हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत | माओवादी शिविर

निराशा बढ्दैछ

पुसको चिसोमा आगो तापेर, एकसरो ओढ्ने बिना नै रात बिताउन बाध्य माओवादी सेनाका शिविरमा खाने–बस्ने सुविधादेखि असुरक्षित गर्भपतनबाट बच्ने चेतनासम्म पुर्‍याउनुपर्ने देखिएको छ।

रामेश्वर बोहरा, मसुरियामा

रामेश्वर
घामको न्यानोमा छाप्रोभित्र निदाइरहेका छापामार।

पुसको पहिलो साता कैलालीका माओवादी सैन्य शिविरहरूमा एकत्रित लडाकुहरूको स्वास्थ्य परीक्षण–उपचार गर्न आएको नेपालगन्ज मेडिकल कलेजको चिकित्सक टोलीले माओवादी महिला लडाकुहरूको ठूलो सङ्ख्यामा असुरक्षित गर्भपतनबाट हुने पाठेघरसम्बन्धी समस्या बोकेर बसिरहेका पाएको छ। यसअघि यस्ता समस्या प्रायः गुपचुप रहने गर्दथे भने अहिले शिविरमा एकैपटक धेरै छापामार बिरामी भएका र स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गरेकोले समस्या बाहिर आएका छन्।

टोलीले कैलालीको तालबन्दस्थित माओवादी सेनाको सातौँ डिभिजन र त्यस मातहतका मसुरिया बडैपुरको लिस्नेगाम, सहजपुरको बहबीरयोद्धा स्मृति र चिसापानीको वासु स्मृति ब्रिगेडका ६६१ जना बिरामी लडाकुको स्वास्थ्यपरीक्षण र उपचार गरेको थियो। उपचारमा संलग्न नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका चिकित्सक डा. प्रमेन्द्र गुप्ताका अनुसार, उपचार गराउन आएका मध्ये झ्ण्डै आधा महिला छापामार थिए र तीमध्ये धेरैमा पाठेघर पाक्ने र घाउ हुने 'पीआइडी' समस्या देखिएको छ। उनी भन्छन्, “हामीले परीक्षण गरेकामध्ये आधाभन्दा बढी महिलामा सामान्यदेखि डरलाग्दो अवस्थासम्मको पाठेघरको समस्या देखियो। असुरक्षित गर्भपतनका कारण सङ्क्रमण भएर यस्तो भएको हुनसक्छ। जँचाउन नआएका अरूमा पनि यस्ता समस्या हुनसक्छन्। ”

माओवादी सेनामा झ्ण्डै बराबरीको सङ्ख्यामा रहेका पुरुष र महिला लडाकुमा प्रेमी–प्रेमिका र बिहे भइसकेका जोडी प्रशस्तै छन्। लोग्नेस्वास्नीले पनि चाहेको बेला बच्चा जन्माउन पाउँदैनन्। यस्तो अवस्थाका दुवैथरि छापामार जोडीबीच शारीरिक सम्पर्क भएर गर्भ रहेमा गर्भपतन गराउनेबाहेक अर्को उपाय हुँदैनथ्यो। भूमिगत जीवनमा अस्पताल र स्वास्थ्यकर्मीसम्म पुग्न पनि सजिलो थिएन। सैन्य कमाण्डर वा पार्टी नेतृत्वको अनुमति नलिई अस्पताल जान सम्भव पनि हुँदैनथ्यो। यसो हुनाले धेरैले समस्या लुकाएर बस्ने गरेका थिए। चिकित्सक टोलीले ४५ जनालाई त तत्काल उचित उपचार र शल्यक्रियाका लागि सिफारिस गरेको छ।

यसबाहेक धेरै माओवादी लडाकुहरू 'ग्यास्ट्राइटिस' बाट पीडित पाइएका छन्। खाली पेटमा भोकभोकै कडा शारीरिक परिश्रम गर्नुपर्ने र समयमा पौष्टिक आहार र उचित आराम नपाउनाले यस्तो भएको हुनसक्ने चिकित्सकहरूको अनुमान छ। क्षयरोग, हड्डी र हाइड्रोसिलका बिरामी पनि उल्लेख्य सङ्ख्यामा फेलापरेका छन्। माओवादी शिविरमा बसेका लडाकुहरूको समग्र स्वास्थ्य स्थितिप्रति सरकार र माओवादी नेतृत्वले गम्भीर ध्यान नदिने हो भने एकै पटक ठूलो समस्या प्रकट हुनसक्ने चिकित्सकहरूको निष्कर्ष छ।

शिविरको दयनीय हालत

“जति विजोग भोगेर भएपनि हामीले आफ्नो सेनालाई नियन्त्रणमा राखेका र हतियार थन्क्याएका छौँ। तर अनुगमनमा किन बहानाबाजी भइरहेको छ?” – सौगात, ब्रिगेड कमाण्डर

कैलालीका प्रायः माओवादी शिविर पूर्व–पश्चिम राजमार्गछेउ सालको बाक्लो जङ्गलमा लस्करै खरका भित्ता र छानामा पाल हालेर बनाइएका छन्। कैलालीको मसुरिया गाविस, बडैपुरस्थित लिस्नेगाम ब्रिगेडको शिविरमा एउटा छाप्रोमा ४०–४५ जनासम्म छापामारहरू पराल र त्यसमाथि गुन्द्री ओछ्याएर सुत्छन्। कतिलाई एकसरो ओढ्ने पनि नपुगी दुई जनाले एउटै कम्बल खोसाखोस गरेर ओढ्नुपर्ने अवस्था छ। जमिनको ओस र छानोले नछेक्ने शीतले सुतेको बेला पनि निथ्रुक्कै पार्छ। ब्रिगेड कमाण्डर सौगात भन्छन्, “सुतेको बेला चिसोले भिजाउँछ। कहिले जाडोले रातभर सुत्न सकिन्न। जाडो छल्न सकियोस् भनेर कोचाकोच गरेर सुत्छौँ।” पुस–माघको जाडो, त्यसरी के छेकिन्थ्यो र? राति चिसोले सुत्न नसकेका छापामारहरू दिउँसो सुतेर निन्द्रा पुर्‍याउँछन्। ८ पुस दिउँसो हिमाल संवाददाता शिविर पुग्दा केही छापामार घाममा सुतिरहेका थिए।

करीब १,३५० छापामार बसेका चिसापानी छेउको लोकेश स्मृति ब्रिगेडको हालत पनि उस्तै छ। एउटा छाप्रोमा ३०–४० जनासम्म बस्छन्। जमिनमा बिछ्याउने पराल समेत नभएको यहाँका छाप्रामा गुन्द्री, चटाई र एक–एकवटा पातला कम्बलले चिसो छेक्दै छेक्दैन। ब्रिगेड सहायक कमाण्डर सुवास भन्छन्, “राति चिसोले सुत्नै नसकेपछि आगो तापेर बस्छौँ।”

कमाण्डरहरू सरकारले विचल्ली पारेको बताउँछन् भने तल्लोस्तरका छापामारहरू माओवादी नेतृत्वलाई पनि उत्तिकै दोष दिन्छन्। लोकेश स्मृति ब्रिगेडका एक छापामार आक्रोशित हुँदै भन्छन्, “हामीलाई नाङ्गै र भोकै जङ्गलमा पठाए। तीन–चारदिनसम्म पाल थिएन, छाप्रा बनेका थिएनन्। जङ्गलमा भोकै बस्यौँ, सुत्न पाएनौँ। कमसेकम केही व्यवस्था गरेर पठाएको भएपनि हुन्थ्यो। अध्यक्षले भनेपछि आउनै पर्‍यो। आफूहरू काठमाडौँमा बस्छन्, हामीलाई यहाँ सास्ती!”

शिविरमा बस्ने छापामारलाई बिहान खाए बेलुकी के खाने भन्ने समस्या छ। लिस्नेगाम र लोकेश ब्रिगेडमा हरेक दिन १२–१४ क्वीन्टल चामल लाग्छ। दाल, तरकारी, नूनतेल र मरमसलाको हिसाब बेग्लै छ। सरकारले दिएको पैसा शिविरसम्म आइपुगेको छैन। सुवास भन्छन,् “जङ्गलमा बसेको एकमहिना बित्यो, पेटभरि खान पाइएको छैन। मासु त देखेकै छैनौँ। चामल, दाल र तरकारी चिसापानीका व्यापारीहरूबाट उधारो ल्याइरहेका छौँ। उनीहरूले ५–६ लाख पुगिसकेको उधारो पैसाको ताकेता गर्न थालिसकेका छन्।”

शिविरमा पर्याप्त भाँडाकुँडा नभएर खाना पकाउन समस्या छ। पाकेको खाना एकैचोटि खान थाल पुग्दैन। कहिलेकाहीँ पालो आउँदा–आउँदै खाना सकिन्छ। खानेपानीको धारा नहुनाले छापामारहरूलाई पानी ओसार्न, नुहाउन र कपडा धुन नजिकैका गाउँमा पुग्नुपर्छ।

भाग्न सक्ने खतरा
यो स्थितिले छापामारहरूको दिनचर्या पनि बदलिएको छ। उनीहरूमा पहिलेजस्तो उत्साह र जोश देखिँदैन। शिविरमा बस्न थालेपछि दिनहुँजसो हुने राजनीतिक कक्षा र प्रशिक्षण बन्द छन्। बिहान साढे पाँचबजे उठ्ने, नित्यकर्मपछि एकघण्टा रोलकल र नियमित अभ्यास गर्ने अनि खाने समय हुन्छ। त्यसपछि छाप्रा बनाउने, जङ्गलभित्र बाटो र नाली खन्ने काम गर्दागर्दै दिन बित्छ। खेल–मनोरञ्जनको नाउँमा भलिबल खेल्न पाइन्छ। लिस्नेगाम ब्रिगेड कमाण्डर सौगात भन्छन्, “घर बनाउने र आगो बाल्ने खर–काठ र दाउरा लिन जङ्गल पुग्नुपर्छ। निर्माणका काम आफैँ गर्नुपर्छ। अरू कुरा त सोच्नै भ्याइँदैन।”

अधिकांश समय युद्धको योजना, युद्धाभ्यास र युद्धमा बित्ने अनि गाउँ–गाउँमा डुलेर खानेबस्ने बानी परेका छापामारलाई जङ्गलका शिविरमा बानी पार्न गाह्रो भएको छ। शिविरबाट एक–दुई सय मिटर टाढा जान पनि अनुमति लिनुपर्दछ। कति त यसबाट निराश बनिसकेका छन्। लोकेश ब्रिगेडका सहायक कमाण्डर सुवास भन्छन्, “कैदी भएजस्तै लागेको छ। विगतमा जनताको घरदैलोमा गएर सुख–दुःखका कुरा गर्थ्यौं, अहिले त्यो पनि छैन।” हतियार र सेना शिविरमा बसेको दुई महिना बित्न लागिसक्दा पनि अनुगमन शुरु भएको छैन। यसले माओवादी सेनालाई झ्नै निराश पारेको छ।

यही अवस्था लम्बिरहे केही छापामार शिविर छाडेर हतियारसहित भाग्ने खतरा आउनसक्छ। न सरकारले केही व्यवस्था गरेको छ, न माओवादी नेतृत्व नै गम्भीर छ― पछिल्लो समय लडाकुहरूले पोख्ने आक्रोश यही हो। “जति विजोग भोगेर भएपनि हामीले आफ्नो सेनालाई नियन्त्रणमा राखेका र हतियार थन्क्याएका छौँ। तर अनुगमनमा किन बहानाबाजी भइरहेको छ?” चेतावनीको भाषा बोल्दै ब्रिगेड कमाण्डर सौगात भन्छन्, “हामी त जनताका सेना, हिजो जनताले शान्तिका लागि व्यारेक जाऊ भने आयौँ, अब जनताले बोलाउँछन् भने फेरि बाहिरिन पनि सक्छौँ।”