हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

आ.व.२०६३/०६४ को बजेट
चाउचाउ र बियर उद्यमी असन्तुष्ट

तयारी चाउचाउ, म्याकरोनी, पास्ता आदि खाद्यपदार्थमा अन्तःशुल्क लगाउने आव २०६३/०६४ को बजेट–प्रस्तावको सम्बद्ध उद्यमी–व्यापारीहरूले विरोध गरेका छन्। चाउचाउ उद्यमीहरूको संघले आफ्नो विरोध वक्तव्यमा भनेको छ, “सरकारको यस प्रावधानले नेपालको चाउचाउ उद्योगमा प्रतिकूल प्रभाव पर्छ र आम नेपाली जनतामा अतिरिक्त भार पर्ने निश्चित छ।” यी वस्तुहरूमा प्रतिकेजी रु.१० का दरले अन्तःशुल्क लगाउने प्रस्ताव गरिएको छ। यसअनुसार, प्रति प्याकेट चाउचाउको मूल्य कम्तीमा रु. १ ले बढ्न सक्छ।

यसैगरी बियर उत्पादकहरूले पनि मदिरा र मदिराजन्य उत्पादनमा गरिएको अन्तःशुल्क वृद्धि असमान रहेको भनी असन्तुष्टि जनाएका छन्। नेपालको अग्रणी बियर उत्पादक गोर्खा ब्रुअरीका तर्फबाट सञ्चालक राजेन्द्रकुमार खेतानले बियर तथा मदिराजस्ता वस्तुमा अल्कोहोलको परिमाण अनुरुप अन्तःशुल्क लाग्ने सर्वमान्य सिद्धान्त विपरीत कम अल्कोहोल भएको बियरमा बढी र बढी अल्कोहोल भएको मदिरामा कम अन्तःशुल्क लगाइनु सामाजिक न्याय विपरीत भएको बताएका छन्। खेतानले अर्थमन्त्रीलाई पठाएको पत्रमा भनेका छन्, “यो परिवर्तनले वार्षिक रु.१ अर्बभन्दा बढी राजस्व तिर्ने, बियर उद्योग र त्यसको बजारीकरणमा प्रतिकूल असर पार्नेछ।”


रु.५२ हजारमा ल्यापटप

नेपालका लागि अमेरिकी ब्राण्ड एचपी कम्प्याक को अधिकृत बिक्रेता साइवरनेटिक्स् प्रालिले उक्त ब्राण्डका ल्यापटप कम्प्युटरहरूको बिक्री वितरण शुरु गरेको छ। १.५ गिगाहर्ज इन्टेल सेलेरोन मोबाइल प्रोसेसर, २५६ एमबी र्‍याम र ४० गिगाबाइटको हार्डडिस्कसहितको न्यूनतम कन्पि्कगुरेशनमा उपलब्ध सबैभन्दा सस्तो ल्यापटपको रु.५२,००० पर्छ।


होण्डाको साइन

नेपालका लागि होण्डा मोटरसाइकलको अधिकृत वितरक स्याकार कम्पनीले १०.३ बीएचपी शक्तिसहित १२५ सीसी इन्जिन क्षमताको होण्डा साइन को बिक्री प्रारम्भ गरेको छ। पञ्चर प्रतिरोधक ट्युब, जुनसुकै गियरमा पनि स्टार्ट हुने, ह्याण्डलबारमा चोक लिभर र 'पास लाइट' स्विच जडित उक्त मोटरसाइकल बढी सुरक्षित रहेको कम्पनीको दाबी छ। विभिन्न पाँच रंगमा उपलब्ध होण्डा साइन को मूल्य रु.१,११,९०० तोकिएको छ।



भोग जीन सार्वजनिक

हाइल्याण्ड डिस्टिलरी प्रा.लि.ले भोग नामक ड्राई जीन बजारमा ल्याएको छ। कम्पनीले उक्त जीनको स्वाद विश्वमा र्वाधिक बिक्री हुने जीन विफिटर सँग मिल्दोजुल्दो भएको दाबी गरेको छ। १८०, ३७५ र ७५० एमएल बोतलमा उपलब्ध भोग को मूल्य क्रमशः रु.१०५, २०७ र ४१२ राखिएको छ।


युनिलिभर प्रतियोगिता परिणाम

युनिलिभर नेपाल लि.को 'क्लोज अप गेट क्लोजर कन्टेस्ट' प्रतियोगितामा राजेश थापा र अन्जु चौलागाईको जोडीसर्वोत्कृष्ट घोषित भएको छ। तिनले पुरस्कारबापत ब्याङ्कक भ्रमण र नगद रु.२५,००० वा एकमुष्ट रु.५०,००० प्राप्त गर्ने छन्। यसैगरी युनिलिभरकै अर्को कार्यक्रम 'पेप्सोडेन्ट ह्याटि्रक कन्टेस्ट' मा विश्वकप फूटबलको सही विजयी पूर्वानुमान गरेबापत दीपक दाहालले रु.१ लाख जितेका छन्।


४० जिल्लामा बीओके मनी ट्रान्सफर

'कमाई तपाईँको माध्यम हाम्रो' नाराका साथ ब्याङ्क अफ काठमाडौँले बीओके मनी ट्रान्सफर सर्भिस मार्फत् नेपालका ४० जिल्लामा रकम स्थानान्तरण सेवा शुरु गरेको छ। रेमिट्यान्स प्रक्रियालाई चुस्त गराउने लक्ष्यका साथ शुरु गरिएको उक्त सुविधा हाल ३० वित्तीय संस्था र एजेन्टसँगको समन्वयमा थालनी गरिएको जानकारी ब्याङ्कले दिएको छ। यो सेवा प्राप्त गर्न ब्याङ्कमा खाता खोल्नु नपर्ने र रकम प्राप्त गर्नेले ब्याङ्कलाई थप शुल्क पनि तिर्नु नपर्ने जनाइएको छ।


नयाँ नेपाली टीभी

'सीजी टीभी आफ्नै टीभी' भन्दै चौधरी समूहले नेपालमै एसेम्बल्ड नयाँ ब्राण्डको टेलिभिजन बजारमा ल्याएको छ। १४ इन्चमा राउण्ड र २१ इन्चका राउण्ड र फ्ल्याट गरी तीन मोडलमा उपलब्ध उक्त टीभीको मूल्य रु.८ हजारदेखि रु.१५ हजार तोकिएको छ। जापानी प्रविधिअनुरुप निर्माण गरिएको सीजी टीभी मा चार वर्षको वारेण्टी रहेको जानकारी कम्पनीले दिएको छ।


बजाजको नयाँ वर्कशप

बजाज मोटरसाइकलका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौँको डिल्लीबजारमानयाँ सर्भिस सेन्टर स्थापना गरेको छ। दैनिक ३०० मोटरसाइकल मर्मतसम्भार गर्नसक्ने क्षमता रहेको उक्त वर्कशपमा ८० जना प्राविधिज्ञ रहेको जानकारी कम्पनीले दिएको छ।


३०० प्रतिशतले बिक्री वृद्धि

'नोमार्क' आयुर्वेदिक क्रिमको उत्पादक ओजोन आयुर्वेदले वितेको वर्ष नेपालमा आफ्ना उत्पादनको बिक्री ३०० प्रतिशतले बढेको दाबी गरेको छ। ३० देशका २० हजार आउटलेटमार्फत् आफ्नो उत्पादन ग्राहकसमक्ष पुर्‍याउँदै आएको जानकारी दिँदै उक्त भारतीय कम्पनीले आफ्ना उत्पादनहरू पूर्ण प्राकृतिक र हानिरहित रहेको दाबी दोहोर्‍याएको छ।