रमझम
आजकी मैच्याङ
परेलीमै छौ कि कसो....,
म नेपाली, तिमी नेपाली..., च्याङ्वा होई च्याङ्वा...
नेपाली पप गायन क्षेत्रमा छोटो समयमै धेरैकी प्रिय बनेकी
छन् गायिका मौसमी गुरुङ। पछिल्लो समयमा डिजे राजुले रिमिक्स गरेको
गीत च्याङ्वा होई च्याङ्वा.. मा 'च्याङ्वा' क्रान्ति आलेलाई साथ दिने
'मैच्याङ' मौसमी यसै गीतबाट चर्चाको शिखरमा पुगेकी हुन्।
डेढ वर्षअघि बजारमा आएको यो गीतको लोकप्रियता अझ्ै घटेको
छैन। कान्तिपुर एफएममा वर्षभरिमा सबैभन्दा बढी बजेको पप गीतमा च्याङ्वा
होई च्याङ्वा.. नै परेपछि उनी त्यसनिम्ति समेत पुरस्कृत भइन्। उनले
निर्णय श्रेष्ठसँग गाएको म नेपाली... पनि निकै रुचाइएको गीत हो। भारतको
कोलकातामा जन्मिएकी मौसमी गायन क्षेत्रमा सफलताको खुड्किलो चढ्दै गएपछि
राजधानीको एक विद्यालयमा शिक्षिकाको जागीरसमेत छाडेर सङ्गीतमा होमिएकी
छन् अहिले। भन्छिन्, “ठाउँ ठाउँबाट स्टेज कार्यक्रमको प्रस्ताव आइरहन्छ,
नभ्याउने भएपछि पढाउने काम छाडिदिँए।” हुन पनि, उनलाई अहिले भ्याई
नभ्याई छ। हिमालको रमझ्म स्तम्भका लागि तस्बिर खिच्नासाथ दुई साताअघि
बेलायत लागेकी उनी अझ्ै विदेशका मञ्चहरूमै रमाइरहेकी छन्।
सानैदेखि गीत गाउन र नाच्न रुचाउने मौसमीका लागि नशा
झ्ैँ बनेको छ सङ्गीत। जीवनलाई सुन्दर सङ्गीत भन्न रुचाउने उनी भन्छिन्,
“जीवनमा सबैथोक त्याग्न तयार भए पनि म सङ्गीत छाड्न सक्दिन।” पहिलो
अल्बम अनफर्गेटेवल पछि थुप्रै पप कलेक्सन र रिमिक्स अल्बमहरूमा स्वर
दिइसकेकी मौसमी अहिले नयाँ एकल अल्बमको तयारीमा छिन्। सङ्गीत क्षेत्रको
तीव्रत्तर विकाससँगै गुणस्तरसमेत बढ्दै गएको बताउने उनी गायन क्षेत्रको
भविष्य राम्रो देख्छिन्। राम्रो गीतका लागि बढी मेहेनत गर्न रुचाउने
मौसमी श्रोताको माया यसैगरी सधैँ जुटाइरहन चाहन्छिन्।
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार
•
अनुशील श्रेष्ठ
रमझम
रिपोर्ट
पारखीको प्रतीक्षा
 |
| लाजिम्पाटस्थित ग्यालरी नाइन। |
कलात्मक
फ्रेमका शिल्पी सिंहबहादुर बाराहीले तीन वर्षअघि पाटन
औद्योगिक क्षेत्रमा 'सिंह आर्ट ग्यालरी' स्थापना गरे। पेन्टिङ सजाउने
फ्रेम निर्माणमा संलग्न बाराहीसँग शुरूमा फ्रेमको 'शो–रुम' बनाउने
सोचाइ थियो। तर कलाप्रेमी साथीहरूको सुझ्ावअनुसार उनले रु. आठ लाख
खर्चेर ग्यालरी हल नै बनाए। बाराही भन्छन्, “अहिले धेरैले पाटनमा विदेशको
जस्तो नमूना ग्यालरी खुल्यो भन्छन्।”
एकतीस वर्षअघि काठमाडौँको रत्नपार्कमा
रामानन्द जोशीले 'पार्क ग्यालरी' स्थापना गरेका थिए। चार महिनाअघि
यसलाई पुल्चोकमा कलाकार जोशीसम्वद्ध सङ्ग्रहालय–सहित नयाँ स्वरूप दिइएको
छ। आरम्भमा त्यहाँ प्रशिक्षणसमेत दिइन्थ्यो। यसका वर्तमान सञ्चालक
नवीन जोशी भन्छन्, “ग्यालरीको प्रभाव बढेकाले लाजिम्पाटमा यसको शाखा
खोलेका छौँ।”
बीस वर्षअघि कान्तिपथमा शशिकला तिवारी
र सङ्गीता थापाले स्थापना गरेको सिद्धार्थ आर्ट ग्यालरी (हाल बबरमहलमा)
कलाकारहरूको पहिलो रोजाइ बनेको छ यतिखेर। कलापारखीका निम्ति उपयुक्त
वातावरण र राम्रो व्यवस्थापनले गर्दा सिद्धार्थमा राखिएका पेन्टिङहरू
प्रायः बिक्री हुने गर्छन्। ग्यालरी सञ्चालक सङ्गीता भन्छिन्, “हामी
वर्षभरि क–कसको प्रदर्शनी राख्ने भनेर एकैपल्ट योजना बनाउँछौं। यो
ग्यालरी आउँदो मनसुनसम्मका लागि 'बुक' भइसकेको छ।”
 |
| २०४७ मा नाफाको एक प्रदर्शनीमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई,
लैनसिंह वाङ्देल आदिको उपस्थिति। |
पुराना आर्ट ग्यालरीको बढ्दो प्रभावसँगै
राजधानीमा नयाँ ग्यालरीहरू पनि धमाधम खुलिरहेका छन्। दुई वर्षयता मात्र
ठमेलमा सोञ्जा, लाइट एन्ड सेड नागपोखरीमा भाव, दरबारमार्गमा द आर्ट
शप लगायतका ग्यालरीहरू खुलेका छन्। कलाकार मदन चित्रकार भन्छन्, “आर्ट
ग्यालरी बढ्नु र तिनले निरन्तरता पाउनु भनेको कलाका निम्ति सुखद् सङ्केत
पनि हो। ग्यालरीले कलाकारलाई प्रोत्साहन गरिरहेको हुन्छ।” ललितकला
क्याम्पसका सहायक क्याम्पस प्रमुख राधेश्याम मुल्मी भन्छन्, “२० वर्ष
अगाडि ललितकलालाई २५ जना मान्छे खोज्न पनि गाह्रो थियो। अहिले ६ सयभन्दा
बढी विद्यार्थीले आवेदन दिएका छन्।” मिडियाहरूले कला प्रदर्शनी र कलाकारलाई
प्राथमिकता दिनाले पनि कलाकार बन्नु, कला हेर्नु दुबैलाई राम्रो मानिन
थालेको उनको मूल्याङ्कन छ।
प्रदर्शनी आयोजना भइरहने राजधानीका अन्य
ग्यालरीहरूमा नाफा, नेपाल आर्ट काउन्सिल, सिर्जना, जे आर्ट, बुद्ध
आर्ट, ग्यालरी नाइन मुख्य मानिन्छन्। २०२२ सालमा स्थापित ललित कला
संस्था (नाफा) को ग्यालरीलाई वीरेन्द्र, लुम्बिनी र मिथिला गरी तीन
तहमा विभाजन गरिएको छ। वर्षेनि रु.तीन लाखको सरकारी अनुदानबाट चल्ने
नेपाल आर्ट काउन्सिलको ग्यालरी चाहिँ अरूभन्दा सस्तो मानिन्छ। ४१ वर्षदेखि
काउन्सिलमा कार्यरत हरि खड्का भन्छन्, “हामी हप्ताको रु.चार हजार लिन्छौँ।”
२०१९ मा आर्ट काउन्सिल स्थापना भएपछि त्यहाँको ग्यालरीमा लैनसिंह वाङ्देल,
उत्तम नेपाली, शशी शाहजस्ता वरिष्ठ कलाकारहरूका कला प्रदर्शनी भइसकेका
छन्। नयाँहरूका निम्ति पनि सहज मानिन्छ, यो ग्यालरी। यी बाहेक इन्डिगो,
मोक्ष, एभरेष्ट, बज्र आर्ट ग्यालरीमा पनि नियमित रूपमा प्रदर्शनी भइरहेका
छन्।
नेपालका अधिकांश ग्यालरी राजधानी केन्द्रित
छन्। दुई वर्षअघि पोखरामा सिर्जनशील कलाकार समूह र पोखरा उपमहानगरपालिकाले
पीएसएम ग्यालरी स्थापना गरेका छन्। धरान, विराटनगर वा अन्य शहरमा चाहिँ
यस्ता ग्यालरीहरू फाट्टफुट्ट मात्रै छन्। जे आर्ट ग्यालरी ठमेलका सञ्चालक
शुभरत्न बज्राचार्य भन्छन्, “संसारभरि नै आर्ट ग्यालरीहरू प्रायः राजधानीहरूमै
बढी हुन्छन् किनकि मुख्य खरीदकर्ता र बजार पनि त्यहीँ हुन्छन्।”
ग्यालरी बढ्नुको अर्थ हो– कलामा झ्ुकाव
राख्नेहरू पनि बढेका छन्। ग्यालरी सञ्चालकहरूसँग पनि पछिल्लो दुई दशकमा
नेपाली ग्राहकहरू बढेको अनुभव छ। तर, दश वर्षे द्वन्द्वको असर यो क्षेत्रमा
पनि पर्यो। त्यो समयमा कलालाई सहयोग गर्ने होटल, ब्याङ्क वा उत्पादक
कम्पनीहरूले पेन्टिङ किन्न भन्दा पनि आफ्नो सुरक्षाका लागि पैसा खर्चिन
थाले। ग्यालरी सञ्चालकहरु अहिले शान्ति आएपछि कला बजारमा उत्साह जागेको
बताउँछन्।
नेपाली कला बजारमा अहिलेसम्म अन्तर्राष्ट्रिय
एजेन्सीहरू आइसकेका छैनन्। तिनको प्रवेश भएपछि नेपाली कला नेपालीहरूकै
पहुँचभन्दा माथि पुग्ने भएकाले अहिलेको अवस्थामा नै कला/ पेन्टिङहरूको
सङ्कलन गर्नुपर्ने ग्यालरी सञ्चालकहरू बताउँछन्। भारतीय कला बजारमा
अन्तर्राष्ट्रिय लिलाम केन्द्रहरूको प्रवेशअघि एम एफ हुसेनको एउटा
पेन्टिङ भारु २/३ लाखमा पाइन्थ्यो। अहिले उनै हुसेनको कला भारु २५
लाखमा नपाइने भएपछि भारतीय कला मध्यमवर्गीय भारतीयकोे हातबाट बाहिर
गएको छ। सङ्गीता भन्छिन्, “नेपालमा पनि अब अन्तर्राष्ट्रिय लिलाम केन्द्रहरू
आउँछन् र आफ्नै कला नेपालीहरूले किन्न नसक्ने स्थिति आउन सक्छ। त्यसकारण
मौका यही हो, नेपाली पेन्टिङ किन्ने।”
•
कृष्ण शाह यात्री
रमझम विविध
वृत्तचित्र
महोत्सव अब हरेक वर्ष
 |
| अनुशील श्रेष्ठ |
| नेपाली 'फिल्ममेकर'ः केसाङ छेतेन, सुविना
श्रेष्ठ र सङ्गीता श्रेष्ठोभा। |
२१–२५ मङ्सिरमा २६
देशका ७४ वृत्तचित्र प्रदर्शन गर्दै काठमाडौँ अन्तरार्िष्ट्रय पर्वतीय
चलचित्र महोत्सव २००६ सम्पन्न भयो। समापनमा हिमाल एसोसिएसन तथा महोत्सवका
अध्यक्ष वसन्त थापाले दुई वर्षको अन्तरालमा हुँदै आएको यो महोत्सव
अब प्रत्येक वर्ष हुने घोषणा गरे। यो घोषणाले वृत्तचित्रप्रेमी तथा
नेपाली 'फिल्ममेकर'हरूमा उत्साह छाएको छ।
महोत्सवमा प्रदर्शित नेपाली चलचित्रमध्ये केसाङ छेतेनको हामी कुनाका
मान्छे ले नेपाल चलचित्र विकास बोर्डले प्रदान गरेको रु.२५ हजार सहितको
उत्कृट पुरस्कार पायो। महोत्सवमा नेपालीले बनाएका चार वृत्तचित्र प्रदर्शन
गरिएका थिए। ती थिए– केसाङ छेतेनको हामी कुनाका मान्छे, सङ्गीता श्रेष्ठोभाको
डान्सिङ काठमाडौँ, सुविना श्रेष्ठको चुलो, चोलो र बन्दुक तथा सुविना
श्रेष्ठ र एलेक्स ग्याबेको द लाष्ट रेस।
महोत्सवमा उत्कृष्ट घोषित हामी कुनाका मान्छेले रसुवाको दुर्गम तामाङ
गाउँमा झ्ोलुङ्गे पुल नहुँदाको पीडा र चरम गरिबी भोगिरहेका गाउँलेका
कथा बोकेको छ। ५० मिनेटको यो वृत्तचित्रमा गाउँको चौवार खोलामा पुल
नहुँदा भेलले गाउँका महिला बगाएको, विद्यार्थीहरू स्कूल जान नपाएको
र गरिबीबाट मुक्ति पाउन क्रिश्चियन धर्म अपनाउन बाध्य गाउँलेका कथा
उनिएको छ। निर्देशक केसाङ भन्छन् “पुल निर्माण देखेर कतिले विकासे
फिल्म भनेर नाक खुम्च्याउलान् तर गाउँमा पुल बन्दा त्यसले गरीबका अनुहारमा
ल्याउने खुसी उनीहरूले देखेभोगेका हुदैनन्।” हुन पनि झ्ोलुङ्गे पुल
नबनुञ्जेलसम्म वृत्तचित्रले दर्शकमा कौतुहल बढाइरहन्छ।
नेपाली बाबु र चेकोस्लाभ आमाकी छोरी सङ्गीता श्रेष्ठोभाको ४१ मिनेटको
डान्सिङ काठमाडौँले पुरानो चर्या नृत्यदेखि चलचित्रका आधुनिक नृत्य
र डान्स रेष्टुरेण्टहरूमा प्रस्तुत गरिने अर्धनग्न नृत्यहरूलाई समेटेको
छ। नृत्यङ्गना समेत रहेकी सङ्गीताले काठमाडौँमा नृत्यको बदलिँदो माहौल
देखाएकी छन्। नेपालमा १८ वर्ष बिताएकी नृत्य–अध्येता सङ्गीतालेे बनाएको
यो पहिलो वृत्तचित्र हो। अर्की नेपाली निर्देशक सुविना श्रेष्ठका दुई
चलचित्र प्रदर्शन भए। माओवादी जनयुद्धमा महिला– संलग्नता देखाइएको
२६ मिनेटको चुलो, चोलो र बन्दुक मा। त्यसमा चुलो र चोलीभन्दा बढी बन्दुक
देखाइएको प्रतिक्रिया आउँदा सुविनाको जवाफ थियो “मैले माओवादी महिलाको
स्थिति मात्र देखाएकीे हुँ। तर दर्शकले धेरै अपेक्षा गरेको पाएँ।”
व्यावसायिक रूपमै यस्ता चलचित्र बनाउने सुविनाको द लाष्ट रेस भने अमेरिका
प्रवासिएका एक मनाङे युवकको सेरोफेरोमा केन्द्रित छ।
महोत्सवमा दर्शक छनौट पुरस्कार भने भारतीय चलचित्रकर्मी गौरव जैनको
राइडिङ सोलो टू द टप अफ द वर्ल्डले पायो। महोत्सवको उद्घाटन १३ देशका
विदेशी 'फिल्ममेकर'हरूको सहभागितामा पाकिस्तानी पर्वतारोही नाजीर सविरले
गरेका थिए। हेलिकप्टर दुर्घटनामा अवसान भएका डा. हर्क गुरुङको सम्मानमा
आयोजित महोत्सवमा वृत्तचित्रबारे छलफल, पुस्तक तथा तस्बिर प्रदर्शनीसमेत
भएको थियो। रु.३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार रहेको तस्बिर
प्रतियोगितामा प्रथम चन्द्रशेखर कार्की, दोस्रो मीन बज्राचार्य भएका
छन् भने किरण पाण्डे, तासी आर घले र राजेन्द्र गुरुङका तस्बिरले संयुक्त
रूपमा तेस्रो पुरस्कार पाएका थिए।
मूर्तिमा छायादेवी
जनआन्दोलन –२ की सक्रिय सहभागी स्व. छायादेवी
पराजुलीको प्रिय छविलाई अमर बनाउने सिर्जनात्मक काममा जुटेका छन् सुनसरी,
इटहरीका कलाकार धनबहादुर (धनु) याख्खा। धनु छायादेवीको अर्ध कदको मूर्ति
बनाउँदैछन्। काठमाडौँको एक निजी स्कूलका फाइन आर्ट शिक्षक धनु भन्छन्,
“आजभोलि रात–बिहानको मेरो काम नै यही भएको छ।” मूर्तिकला र फाइन आर्टका
स्नातक धनुले छायादेवीबारे पत्रपत्रिकामा पढेपछि उनको मूर्ति बनाउने
सोच बनाएका थिए। सुनसरीको इनरुवा पुगेर उनको परिवारसँग अनुमति लिएपछि
धनुले सो कार्य शुरु गरेका हुन्। उनको मूर्ति इनरुवा नगर क्षेत्रमा
राख्न सुनसरीका सबै राजनीतिज्ञ र नागरिक समाजका सदस्यहरू सहमत भएका
छन्।
•जयराम
गौतम
रेश्माको पिन एण्ड
थ्रेड
सानैदेखि पेन्सिलले
चित्र बनाउने रेश्मा बज्राचार्य अहिले धागो, आलपिन र प्लाइउडको प्रयोगबाट
कलात्मक चित्र बनाउन खप्पिस भएकी छन्। काठमाडौंको लाजिम्पाटस्थित ग्यालरी
नाइनमा २५–२७ मङ्सिरमा सम्पन्न पिन एण्ड थ्रेड शीर्षकको कला प्रदर्शनीमा
उनको प्रतिभाको धेरैले प्रशंसा गरे। तीन वर्षयता चार वटा सामूहिक चित्रकला
प्रदर्शनीमा भाग लिइसकेकी रेश्माको यो पहिलो एकल प्रदर्शनी थियो। साय्मिज्
स्टुडियोको आयोजना रहेको प्रदर्शनीमा विभिन्न रङ्गका धागालाई पिनले
उनेर उनले बनाएका स्वयम्भू, धरहरा, मण्डला, गौतम बुद्ध, ऊँ आदिको साँस्कृतिक
महव झ्ल्काउने २० चित्रहरू राखिएका थिए।
केही प्रतियोगितामा पुरस्कारसमेत जितेकी ताहाचलकी रेश्मा फाइन आर्टकी
विद्यार्थी पनि हुन्। अन्य चित्रकलामा रङ, पानी, ब्रस आदिको प्रयोगबाट
चित्र बनाइने भए पनि क्राफ्टको बढी प्रयोगका कारण आफ्ना चित्रहरूमा
केही भिन्नता रहेको रेश्माको धारणा छ। उनी भन्छिन्, “अरूभन्दा फरक
यसमा धागो, पिनको प्रयोग छ। सिर्जनाका अरू मान्यताहरू त उनै हुन्।”
सुरुआतमा शौखको रूपमा कला क्षेत्रमा लागेकी रेश्माले कला र सिर्जनाकोे
भविष्य राम्रो देखेकी छन्। उनी भन्छिन्, “अहिले शौख मात्र भए पनि यसलाई
आय–आर्जनको बाटो बनाउन सकिन्छ।” उनका चित्रहरू प्रर्दशनीसँगै ३ देखि
८ हजार रूपैयाँसम्म बिक्रीमा राखिएका थिए।
सुन्ने पुस्तक
जगदम्बा
प्रकाशन र वेभ्स इटीसी लिमिटेड (लण्डन) ले संयुक्त
रूपमा तयार पारेको सुन्ने पुस्तक बीपी कोइरालाको आत्मवृत्तान्त २१
मङ्सिरमा सार्वजनिक गरियो। बीपीका सहकर्मी नेता भीमबहादुर तामाङद्वारा
विमोचित सो अडियो पुस्तकमा बीबीसी नेपाली सेवाबाट केही महिनाअघि अवकाश
लिएका खगेन्द्र नेपालीले स्वर दिएका छन्। ५०० प्रति प्रकाशन गरिएको
साढे ८ घण्टा लामो सुन्ने पुस्तकको मूल्य रु.६०० रहेको छ। आँखा चिम्लेर
पढ्न सकिने यो पुस्तक नेत्रहीनहरूका लागि समेत निकै उपयोगी हुने अपेक्षा
प्रकाशकहरूले गरेका छन्। २०५५ सालमा पुस्तकका रूपमा आएको आत्मवृत्तान्त
पाँच संस्करणमा ६ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ।
|