्कर्ष छ। नयाँ प्रजातिका जुकाले थप आश्चर्य भित्र्याउने कुरामा विश्वस्त डा. सिद्दलको आग्रह छ, “जुकाबिनाको संसार अँध्यारो, चिसो हुँदैन र?”

एकपल्टको चुसाइले वर्ष दिन!
अवलोकनकर्ताहरूलाई जुकाको हिँडाइ नै सबैभन्दा आकर्षक लाग्न सक्छ। यो तनक्क तन्किन्छ, बाङ्गिन्छ र हत्केलाको बित्ताले केही नापेझैँ खुम्चिँदै, फैलिँदै अगाडि बढ्छ। नियालेर हेरेमा जुकाको शरीरमा ३३ वटा बाह्य खण्ड देख्न सकिन्छ। शरीरको दुवै छेउ च्याप्प टाँसिने खालको ओसिलो हुन्छ। मुखचाहिँ अघिल्लो भागमा हुन्छ र त्यहीँ हुन्छन् रगत चुस्नुअघि छाला छेड्न प्रयोग हुने स–साना दाँत। एकचोटि चुसेको रगत उसलाई वर्षदिनसम्म पर्याप्त हुन्छ। कारण हो, यसको पचाउने प्रक्रिया अत्यन्तै लामो हुनु। जुकाले निलेको रगत पच्न १२–१५ महिनासम्म लाग्न सक्छ। जुकाको शरीरभित्रका र्‍याल ग्रन्थीले रगतलाई जम्न दिँदैनन्। प्रायः ३०–३५ सेमी लामा हुने 'ल्याण्ड लिच' का पाँच जोडी आँखा हुन्छन्। प्रजननका निम्ति भाले र पोथी जुका सर्पझैँ आपसमा लठारिन्छन्। वर्षायाममा सक्रिय हुने जुका आफ्नो आकार लुकाएर महिनौँसम्म सुषुप्तावस्था (हाइबरनेशन) मा बस्न सक्छ।