हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

निर्देशन पालना भएन

सरकारले द्वन्द्वका कारण बन्द गाविस कार्यालय खोल्ने निर्णय गरेपनि नेकपा (माओवादी) ले अझ्ै खोल्न दिएको छैन। माओवादी केन्द्रीय सल्लाहकार तथा किराँत राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष भक्तराज कन्दङ्वा भन्छन्, “गाविस सचिवहरूलाई गाउँ जान दिने हाम्रो निर्णय भएको छैन।।” यस्तो अवस्थामा सरकारले गाविस सचिवहरूलाई 'गाउँ जाओ' भन्ने निर्देशन दिएपनि जानसक्ने वातावरण बनाइदिन भने सकेको छैन।

तीन महिनाअघि पूर्वाञ्चलका सबै जिविसले पनि गाविस सचिवहरूलाई यस्तै निर्देशन दिएका थिए। गत महिना विराटनगर आएका स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय विकास अधिकारीहरूको भेलामा बोल्दै सचिवहरू गाउँ नगए जागिरबाट निकाल्ने चेतावनी दिए। तैपनि अधिकांश सचिवहरू गाउँ जान सकेका छैनन्, बरु 'उचित वातावरण नबनेसम्म जान नसक्ने' भनी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझ्ाएर सदरमुकामतिरै बसेका छन्।

पूर्वाञ्चलभर ८९३ गाविस कार्यालय खाली भएका छन्। तीमध्ये अधिकांश गाविस ध्वस्त पारिएका थिए। सचिव देव प्रधानलाई गाउँमै बसेर काम गर्न मन भएपनि त्यहाँ जाने वातावरण छैन। प्रधान भन्छन्, “अझ्ै माओवादीहरू गाउँघरमा आउलास्, खबरदार भन्छन्। ज्यानै जोखिममा पारेर त कसरी जाने?” विगतमा माओवादीले तेह्रथुम, जलजलेका तत्कालीन सचिव गङ्गा मास्केको हत्या गरेका, सुधाप गाविसका सचिव मणिप्रसाद राई, सिम्लेका सचिव भानुभक्त गजुरेल, सुङ्नामका सचिव नरेन्द्रकुमार श्रेष्ठ र राजेन्द्र श्रेष्ठ अपहरण गरेका तथा कैयौँ गाविस सचिवहरूलाई यातना दिएका छन्। गाउँ जान नपाएपछि केही व्यक्तिले झ्ुक्याएर नागरिकता लिन्छन् कि भन्ने चिन्ता सचिवहरूलाई छ।

उता गाउँमा मानिसहरूलाई पाइला–पाइलामा गाविस कार्यालय नपुगी हुँदैन― जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, व्यक्तिगत घटनादर्ता र नागरिकता सिफारिसदेखि मालपोत तिर्नसम्म। काठमाडौँ बस्दै आएका सुनसरी, बराहक्षेत्रका गोपाल कटुवालले श्रीमतीको नागरिकता र छोराछोरीको जन्मदर्ता गराउन गाउँमा सचिव नभेटेर कम्ती दुःख पाउनु परेन। मोरङ, याङ्शीलाका किसन राईले छोरा शिवलाई भारतीय सेनामा भर्तीका लागि नागरिकताको प्रमाणपत्र बनाउन सचिव खोज्दाखोज्दै म्याद गुजि्रयो। गाविस कार्यालय नखुल्दा गाउँका मान्छेलाई जुन कामका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ। नागरिकताको लागि हो भने त सात जना सरजमिन पनि सँगै लिएर जानुपर्छ। यसले उनीहरूलाई थप आर्थिक भार परेको छ भने स्थानीय निकायको आम्दानी घटेको छ।

गोपाल दाहाल, सुनसरी


राहतको आशामा नेपालगञ्ज

एघार पुसमा मधेशी र पहाडी समुदायबीच उत्पन्न तनाव शान्त भएपछि नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ। यो तनावले निम्त्याएको हिंसाबाट पीडितहरू अहिले आक्रमण, आगजनी र तोडफोडको राहत तथा क्षतिपूर्ति पर्खेर बसेका छन्। हिंसामा एकजनाको ज्यान जानुका साथै करीब २५ जना घाइते भएका थिए, सयभन्दा बढी पसल, होटल र घरमा आगजनी तथा तोडफोड भएको थियो।
सत्तासीन नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले १० पुसमा गरेको 'मधेश बन्द' को क्रममा नेपालगञ्जमा पार्किङ गरिएका गाडी र खुलेका होटल तोडफोड गर्दै साम्प्रदायिक नारा समेत लगाउने केही प्रदर्शनकारीको अराजक व्यवहारका कारण शहरमा तनाव उत्पन्न भएको थियो। बन्द 'सफल' बनाउने स्वार्थले हुनसक्छ, सद्भावनाले त्यो अराजक भीडलाई आफ्ना कार्यकर्ता भन्यो। भोलिपल्ट त्यसैलाई उपयोग गर्‍यो, साम्प्रदायिक सद्भाव भड्काउन खोज्ने अर्को जमातले। स–साना कुरामा बन्द र चक्काजाम गर्ने जिम्मेवार राजनीतिक दलहरूका लागि नेपालगञ्जको यो घटना गतिलो पाठ बनेको छ। यो घटनाले राज्यको सुरक्षासंयन्त्र कति कमजोर मनस्थितिमा रहेछ भन्ने पनि देखाएको छ। आफ्नै आँखाअगाडि तोडफोड र आगजनी हुँदा समेत सुरक्षाकर्मीले मौखिक अनुरोध गर्ने सिवाय बल प्रयोग गरेर रोक्ने प्रयत्न गरेनन्। पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएनन्। कर्फ्युमा समेत शहरका चोक सुरक्षाकर्मीविहीन देखिन्थे। तरल राजनीतिक अवस्थाले हुनसक्छ, सामाजिक सद्भाव अरू बिग्रिन नदिन स्थानीय प्रशासनले कर्फ्यु लगाएपनि बल प्रयोग गर्ने आँट गरेन।

तनावले राज्यसंयन्त्रलगायत सबैलाई चकित पार्ने गरी चार–पाँच घण्टामै उग्र दङ्गाको रुप लियो। १२ पुस बिहान दङ्गाग्रस्त स्थानहरूमा आधुनिक हतियारसहित सशस्त्र प्रहरी छिरेपछि हिंसा केही मत्थर भएको थियो। कर्फ्युकै समयमा नेकपा माओवादीले निकालेको सद्भाव र्‍यालीले स्थितिलाई सामान्य बनाउन झ्नै सहयोग गर्‍यो। भोलिपल्टको सद्भाव र्‍यालीमा सर्वपक्षीय सहभागिता झ्न् बढ्यो। घटनाको जानकारी लिन र सामाजिक सद्भाव सुदृढ पार्न माओवादीसहित आठै दलका केन्द्रीय नेताहरू १३ पुसमा एकसाथ नेपालगञ्ज पुगे।

सरकारले पुनरावेदन अदालत बुटबलका न्यायाधीश पुरुषोत्तम पराजुलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिले कसको घुसपैठ र स्वार्थले तनाव भड्काउने काम गरेको थियो भन्ने प्रस्ट भन्ला–नभन्ला, आठदलका नेताहरूले भने नेपालगञ्ज घटनालाई 'जनताले ल्याएको परिवर्तन मन नपराउने मण्डले र प्रतिगामीको खेल' भनेका छन्। पीडितहरूले क्षतिपूर्तिको माग गरिरहेका बेला 'क्षतिपूर्ति नभएसम्म हामी शान्ति चाहँदैनौँ, दोषीमाथि कारबाही गर' लेखेर बजारमा झ्ुण्ड्याइएका तुलहरूले भने अझ्ै तनाव बढाउने प्रयत्न जारी रहेको सङ्केत गरेका छन्। नेपालगञ्ज तनावलाई 'राष्ट्र नै ध्वस्त पार्न खोजिएको मुलुककै इतिहासको दुःखदायी र दुर्भाग्यपूर्ण घटना' को रूपमा प्रस्तुत गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो बुझ्ेरै भनेका होलान्― “राष्ट्रलाई बर्बाद गर्ने, टुक्र्याउने र अस्तित्व मेटाउने काम कुनै हालतमा गर्न दिनुहुँदैन।”

रामेश्वर बोहरा


विदेशमा व्यहोर्नु परेको दुःख

पैसा कमाउने लोभमा फँसेर चार महिनाअघि कुवेत पुगेकी रुपन्देही, दुधराक्ष–७ की ३८ वर्षीया तुल्सी पोखरेल त्यहाँका मालिक, दलाल र प्रहरीको यातना सहन नसकेर ३० मङ्सिरमा स्वदेश फर्केकी छन्। उनलाई दलालहरू गाउँकै फुर्से भन्ने टोपबहादुर सार्की र बुटबल, मिलनचोकका शङ्करसिंह क्षेत्रीले राम्रो तलब पाउने आश्वासन दिएर ८ भदौ २०६३ मा कुवेत पठाएका थिए। दुवै दलाललाई कारबाही गर्नुपर्ने स्थानीय बुद्धिजीवीले माग गरेपनि प्रशासन मौन छ।

उनी घर आएपछि फरार भएका सार्की र क्षेत्री बम्बई गएको परिवारका सदस्यले बताएका छन्। तुल्सी फर्किनु एक महिनाअघि दुधराक्ष–२ की कमला गिरी पनि कुवेतबाट शारीरिक यातना खप्न नसकेर फर्किएकी थिइन्। स्वदेश फर्कन खोज्दा कुवेतकी दलाल सुनिता श्रेष्ठले मार्ने धम्की दिएको बताउँदै तुल्सी भन्छिन्, “घरमा काम गर्दा घरसाहु कपिलको यौन शोषण सहन नसकेर प्रहरीसमक्ष पुगेँ। प्रहरीले उल्टै १० दिन थुन्यो।” उनले कुवेतमा चार महिनाको पैसा पनि पाइनन्। यो दुःखेसो पोख्न माइती नेपाल पुगेपनि संस्थाले वास्ता नगरेको उनको गुनासो छ।

तुल्सीका एक छोरा र दुई छोरी छन्। उनका पतिको १३ वर्षअघि भारतीय सेनामा कार्यरत् रहेको बेला जालन्धरको फुलोरमा मृत्यु भएको थियो। गत वैशाखमा भारतको हाइकोर्टमा कार्यरत विष्णु आचार्यसँग रु.१० हजार सापट लिएर माइती गाउँ दुधराक्ष–४, चंखीपुर गएकी तुल्सीलाई सार्कीले कुवेत गएर पैसा कमाउने लोभ देखाएपछि उनी रु.७ हजार तिरेर अरू पैसा दुई महिनापछि दिने शर्तमा गएकी थिइन्।

प्रकाश पन्थी, बुटबल


अफ्रिकी गिरोहको ठगी

काठमाडौँस्थित अमेरिकी राजदूतावासमा फोन गर्दा भीसाको लागि निवेदन नै नआएको थाहा पाएपछि गोलधाप–३, झ्ापाका २४ वर्षीय वासुदेव नेपालको अमेरिका जाने सपना चकनाचूर भयो। आफूलाई अमेरिकी राजदूतावासको कर्मचारीको रूपमा चिनाउँदै अमेरिका पठाइदिन्छु भनेर पैसा लिने अफ्रिकी मुलुक लाइवेरियाका रोयल क्याकेन्सी डेनिस (तस्बिर) ठग भएको थाहा पाएपछि त उनी छाँगाबाट खसेजस्तै भए।

वासुदेव र उनका दुई आफन्तले अमेरिका जान डेनिसलाई रु.२५ लाख २० हजार दिएका थिए। तिनै वासुदेवको उजुरीका आधारमा दरबारमार्गस्थित अन्नपूर्ण होटलको मूलढोकाबाट पक्राउ परेपछि विदेश पठाइदिने बहानामा नेपालीहरूलाई ठग्दै आएका डेनिसको वर्ष दिनदेखिको धन्दामा २८ मङ्सिरदेखि पूर्णविराम लागेको छ। सोझ्ा नेपालीलाई अमेरिकाको सपना देखाउन र विश्वास दिलाउन डेनिस कहिलेकाहीँ अमेरिकी राजदूतावास परिसर भित्र छिर्ने पनि गर्दथे। उनी अमेरिका जान चाहनेहरूलाई दूतावासको ढोका बाहिर राखेर कन्सुलरलाई भेट्न जान्छु भनी लामो समय हराउँथे। यसरी डेनिसले एकजनासँग रु.१२ हजारदेखि रु.३ लाख ५० हजारसम्म गरी करीब रु.३५ लाख ठगेको उजुरी महानगर प्रहरी, हनुमानढोकामा परेको छ। उनबाट ठगिनेमा ललितपुरका ओमशङ्कर महर्जन, काठमाडौँका किरण चौलागाईं, रामेछापका टोपेन्द्रराज सुनुवार, संखुवासभाका पेम्बा भोटे, भक्तपुरका एकै परिवारका डिकी कर्माचार्य र सुवर्णमान कर्माचार्य छन्। पीडितको सङ्ख्या र उजुरी दिनप्रतिदिन बढ्दै गएकाले डेनिसले कम्तीमा रु.१ करोड ठगी गरेको प्रहरीको अनुमान छ।

डेनिसले बयान दिन नमानेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्। उनीसँग नाम जोडिएका केही युवतीको बयानका आधारमा अगस्टिन्ड डि गिप्ली र फ्रान्कीटेट्ली टेली नामका दुई अफ्रिकी पनि पक्राउ परेका छन्। प्रहरीले यो गिरोह अन्य आपराधिक कार्यमा पनि संलग्न भएको आशङ्का गरेको छ। कोठा फेरि–फेरि बस्ने, फरक–फरक व्यक्तिसँग फरक–फरक नाम बताउने र नेपाली युवतीलाई प्रयोग गर्ने अफ्रिकी मूलका यस्ता समूह नेपालमा लागूऔषधको ओसारपसारदेखि ठगी धन्दामा बद्नाम छन्। जसको गिरोह जेलदेखि, पाँचतारे होटल र राजधानीका कुनाकाप्चामा सक्रिय रहेको प्रहरीको आशङ्का छ।

डेनिसले आफूलाई अमेरिकी नागरिक भन्दै पढेलेखेका केही नेपाली युवतीलाई प्रेममा फँसाएर ठगी धन्दालाई सहज बनाउने गरेको युवतीहरूले बताएका छन्। तीमध्ये ठगीको रकम राखेको सुटकेस लुकाएको अभियोगमा सङ्गीता थापा, उर्मिला र अनिता गिरीलाई प्रहरीले पक्राउ गरेको छ। डेनिसको ठमेलस्थित एक होटलको कोठाबाट ठगिएकाहरूको शैक्षिक योग्यताको प्रमाणपत्र, भीसाका लागि दरखास्त दिएको कागजातसहित १४०० अमेरिकी डलर बरामद गरेको छ। प्रहरीका अनुसार, पासपोर्टसमेत नभेटिएका अफ्रिकीहरूसँग लाइबेरियन शरणार्थीको रूपमा संयुक्त राष्ट्रसंघमा निवेदन दिएको कागज मात्र भेटिएको छ।

विभिन्न समयमा वीरगञ्ज र सुनौली नाकाबाट नेपाल पसेका यी अफ्रिकीहरू विना पासपोर्ट नेपाल छिरेर राजधानीमा ठगी गर्दै वर्ष दिनसम्म सुरक्षित घुम्न सक्नुले सुरक्षा निकायको लापरबाही प्रदर्शन गरेको छ।