हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६, होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

ट्राभेल एजेन्ट राजदूत

राजदूतको पदै त्यस्तो हो। दिनेलाई पनि दिन मन लाग्छ। खानेलाई पनि खान मन लाग्छ।
गर्नुपर्ने केही होइन। महामहिमको पगरी भिर्‍यो। रातो पासपोर्ट मिलिहाल्छ, घुम्यो। सरकारी घरमा बस्यो। सीडी लेखिएको सरकारी गाडी चढ्यो। पार्टी खायो, पार्टी दियो। डिउटी फ्री माल किन्यो। जानेको भए गल्फ या टेनिस खेल्यो। कसैले बोलाए चित्रकला वा पुस्तक प्रदर्शनीमा गयो अथवा नाटक वा सङ्गीत कार्यक्रममा गयो। दुई–चार अवसरमा राजा वा राष्ट्रपति जहाँ जो छन् उनीहरूसँग हात मिलायो। डलरमा तलब थाप्यो। सकियो। राजदूत हुनेले यही गर्नुपर्छ नगरे वा गर्न नसके सजाय हुने वा घटुवा हुने भन्ने नियम कतै छैन।

राजदूत र राजदूतावासले गर्ने मुख्य काम भनेको ट्राभेल एजेन्टको हो। ठूलाबडा (यसको मतलब पहिलेपहिले शाही परिवारका सदस्यहरू र अहिले मन्त्री वा नेता परिवारका सदस्यहरू भनी बुझनुपर्छ) घुम्न आएमा तिनको बस्ने–खाने बन्दोबस्त मिलाउने। दर्शनीय ठाउँहरूमा घुमाउने, किनमेल गराउने हो। त्यसदेखि बाहेक ठूलाबडालाई इच्छाअनुसारको (ठाउँ हेरी) इलेक्ट्रोनिक्स सामान, अत्तर, सिँगारका सामान, खाने फल, सजाउने फूल, अक्वारियममा पाल्ने माछा, मिठाई र चकलेट, सिगार र ब्रान्डी, घडी, खेलौना, ब्रान्डेड लिवास र जुत्ता, सुटकेश र ब्रिफकेस, गरगहना आदि खरीद गरेर पठाउनु हो। त्यसै गरी ठूलाबडाका छोराछोरीलाई मेडिकल, इन्जिनियरिङ वा आई.टी. कलेजमा सीट मिलाउनु र सके स्कलरसीप दिलाउनु हो।

राणाकालमा जो एकदुई दूतावास थिए ती त्यसरी नै चले। निर्दलीयकालभरि पनि त्यही परम्परा कायम रह्यो। एक जना खत्रीजी थिए परराष्ट्र मामिलामा मानिएका खेलाडी पञ्चायतीकालमा। न्युयोर्कमा धेरै बसे राजदूत भएर। उनलाई अमेरिकामा नजिकबाट चिन्ने मौका पाएका एक जना नेपाली भन्थे उनले आफ्नो कार्यकाल पलङमै बसीबसी बिताएका थिए 'रे ― पलङमै खाना, पलङमै फोन, पलङबाटै आदेश–अह्रोट, पलङमै सही, पलङमै चिठी, पलङमै सुकला। उनी धेरै चलेर पो नेपाललाई के फाइदा हुन्थ्यो, उनी नचलेर पो अमेरिकालाई के बेफाइदा हुनुथियो र!

त्यसैले राजदूत भनेको एकतन्त्र, निर्दलीयतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, जुनसुकै तन्त्रमा पनि 'ला गरी खा' भनेर आफ्ना नर–नाता, आउरे–बाउरे वा चाकरी पुर्‍याउनेलाई दिने पद हो। यसका लागि कुनै योग्यता, क्षमता, बुद्धि, वर्कत केही चाहिँदैन। प्रुफरिडर पनि हुन सक्छ, वरफबागको कर्मचारी पनि हुन सक्छ वा थेसिस कसैले पढ्न नपाएको हावादारी विषयको तथाकथित डाक्टर पनि हुनसक्छ। चाहिने केवल निगाहा हो। पहिले राजाको चाहिन्थ्यो, अहिले मन्त्री र पार्टी हाइकमान्डको।

अहिले छानिएका राजदूतहरू ठीक भएनन् भनेर केहीले रडाको मचाइरहेछन्। त्यसो गर्नु व्यर्थ लाग्छ। ट्राभेल एजेन्टजस्तो राजदूत पद खानलाई गतिला मानिस पाउन गाह्रो छ। अनि सडेगलेका राजनीतिज्ञ, पुराना दरबारिया, काम नलाग्ने बुद्धिजीवीबाहेक अरू नियुक्तिका लागि मान्छे नै कहाँ पाउनु?

प्रजातन्त्र र पर्खाल

पछिल्लो अङ्कमा काठमाडौँको रूसी सांस्कृतिक केन्द्रलाई रूसी यान्त्रिक केन्द्र भनी लेखेको थिएँ त्यहाँको बडेमानको फलामे गेटका कारण। त्यसो गर्नाले गल्ती पो भएछ कि भन्ने मनमा परिरहेछ। यसो आँखा खोली हेर्दा त रूसी सांस्कृतिक केन्द्र मात्र एक्लो कूटनीतिक संस्था होइन रहेछ आफूलाई फलामे गेटको पछिल्तिर लुकाउने। अरू पनि रहेछन्।

विश्वमा प्रजातन्त्रका महारथी भनेर चिनिएका तीनओटा देश नै लिउँ्क न उदाहरणका लागि। प्रजातन्त्र जन्माउने आमा भनिने बेलायत। प्रजातन्त्रको रखबारी गर्ने आफैँ जिम्मा लिएको संयुक्त राज्य अमेरिका। अनि विश्वकै सबभन्दा ठूलो भनिने (अङ्ग्रेजीमा 'लार्जेस्ट डेमोक्रसी' भन्ने गर्छन्, प्रजातन्त्रको पनि साइज हुन्छ कि क्या हो!) भारत।

लैनचौरमा रहेको बेलायतको दूतावासलाई घेर्ने पर्खालको कुरा गरेर साध्ये छैन। बाक्लो उत्तिकै, अग्लो उत्तिकै। त्यसमाथि काँढेतार र ठाउँठाउँमा चहकिला बत्ती अनि गुप्ती क्यामेरा। गेट त गेटै भइहाल्यो, को छिर्न पाओस्?

त्यससित दसफिटे गल्लीले साँध छुट्याएको भारतको दूतावासले पनि सेखी गरेझ्ैँ झ्न् बलियो र अग्लो पर्खाल उठाएको छ। 'एकदुई फिट छाडेर गल्लीलाई चाक्लो पारिदिनोस् न प्रभो' भन्ने स्थानीय बासिन्दाको लाख बिन्ती नसुनी बरु एकदुई इन्च अँचेटेर त्यो पर्खाल बन्यो र त्यसमाथि फेरि काँढेतार पनि हालियो। गेटको के कुरा, पहिल्यैदेखि ढ्याम्मै छ।

उता अमेरिकाले नयाँ दूतावास बनाउँदै छ। बमले पनि नभेट्ने बङ्कर बन्दैछ भन्छन्। कान्तिपथको अमेरिकी क्लबमा त ट्याङ्कले समेत भेद्न नसक्ने पर्खाल बनाइएको छ।

कमलपोखरीमा रूसी सांस्कृतिक केन्द्र बन्दा सोभियत सङ्घ साबुत थियो। सोभियत सङ्घलाई पश्चिमाहरू 'फलामे ढोका' वा 'फलामे बार भएको' देश भन्थे। त्यो बार ढलेर रूसी प्रजातान्त्रिक सङ्घ बन्यो।

साम्यवादी सोभियत सङ्घ हुँदा बरु कमलपोखरीको सांस्कृतिक केन्द्रको ढोका खुला र उदाङ्गो थियो। रूसमा प्रजातन्त्र आएपछि त्यहाँ फलामे गेट ठडियो।

सबैका अग्ला पर्खाल, सबैका अजङ्ग गेट। अचम्म लाग्छ, के प्रजातन्त्र र पर्खाल एकअर्काका पर्याय हुन्?

नेपालीलाई होटल छैन

एउटा संस्थालाई लुम्बिनीको पवित्र उद्यान छेउ केही पत्रकारलाई भेला गराएर एकदुई दिनको छलफल चलाउने मनसुबा भयो। तीर्थाटन पनि, सरोकारको विषयमा छलफल पनि। त्यस संस्थाले स्थानीय एक जना पत्रकारलाई बसोबासको व्यवस्थाबारे लुम्बिनीको एउटा होटलमा बुझन लगायो। उताबाट ती पत्रकारको उत्तर आयो, “त्यस होटलमा त नेपालीलाई राख्दैन अरे सर!”

पत्रकार सोध्न गएको होटलको नाम थियो लुम्बिनीको होटल बुद्धमाया अनि त्यसका मालिकको नाम कर्ण शाक्य।
आन्तरिक पर्यटनको नारा लगाउने तर विदेशीलाई मात्र पर्यटक ठान्ने र नेपालीलाई मान्छे नगन्ने यो कस्तो 'सोच' हो तपाईंको होटल व्यवस्थापनको कर्णदाइ?

नयाँ ख्रीस्टाब्दको शुभकामना

काठमाडौँको ट्राफिक जाममा पर्नु नपरोस्, लोडसेडिङ भएको बेला भरेङ उक्लनु नपरोस्, बर्खामासमा हवाईजहाज चढ्नु नपरोस्, नेपाल सरकारको राजदूत नियुक्त हुन नपरोस्।

यही छ शुभकामना ख्रीस्टाब्द २००७ को।