हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

खै! हाम्रो 'राष्ट्रियखेल'?

नयाँ राजनीतिक व्यवस्थासँगै मुलुकको नयाँ 'राष्ट्रिय खेल' छनौट गर्न ढिलो भइसकेको छ।

मीन बज्राचायर्

नयाँ राष्ट्रिय गान, नयाँ निशाना छापका साथै राज्यको पुनःसंरचनाको बहसले मुलुकलाई निकै तताएको छ। राष्ट्रिय गान र नयाँ निशाना छापलाई करीब करीब अन्तिम रुप दिइसकेको सरकारले खेल क्षेत्रलाई नयाँ गति दिनका लागि 'नयाँ राष्ट्रिय खेल' छनौट गर्नु पनि त्यत्तिकै जरुरी छ।

धेरै मुलुकहरूले राष्ट्रिय खेलमार्फत् नै अन्तर्राष्ट्रियस्तरमा बेग्लै र विशिष्ट पहिचान बनाएका उदाहरणहरू छन्। हकीमा भारतको साख, वेसबलमा अमेरिकी शान र सुमोमा जापानी प्रतिष्ठा उनीहरूका राष्ट्रिय खेलकै कारण कायम भएका हुन्। राष्ट्रिय खेलकुद गीत त नयाँ बनिसकेको छ, तैपनि नेपालीहरू आफ्नो राष्ट्रिय खेलबारे भने अझ्ै अनभिज्ञ छन्। सामान्यज्ञानका पानाहरूमा कहीँ डण्डिबियो त कहीँ कपर्दीलाई राष्ट्रिय खेल उल्लेख गरेको पाइन्छ। तसर्थ, हाम्रो राष्ट्रिय खेल यही हो भनेर कुनै पनि विद्यार्थी या प्रतियोगीले जवाफ दिन सक्दैनन्। खेलाडी हुन् वा खेलकुद पदाधिकारी कसैलाई पनि यसबारे पत्तो छैन आजसम्म। कुनै पनि देशको इतिहाससँग निरन्तरता पाउँदै आएको खेललाई नै राष्ट्रिय खेलको मान्यता दिने गरिन्छ। त्यसोभए नेपालको राष्ट्रिय खेल कुन हो त? निरुत्तर छन् राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव जीवनराम श्रेष्ठ। उनी भन्छन्, “औपचारिक रूपमा नभए पनि यसबारे सामान्य छलफल शुरु भएको छ।” श्रेष्ठका अनुसार राष्ट्रिय स्वार्थ गाँसिएको, सरल र अन्तर्राष्ट्रियस्तरमा पनि खेल्न सकिने विशेषता नै राष्ट्रिय खेलको न्यूनतम आधारहरू हुनुपर्छ। राष्ट्रिय खेलबारे श्रेष्ठकै जस्तो अनभिज्ञता व्यक्त गर्छन्, राखेपका पूर्व सदस्यसचिव तथा शिक्षा मन्त्रालयका प्रशासन तथा खेलकुद महाशाखा प्रमुख बोधराज निरौला। उनको भनाइमा, “कपर्दीलाई राष्ट्रिय खेल भनिए तापनि अहिलेसम्म कुनै पनि खेललाई राष्ट्रिय खेलका रूपमा लिपिबद्ध गरिएको छैन।”

खेलका माध्यमद्वारा देशको नामलाई अन्तर्राष्ट्रिय जगतमा उच्च राख्न र नेपालीलाई चिनाउन मद्दत पुग्ने खालको राष्ट्रिय खेल छनौट हुनुपर्ने अधिकांश खेलाडी र खेल सम्बद्ध व्यक्तिहरूको दाबी छ। पञ्चायतकालदेखि नै कपर्दीलाई राष्ट्रिय खेल भनिए तापनि सरकारी दस्तावेजमा भने उल्लेख छैन। परिणामस्वरुप नेपाली कपर्दीको स्तर भारत र पाकिस्तानभन्दा निकै कमजोर बन्न पुगेको छ। राष्ट्रिय खेल भनिए पनि यसमा ध्यान नदिएको कपर्दी संघका अध्यक्ष सुनिलराज कर्णिकार गुनासो गर्छन्। कर्णिकार भन्छन्, “कपर्दीलाई सरकारी विद्यालयको पाठ्यक्रममा मात्र सीमित राखिएको छ। सरकारले यो खेलको स्तर वृद्धिमा थप आर्थिक सहयोगसँगै नयाँ ढङ्गले सोच्न ढिलाइ गर्नुहुन्न।”

गत साता केही युवाहरूले काठमाडौँको टुँडिखेलमा एक कार्यक्रम गरी डण्डीबियो खेलको संरक्षणका लागि विशेष अभियान नै शुरु गरे। तर, ठाउँ अनुसार फरक–फरक नियम भएको र अन्तर्राष्ट्रिय प्रतियोगिता नहुने हुँदा नेपालीमाझ् लोकप्रिय भएपनि डण्डीबियोलाई राष्ट्रिय खेल बनाउन नहुने धेरैको तर्क छ। लगभग डेढ दशकअघिसम्म विद्यालयस्तरमा हुने वीरेन्द्र रनिङ शिल्डका कारण भलिबलले पनि देशका कुनाकुनासम्म व्यापकता पाएको थियो, त्यो लोकप्रियता अझ्ै कायम छ। तसर्थ नेपालीहरूमाझ् लोकप्रिय र भौगोलिक हिसाबले पनि भलिबललाई राष्ट्रिय खेलका रूपमा अघि सार्न सकिन्छ। त्यसैगरी फूटबलले पनि नेपालीहरू माझ् विशिष्ट पहिचान बनाएको छ। कुनै समयमा दक्षिण एसियाकै सबल टीमका रूपमा चिनिने नेपालले पछिल्ला समयमा फूटबलमा खासै उल्लेखनीय प्रदर्शन देखाउन सकेको छैन। तर प्रतिस्पर्धात्मक खेल हेर्न रङ्गशालाहरूमा घम्साघम्सी गर्ने दर्शकहरूको उपस्थिति हेर्दा फूटबलले पनि राष्ट्रिय खेलका रूपमा आफूलाई उभ्याउन सक्नेछ। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु शाक्य भन्छन्, “खेलाडी, दर्शक र प्रायोजकमा बढ्दै गएको उत्साहका कारण फूटबललाई राष्ट्रिय खेल घोषणा गर्नुपर्छ।”

उता मार्शल आर्टस् र क्रिकेटको 'चार्म' पनि बेग्लै छ। खर्च धेरै नलाग्ने र खेलाडीलाई अनुशासनमा राख्न पनि सजिलो हुने भएकोले मार्शल आर्टस्कै कुनै एक विधालाई राष्ट्रिय खेलको दर्जा दिनुपर्ने धारणा अघि सार्छन् कोही कोही। यद्यपि, मार्शल आर्टस् नेपालको मौलिक खेल भने होइन। त्यस्तै सम्भावना बोकेको छ, क्रिकेटले पनि। विदेशी भूमिमा समेत नेपाली युवा क्रिकेटरहरूको उत्कृष्ट प्रदर्शनका कारण क्रिकेटको लोकप्रियता दिनहुँ बढ्दो छ। तर, नेपालको भूबनोटका कारण क्रिकेटको विस्तार उपत्यका, तराई र मैदानी क्षेत्रमा मात्र सम्भव छ।

कपर्दी, डण्डिबियो, फूटबल, क्रिकेट, भलिबल, मार्शल आर्टस्सँगै स्थानीयस्तरमा लोकप्रिय च्याम्पटी, तराईतिर खेलिने गुच्चा, उपत्यकामा खेलिने ओखर, लुकामारी, चङ्गा उडाउने, गट्टा, खर्ल्याङखुट्टी, बाघचालजस्ता नेपालका मौलिक खेलहरूको अनुसन्धान गरी त्यसमाथि बहस र छलफल अगाडि बढाइनुपर्छ। त्यसो भयो भने नेपाल र नेपालीको अन्तर्राष्ट्रियस्तरमा विशिष्ट पहिचान बनाउन मद्दत पुग्ने मौलिक राष्ट्रिय खेलको छनौट हुनसक्छ।