तन्नेरी
शृङ्गारमा तन्नेरी चासो
केटीहरूको ध्यान खिच्न केटाहरूले आफूलाई 'फेशनेवल'
बनाउने त छँदैछ, केटीहरू पनि आफ्नो रोजाइको केटा राम्रो देखियोस् भन्ने
चाहन्छन्।
•
डम्बरकृष्ण श्रेष्ठ
 |
| किरण पाण्डे |
| आफ्नै पार्लरमा झ्ापाकी पूजा गिरीलाई सिँगार्दै नीलडेविड कटवाल।
|
कपालमा
स्ट्रेट, मेहेन्दी र विभिन्न रङ्ग लगाएर हाइलाइट गर्ने
अनुहारमा मेकअप, ब्लिचिङ, फेसिएल, रेजर कट, आइब्रो थ्रेडिङ लगायतका
शृङ्गारका काम अब महिलाका पेवा रहेनन्। अनुहार सजाउन सौन्दर्य प्रसाधन
अपनाउने काममा पुरुषहरू पनि अभ्यस्त हुन थालेका छन्। युवाहरूमा आएको
सौन्दर्य चेतना र राम्रो देखिने होडवाजीले सौन्दर्य–व्यवसायमा नयाँ
लहर ल्याएको छ।
आफूलाई राम्रो देखाउने होडवाजीमा तन्नेरीहरू
खुलेरै लाग्न थालेपछि केटा र केटीका लागि छुट्टाछुट्टै सौन्दर्य प्रसाधन
उत्पादन हुन थालेका छन्। ब्युटिपार्लरमा केटाहरूको समेत भीड लाग्नथालेको
छ र धमाधम खुल्न थालेका छन् पुरुष–पार्लरहरू। ब्युटिशियनको तालिम लिएर
धेरै युवक–युवतीले यसैमा आफ्नो 'करिअर'समेत बनाउन थालेका छन्।
राजधानीको काठमाडौंमलस्थित नीलडेविड सैलुन
अफ हेयर एण्ड ब्युटीमा कपाल सजाउदै भेटिएका बालाजुका विजय चालिसे (२२)
फेशन, शृङ्गारजस्ता कुरा केटीहरूका लागि मात्र नभएको बताउँछन्। उनी
भन्छन् “केटाहरूले मेकअप गर्ने, स्टाइलिष्ट कपाल बनाउने र फेशनेवल
बन्ने गरेको पहिलेदेखि नै हो तर यो आवश्यकता बनेको छ अहिले।” राम्रो
ठाउँमा जागिर पाउन अन्य दक्षतासँगै आकर्षक देखिनु जरुरी भएकाले केटाहरूमा
'स्मार्ट' देखिने चाहना बढेको उनी बताउँछन्।
कपाल स्ट्रेट पार्न आएकी झ्ापा, बिर्तामोडकी
पूजा गिरी केटीहरूको ध्यान खिच्न पनि केटाहरूले आफूलाई फेशनेवल बनाउने
गरेको बताउँछिन्। भन्छिन्, “केटीहरूले पनि आफ्नो रोजाइको केटा राम्रो
होस् भन्ने चाहन्छन्।” तीन वर्षअघि ६ महिने तालिम लिएर ललितपुर–कोपुण्डोलमा
महिलाहरूका लागि रुपश्री ब्युटीपार्लर सञ्चालन गर्दै आएकी सन्दिला
अवाले धेरै केटाहरू शृङ्गारबारे बुझन आउने गरेको बताउँछिन्। सौन्दर्यप्रतिको
बढ्दो आकर्षणका कारण व्यवसाय फस्टाएको उनको अनुभव छ। भन्छिन् “सुरुमा
रुचिले सिकियो, अहिले पेशा नै बनेको छ।”
च्ाार वर्षअघि राजधानीमा भारतीय हेयरस्टाइलिष्ट
जावेद हबिबले पुरुष तथा महिलाका लागि केश काट्ने शैलुन स्थापना गरेपछि
यस्ता शैलुनको माग राजधानीबाहिर पनि बढ्न थालेको छ। कमलादी र कुमारीपाटीमा
खुलेका हबिब–शैलुन र काठमाडौ मल तथा नयाँ बानेश्वरका नीलडेविड पार्लरहरूले
तन्नेरीहरूको सजिने चाहना पूरा गरिरहेका छन्। पहिले महिलाहरूको गन्तव्य
बन्ने राजधानीका करीव दुई हजार ब्युटिपार्लरमा पुग्ने पुरुषहरूको सङ्ख्या
समेत आजभोलि उल्लेख्य हुनथालेको छ। तीन दशक अघिदेखि सक्रिय ब्युटिशियन
कमला श्रेष्ठको कोपुण्डोलस्थित सियाम इन्ष्टिच्युट अफ हेयर डिजाइन
एण्ड ब्युटी केयरले महिला–पुरुष दुबैलाई सेवासँगै सौन्दर्य–सज्जाको
प्रशिक्षणसमेत दिँदै आएको छ।
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| सियान इन्स्टिच्युटका प्रशिक्षार्थीहरू
बेहुली सिगार्दै। |
अनुभवी प्रशिक्षक कमला सौन्दर्य र शृङ्गारप्रतिको
सोचाइमा पहिलेको तुलनामा आकाश–पातालको फरक आएको बताउँछिन्। उनका अनुसार,
विदेश जाने–आउनेको बढ्दो सङ्ख्या, विदेशी टेलिभिजन र फेशनको प्रभावसँगै
स्वदेशी मिडिया र तिनका सोचमा आएको परिवर्तनले यसको व्यापकता बढेको
हो। भन्छिन् “राम्रो बन्न खोज्नु समयको माग पनि हो। त्यसैले केटाहरू
पनि केटीहरूकै हाराहारीमा सजिन थालेका छन्।” चाया, डण्डीफोर जस्ता
समस्या केटा–केटी दुबैमा हुने बताउँदै कमला थप्छिन्, “ओठमा लिपिस्टिक
र गालामा लालीबाहेक केटाहरूले अरू सबै लगाउँछन्।”
दिल्ली, थाइल्याण्डमा हेयर डिजाइन र मेकअपको
अध्ययन गरेका नीलडेविड कटवालको विचारमा सौन्दर्य, शृङ्गारजस्ता कुरा
अब खाना–पानीजस्तै सहज र आवश्यक मानिन थालेका छन्। पुरुष–महिला दुबैका
लागि आठ महिनाअघि उनले काठमाडौँमलमा खोलेको पार्लरमा दैनिक करीब ४०
जना शृङ्गार गर्न आउँछन। उनीकहाँ ५५ रुपैयाँ लाग्ने आइब्रो थ्रेडिङदेखि
रु.५ हजारसम्मको शृङ्गार गरिन्छ, दुलही शृङ्गार। अनुहार सुहाउँदो कपाल
बनाउने/रङ्गाउने मात्र हैन कपाल जोडेर लामो बनाउने सीपसमेत आफूले सिकेको
उनी बताउँछन्। आफ्नो प्राकृतिक सौन्दर्यमा अलिकति ध्यान दिए जो कोही
सुन्दर देखिने ब्युटिशियनहरूको दाबी छ। कलाकारिता, मोडलिङ, एयरहोस्टेजदेखि
ब्याङ्किङ क्षेत्र तथा विभिन्न फर्महरूमा जागिर खानसमेत 'स्मार्ट'
देखिनु आवश्यक भएकाले शहरबजारका युवा आफ्नो सौन्दर्य बढाउन लागिपरेका
छन्।
बन्दैछ 'करिअर'
ब्युटिशियन तालिम धेरै बेरोजगारका लागि रोजगारीको बाटो बनेको छ। विदेशमा
काम गर्न र देशभित्रै आफ्नो 'करिअर' बनाउन धेरै तन्नेरीहरू सौन्दर्य–सज्ज्ाासम्बन्धी
प्रशिक्षण लिइरहेका छन्।
 |
| पुरुषको केश–सज्जामा माइती नेपालकी बालिका थापा मगर। |
आवासीय भिसा पाएर बेलायत जान ठिक्क परेका
ललितपुर, नख्खीपोटका विशाल गुरुङ (२२) लाई उताबाट बुबाले 'काम नसिकी
नआउनू' भनेपछि अहिले उनी सियाम इन्स्टिच्युटमा तीन महिने व्युटिशियन
कोर्स गरिरहेका छन्। काम नसिकी विदेश जानेहरूले दुःख पाएको सुन्दै
आएकाले पनि आफू प्रशिक्षण लिन हतारिएको उनी बताउँछन। भन्छन्, “एउटा
'करिअर' त रोज्नै पर्यो। अहिले केटा–केटी सबैमा यसको क्रेज बढेकाले
अनुहार सजावटको कोर्स गर्दैछु।” प्रयोग गर्ने सामानसमेत गरेर तीन महिने
कोर्सका निम्ति रु.२५ हजार खर्च लाग्ने उनले बताए। विशालजस्तै प्रशिक्षण
लिएर विदेशिने तयारीमा रहेकी गोङ्गबुकी मञ्जु लामा आफ्नो सीप खेर नजाने
कुरामा ढुक्क छिन्। मिस नेपाल–२००५ मा प्रतिस्पर्धीसमेत रहेकी मञ्जु
आफ्ना केही साथी र आफन्तले यो सीप सिकेर पार्लर नै खोलेकाले यसको फाइदा
प्रत्यक्ष देखेको बताउँछिन्।
सियाम इन्ष्टिच्युटबाट मात्र गएको १५ वर्षमा
२६ सयले ब्युटिसियन तालिम लिइसकेका छन्। सीटीइभीटीबाट मान्यताप्राप्त
यो इन्स्टिच्युटबाट प्रशिक्षित ३० प्रतिशत विदेशिएका, २० प्रतिशत राजधानी
बाहिर काम गरिरहेका, १४ सयले आफै ब्युटीपार्लर खोलेर वा अर्काको पार्लरमा
काम गरेर आकर्षक आर्जन गरिरहेको दावी सञ्चालक कमला श्रेष्ठको छ। उनको
इन्ष्टिच्युटमा अहिले पनि १०० जनाले प्रशिक्षण लिइरहेका छन् भने ५०
जनाले त्यहीँ रोजगारी पाएका छन्। १५ वर्षअघि नै तालिम लिएर काम गर्दै
आएकी ललितपुर, झ्म्सीखेलकी सुनिता थापा सामान्य साक्षरले समेत सिक्नसक्ने
यो पेशाले धेरै महिलालाई आत्मनिर्भर बनाएको बताउँछिन्। भन्छिन् “सानो
पूँजीमा व्यवसाय शुरु गर्न सकिन्छ र महिलाहरूले घरमै बसी–बसी राम्रो
कमाइ गर्न सक्छन्।”
नेपालमा सौन्दर्यप्रतिको बढ्दो आकर्षणका कारण नीलडेविडले काठमाडौँमलमा
पार्लर खोलेको दुई महिनापछि नै बानेश्वरमा शाखा खोले। उनले १ मङ्सिरबाट
ब्युटिशियन प्रशिक्षणसमेत शुरु गरेका छन्। भन्छन् “चाडै पोखरा र धरानमा
पनि व्यवसाय विस्तार गर्दैछु।” उनको प्रशिक्षण केन्द्रमा तीन केटासहित
२५ जनाले तालिम लिइरहेका छन् भने दुबै पार्लरमा गरेर १३ जनाले रोजगारी
पाएका छन्। तीमध्ये पिङ्की सिंह र रमा पाण्डे बहिरा ब्युटिशियन हुन्।
गौशालास्थित माइती नेपालको आश्रयमा बस्दै आएका बालिका थापा मगर र दिया
तामाङले समेत नीलडेभिडको पार्लरमा काम पाएका छन्। बालिका भन्छिन्,
“अब काम गरेर खान सकिने आशा पलाएको छ।” |