रिपोर्ट
|
तन्नेरी
लक्ष्य आकाश छुने
पाइलट, एयरहोस्टेस बन्न आतुर युवाहरू स्वदेशमै
तालिम लिन पाउँदा दङ्ग छन्।
•
डम्बरकृष्ण श्रेष्ठ
 |
| पद्मा अधिकारी। |
काठमाडौँकी
पद्मा अधिकारीले दक्षिण अफ्रिकामा हवाई–उडानसम्बन्धी
एकवर्षे प्रशिक्षण लिएर आउनासाथ बुद्ध एयरमा काम पाइन्। रु.३२ लाख
खर्चेर पाइलट बनेकी पद्मा आफ्ना दाजु नवीन र भाउजू भावना पाइलट भएकाले
यो पेशातिर आकर्षित भएको बताउँछिन्। दुई साताभित्रै बुद्ध एयरको ककपिटमा
बस्ने तयारीमा रहेकी उनी भन्छिन्, “पछि क्याप्टेन बन्ने र अन्तर्राष्ट्रिय
उडानमा जाने चाहना छ।”
झ्ापा, दमकका भूतपूर्व गोर्खा सैनिकका
छोरा युवराज लिम्बूको पाइलट बन्ने सपना भने नेपालमै पूरा हुने भएको
छ। प्रशिक्षणका लागि अष्ट्रेलिया, अफ्रिका या आयरल्याण्ड जाने योजना
बनाइरहेका लिम्बू नेपालमै प्रशिक्षण केन्द्र खुलेको र सस्तो भएकाले
यहीँ भर्ना भएको बताउँछन्। पुसको पहिलो साता चितवनमा शिवानी एयर प्रालिको
प्रशिक्षण केन्द्रमा जानुअघि लिम्बूले हिमाल सँग भने “मलाई पाइलट बनाउने
परिवारको चाहना पनि हो। देशभित्र र बाहिर पाइलटको माग देखेको छु। प्रशिक्षणपछि
त्यसै बस्नुपर्दैन जस्तो लाग्छ।” उनीसँगै काठमाडाँैका रोमी तण्डुकार,
केशव चन्द, राजन ठकुरी, रामबाबु रिजाल217 धरानका संजोग शाक्य र जनकपुरका
विकल झ्ा नेपालमै पाइलट बन्ने तयारीमा जुटेका छन्।
पद्मासँगै अफ्रिकाको के. फ्लाइङ इन्स्टिच्युटमा
तालिम लिएर फर्किएका सजल कुइँकेल र भाष्कर पन्तले बुद्ध एयरमा, रोशन
के.सी. र सुनिल जोशीले यति एयरमा काम पाइसकेका छन्।
काठमाडौँको नेपाल एजुकेशन कन्सल्टेन्सीबाट
पाइलट बन्ने सपना पूरा गर्न अफ्रिका पुग्नेहरू २० जना छन्। कन्सल्टेन्सीका
निर्देशक थरेन्द्रराज अधिकारी आफूहरूले पाइलट बन्न चाहने नेपाली युवालाई
विगत अढाई वर्षदेखि अफ्रिकाको इन्स्टिच्युटमा सम्पर्क गराइरहेको बताउँछन्।
 |
| शिवानी एयरले नेपालमै शुरु गरेको पाइलट तालिमको पहिलो समूह।
|
पाइलट प्रशिक्षणका लागि १२ नेपाली युवालाई
अमेरिका र क्यानडा पठाइसकेका अलायन्स इण्टरनेशनलका साङ्गे लामा देशविदेशमा
दक्ष पाइलटको माग निकै भएकाले यसप्रति युवाहरूको आकर्षण ह्वात्तै बढेको
बताउँछन्। भन्छन्, “पाइलट कोर्स महँगो छ। लगानी गर्न गाह्रो भएकाले
धेरैले चाहेर पनि पाइलट बन्न सक्दैनन्।” विज्ञान विषय लिएर १२ कक्षा
उत्तीर्ण, पैसा खर्च गर्न सक्ने १८–२६ वर्ष उमेरका जोकोहीले पाइलट
प्रशिक्षण लिन सक्छन्।
पाइलट बन्नकै लागि नेपाली युवाहरू महङ्गो
शुल्क तिरेर क्यानडा, अमेरिका, दक्षिण अफ्रिका, फिलिपिन्ससम्म पुग्ने
गरेको पृष्ठभूमिमा यसै वर्षदेखि नेपालमा समेत पाइलट प्रशिक्षण केन्द्र
खुलेको छ। नेपालमै पहिलो 'फ्लाइङ स्कूल' सञ्चालन गरिरहेको शिवानी एयरको
पहिलो ब्याचमा सात नेपाली युवा भर्ना भएका छन्। काठमाडौँमा कार्यालय
खोली चितवनमा कक्षा सञ्चालन गरिरहेको शिवानी एयरले प्रशिक्षणका लागि
डायमण्ड डीए २० सी वन नामक दुईसिटे प्लेनसमेत झ्िकाइसकेको सञ्चालक
शिवेन्द्रबहादुर बस्नेत बताउँछन्। पाइलट बन्न चाहने सार्क राष्ट्रका
युवालाई ध्यानमा राखेर खोलिएको शिवानी एयरमा इन्टरन्याशनल सिभिल एभिएशन
अर्गनाइजेशन (आइकाओ) को मापदण्डअनुसार प्रशिक्षण दिइने दाबी बस्नेतको
छ। १० महिने कोर्समा ५८० घण्टा सैद्धान्तिक र २१० घण्टा प्रयोगात्मक
प्रशिक्षणपछि नेपालकै नागरिक उड्डयन प्राधिकरणबाट व्यावसायिक पाइलट
लाइसेन्स प्राप्त गर्ने नव–पाइलटहरूले को–पाइलटका रूपमा आन्तरिक उडान
गर्न सक्छन्। अरू देशहरूमा रु.३० देखि ४५ लाखसम्म खर्च हुने हवाई उडान–कोर्स
नेपालमा ३० प्रतिशत सस्तो पर्ने बस्नेत बताउँछन्। हाललाई कोर्सको सम्पूर्ण
खर्चका लागि २३ लाख रुपैयाँ लिइरहेको बताउँदै उनी भन्छन् “कम खर्चमा
पाइलट उत्पादन गरेर सार्क राष्ट्रको खाँचो पूरा गर्ने हाम्रो उद्देश्य
हो।”
साङ्गे लामा पनि नेपालमा यस्तै प्रशिक्षण
केन्द्र खोल्ने योजनामा थिए। धेरै लगानी पर्ने भएकाले उनको योजना अघि
बढ्न सकेन। उनी हवाई उडान प्रशिक्षणका लागि नेपालको भौगोलिक बनावट,
हावापानी उपयुक्त भएको बताउँछन्। भन्छन्, “नेपालमै राम्रो प्रशिक्षण
दिलाउन सके यहाँका उत्पादनले संसारको जुनसुकै ठाउँमा पनि काम गर्न
सक्छन्।”
मागभन्दा ठूलो क्रेज
 |
| किरण पाण्डे |
| एक प्रशिक्षण केन्द्रमा एयरहोस्टेस तालिम
लिँदै प्रशिक्षार्थी। |
लाखौँ खर्च गरेर पाइलट बन्ने होडवाजी चलिरहेकै
बेला केही हजारको खर्चमा बन्न सकिने एयरहोस्टेस र 'क्याविन क्य्रु'
तर्फ पनि धेरै तन्नेरी आकर्षित छन्। एयरहोस्टेसका निम्ति युवतीहरूमा
बेग्लै उत्साह देख्न सकिन्छ। किन त? फ्लाइटेक इन्टरनेशनल, काठमाडौँमा
प्रशिक्षण लिइरहेकी साधना ढुङ्गेल भन्छिन्, “आकाशमा उड्न, नयाँ–नयाँ
ठाउँको यात्रा गर्न पाइन्छ। कमाइ पनि राम्रै हुन्छ नि!”
साधनाकै जस्तै सपना छ उनीसँगै प्रशिक्षण
लिइरहेका नेपालगञ्जकी विन्दु मल्ल, झ्ापाकी दीपा राई, उदयपुर–बसाहाकी
दुर्गा राई, धरानकी ज्योति लिम्बू र राजधानीका सहाना श्रेष्ठ, नमुना
थापा, निच्चु गुरुङ, कमला थापा, जेसी कायस्थ, प्रतिभा श्रेष्ठ आदिको।
मिस टीन गुरुङ २००५ मा सहभागी निच्चु एयरहोस्टेस आफन्त सीता गुरुङलाई
देखेर त्यस्तै बन्ने रहर जागेको बताउँछिन्। नमुनाले फेशन शोको समेत
अनुभव सँगालेकी छन् भने सहानासँग मौका मिले होस्टेसको काम सँगसँगै
र्याम्प मोडलिङ गर्ने चाहना पनि छ।
व्यक्तित्व–निर्माण, कमाइ र आकाशको सयरमा
लोभिएका उनीहरूमध्ये प्रशिक्षणपछि केहीले मात्र सपना पूरा गर्न सक्छन्।
प्रतिस्पर्द्धा धेरै, माग थोरै भएकाले काम पाउन सजिलो छैन। १२ कक्षा
सकेका १७ देखि २५ वर्षसम्मकालाई दिइने तालिमबापत प्रशिक्षण केन्द्रहरूले
तीन महिनाको रु.२५ देखि ३५ हजारसम्म लिने गरेका छन्।
राजधानीमा एयरहोस्टेस प्रशिक्षणका लागि
आधा दर्जन इन्स्टिच्युट सञ्चालनमा छन्। पहिलो पटक चार वर्षअघि प्रेम
पाण्डेले बानेश्वरमा एयरहोस्टेस इन्स्टिच्युट खोलेका थिए। अढाई वर्षअघि
साङ्गे लामाले जमलमा खोलेको 'अलायन्स इण्टनेशनल' ले मात्रै डेढ सयलाई
प्रशिक्षण दिइसकेको छ। अलायन्सकै कर्मचारी रहेका नाजीर हुसैनले पाँच
महिनाअघि पुतलीसडकमा स्थापना गरेको फ्लाइटेक इण्टरनेशनलमा १२ जनाले
प्रशिक्षण लिइरहेका छन्। पूर्व एयरहोस्टेस शान्ता श्रेष्ठले हरिहरभवनमा
'द फ्लाइङ इन्स्टिच्युट' शुरु गरेकी छन्। शिवानी एयरले समेत एयरहोस्टेस
तालिम सञ्चालन गर्न लागेको शिवेन्द्र बस्नेत बताउँछन्।
फ्लाइटेकका सञ्चालक हुसैनका अनुसार पहिलो
ब्याचकी रञ्जिता थापाले यती एयरलाइन्समा काम पाएकी छन् भने कतार एयरवेजमा
१० जनाको कागजात पठाए पनि जवाफ आएको छैन। अलायन्समा प्रशिक्षण लिएका
आधा दर्जन एयरहोस्टेस भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सका
यात्रु–सेवामा तल्लीन छन्। सञ्चालक लामाका अनुसार कतार एयरवेजमा रमा
कार्की, यती एयरमा कौशिला सुब्बा, गोर्खा एयरमा रोजी भण्डारी, बुद्ध
एयरमा प्रिया अधिकारी र अग्नि एयरमा मञ्जु महर्जनले काम पाएका छन्।
अहिले आफ्नो इन्स्टिच्युटमा क्याविन क्रुका लागि ५ केटासहित १७ जनाले
तालिम लिइरहेको बताउँदै लामा भन्छन्, “हामीले 'जब–ग्यारेण्टी' दिने
गरेका छैनौँ किनकि प्रशिक्षण लिने सबैले काम पाउने अवस्था छैन।”
हुनपनि राजधानीका सबै प्रशिक्षण केन्द्रहरूबाट
हरेक तीन महिनामा तयार हुने करीब सय एयरहोस्टेस सबैले काम पाउन सम्भव
छैन। त्यसमाथि कतिपय स्वदेशी, विदेशी एयरलाइन्सले म्युजिक भिडियो,
वेबसाइट र विज्ञापनहरूमा देखिएका मोडलसमक्ष सीधा प्रस्ताव राखेर प्रशिक्षण
र जागिर दिने गरेका छन्। कतार एयरवेजमा होस्टेस बनेर उडिरहेका एक दर्जन
नेपाली मोडल यसको उदाहरण हुन्।
क्यालेण्डरमा बन्द
पौने चार वर्षमा ९४ दिन नेपाल बन्द र चक्काजाम भएछन्।
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| प्रज्ज्वल ज्ञवाली। |
नेपालमा विरोधका नाममा
हुने बन्द र चक्काजामले जनजीवनलाई अस्तव्यस्त बनाउँछन्। बन्दका कारण
भौतिक पूर्वाधारमा समेत क्षति पुग्ने गरेको छ। एक वर्षमा कति दिन बन्द
भए? सम्झ्न, तथ्याङ्क भेट्न गाह्रो हुन्छ। तर, ललितपुरका १८ वर्षे
तन्नेरी प्रज्ज्वल ज्ञवालीले चार वर्षमा भएका बन्द र चक्काजामका तिथिमितिको
अभिलेख राखेका छन्।
नेपाल बन्द र चक्काजामका कारण विद्यालय जान नपाएपछि उनले क्यालेण्डरमा
वैशाख २०६० देखि नै चिन्ह लगाउन थालेका हुन्। प्रज्ज्वल भन्छन्, “कक्षामा
सबैले डायरी लेख्थे, मैले त्यसको साटो क्यालेण्डरलाई नै डायरी बनाएँ।”
७ वैशाख २०६० मा भएको बन्ददेखि राजदूत नियुक्तिको विरोधमा ४ पुस २०६३
मा माओवादीले गरेको चक्काजामसम्मको अभिलेख उनले राखेका छन्। पौने चार
वर्षे क्यालेण्डरअनुसार ४ पुससम्ममा ९४ दिन नेपाल बन्द र चक्काजाम
भएछन्। पाटनढोकास्थित रातो बङ्गला स्कूलमा ९ कक्षामा पढ्दा बन्दको
हिसाब राख्न थालेका प्रज्ज्वल अहिले सोही विद्यालयमा 'ए' लेवलमा पढिरहेका
छन्। क्यालेण्डरमा अभिलेख राख्न थालेपछि त्यसको असर बुझन आफूलाई सजिलो
भएको उनी बताउँछन्। भन्छन्, “चार वर्षमा बन्द र चक्काजामकै कारण साढे
चार महिना विद्यालय जान पाइएन।”
माओवादीले विद्यालयको शुल्क घटाउन दबाब दिँदै १९ जेठ ०६१ देखि लगातार
१३ दिनसम्म गरेको विद्यालय बन्द, इराकमा ११ जना नेपाली मारिएपछि १६
भदौ ०६१ मा भड्किएको दङ्गा र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा
भएको १९ दिने बन्द आफ्ना लागि स्मरणीय भएको उनी बताउँछन्। उनका भनाइमा
इराकको घटनालाई साम्य पार्नुको साटो झ्न् दङ्गा भड्काउने काम गरियो।
“विद्यालयको शुल्क घटाउन १३ दिनसम्म तालाबन्दी र तोडफोड नै गर्नु मलाई
ठीक लागेन,” उनी थप्छन्, “नयाँ परिवर्तनका लागि १९ दिन जनआन्दोलन हुँदा
अरू बन्द जस्तो दुःख लागेन तर आन्दोलनपछि पनि राजनीतिज्ञहरू नसुध्रेको
देख्दा भने दुःख लागिरा'छ।” माओवादीले चक्काजाम गरेको दिन ४ पुसमा
उनको परीक्षा थियो। देशमा शान्ति छाएर पनि बन्द हुने क्रम नरोकिएकोमा
उनी चिन्तित छन्।
समाजशास्त्र र मनोविज्ञान पढ्न रुचाउने प्रज्ज्वल भविष्यमा वकिल बन्न
चाहन्छन्। यसका लागि उनले प्रो–पब्लिकमा तीन महिनाको 'इन्टर्नशीप'
समेत गरेका छन्। केही मुद्दाका मिसिलहरूको अध्ययन गर्दा उनलाई नेपालको
न्यायालयको काम लोसे खालको लाग्यो। बन्द र चक्काजामबाट आजित हुँदै
क्यालेण्डरमा अभिलेख राख्ने प्रज्ज्वलले बन्दको विकल्प पनि सुझ्ाएका
छन्। भन्छन्, “विरोधका लागि चलचित्र बनाएर देखाउने, पत्रिका, रेडियो,
टिभीमा कार्यक्रम चलाउने। गीत बनाएर ठाउँ ठाउँमा कन्सर्ट गर्ने, विरोधसभामार्फत्
शान्तिपूर्ण रूपमा माग राख्ने नि! किन गर्नु पर्यो बन्द?”
डम्बरकृष्ण श्रेष्ठ
|