हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अनुभूति

कर्णाली पुल र सुदूरपश्चिमको सुसेली

कर्णाली तर्ने सजिलो माध्यम नहुँदो हो त सुदूरपश्चिमको जागरण अभियान अहिलेजस्तो व्यापक हुने थिएन।

सीके लाल

सीके लाल

संसारको सबभन्दा संसारको सबभन्दा लामो र उत्कृष्ट झ्ोलुङ्गे पुल जापानको ओशाका शहर नजिक छ। त्यस पुलसँगै पर्यटकहरूका लागि एउटा प्रदर्शनी कक्ष बनाइएको छ। प्रदर्शनमा आकाशी काईक्यो नामकरण गरिएको त्यस झ्ोलुङ्गे पुलसम्बन्धी विभिन्न मोडलहरूका साथै एउटा कलाकृति पनि राखिएको छ (हे. चित्र)। जसको शीर्षक हो, “जनता, भविष्य र पुलहरू”। त्यस कलाकृतिले कर्णाली पुल बन्नुभन्दा पहिलेका सुदूरपश्चिमेली नेपालीहरूका शङ्का र आकांक्षालाई प्रतीकात्मक रूपमा समेटेको अनुभव गर्न सकिन्छ। कलाकृतिहरू वास्तवमा विश्वव्यापी प्रवृत्तिलाई प्रतिबिम्बित गरिरहेका हुन्छन्। कर्णाली र आकाशीको परिवेश भिन्न रहे पनि प्रतिबिम्ब एकनासको छ।

कर्णाली पुल बन्नु अगाडि त्यसभन्दा पश्चिमको भूभाग अर्कै संसार जस्तै थियो। पुल त स–साना समेत मह140वपूर्ण नै हुन्छन्। तर, कुनै पनि मानव निर्मित संरचनाबाट अछुतो रहेको 'कुमारी' कर्णाली नदीमा पुल हाल्ने कुरा विक्रमीय '३० को दशकसम्म पनि सपना जस्तै लाग्दथ्यो। पुलको लागि उपयुक्त ठाउँ अभाव थियो। चिसापानी (अहिले पुल बनाइएको ठाउँ) भन्दा उत्तर विकट पहरा र संसारकै सबभन्दा ठूला खोंचहरूमध्ये एक मानिने कर्णाली जलविद्युत् योजनाको सम्भाव्य बाँध स्थल पर्दछ। पुलभन्दा तल पुगेपछि यो पहाडी खोला पसारिएर महानदी बन्छ। तलपट्टि पुल बनाए लम्बाई बढ्ने, माथि निर्माणस्थल सारे पहुँच मार्ग महँगो हुनुका साथै प्रस्तावित बाँधस्थललाई बाधा पर्न सक्ने बाध्यताका बीच वर्तमान पुलको ठाउँ छनौट गरिएको हो। तर जटिल बलौटे जग र अत्यधिक बेगवान् दिउँसोको हावाका कारण बाध्यात्मक छनौट स्थल पनि कम्ती चुनौतीपूर्ण थिएन।

कर्णाली पुलको विकल्पहरू अध्ययन गरिँदा सस्तो र सामान्य फलामे टूस, झ्ोलुङ्गे पुल वा सिमेन्ट कंक्रिटका डिजाइनहरूबारे छलफल नभएको होइन। तर तत्कालीन शासकहरूले शाहवंशको कीर्तिस्तम्भका रूपमा कर्णाली पुल बनाइनुपर्ने चाहना राखेकाले संसारमा नै जटिल मानिने एकल स्तम्भ तार पुल (सिङ्गल टावर केवल ब्रिज) डिजाइन रोजाइमा परेको हो। कर्णाली पुलको स्तम्भ नेपालको सबभन्दा अग्लो मानवनिर्मित संरचना हो र यो पुल आफ्नो किसिमको संसारकै सबभन्दा जटिल निर्माणहरूमध्ये एक हो। पुलको लागत विश्व ब्याङ्कको ऋणबाट व्यहोरिएको हो भने डिजाइन विश्वप्रसिद्ध अमेरिकी कम्पनीले गरेको हो। पुल निर्माण कार्यको ठेक्का भने प्रतिस्पर्धात्मक बोलपत्रको आधारमा एउटा जापानी निर्माण कम्पनीले पाएको थियो। पुल त केही ढिलो भए पनि बन्यो, तर त्यस संरचनाको जटिलताले गर्दा रंगरोगन गर्नलाई समेत विदेशीलाई गुहार्नुपर्ने अवस्था अद्यपि, कायम छ। हुन त 'शाहवंशको कीतिस्तम्भ' नेपालका निर्वाचित प्रधानमन्त्रीबाट मात्र उद्घाटन हुनसकेकाले सामान्य नेपालीहरूको सम्मान स्तम्भको रूपमा स्थापित भइसकेको छ, तापनि शाह राजाहरूका फिजुलखर्चीको नमूनाहरूमध्ये यो पुल पनि एउटा हो।

लागतको कुरा एकातिर पन्छाउने हो भने कर्णाली पुलले सुदूरपश्चिमलाई बाँकी नेपालसँग जोड्ने सम्पर्कको रूपमा ऐतिहासिक भूमिका निर्वाह गरेको छ। पुल बन्नुभन्दा अगाडि पहाडको त के कुरा, कैलाली र कञ्चरपुरजस्ता मधेशका जिल्लाहरू समेत कर्णाली पूर्वका नेपालीहरूका लागि अनकण्टार जस्तै थिए। अहिले धनुषाका रिक्साचालक धनगढीमा भेटिन्छन्। कैलालीको टीकापुरबाट बाँकेको नेपालगञ्ज विमानस्थल पुग्न कि भारतको बाटो कि दिनभरिको यात्राको विकल्प थिएन। आजकल हवाईजहाजको उडान तालिकाबारे निर्क्यौल गरेर मात्र घरबाट हिँडे हुन्छ। तर भौतिक दूरी घटाउनु वा यात्रा सुलभ तुल्याउनुमा मात्र कर्णाली पुलको प्रभाव सीमित छैन। सुदूरपश्चिमेलीहरूको मानसिकतामा कर्णाली पुलले ल्याएको बदलाव त्यस संरचनाको सबभन्दा महवपूर्ण प्रभाव हो।

किरण नेपाल

भनिन्छ, पहाडको उद्गमस्थलदेखि महानदी वा समुद्रमा सँगै विलय नभएसम्म कुनै पनि नदीका दुई किनारा कहिल्यै मिल्दैनन्। त्यसैले पुल इञ्जिनियरहरूलाई पढाउने गरिन्छः “तिमीहरूको काम इञ्जिनियरिङ मात्र होइन, परिवर्तन प्रवर्द्धकको हो।” र, त्यस्तो परिवर्तन कर्णाली पुल बनेको केही वर्षपछि नै सुदूरपश्चिममा हेर्न सकिन्छ। सुस्केराहरू अब सुसेलीमा बदलिन थालेको अनुभव हुन्छ। केन्द्रबाट अपहेलितहरू कर्मलाई सराप्न छाडेर शिकायत, माग र दाबीको लोकतान्त्रिक संस्कृति अँगाल्न शुरु गरिसकेका छन्। बाँकी नेपालमा जस्तै सुदूरपश्चिममा समेत अविकास, पछौटेपन, अशिक्षा, असमानता र भेदभाव जस्ता गरीबीजन्य कुसंस्कृतिको प्रकोप कम भएको छैन। तर मुलुकका अन्य भागहरूमा जस्तै राजनीतिक र सांस्कृतिक चेतनाको लोकतान्त्रिक जागरण सेती र महाकाली अञ्चलमा समेत फैलिन शुरु भइसकेको छ। यो सबै कर्णाली पुलले गर्दा मात्र सम्भव भएको हो भन्ने दाबी अतिशयोक्ति हुनेछ, तर कर्णाली तर्ने सजिलो माध्यम नहुँदो हो त सुदूरपश्चिमको जागरण अभियान अहिलेजस्तो व्यापक भने हुने थिएन। परिवर्तन हवाईजहाज चढेर वा टेलिफोन र टेलिभिजनबाट आए पनि त्यसको प्रभाव विस्तार सडक र पुलद्वारा मात्र सम्भव हुँदोरहेछ।

“जनता, भविष्य र पुलहरू” कलाकृतिमा दर्शाइएको भावी पुस्ताको हातमा रहेको बत्ती र इन्द्रधनुषको सपनाले कर्णाली पुलको परिकल्पनालाई पनि प्रतिबिम्बित गरेको छ। धेरै बन्न र बनाउन बाँकी छन् अझ्ै भौतिक, सामाजिक, सांस्कृतिक तथा भावनात्मक पुलहरू217 नेपालको लोकतान्त्रिक एकीकरण अभियानलाई अगाडि बढाउन।

(इन्जिनियर सीके लाल कर्णाली पुल निर्माण व्यवस्थापनमा संलग्न थिए।)