हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

गाइडबुक बन्यो हिमाल

विद्यार्थी भित्र्याउने नाममा कलेजहरूबीच भइरहेको अस्वस्थ प्रतिस्पर्द्धालाई औँल्याउँदै उपयुक्त सुझाव दिने हिमाल को प्रयास 'खोजी राम्रो +२ को' (विशेष रिपोर्ट, १६–३२ असार) स्वागतयोग्य छ।

हाम्रो अनुभवमा कुन कलेज राम्रो, कुन विषय पढ्दा भविष्य निर्माण गर्न सकिन्छ जस्ता कुरा बुझ्ने प्रथम दायित्व विद्यार्थी र अभिभावककै हो। तिनलाई 'गाइडबुक' ठान्न सकिने हिमाल को सामग्रीले मद्दत गर्छ। तर, यस्ता विषयलाई मौसमी सामग्री मात्रै बनाइनु हुन्न भन्ने हाम्रो आग्रह छ। शिक्षासम्बन्धी नियमित स्तम्भ शुरु गरे हुँदैन र?

रजनी, सरोजिनी भारती
क्यास्पियन भ्याली कलेज, ललितपुर
कविता शर्मा
बनेपा–१०, काभ्रे


लोकतन्त्रको पक्षमा

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कनक दीक्षितले लेख्नुभएको खुलापत्र (उकालो लाग्दो, १६–३२ असार) मा उहाँले सम्पूर्ण नेपालीको चाहना बनेका शान्ति, बहुलवाद र लोकतन्त्रका पक्षमा उठाउनुभएका तर्कहरू स्वागतयोग्य छन्।

जनताका भावना र आकाङ्क्षालाई माओवादी र अन्य राजनीतिक शक्तिहरूले बुझ्न सकेनन् भने एक्काइसौँ शताव्दीका सचेत जनताले उनीहरूको साथ दिने छैनन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ।

विपिन खत्री
पृथ्वीनारायण–६, बराह, गोरखा


इर्ष्यायुक्त दृष्टिकोण

कनक दीक्षितले आफ्नो स्तम्भमार्फत् नागरिक समाजका अगुवाहरूलाई असफल राजनीतिज्ञ भनी लाञ्छना लगाउनु भएको रहेछ। उहाँसँग सोध्न मन लागेको छ– राजनीतिमा असफल भनेको के हो? के बद्री मण्डलको राजनीति सफल हो? अथवा टङ्क ढकाल वा नारायणसिंह पुनको? किनभने यिनीहरूले नै उहाँलाई थुन्ने, बाहिर जान नदिने काम गरेका थिए र टङ्क ढकालबाहेक अरू संसदीय निर्वाचनमा विजयी भएर आएकै हुन्। संभवतः दीक्षितको इशारा पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, मथुराप्रसाद श्रेष्ठप्रति हुनुपर्छ। संसदीय निर्वाचनमा खसेको मतलाई मात्र आधार नमान्ने हो भने किटानीका साथ भन्न सकिन्छ– यहाँ उल्लिखित पात्रहरूभन्दा कैयौँ गुणा बढी सम्मान र आदर पद्मरत्नहरूप्रति रहेको छ।

नेकपा माओवादीले सार्वजनिक रूपमा घोषणा गरेको कुरा के हो भने अब जतिसुकै ठूला दोरम्बाहरू घटाइए पनि माओवादी शान्तिवार्ताबाट पछि हट्ने छैन। तर हामीले अहिले पनि सुनिरहेका छौँ– देशका विभिन्न भागहरूमा सेनाद्वारा पोषित व्यक्तिहरूले माओवादी कार्यकर्ताहरूको निर्मम हत्या गरिरहेका छन्। तर, दीक्षितको कलमले यो उल्लेख गर्ने साहस देखाएन। सात राजनीतिक दलका राजनीतिक एवम् आर्थिक अपराधहरूका विषयमा पनि उहाँले बोल्नुभएको छैन। उहाँको सिङ्गो प्रस्तुति इर्ष्या र डाहले भरिएको छ।

दिनेश रायमाझी,
जापान


सांस्कृतिक रुपान्तरण

'दलितका घरमा बाहुनका बाजा' (देश/समाचार, १६–३२ असार) प्रेरणादायी लाग्यो। नेपाली समाजमा जातीय छुवाछूत जस्तो अमानवीय व्यवहार कायमै छ। पेशाका आधारमा विभाजित नेपाली समाजमा कुनै पनि पेशा जीविकोपार्जनसँग गाँसिएको कुरा नकार्न सकिन्न। जब मान्छे आफ्नो पेशाबाट विस्थापित हुँदै जान्छ, तब विकल्पहरूको खोजी हुन थाल्छ। अनि समाज सांस्कृतिक रुपान्तरणको बाटो लिएर अघि बढ्दछ। समाजमा विद्यमान सांस्कृतिक विभेदहरूको अन्त्य हुँदै जान्छ।

शुभ प्रभात सांस्कृतिक परिवारका मित्रहरू! दलितसँगै विभेदमा परेका नौमती बाजा बजाएर बाजालाई सम्मान दिनुभएकोमा तपाईँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। र, आगामी दिनमा दलितलाई त्यही गाउँमा होटल खोल्ने, गाइबस्तु पालेर त्यही गाउँठाउँका होटलमा दूध बेच्ने जस्ता पेशा अपनाउन मद्दत पुर्‍याइदिनुहोला। त्यसो हुन सकेन भने आफ्नो पुर्ख्यौली पेशाबाट विस्थापित हुँदै गएका दलितमाथिको एउटा अर्को सङ्गठित शोषण मात्र बन्न सक्छ तपाईँहरूको अभियान।

कर्ण नेपाली (भित्रिकोटी)
त्रिचन्द्र क्याम्पस, काठमाडौँ


'तर्क, निष्कर्ष दुवै चित्त बुझेन

'मधेशका नाममा साम्प्रदायिक हिंसा' (स्थलगत रिपोर्ट, १–१५ जेठ) र त्यसको प्रतिक्रियास्वरुप १६–३१ जेठको हिमाल मा प्रकाशित दुई चिठीहरू समेत पढेँ।

जनतान्त्रिक मुक्ति मोर्चाको केन्द्रीय समितिको पूर्ण बैठकमा परिवर्तित परिस्थितिमा मोर्चाको राजनीतिक, फौजी, साङ्गठनिक र सङ्घर्षसम्बन्धी योजनाबारे गम्भीर बहस, छलफल चलिरहेकै बेला हिमाल प्रतिनिधि शिव गाउँलेले मलाई भेट्ने प्रयास गरेको सत्य हो। हामीले बैठक सम्पन्न गरी समय दिन खोज्दा उहाँले पर्खने धैर्य देखाउनुभएन। उहाँले भन्नुभयो, “मलाई आजै काठमाडौँ पुग्नुछ। तीन–चार दिनपछि म अवश्य आउनेछु। तपाईँसँग कुरा गरेर नै केही लेख्नेछु।” तर उहाँले काठमाडौँ पुगेर आफ्नो वाचाविपरीत दुराशयपूर्ण, भ्रामक रिपोर्ट प्रकाशन गराएपछि हाम्रो ध्यान आकर्षित भएको हो। त्यसैले त्यसको सार्वजनिक रूपले खण्डन गर्नु आवश्यक भयो।

हिमाल प्रतिनिधिले आफ्नो रिपोर्टमा सङ्केत गर्नुभएझैँ मुक्ति मोर्चाको ७ मङ्सिर २०६२ को अपील र १८ वैशाख २०६३ को प्रेस विज्ञप्तिमा 'पहाडे' शब्द कतै उल्लेख छैन। तर, उहाँले आफ्नो रिपोर्टमा 'पहाडे' र 'मधेशी' शब्द प्रयोग गरेर साम्प्रदायिक विद्वेष सिर्जना गर्न खोज्नुभएको हामीले अनुभव गर्‍यौँ। माओवादी कार्यकर्ता इन्द्रदेव साफी र कमलेश यादवका सम्बन्धमा उहाँले उल्लेख गर्नुभएको छ। तर, तराई मुक्ति मोर्चाका पोलिटव्युरो सदस्य तथा तराई मुक्ति सेना प्रमुख विनयकुमार मेहता (सुरज) को नृशंस हत्या माओवादीले गरेको थाहा पाएर पनि उहाँले केही लेख्नुभएन। तराई मुक्ति सेनाले पक्राउ गरेका केही घटनालाई अपहरणको संज्ञा दिइएको कुरा पनि आग्रहप्रेरित छ।

वेदानन्द झादेखि गजेन्द्रनारायण सिंहसम्मले सिंहदरबारदेखि राजदरबारसम्म आफ्नो पहुँच र प्रभाव विस्तार गर्न विगतमा मधेश र मधेशी कार्डको प्रयोग गरे। राजनीति र शक्तिका दृष्टिले पदको उपल्लो तहमा पुगेका जयप्रकाश गुप्तादेखि माओवादी नेतृत्वमा पुगेर पनि मधेशी जन अधिकार फोरममा लागेका उपेन्द्र यादव अहिले मधेशको हितलाई प्रमुख राजनीतिक नारा बनाउन अघि सरेको कुरा हिमाल को रिपोर्टमा उल्लेख छ। तर मधेश र मधेशसँगको भेदभाव, शोषण र उत्पीडनविरुद्ध 'मधेशी मुक्ति आन्दोलन' र पछि 'मधेशी जनक्रान्तिकारी दल' निर्माण गरेर आजीवन सङ्घर्ष गर्दै प्राणाहुति दिने रघुनाथ ठाकुरका सम्बन्धमा कुनै उल्लेख भएन। तराई मुक्ति मोर्चाको झण्डामुनि सङ्घर्ष गर्दै शहादत प्राप्त गर्ने रामजी मिश्र, मोर्चाका अध्यक्ष रघुनाथ राय यादव, अर्का अध्यक्ष सत्यदेवमणि त्रिपाठी पनि हिमाल को रिपोर्टमा परेनन्।

हिमाल लाई पुनः अवगत गराउन चाहन्छु, जयकृष्ण गोइत पहाडेविरोधी गतिविधि गरेर मधेशमा जबर्जस्ती उदाउन खोजिरहेको नयाँ पात्र होइन, नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डद्वारा उद्घाटित 'मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल' को संस्थापक अध्यक्ष रहिसकेको पुरानै पात्र हो। गलत तर्क गरेर गलत निष्कर्ष निकाल्ने प्रयासले पत्रकारितालाई नै घाटा पुर्‍याउँदैन र?

जयकृष्ण गोइत
संयोजक, जनतान्त्रिक तराई मुक्ति मोर्चा