]
हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

रङ्गमञ्चमा उषा

दुई वर्षअघि मोडलिङतिर तानिएकी उषा रजकको लगाव भने अभिनयतिर बढी छ। गएको कात्तिकमा वर्ल्ड मिस युनिभर्सिटी नेपाल को उपाधि जितेर उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्द्धाका लागि दक्षिण कोरिया समेत पुगिन्। त्यहाँ उनले लगाएको गुरुङ जातिको मौलिक पोशाकले उत्कृष्ट पहिरनको उपाधि पायो।

उनले लक्स ब्युटी स्टार २००४ मा मिस ब्युटीफुल हेयर र सूर्यकला सुपर मोडल हण्ट २००६ मा उदीयमान मोडलको उपाधि समेत जितेकी थिइन्। आधादर्जन फेशन शोहरूमा र्‍याम्प मोडलिङ् गरिसकेकी उषाको प्राथमिकतामा भने रङ्गकर्म पर्छ। भन्छिन्, “मैले इच्छाएको काम अभिनय नै हो।”

वैशाख २०६२ मा प्रज्ञा–प्रतिष्ठानले चितवनमा आयोजना गरेको मध्यमाञ्चल क्षेत्रीय नाटक महोत्सवमा विजय मल्लको नाटक कंकाल बाट उनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिइन्। नेपाल टेलिभिजनको किनारा र कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको टेली चलचित्र सन्तान थरी थरीका मा अभिनय गरेकी उषा अहिले रङ्गमञ्चमा व्यस्त छिन्। एक्टर्स स्टुडियोमा तीनमहिने प्रशिक्षण पछि एकसाथ भर्चुअल रियालिटी, म्यारिज इन मोशन र चोखाउनी नाटकमा प्रस्तुत भएपछि उनमा आत्मविश्वास बढेको छ। भर्चुअल रियालिटी भारतको बैङ्गलोर र मैसुरमा मञ्चन गरेर भर्खरै फर्केकी उनी सम्मिलित समूह पुसको तेस्रो साता दिल्ली जाँदैछ।

अनिल सिंहको आई लभ यु..., दिपेशकिशोर भट्टराईको किन मलाई... सहित सात म्युजिक भिडियोमा पनि देख्न सकिने उषालाई र्‍याम्प, टेलिभिजन, रङ्गमञ्च सबै क्षेत्र उत्तिकै चुनौतीपूर्ण लाग्छन्। उनी भन्छिन्, “थिएटरमा जे गर्‍यो, दर्शकले सीधै हेर्ने भएकोले अर्कै मज्जा हुन्छ।” नुमाफुङ जस्तो सांस्कृतिक र मौलिक कथावस्तुका चलचित्रमा अभिनय गर्ने उनको चाहना छ।

समाजका दाइजो प्रथा र कुरीति मन नपराउने उनी त्यसको खुलेर विरोध गर्छिन्। भन्छिन्, “म फेमिनिष्ट हुँ, मन नपरेको कुराको म विरोध गर्छु।” बीबीएस तेस्रो वर्षमा अध्ययनरत ललितपुर, धोबीघाटकी उषाको ध्यान अहिले करिअर निर्माणमा पनि उत्तिकै छ। प्रेम मान्छेका लागि बाँच्ने आधार भएको तर आफूले पारिवारिक प्रेम बाहेक अरूतिर नसोचेको उनी बताउँछिन्। घरजम कहिले गर्ने नि! उनी भन्छिन्, “भर्खर त २१ वर्षकी भएँ, आफ्नो खुट्टामा उभिएर ६/७ वर्षपछि।”
अनुशील

तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार

अनुशील श्रेष्ठ


रमझम विविध

टिष्टादेखि कागडासम्म

युवा सिनेकर्मी मनोज पण्डितले बनाएको वृत्तचित्र ग्रेटर नेपाल ले नेपालको इतिहासलाई प्रस्तुत गरेको छ। जसले सुगौली सन्धिभन्दा अगाडिको विशाल नेपाल र त्यसपछिको नेपालका दुई पक्षलाई तुलना गरेर राष्ट्र र राष्ट्रियताको भावनालाई प्रतिनिधित्व गर्दछ।
ग्रेटर नेपाल मा नेपालको इतिहासका बारेमा जानकार धेरै व्यक्तिलाई संलग्न गराइएको छ। निर्देशक पण्डितका अनुसार नेपालको सिमानासँग सम्बन्धित धेरै कुराहरू विवादकै रूपमा रहेकोले यसलाई आधिकारिक फर्मेटमा प्रस्तुत गर्नुपर्ने भएकोले सीमाविद्, इतिहासविद् र सीमा क्षेत्रका पीडित पक्षहरूलाई प्रत्यक्ष देखाइएको हो। भन्छन्, “हामीले यसमा विवादित कुराहरूको सही निवारण के हो? अर्थात् सत्य कुरा के हो? भन्ने पक्षलाई आधार बनाएर नेपालको इतिहासलाई केलाउन खोजेका छौँ।”

मनोजले ग्रेटर नेपाल लाई दुई खण्डमा देखाएका छन्। एउटा सुगौली सन्धि हुनुअघिको विशाल नेपाल र अर्को सन्धिपछिको अहिलेको सिमाना मिचिँदै गएको नेपाललाई मनोजले सकेसम्म न्याय गर्न खोजेका छन्। तर पहिलो खण्डभन्दा दोस्रो खण्डको सीमा मिचिएको समस्या फिल्ममा प्रभावकारी रूपमा देखिएको छ। विगत दश वर्षको आन्तरिक द्वन्द्वको फाइदा लिँदै नेपालमा भारतको सीमा मिचाहा प्रवृत्तिलाई पण्डितले राम्रैसँग नङ्ग्याएका मात्र छैनन् यो समस्याको समाधान नहुने हो भने यसले पछि विकराल रूप समेत लिनसक्ने सङ्केत देखाएका छन्। नाटक वा चलचित्रमा जुन तरिकाहरू प्रयोग हुन्छन् त्यसलाई यस वृत्तचित्रमा प्रयोग गरेको बताउने उनी अहिले ग्रेटर नेपाल प्रदर्शनको क्रममा लण्डनमा छन्। तीन वर्षअघि पण्डितले फिचर फिल्म 'लक्ष्य' निर्देशन गरेका थिए जसले व्यावसायिक रूपमा सफलता पाउन सकेन। र, पनि उनको कामको धेरैले प्रशंसा गरे। 'लक्ष्य'को निर्माणको दौरानमा नै निर्देशक पण्डितको भेट अभिनेता मनोज आर.सी.सँग भएको थियो। आरसी. जो लक्ष्यका नायक समेत हुन् उनी नै अहिले ग्रेटर नेपालका एक निर्माता भएका छन्।

टिष्टादेखि काँगडासम्म र चीनको सिमानादेखि कपिलवस्तुसम्म डेढ वर्ष लगाएर छायाङ्कन गरिएको ग्रेटर नेपाल मा बाधाहरू पनि उत्तिकै थिए। निर्माता मनोज आर.सी. भन्छन्, “कतिपय नेपालको भूभागमा जान समेत भारतको अनुमति लिनु परेको थियो। नेपालका कतिपय दुर्गम ठाउँमा राज्यको झ्िनो उपस्थिति समेत नहुँदा जनताले आफँैले सीमा सुरक्षा गर्न देखाएको अदम्य साहस उल्लेख्य थियो।”
मनोज पण्डित ग्रेटर नेपाल को निर्माणको क्रममा आफूलाई सबभन्दा बढी छोएको कुरा राष्ट्रियता नै भएको बताउँछन्। पछिल्लो समयमा मेचीदेखि महाकालीसम्म मिचिएका सीमा क्षेत्रहरू समेत वृत्तचित्रले समेटेको छ। सीमा मिचिएको अवस्थाले नै पण्डितलाई फिल्म निर्माण गर्न हौस्याएको हो। उनी भन्छन्, “अर्को कुरा विशाल नेपाल र आजको नेपालबीचको खाडलमा इतिहासले कस्तो कस्तो परिस्थिति सामना गर्दै जानु पर्‍यो? यो कुरा नै 'इन्ट्रेस्टिङ' लाग्यो मलाई।” झ्ण्डै आठ लाख लागतमा निर्माण गरिएको यो वृत्तचित्र नेपालमा पनि सार्वजनिक प्रदर्शन गर्ने तयारी भइरहेको निर्माता मनोज बताउँछन्।

कृष्ण शाह यात्री


चेतनाको स्वर

एचआईभी लागेका मानिसहरूमा भेदभावको अन्त्य गर्न उनीहरूमा समान व्यवहारको आह्वान गर्दै मानिससँग मानिस मिले...गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। युएसएआईडीको सहयोगमा एफएचआई नेपाल तथा राष्ट्रिय एचआईभी/एड्स महासंघको संयुक्त साङ्गीतिक अभियान अन्तर्गत सो गीत तयार गरिएको हो। धनेन्द्र विमलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको यस गीतमा दीप श्रेष्ठ, दिपेशकिशोर भट्टराई, नलिना चित्रकार, मौसमी गुरुङ, सुगम पोख्रेल, मुना शेरचन र सुवास राईको स्वर रहेको छ। म्युजिक भिडियोको निर्देशन आशिफ शाहले गरेका हुन्।


लाहुरे संस्कृतिको विरोध

युवा निर्देशक सञ्जय काउछाले मगर भाषाको चलचित्र 'फेर्च्छ नमखान' (सूर्याेदय) मार्फत् युवा वर्गलाई स्वदेशमा बस्ने सन्देश दिएका छन्। काउछाले लाहुरे बन्न जाँदा अरूको दास मात्र बन्ने हुँदा जस्तोसुकै परिस्थितिमा पनि देश विकासकै काममा लागिरहन मगर युवालाई चलचित्रमार्फत् आग्रह गरेका छन्। चलचित्रमा लाहुरेहरूले कमाएको पैसा उनीहरूका श्रीमतीले पर–पुरुषसँगको सम्बन्धमा दुरुपयोग गर्ने प्रसङ्गलाई प्रमुखताका साथ उठाइएको छ। २२ मङ्सिरमा बुटबलमा प्रदर्शन शुरु गरिएको यो चलचित्र भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन जनक थापा मगरको प्रमुख लगानीमा बनेको हो। केशरकुमार थापा, लक्स पुन, दिनु गाहा आदिको चलचित्रमा प्रमुख अभिनय रहेको छ।

जे.बी, बुटबल


काठमाडौँ ब्लुज

रकमाण्डु डटकम इ म्यागजिन र नेख्व रेमेण्डु नामक साङ्गीतिक ब्याण्डको आयोजनामा पुसको पहिलो साता सम्पन्न काठमाडौँ ब्लुज मा रक प्रेमीहरू पश्चिमा सङ्गीतमा रमाए। ब्लुजमा आधारित सङ्गीतको प्रवर्द्धन गर्न राजधानीको साङ्ग्रिला होटलको बगैँचामा आयोजित कन्सर्टमा नेख्व, रिजोनेन्स, जोकुज, लुजा र स्पि्रड्स ब्याण्ड सहभागी थिए। देव गुरुङ, लोचन रिजाल, अशेष डङ्गोल र लुजा ब्याण्ड आदिसँगै दर्शक झ्ुमेका थिए। कन्सर्टबाट उठेको रकम दशजना गरीब बालबालिकाको शिक्षाका लागि हेल्पिङ टुगेदर नामक संस्थालाई प्रदान गरिएको थियो।


सङ्गीत यात्रामा नेपथ्य

नारायणगढबाट ८ पुसमा शुरु भएको नेपथ्यको 'शान्तिको लागि शिक्षा सङ्गीतयात्रा २०६२' पूर्वाञ्चलका दमक, धनकुटा र लहानमा कन्सर्ट सकेर पश्चिमतर्फ लागेको छ। १९ पुसमा हेटौँडा पछि सङ्गीतयात्रा बुटबल, धनगढी, सुर्खेत सन्धिखर्क, तम्घास, पोखरा, बेसीशहर, नुवाकोट, जिरीहुँदै १७ माघमा काठमाडाँैमा समापन हुनेछ। नेपथ्यले 'शान्तिको लागि शिक्षा' अन्तर्गत २०५९ र २०६१ मा पनि नेपालव्यापी सङ्गीतयात्रा सम्पन्न गरेको थियो। पुसको पहिलो हप्तादेखि माघको मध्यसम्म चल्ने ४० दिने सङ्गीतयात्रामा करीब ६५ जनाको समूह संलग्न छ। सहकर्मीहरूका साथ प्रस्तुति गर्दै हिँडेका गायक अमृत गुरुङ यसपालिको देशयात्रा पहिलेभन्दा सहज भएकोमा खुसी छन्। भन्छन्, “शान्ति स्थापनाले आशा बढाएको छ। यसपालि पनि विगतमा झ्ैँ स्वच्छ र स्वस्थ शिक्षाकै पक्षमा आवाज उठाउँदै सङ्गीत यात्रामा निस्केका छौँ। सबैबाट भावनात्मक सहयोग पाउने आशा राखेका छौँ।”


हस्तकला प्रदर्शनी

धातु, ढुङ्गा, प्रस्तर, काठ तथा माटोको मूर्ति र भाँडाकुँडा, चाँदीका गरगहना, पश्मिना लगायत हस्तकलाका घरेलु उत्पादनहरूको प्रदर्शनी २९ मङ्सिर र १ पुसमा पाटन सङ्ग्रहालयमा गरियो। हस्तकला बिक्रेता र कलाकारहरूको प्रवर्द्धन गर्न प्रदर्शनीको आयोजना गरिएको संयोजक यज्ञराज बज्राचार्यले बताए। स्कोप सहकारी संस्थाको आयोजनामा सम्पन्न सो हस्तकला क्रेता–बिक्रेता मेलामा ३० उत्पादक तथा कलाकारहरूले तयार गरेका सामग्री प्रदर्शनमा राखिएका थिए।