टिप्पणी
सलाम अन्नान!
कोफी अन्नानको व्यक्तिगत अभिरुचि नहुँदो हो
त प्रधानमन्त्री कोइराला तथा माओवादी अध्यक्ष दाहालले नयाँदिल्लीबाट
शुरु गरेको शान्तियात्रा सिंहदरबार नपुग्दै तुहिने सम्भावना प्रबल
थियो।
•
सीके लाल
दक्षिण एसियाली
राष्ट्रहरूको भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान
३० फागुन २०५७ मा काठमाडौँ आइपुग्दा माओवादीहरूको हिंस्रक विप्लव उत्कर्षमा
रहेको भए तापनि नेपालको राज्यव्यवस्था तहसनहस भने भइसकेको थिएन। आफ्नो
२४ घण्टे भ्रमणको क्रममा उनले राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद
कोइराला तथा तत्कालीन परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलालगायत विभिन्न
महवपूर्ण व्यक्तिहरूसँग भेटघाट गरे। र, नेपालको आन्तरिक द्वन्द्वका
बारेमा गहिरो अभिरुचि दर्शाउँदै फर्किए। त्यसबखत उनले हासिल गरेको
परिज्ञान (इनसाइट) का कारण नेपालको आन्तरिक द्वन्द्व निरुपणमा संयुक्त
राष्ट्रसंघले महवपूर्ण भूमिका पाएको छ।
महासचिव अन्नान आफ्नो दोस्रो कार्यकाल पूरा गरेर १६
पुस २०६३ मा संयुक्त राष्ट्रसंघबाट अवकाश पाउँदै छन्। उनको ठाउँ अब
अमेरिकी समर्थक दक्षिण कोरियाका दक्षिणपन्थी राजनीतिकर्मी वान कि मूनले
लिँदैछन्। माओवादीहरूप्रति अति नै असहिष्णु मानिने मूनको नेपालमा जारी
शान्ति प्रक्रियाबारे कस्तो रवैया देखिने हो भन्ने हेर्न बाँकी नै
छ। तर, नेपालको द्वन्द्व निरुपणमा कोफी अन्नानले लिएको व्यक्तिगत अभिरुचि
उपलब्ध नहुँदो हो त प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा माओवादी
अध्यक्ष पुष्पकमल दाहालले नयाँदिल्लीबाट शुरु गरेको शान्तियात्रा सिंहदरबार
नपुग्दै तुहिने सम्भावना प्रबल थियो। अमेरिकी कूटनीति, भारतीय संस्थापन
तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको माओवादीप्रतिको पूर्वाग्रहलाई
चिर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउन महासचिव अन्नानका विशेष दूत
सैमुअल ताम्राट तथा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका तत्कालीन
नेपालस्थित उच्चायुक्त (हाल महासचिवका आवासीय विशेष दूत) इयान मार्टिनले
गरेको प्रयासलाई कम आकलन गर्नु कृतघ्नता ठहरिने छ। अन्नानको अन्तर्राष्ट्रिय
छवि जति नै विवादास्पद रहेको भएता पनि नेपालमा निरङ्कुशताको अन्त्य
तथा लोकतन्त्रको आरम्भका लागि वातावरण बनाउन महासचिव अन्नानले खेलेको
भूमिका भने मुक्तकण्ठले प्रशंसा गर्न लायक छ।
महासचिव अन्नानले नेपाल भ्रमण गर्दासम्म नेपालको सार्वजनिक
जीवनमा नारायणहिटी हत्याकाण्डको महाभूकम्प गएको थिएन। ११ सेप्टेम्बरको
त्रासदीले दक्षिण–पश्चिम एसियाको भूराजनीतिमा हलचल ल्याउन बाँकी नै
थियो। तैपनि अन्नानले नेपालका बारेमा अभिरुचि दर्शाई नै रहे। नेपालमा
प्रतिनिधिसभाको षड्यन्त्रमूलक विघटन, सङ्कटकालको निरन्तरता र राजा
ज्ञानेन्द्रको १८ असोजको शाही अधिक्रान्ति पछि त उनको कार्यालयले सोझ्ै
नेपालबारे वक्तव्यसमेत जारी गर्न शुरु गर्यो। त्यसैले गर्दा हिमाल
को 'विदेशी चलखेल' बारेको आवरण कथामा महवपूर्ण राजदूतहरूका साथ उनी
स्वयं मुखपृष्ठको विषयवस्तु बने (हे. हिमाल खबरपत्रिका, १६–३० पुस
२०६०)।
 |
त्यो आवरण चित्र त्यसताका दरबारियाहरूले अर्थ्याए जस्तो
महासचिवको अवमूल्यन नभएर उनको भूमिकाको सम्मानको रूपमा डिजाइन गरिएको
थियो। तर दरबार नजिकका 'बुद्धिजीवी' तथा पत्रकारहरूले महासचिव अन्नानको
अभिरुचिलाई कहिल्यै रुचाएनन्। महासचिव अन्नानले औपचारिक भेट पनि नदिने
भेउ पाएर राजा ज्ञानेन्द्रको प्रस्तावित संयुक्त राष्ट्रसंघ भ्रमण
तत्काल रद्द गर्नुपर्ने स्थिति उत्पन्न भएपछि त एकथरी दरबारियाहरू
रिसले आगो भएर अमेरिकीहरूको स्वरमा स्वर मिलाउँदै अन्नानका विरुद्ध
विषवमन गर्दै हिँड्न समेत थालेका थिए। तीमध्ये केहीले त अहिले घोर
अनुदारवादी मूनको चाकरीमा लेख छपाउनसमेत शुरु गरिसकेका छन्। तर बिर्सन
नहुने कुरा के हो भने कोफी अन्नानका कतिपय 'असफलताहरू' संयुक्त राष्ट्रसंघका
अन्तरनिहित संरचनागत कमजोरीहरूले गर्दा उत्पन्न भएका हुन्। त्यसैले
होला, उनले आफ्नो कार्यकालको अन्तिम समयसम्म राष्ट्रसंघको संरचनागत
सुधारका बारेमा आवाज उठाई नै रहे।
महासचिवको पद संयुक्त राष्ट्रसंघ संरचनामा उपल्लो जस्तो
देखिए पनि त्यस विश्व संस्थाको सम्पूर्ण शक्ति विशेषाधिकार प्राप्त
सुरक्षापरिषद्का पाँच स्थायी सदस्य राष्ट्रमा सीमित छ। आधा शताब्दीको
अमेरिका बसाइ र झ्ण्डै चार दशकको संयुक्त राष्ट्रसंघको संलग्नताका
कारण महासचिव अन्नानले उल्लेख्य नैतिक अधिकार र संचार उपस्थिति (मिडिया
पे्रजेन्स) भेट्टाएकाले मात्र उनलाई सोझ्ै अवहेलना गर्न 'ठूला पाँच'
समूहलाई गाह्रो परेको हो। नभए उनको आग्रहलाई तिरस्कार गर्दै सुरक्षापरिषदले
नेपालको मुद्दालाई मुल्तवीमा राख्ने जोखिम देखेर नै माओवादीहरू अत्तालिएर
पूर्व गोरखा सैनिकको सहयोगमा भए पनि हतियार व्यवस्थापन गर्न हतारिएका
हुन्। अझ्ै पनि अमेरिकीहरूको सम्भाव्य आतङ्कवादी सूचीमा रहेका माओवादीहरूप्रति
नयाँ महासचिव मूनको रवैया सकारात्मक बन्न समय लाग्नेछ। तर त्यतिबेलासम्मका
लागि महासचिव अन्नानले खडा गर्न भ्याएको संयुक्त राष्ट्रसंघीय सहयोग
संरचनाले भने नेपालको शान्ति प्रक्रियालाई सघाइरहने विश्वास लिन सकिन्छ।
शुरुशुरुमा जति नै विरोध गरे पनि अहिले संयुक्त राष्ट्रसंघको
उपस्थितिले नेपाली सेनाका प्रभावशाली अधिकृतहरूलाई समेत आश्वस्त बनाएको
भान पर्छ। “अन्तर्राष्ट्रिय समुदायको उपस्थितिमा दक्षिणका छिमेकीले
सजिलै चलखेल गर्न पाउने छैनन्” भन्छन् एक उच्च दरबारिया। झ्ण्डै त्यस्तै
प्रतिक्रिया एक माओवादी नेताको पनि छ, तर भिन्दै मनसायकोः “शान्ति
सेनामा जान लालायित नेपाली सेनाका अधिकारीहरू संयुक्त राष्ट्रसंघ उपस्थित
रहेसम्म शान्ति प्रक्रिया विथोल्न हच्किने छन्।” द्वन्द्वरत दुवै पक्षलाई
आश्वस्त पार्न सक्ने वातावरण बनाउन महासचिव कोफी अन्नानले खेलेको औपचारिक
तथा अनौपचारिक भूमिकाका लागि लोकतान्त्रिक नेपालले उनलाई यति मात्र
भन्न सक्छ अहिलेलाईः “धन्यवाद, महासचिव अन्नान!”
|