हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | उत्तराञ्चलमा नेपाली

ज्यालादारी जीवन

भारतीय र अन्य मुलुकका मानिसहरू घुम्न, छुट्टी मनाउन र रमाइलो गर्न जाने नैनीतालमा नेपालीहरू भने दुःख र अभाव खेप्न जान्छन्।

प्रकाशविक्रम शाह

भारत, उत्तराञ्चलको हल्द्वानीबाट शुरु हुने उकालोमा ताँती लागेर भञ्ज्याङ छिचोलिरहेका गाडीमा प्रायः भारतीय मात्रै देखिन्छन्, तर एकैछिनपछि नैनीतालका चोकमा जताततै नेपालीहरू देख्दा नेपालकै कुनै ठाउँमा आइपुगेको जस्तो लाग्छ। तर भारतीय र अन्य मुलुकका मानिस घुम्न, छुट्टी मनाउन र रमाइलो गर्न जाने नैनीतालमा नेपालीहरू भने दुःख र अभाव खेप्न जान्छन्। प्रायःजसोको काँधमा नाम्लो झ्ुण्डिएको हुन्छ। जता गयो उतै नेपाली– भारी बोकिरहेका, सामान ओसार–पसार गरिरहेका, ज्यामी काम गरिरहेका, भाँडा माझ्िरहेका, रिक्सा चलाइरहेका वा तल्लीताल र मल्लीतालका चोक–गल्लीमा बात मार्दै कुनै कामको खोजीमा वरपर आँखा डुलाएर भौँतारिइरहेका, तलबाट सामान आउला र बोक्न पाउँला भनेर बसअड्डामा गाडी कुरेर बसिरहेका।

एक लाख हाराहारी जनसङ्ख्या रहेको नैनीतालमा ज्यालादारीका यस्तै काम गर्ने नेपालीको सङ्ख्या करीब १५ हजार छ। धेरैजसो सुदूर र मध्यपश्चिम क्षेत्रका तथा फाटफुट अरू क्षेत्रका नेपाली यहाँ छन्। नेपालकै जस्तो पहाडी वातावरण, भारी बोक्ने काम, भाषा र लवाइ–खवाइ भएकाले उनीहरूलाई यही ठाउँ सजिलो लाग्छ। कैलाली, प्रतापपुर बस्ने कालिकोटका ५७ वर्षीय देवीराम न्यौपाने भन्छन्, “धेरै टाढा छैन, घरमा आवश्यक पर्दा, दुःख–बिरामी हुँदा फर्कन सजिलो हुन्छ। फोन आउने बित्तिकै एक दिनमै घर पुग्न सक्छौँ।” चितवन, मङ्गलपुरका बुद्धि बस्नेतको भनाइ छ, “अरू ठाउँभन्दा यहाँका भारतीयहरू हामीसँग राम्रो व्यवहार गर्छन्। ठग्दैनन्, इमान्दार छन्।”

आ–आफ्नै पीडा

नैनीताल आउनुका पछाडि सबैका आ–आफ्नै कारण छन्। हाल बर्दियामा बसोबास गर्ने कालिकोटका ५३ वर्षीय कालीबहादुर बोगटी खानलाउन नपुगेर आउन थालेका हुन्। तर, १३ वर्षको उमेरदेखि नैनीताल आउने–जाने गरिरहेका उनले एक बिगाहा जग्गा पनि जोर्न सकेका छैनन्।

नैनीतालका अतिरिक्त उत्तराञ्चलका अल्मोडा, रानीखेत, धार्चुला र पिथौरागढमा पनि नेपालीहरू मजदुरी गरिरहेका भेटिन्छन्। नैनीतालमा कालिकोट र दैलेखका, अल्मोडामा बाजुराका तथा रानीखेत, धार्चुला र पिथौरागढमा बैतडी, दार्चुला र बझाङका बासिन्दाहरूको सङ्ख्या बढी छ। अल्मोडामा भेटिएका बाजुरा, गुदुखाती गाविसका जनक रावत भन्छन्, “मेरो गाउँका दुई सय घरका सबैजसो लोग्नेमान्छे यतै छन्।” बझाङ, पीपलकोटका ५५ वर्षीय कल्याण बोहरा पिथौरागढमा भारी बोक्छन् भने १२ र १५ वर्षका उनका दुई छोरा गणेश र सुरेश होटलमा काम गर्छन्।

परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने युवा र वयस्कदेखि स्कूल जाने उमेरका केटा र नाति–नातिना खेलाउने उमेरका वृद्धहरूसमेत उत्तराञ्चलका शहरबजारमा मजदुरी गरिरहेका भेटिन्छन्। आफूलाई 'छोटे राजा' भन्ने शाह, शाही, सिंह, चन्द र बमहरू पनि यसैका लागि भौँतारिइरहेका देखिन्छन्। दैलेख, सिराडीका १२ र १४ वर्षका दाजुभाइ दलबहादुर र हस्तबहादुर शाहीदेखि कालिकोट, द्यौलाका ६५ वर्षीय रामबहादुर ठकुरीसम्म छन् यहाँ। ११ वर्षको उमेरदेखि यता आउने गरेका ठकुरी यो उमेरमा पनि दिनभरि मजदुरी गर्छन् र रात प्रायः फुटपाथमा सुतेर बिताउँछन्। गाउँघरमा हलो नजोत्ने, भारी नबोक्ने र त्यसो गर्दा जात गएको ठान्नेहरू उत्तराञ्चलमा यस्तै काम गरिरहेका भेटिन्छन्।

भदौमा एसएलसीको पूरक परीक्षा भएका सुर्खेतका खगेन्द्र बोगटी साउनको अन्तिमसम्म नैनीतालमै साँझ्–बिहान परीक्षाको तयारी गर्दै दिनभर काम गरिरहेका थिए। बर्दिया, बाँसगढीका १७ वर्षीय लोकेन्द्रराज चौलागाईं नौ कक्षाको ट्युसन पढ्ने खर्च जुटाउन काममा भिडेका छन्। हुम्लाको जनप्रकाश माविमा आठ कक्षामा पढ्ने १६ वर्षीय कृष्णप्रसाद जोशी घरमा भैंसी किन्दा लागेको ऋण तिर्न अल्मोडामा काम गर्छन्।

कति त देशमा हिंसात्मक द्वन्द्वका कारण पनि उत्तराञ्चल पसेका छन्। नैनीतालमा भेटिएका कालिकोट, हाँचुलीका युवा धर्मराज बोगटीले ११ वर्षको उमेरदेखि नैनीतालको गजेन्द्र स्टोरमा काम गर्न थालेका हुन्। उनले भारतमा बस्दाबस्दा दिक्क भएर केही वर्षअघि गाउँमा स्याउ खेती शुरु गरेका थिए। स्याउको उत्पादन त राम्रै भयो तर बेच्न लैजाने बाटो नभएकाले त्यत्तिकै कुहियो। त्यसपछि जडीबुटीको काम गर्न खोजे, त्यो पनि भएन। धर्मराज भन्छन्, “माओवादीलाई पैसा नदिए उसैले मार्ने, दिँदा किन दिइस् भनेर आर्मीलेे ज्यान लिने डर भएपछि फेरि भारत पसेँ। आफ्नो देशमा गरिखाने बाटो छैन, अर्काको देशमा खच्चरले जस्तै काम गर्नुपरेको छ।”

द्वन्द्वले गाउँमा टिक्न नसकेपछि बझाङ्ग र बाजुराका करीब १५० परिवार नैनीतालमा अस्थायी टहरा बनाएर बसेका छन्। जुकोटका ३० वर्षीय विनोद शाही भन्छन्, “बच्चाहरूले न राम्रो खान पाए न लाउन। हाम्रो पूरै विचल्ली छ। पहाडी गाउँहरू झ्ण्डैझ्ण्डै युवाविहीन हुन पुगेका छन्।” भारतीय सीमा प्रहरीलाई उद्धृत गर्दे पिथौरागढका पत्रकार बद्रीदत्त कस्नियालले बताए, “गत वर्ष दार्चुलाका सीतापुर, तावाघाट, जोलजिवी र बैतडीको झुलाघाट नाकाबाट मात्रै ८५ हजार नेपाली उत्तराञ्चलमा आएका थिए। तर, सङ्ख्या बढेकोले उनीहरूले पहिले जस्तो पर्याप्त काम पाउन सकेका छैनन्।” दैलेख, जम्मुकादका ६० वर्षीय कुँवरसिंह विक भन्छन्, “पहिले नैनीतालमा हामी औँलामा गन्न सकिने मात्रै थियौँ। काम प्रशस्तै पाइएको थियो। अब त गाह्रो छ।”

काम खोज्ने धेरै भएकाले ज्याला बढेको छैन। अधिकांश नेपालीले दिनमा भा.रु. ५० देखि १०० सम्म हात पार्छन्। तैपनि अलिक बलियाबाङ्गा, धेरै भारी बोक्न सक्ने र बढ्ता खर्च नगर्नेले पर्यटक आउने सिजनमा महिनामा चारदेखि आठ हजारसम्म कमाउँछन्। यहींँको कमाइबाट कँुवर सिंहले आफ्ना दुई छोरालाई पढाए र तीन छोरीको बिहा गरे। कालिकोटका कालीबहादुर र देवीरामले बाँके र कैलालीमा जग्गा किनेर घरवार गरे। दैलेखका धनबहादुर बुढाले ४६ वर्ष र कालिकोटका मानबहादुर बोगटीले १८ वर्ष काम गरेर क्रमशः बर्दिया र बाँकेमा घर बनाए। १२ वर्षको उमेरदेखि नैनीताल आउने गरेका कालिकोटका ५७ वर्षीय देवीराम न्यौपानेले कैलालीको प्रतापपुरमा १५ कट्ठा जग्गा जोडे। उनका दुई छोरा रुद्र र लक्षिचन्द्र पनि भारतमै काम गर्छन्।

नैनीतालमा आफ्नै व्यवसाय चलाएर बसेका नेपाली चाहिँ ज्यादै कम छन्, अपवाद जस्ता मात्र। वैतडीका ३७ वर्षीय महेशचन्द्र बराल पिथौरागढ, तकानारोडमा सुन–चाँदी पसल 'बराल ज्वैलर्स' चलाउँछन्। उनी नेपालीलाई गाह्रो–साँघुरो पर्दा सहयोग पनि गर्छन्। कसैले नेपालीलाई खोज्यो भने भारतीयहरू उनैलाई भेटाइदिने गर्दछन्। बैतडीबाट आएर सुनको व्यवसाय गर्ने पिथौरागढमा १६ जना छन्।

न स्वास्थ्य, न सुरक्षा
उत्तराञ्चलका बजारमा नेपालीहरू झयाल–ढोका नभएका भुइँतले घर र झ्ुप्रामा एउटै कोठामा खाँदिएर ४० जनासम्म बस्दै आएका छन्। बर्सात्मा छानो चुहिन्छ। सर्प, बिच्छी, कीराफट्याङ्ग्रा र चीसोबाट पीडित हुनुपर्दछ। शौचालय हुने कुरै भएन। कैलाली, रामशिखरमालका मनिचन्द्र न्यौपाने भन्छन्, “हामी जहाँ बसे पनि दिसा गर्न तल्लीताल वा तालको रिक्सा स्ट्यान्डसम्म पुग्नुपर्छ र एकपल्टको तीन रूपैयाँ तिर्नुपर्छ।”

चोरीचकारीको डर त्यत्तिकै छ। रासनकार्ड नदिइने हुनाले नेपालीहरू ब्याङ्कमा पैसा जम्मा गर्न पाउँदैनन्। आफैँ बस्ने ठाउँमा पैसा राख्दा रामबहादुर ठकुरी, मानबहादुर सिंह र रवि सिंहको भा.रु.५० हजार राजु बिष्ट भन्ने भारतीयले चोरेर भाग्यो। व्यापारीलाई राख्न दिँदा धेरैलेे चाहिएको बेला फर्काउँदैनन्। पैसा राख्न जान लागेका एक नेपालीलाई चोरहरूले लुटेर नैतीतालमा फालेको घटना पनि ताजै छ।
नेपाली नभई काम नचल्ने भए पनि भारतीय सुरक्षा प्रशासन उनीहरूको समस्यामा मूकदर्शक बनिदिन्छ। डा. बिष्ट भन्छन्, “केही वर्षपहिले एक ठेकेदारले बाटो खन्न लगेका नेपाली ढुङ्गाले लागेर घाइते भए। ठेकेदारले उनको मतलब गरेन। जिल्ला अधिकारीले सीधै भने– ऊ त मान्छे होइन, डोट्याल हो छोडिदिनुस्।”

स्थानीय ठेकेदारले त ठग्छन् नै, कहिलेकाहीँ नेपालबाटै आएकाले पनि ठगिदिन्छन्। आफूलाई पत्रकार भन्ने जेबी बिष्टले तपाईँहरूको सङ्गठन बनाउनु पर्छ भन्दै कार्यालय खोली थुप्रैसँग पैसा उठाएर भागेको सुनाउँदै बाँकेका मानबहादुर बोगटी भन्छन्, “पत्रकार भनेपछि हामीलाई विश्वास लाग्न छोडेको छ। नेपालमा लडाइँ हुँदा यहाँ भारतीय पत्रकारले पनि हामीमध्ये कतिलाई माओवादी भनेर कुटाउने र थुनाउने काम गरे।”

नेपालीबिना कामै चल्दैन
नेपाली कामदारहरू नैनीताल र अल्मोडाको जनजीवनका अभिन्न अङ्ग बनिसकेका छन्। नैनीतालका व्यापारी हरिशलाल शाह भन्छन्, “नेपालीविना न नैनीताल चल्छ, न अल्मोडा।” आपूर्ति कार्यालयका कैलाशचन्द्र भट्टको भनाइ छ, “अल्मोडामा वर्षमा ८० हजार र नैनीतालमा झण्डै पाँच लाख पर्यटक आउँछन्। नेपाली नभए यो व्यवसाय नै चल्दैन।” अल्मोडाका पत्रकार डा. शेरसिंह विष्ट नेपाली नभए नैनीताल र अल्मोडाको हातै भाँच्चिएजस्तो हुने बताउँछन्।

नैनीतालका कमल सिंह नेपालीहरूको आपसकै व्यवहारबाट भने सन्तुष्ट छैनन्। उनी भन्छन्, “नेपालीमा आफू–आफूबीच पनि माया–प्रेम छैन, एकले अर्कालाई सहयोग गर्दैनन्। कति मान्छे सडक खन्दाखन्दै, जङ्गलमा काम गर्दागर्दै मरेका छन् तर लाश उठाइदिनेसम्म हुँदैनन्।” नेपालीको पनि नैनितालवासीसँग कम शिकायत छैन। सुर्खेतका कृष्ण शर्माको भनाइ छ, “हामी यहाँका बच्चालाई समेत तपाईं भनेर बोलाउँछौँ। उनीहरू हामीलाई तँ भन्छन्।” एकअर्कासँग सानातिना असन्तुष्टि र शिकायत जति भए पनि दुबैलाई एकअर्काको आवश्यकता भने बराबरी छ।

देशमा काम गरेर खान पाए हामी आफ्नै घर फर्कन्थ्यौँ– उत्तराञ्चलमा काम गर्न आएका प्रत्येक नेपालीको भनाइ लगभग यही हुन्छ। शान्तिको कुरा चल्न थालेपछि मनले अलिकति त्राण पनि पाएको छ, तर ढुक्क चाहिँ छैनन्। जाजरकोटका नन्दप्रसाद भन्छन्, “नेपालमा हामी जस्ताले काम गरेर खान पाउने दिन के आउला र? हाम्रो खानापिना, नमक यहीँ भारतकै छ, यहीँ रहन्छ!”

(खोज पत्रकारिता केन्द्र)