जनता
दुंगाको काप फोरेर पनि उम्रन्छ पीपल'

किरण पाण्डे |
सरकारले एसएलसी–नतिजामा
'बोर्ड' प्रथा खारेज नगरेको भए संभवतः अहिले उनी राष्ट्रिय चर्चामा
हुने थिइन्। तर, ८०० पूर्णाङ्कको परीक्षामा ७३९ नम्बर ल्याउँदा पनि
नेपथ्यमै छिन् अञ्जना राजवंशी, न उनले पढेको नमूना अङ्ग्रेजी माध्यमिक
विद्यालयकै चर्चा छ। दक्षिण–पश्चिमी झापाको जुरोपानी–६ पुरानो ग्वालढुवाको
मधेशी बस्तीकी १७ वर्षीया यी किशोरीले भर्खरै प्रकाशित एसएलसीको नतिजामा
राजधानी र जिल्ला सदरमुकामहरूका 'मै हुँ' भन्ने स्कूल र तिनका विद्यार्थीहरूलाई
आश्चर्यचकित पार्दै लोभलाग्दो अङ्क (९२.३८ प्रतिशत) ल्याएकी छन्। र,
१२ जना विद्यार्थीले एसएलसी दिएको नमूना मावि जुरोपानीबाट उनीसहित
दुई जनाले विशिष्ट श्रेणी र बाँकी सबैले प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण
गरेका छन्।
'बोर्ड' प्रथा हटाउने शिक्षा मन्त्रालयको निर्णयको 'शिकार'
अञ्जना भन्छिन्, “अहिले पनि म कुन पोजिसनमा छु, थाहा छैन। तर मेहनतअनुसार
परिणाम आएकोमा खुशी छु, यथार्थ धेरै दिन नलुक्ला,” उनका यस्तै भनाइले
समेत देखाउँछन् उनको संयम, सन्तुष्टि र शालीनता।
अबको योजना के छ? शिक्षकद्वय पहाडसिंह र गौशरी राजवंशीकी
छोरी अञ्जना भन्छिन्, “म त गाउँकी केटी, मेरो कुनै ठूलो सपना छैन।
साइन्स, त्यसमा पनि 'वायलोजी' पढ्ने विचार छ। एक योग्य मानिस बन्न
पाए पुग्छ मलाई।” छोरीको प्रगतिमा दङ्ग देखिने पहाडसिंहले धेरै बोल्न
सकेनन्। उनले यति मात्रै भने, “म चकित छु।”
बाँसको टाटीलाई मुश्किलले पानी छल्ने टिनले छाएको धुले
स्कूल (हे. सँगैको तस्बिर) मा पढेकी, गाउँले परिवारकी छोरीले यो सफलता
पाउनुका पछाडिको खास कारण के हो? शिक्षक आमाबाबुबाट पाएको निरन्तर
प्रोत्साहनप्रति कृतज्ञ हुँदै अञ्जना भन्छिन्, “यस्तो सफलता जसले पनि
पाउन सक्छ, मात्रै चाहिन्छ उचित वातावरण।” प्राप्ताङ्कको कीर्तिमानमा
पूर्वी तराईको राजवंशी समुदायकै शिर ठाडो बनाउने यी किशोरीले सावित
गरेको अर्को तथ्य के हो भने– प्रतिभा र प्रतिबद्धतालाई जातीय पछौटेपन
र भौतिक अभावले समेत छेक्दो रहेनछ। अञ्जनाको स्कूल, त्यहाँको परिवेश
देखेपछि कवि माधव घिमिरेको यो उक्ति दोहोर्याउन मन लाग्छ, “ढुङ्गाको
काप फोरेर पनि उम्रन्छ पीपल।”
| अञ्जनाको लब्धाङ्क
|
| अङ्ग्रेजी |
९२ |
| नेपाली |
८७ |
| गणित |
९६ |
| ऐच्छिक गणित |
९३ |
| जनसङ्ख्या |
९२ |
| सामाजिक |
९० |
| लेखा |
९३ |
| विज्ञान |
९६ |
| जम्मा |
(९२.३८%) ७३९ |
|