हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

रुसी यान्त्रिक केन्द्र

“यसपालिको 'किम्फ' मा पहिले पहिलेजस्तो रमाइलो भएन। दर्शकहरू त्यति आएको देखिएन नि, दाइ?” एक जना फिल्मप्रेमी भाइले यस्तो प्रश्न गरे।

'किम्फ' अर्थात् 'काठमाण्डू इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल'। त्यो महोत्सव हुने मुख्य थलो रुसी सांस्कृतिक केन्द्र। पहिले हेरी दर्शकहरूको कम चहलपहल देखेर तिनले त्यसरी सोधेका थिए। कुनै–कुनै फिल्मको प्रदर्शनमा त पहिले जसरी नै दर्शकहरूको भीड उर्लेको थियो। तर दर्शक सङ्ख्या केही पातलिएको अनुभवचाहिँ यस पङ्क्तिकारलाई पनि भएको हो।

किन यसो भयो त? यस पङ्क्तिकारको विचारमा त्यसको मुख्य दोषी रुसी सांस्कृतिक केन्द्रको ठूलो फलामे गेट हो। झ्न्डै १० फिट अग्लो त्यो फलामे गेट बिजुलीद्वारा खुल्छ र बन्द हुन्छ। त्यस गेटमा चियाउन सकिने सानो छिद्र पनि छैन, बाक्लो फलामे पाताको पक्का भित्ता हो त्यो। सुरक्षागार्डहरूले बिजुलीको स्वीच दबाएर गेटलाई खोल्छन् र बन्द गर्छन्। त्यो गेट बन्द भएको अवस्थामा न भित्रबाट बाहिर देखिन्छ न त बाहिरबाट भित्र। छेवैको सडकमा हिँड्नेले रुसी केन्द्रभित्र के भइरहेछ, त्यसको अत्तोपत्तो पाउँदैन।

त्यस्तो फलामे पर्खालभित्र 'फिल्म महोत्सव' चलिरहेको कुरा फिल्मकलाको कट्टर समर्थकबाहेक जनसाधारणलाई थाहा नहुनु र उनीहरू भित्र पस्न हच्किनु स्वाभाविक हो। भएको त्यही हो।

डम्बरकृष्ण श्रेष्ठ
गुरुकुलमा 'किम्फ' को समापनमा आयोजक र आमन्त्रित।

त्यो फलामे गेट पहिले त्यहाँ थिएन। गेट त थियो, तर भित्र–बाहिर छ्याङ्छ्याङ्ती देखिने खालको थियो र त्यो यस्तो महोत्सव भएको बेला सधैँ पूरै खुला रहने गर्थ्यो। त्यही खुलापनले गर्दा त्यहाँ महोत्सवको माहोल बन्थ्यो र मानिसहरू रमाइलो मान्दथे।

त्यो फलामको गेट के लाग्यो त्यसले रुसी सांस्कृतिक केन्द्रलाई 'गुलाग आर्किपेलागो' बनाइदियो। नाम त त्यस ठाउँको रुसी सांस्कृतिक तथा वैज्ञानिक केन्द्र छ। तर नामअनुसारको कुनै काम देखिन्न त्यहाँ। त्यसलाई असांस्कृतिक र अवैज्ञानिक केन्द्र भने हुन्छ। रातोदिन एउटा बेलाइती कुकुरलाई काखीमा च्यापी हिँड्ने रुसी हाकिमलाई घरिघरि त्यही फलामे गेटको निरीक्षण गर्नमा बाहेक कुनै कुरामा रुचि भएको देखिन्न। रुसी हाकिमबाट नेपाली कर्मचारी बेखुसी देखिन्छन्। हाँसो त परै जाओस् उनीहरूका अनुहारमा मुस्कान पाउन पनि गाह्रो पर्छ। अनि जो आफैँ बेखुसी छ उसबाट अरूले खुशी पाउने कुरा भएन। बरु त्यो ठाउँ सुहाउँदो नाम त रुसी यान्त्रिक केन्द्र हुन्छ। किनभने त्यहाँका हरेक कुरा यान्त्रिक छन्― त्यो गर्न नपाइने, त्यो गर्न नहुने, यहाँ उभिन नहुने, त्यहाँ टेक्न नहुने, त्यहाँ जान नहुने, यो बजाउन नहुने, त्यो टाँस्न नमिल्ने। हल त के लबीसम्मको बहाल तिर्नुपर्छ तर उपयोगकर्ताले पूरा खटनपटनमा चल्नुपर्छ रुसी हाकिमको तजबिज र कर्मचारीहरूकोे निगरानीमा। मानिसलाई नजरबन्द राख्ने ठाउँजस्तो बनेको त्यहाँ फिल्म हेरेर रमाइलो मान्न को आओस्?

'ड्रेसः फर्मल'
जुन दिन 'किम्फ' को समापन भयो त्यसै दिन काठमाडौँमा 'हिमालय टुरिज्म कन्फरेन्स' प्रारम्भ भयो। त्यसको आयोजना नेपाल पर्वतारोहण संघ नामक संस्थाले गरेको थियो।

कुनैबेला यो अदना त्यस संघको सक्रिय पदाधिकारी रहिसकेको छ। त्यही नाताले उसलाई संघबाट प्रायः निम्तो मिल्ने गर्दछ। यसपटक पनि त्यस अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन र डिनरसहितको समापन समारोहमा भाग लिन निम्तो उसलाई आयो। पर्वतारोहणको क्षेत्रमा कहलिएका केही व्यक्तित्वहरू उक्त सम्मेलनमा सहभागी हुन आएका खबर उसले पाएको थियो। त्यस्ता हस्तीहरूका विचार सुन्न जाने मन उसलाई नभएको होइन। तर ऊ गएन। नजाने कारण थियो अङ्ग्रेजी भाषाको निम्तोपत्रमा लेखिएको 'ड्रेसः फर्मल' भन्ने दुई शब्द। अर्थात् त्यो निम्तो मान्नलाई 'फर्मल' अथवा 'औपचारिक' पोसाक लगाएर जान पर्ने थियो।

कस्तो हुन्छ औपचारिक पोसाक, आफूलाई थाहा नाई! जानिफकारहरूसँग बुझनपर्ने भयो। बुझदा थाहा भयो – दुई किसिमका पोसाकलाई औपचारिक मानिँदो रहेछ। पहिलो, राष्ट्रिय पोसाकलाई। दोस्रो अँध्यारो (डार्क) रङको सुट, सेतो कमिज, गाढा रङको टाई र कालै जुत्तासमेतको पहिरनलाई। क्या फसाद!

संविधानमा राष्ट्रिय पोसाकको परिभाषा कसरी गरिएको छ या छैन त्यो कुरा यस अज्ञानीलाई थाहा भएन। यदि मन्त्रीहरूले लगाउने गरेको दौरा (अथवा लवेदा), सुरुवाल, कोट, टोपीलाई नै राष्ट्रिय पोसाक मान्ने हो भने त्यो आफूसित छैन। जिन्दगीमा दौरासुरुवाल लगाएको भनेको कलेज पढ्दा सांस्कृतिक कार्यक्रममा नृत्य गर्दाखेरि हो एकपटक। अर्कोपटक राजा वीरेन्द्रबाट चौथो तहको गो.द.वा. थाप्दाखेरि हो। त्यो गो.द.वा. पनि नेपाल पर्वतारोहण संघको गतिविधिमा संलग्न रहँदा उहिले मिलेको थियो कुमार खड्गविक्रमको पालामा। उहिलेको कुरा खुइले! त्यो एक जोर दौरासुरुवाल कता पर्‍यो वा कसको जडौरी बन्यो पत्तो भएन। किनभने त्यो लगाइरहने आवश्यकता कहिल्यै परेन र लगाउने रहर पनि कहिल्यै जागेन।

दोस्रो विकल्प रह्यो 'डार्क सुट' र टाईको। टाई झ्ुन्डियो यस गलामा एक समय निकै नै। तर टाईको स्थान आफ्नो पहिरनमा अचेल रहने गरेको छैन। डाउन, फ्लीस, लेदर, सिन्थेटिक जे पायो त्यही ज्याकेट र कोट भिर्ने बानी परेको छ। आफूले कहिल्यै कूटनीतिज्ञको भूमिका निर्वाह गर्नुपरेको छैन। त्यसैले टाई भए पनि 'डार्क सुट' कहाँबाट हुनु? अटेर गरी निम्तामा 'औपचारिक' भन्दाभन्दै अनौपचारिक पोसाक लगाएर हाँसका हूलमा बकुल्ला बन्नु सुहाउँदिलो कुरा लागेन। त्यसैले त्यो निम्ता नमान्ने निश्चय गरेँ। गइन।

निम्ता मान्न नगए पनि केही कुराको खुल्दुली भने मनमा रहिरह्यो। 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखान छ। अचेलको जमानामा हम्मेसी कतै औपचारिक पोसाकको चलन देखिँदैन। पर्वत चढ्नेहरूको संस्था त झ्न् अनौपचारिक हुनुपर्ने हो, उसैलाई चाहिँ औपचारिक पोसाकको आवश्यकता किन परेको होला? निम्ता लेख्नेले 'औपचारिक पोसाक' को सही अर्थ बुझ्ेरै त्यस्तो लेखेको हो त? अनि आफू नगएको त्यस समारोहमा के सबै निम्तालुहरू आयोजकले चाहेजस्तै गरी औपचारिक पोसाकमा ठाँटिएका थिए होलान् त?