हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | समीक्षा

युद्धमा मानवताको खोजी

किताबः अन्तर्राष्ट्रिय मानवीय कानुनका विविध पक्षः एक अध्ययन
अनुवादक/सम्पादकः तीथराज वनत
प्रकाशकः रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी),काठमाडौँ, २०६३
पृष्ठः ४२६+

सशस्त्र सङ्घर्ष र आन्तरिक युद्ध/हिंसा समकालीन विश्वका चहर्‍याइरहने घाउहरू हुन्। पारस्परिक संवाद, सहमति र समृद्धिको समय मानिने वर्तमान युगमा समेत शस्त्रको उन्माद र तिनका पीडादायी परिणामहरू निमिट्यान्न भइसकेका छैनन्। सङ्घर्ष/युद्धका मर्यादा, मान्यताहरूको बारम्बार उल्लङ्घन भइरहेको छ। र, गैरसैनिक नागरिकहरू समेत यसका शिकार बनिरहेका छन्। यो पृष्ठभूमिमा युद्ध–प्रताडित घाइते, बिरामी, बन्दी र गैरसैनिक वा सर्वसाधारण जनताको बचाउका लागि अन्तर्राष्ट्रिय मानवीय कानुनमार्फत् यसका अभियन्ताहरूले जेजस्तो प्रयत्न गर्दै आएका छन्, त्यो स्तुत्य छ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाद्वारा प्रतिपादित अवधारणाले विभिन्न सन्धि, महासन्धि र तिनका परिमार्जनहरूमार्फत् सङ्घर्ष/युद्धहरूलाई यथासंभव मानवीय बनाउने दिशामा पुर्‍याइआएको योगदानको समेत वर्तमान विश्वमा अलग्गै र विशिष्ट महव छ। जिज्ञासा उठ्न सक्छ– कस्तो छ अन्तर्राष्ट्रिय मानवीय कानुन? के हो जेनेभा महासन्धि? के के पर्छन् यसका चार महासन्धि र अतिरिक्त सन्धिपत्रहरूमा? रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युद्ध–विभीषिका घटाउन के कस्ता पहल, प्रयत्न गरिरहेको छ? जवाफ दिने नेपाली प्रकाशनहरू यसअघि पर्याप्त थिएनन्। नेपालमा अन्तर्राष्ट्रिय मानवीय कानुनसम्बन्धी बृहत् सन्दर्भ–सामग्रीहरूको खडेरी नै छ भनिन्थ्योे। त्यसमा जलसिंचन गर्ने प्रयत्नस्वरुप हालै प्रकाशित अन्तर्राष्ट्रिय मानवीय कानुनका विविध पक्षः एक अध्ययन पर्गेल्नेहरूले एकैपल्ट मानवीय कानुनका धेरै आयामहरू ठम्याउन सक्छन्। पुस्तकको मूल विशेषता नै यही हो।

मानवीय कानुनको ऐतिहासिक विकास, युद्धका तौरतरिका, जैविक हतियार, सशस्त्र सङ्घर्षमा बालबालिका, महिला र युद्ध, रेडक्रस चिन्ह, आतङ्कवाद र मानवीय कानुन, जेनेभा महासन्धिको साझ्ा धारा, मानवीय कानुन र मानवअधिकार कानुन, सांस्कृतिक निधिको संरक्षण, मानवीय कानुनको कार्यान्वयन र परम्परागत मानवीय प्रचलनहरूका केस्रा–केस्रा केलाउने सत्र वटा आलेख छन् पुस्तकमा।

ईसीआरसी सम्वद्ध विज्ञ र न्याय क्षेत्रका दिग्गज व्यक्तित्वहरूका अनुभव, विश्लेषणहरूको यो अनुवाद–सङ्ग्रहले एक अर्थमा अन्तर्राष्ट्रिय मानवीय कानुनको नेपाली दस्तावेजकै स्वरुप पाएको छ। कुन महासन्धिमा के कस्ता प्रावधान छन्, कुन कुन प्रावधानले युद्धरत पक्षका दायित्वलाई स्पष्ट औंल्याउँछन् अनि १२ अगष्ट १९४९ मा सम्पन्न चार प्रकृतिका जेनेभा महासन्धिहरूले युद्धभूमिमा रहेका घाइते तथा बिरामी सैनिकको सुरक्षा, युद्धबन्दीप्रतिको व्यवहार र असैनिक नागरिकहरूको सुरक्षासम्बन्धी के कस्ता कर्तव्यहरूको विश्लेषण गरेका छन् तिनलाई बुझन, बुझ्ाउन पुस्तक उपयोगी छ। ११ वर्ष लामो आन्तरिक सङ्घर्षमा नराम्ररी पिल्सिएको नेपालले भोगेका तीता, अमिला अनुभवहरूलाई केलाउने र गल्ती, कमजोरीहरूबाट पाठ सिक्ने/सिकाउने उद्देश्य लिने हो भने पुस्तक र यसका अन्तर्वस्तुमाथि एकपटक राम्ररी घोत्लिनुपर्ने हुन्छ। त्यो अर्थमा सचेतक–पाठ्यांश बन्न सक्छन् पुस्तकका आलेखहरू। सशस्त्र सङ्घर्षलाई परिस्थितिजन्य आवश्यकता ठान्नेहरूले अफगानी गृहयुद्ध, बोस्निया–हर्जगोभिना, सोमालियातिरका दुःखदायी अनुभवहरूबाट धेरै सिक्नु जरुरी छ भन्ने तथ्य पुस्तकले पुनः सम्झ्ाउँछ।

किताबले परोक्ष रूपमा हिंसामुक्त समाजको परिकल्पना गरेको छ तर आदर्श कल्पनाहरू बारम्बार विखण्डित भएका उदाहरणहरू इतिहासमा बग्रेल्ती छन्। र, प्रायः त्यस्ता घटनाको कारक बनेको छ शस्त्रको दम्भ। दम्भले असङ्गतिहरू निम्त्याउँछ। तिनै, त्यस्तै असङ्गतिहरूलाई यथासम्भव घटाउन, द्वन्द्वरत पक्षका आचरण/व्यवहारलाई सक्दो मानवीय बनाउन निर्दिष्ट नियमहरूबारे सबैलाई जानकार बनाउने सार्थक उद्देश्य भेट्न सकिन्छ पुस्तकभित्र। परिशिष्टमा उल्लिखित सशस्त्र सङ्घर्षमा लागू हुने नियमहरूको सूचीले त्यस्तो सङ्घर्षमा संलग्न भइसकेकाहरूलाई प्रायश्चित्तका निम्ति प्रेरित गर्न सक्यो भने पुस्तक–प्रकाशनको अभीष्ट समेत केही हदसम्म पूर्ति हुनेछ।

पुस्तकका केही आलेख/विश्लेषणहरू भने पाठकको धैर्यलाई चुनौती दिने गरी निकै लामा छन्। जानकारीमूलकभन्दा बढी विश्लेषणात्मक लाग्ने केही लेखहरूमा पाठक अल्मलिन सक्छन्। तथापि, अनुवादकको प्रयास प्रशंसनीय छ किनकि प्रायः अनूदित सामग्रीहरूमा देखिने असहजता, केही अपवादलाई छोडेर यसमा धेरै भेटिँदैन। शस्त्र कुनै समस्याको समाधान होइन र जस्तोसुकै परिस्थितिमा पनि मानवताको खोजी हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न पुस्तक सफल छ।

पेशल


 

प्राप्त कृति

भाषण कला (निर्देशिका)
लेखकः विजयकुमार पौडेल
प्रकाशकः ओजन बुक्स एण्ड स्टेशनरी, पोखरा, २०६३
पृष्ठः ८२, मूल्यः रु.५०





गोनु झ्ाका कथाहरू
(मैथिली लोककथा–सँगालो)
सङ्कलन/अनुवादः धर्मेन्द्र विह्वल
सम्पादकः केदार भट्टराई
प्रकाशकः विवेक सिर्जनशील
प्रकाशन प्रा.लि. काठमाडौँ, २०६३
पृष्ठः १०८, मूल्यः रु.७५

प्यारो पोखरा
(परिचयात्मक पुस्तक)
लेखक/प्रकाशकः अमृत भादगाउँले, २०६३
पृष्ठः ९६, मूल्यः रु.२००


ईश्वरको अदालतमा आउटसाइडरको बयान
(निबन्ध–सङ्ग्रह)
निबन्धकारः मोमिला
प्रकाशकः माउन्टडिजिट पब्लिकेशन, काठमाडौँ, २०६३
पृष्ठः ८६+, मूल्यः रु.२५०

योगक्षेम (कविता–सङ्ग्रह)
कविः हुलास गोल्छा
प्रकाशकः गोल्छा ज्ञान मन्दिर, काठमाडौँ, सन् २००६
पृष्ठः ८४, मूल्यः रु.१४५
नेपालको कालीपोके राजनीति
(इतिहास–विश्लेषण)
लेखकः अम्बरप्रसाद रिजाल
प्रकाशकः वाणी प्रकाशन
विराटनगर, २०६२
पृष्ठः ९१+, मूल्यः १५०