खोज
जेलमा एचआइभी
सुन्धारास्थित केन्द्रीय कारगारमा एचआइभी सङ्क्रमितको
ठूलो सङ्ख्या भेटिँदासमेत सरोकारवाला, सरकारी तथा गैरसरकारी निकायहरू
चुपचाप छन्।
•
हिमाल टीम
 |
| अजय जोशी |
नेपालका
जेलमा रहेका बन्दीमध्ये कति एचआइभी सङ्क्रमित होलान्?
कसैले ठोस अध्ययन नगरेकाले अनुमान गर्न गाह्रो छ। तर, राजधानीको केन्द्रीय
कारागार (हे.तस्बिर) मा फेला परेको तथ्यले धेरैलाई आश्चर्यचकित बनाएको
छ।
करीब वर्षदिनअघि आयोजित एउटा कार्यक्रममा
रक्तदान गरेका सो कारागारका १९८ बन्दीमध्ये ४८ जनाको रगतमा एचआइभी
पाइएपछि नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रले 'अब उप्रान्त
बन्दीहरूलाई रक्तदानमा सहभागी नगराउनू' भन्दै यो विवरण गुपचुप पारेको
तथ्य फेला परेको छ। सरोकारवाला अन्य निकायहरू समेत यो विवरण बाहिर
ल्याउन हिच्किचाइरहेका छन्। केन्द्रीय कारागारमा १९ मङ्सिरसम्ममा जम्मा
१,२३९ बन्दी रहेका कारागार प्रशासनको भनाइ छ।
२०६२ फागुनमा बन्दी सुधार कार्यक्रमअन्तर्गत
उनीहरूमा सेवाभाव जगाउने उद्देश्यले 'न्याय तथा विकासका लागि सामुदायिक
केन्द्र' नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा काठमाडौँ,
सुन्धारास्थित केन्द्रीय कारागारका ७७ र भद्र बन्दीगृहका १२१ बन्दीले
रक्तदान गरेका थिए। नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रबाट गएको चिकित्सक–टोलीले
उनीहरूको रगत सङ्कलन गरेको थियो। रक्तसञ्चार केन्द्रले रक्तदानबाट
सङ्कलित रगत अनिवार्य परीक्षण गरेर उपयुक्त पाएपछि मात्र प्रयोग गर्न
योग्य ठहर्याउँछ। यस क्रममा बन्दीहरूबाट लिइएको रगतको पनि
परीक्षण गरियो। यो प्रक्रियामा संलग्न
एक व्यक्तिले रक्त परीक्षणपछि उनीहरूमा एचआइभी र हेपाटाइटिस–बी पाइएको
बताएपछि यो कुराको खुलासा भएको हो।
केन्द्रले परीक्षण गर्दा केन्द्रीय कारागारका
२७ र भद्र बन्दीगृहका २१ जनाको रगतमा एचआइभी भेटियो। केन्द्रकी अधिकृत
सबिता सिंहले बन्दीबाट रक्तदान गराउन पहल गर्ने सामुदायिक केन्द्रका
तत्कालीन सचिव श्याम पोखरेललाई बोलाएर धेरै बन्दी एचआइभी पोजिटिभ रहेको
जानकारी दिँदै अबदेखि बन्दीहरूको रक्तदान कार्यक्रम नराख्न सचेत गराइन्।
पोखरेलले सङ्क्रमित व्यक्तिहरूको नाम र विवरण माग्दा सिंहले दिन अस्वीकार
गरिन्। सिंह भन्छिन्, “हामीले अब बन्दीहरूलाई रक्तदानमा सहभागी नगराऔँ,
उनीहरूमा गम्भीर समस्या देखियो भनेर श्यामजीलाई भनेका हौँ। बाँकी कुरा
बताउन मिल्दैन।” रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता कर्णिकारले
समेत धेरै बन्दीहरूमा 'समस्या देखिएको' स्वीकार गर्दै यो विषय बाहिर
नल्याउन र एचआइभी सङ्क्रमित बन्दीको सङ्ख्या उल्लेख नगरिदिन पटक–पटक
आग्रह गरिन्। किन? उनको जवाफ थियो्, “समस्या पर्छ।”
एक वर्षअघि रक्तदान कार्यक्रम आयोजना गर्ने
पोखरेलले यसबारे पहिलोपल्ट हिमाल सँग मुख खोलेका हुन्। “हामीले इच्छुक
बन्दीलाई मात्र रक्तदानमा सहभागी गराएका थियौँ। धेरैजसो बन्दीले सहभागी
हुन मानेका थिएनन्,” आफ्नो अनुभव सुनाउँदै पोखरेल भन्छन्, “रगत लिइएकामध्ये
जतिमा एचआइभी सङ्क्रमण देखियो, त्यो अनुपातमा हेर्ने हो भने कारागारका
अरू धेरै बन्दीमा एचआइभीको प्रभाव हुनुपर्छ।” तर बारम्बार अनुरोध गर्दा
पनि वास्तविकता पत्ता लगाउन कोही अग्रसर नभएको पोखरेलको दुखेसो थियो।
उनले यो विषयमा सरोकारवालासँग छलफल चलाउन चाहँदा पनि सरकारी अधिकारीहरूले
विवरण बाहिर लैजाँदा तनाव हुनसक्ने बताएर अघि बढ्न दिएनन्।
| केन्द्रीय कारागारमा रहेका बन्दी |
| अपराध |
जम्मा |
| ज्यान |
३३१ |
| लागु औषध |
३३४ |
| चोरी/डाँका |
२७० |
| ठगी/भ्रष्टाचार |
७३ |
| जबर्जस्ती करणी |
७९ |
| जिउ मास्ने, बेच्ने |
३० |
| सार्वजनिक अपराध |
६४ |
| विविध |
५८ |
| जम्मा |
१२३९ |
| स्रोतः केन्द्रीय कारागार प्रशासन |
केन्द्रीय कारागारका प्रमुख ऋषिकेश निरौलाले
पनि एक–दुई बन्दीमा एचआइभी सङ्क्रमणको समस्या रहेको आफूले थाहा पाएको
स्वीकार गरेका छन्। तर बन्दीहरूको ठूलो सङ्ख्या एचआइभी सङ्क्रमित रहेकोबारे
भने उनले अनभिज्ञता देखाए। बन्दीमा देखिएको एचआइभी सङक्रमणबारे आफूलाई
जानकारी नदिइएकोमा असन्तुष्ट निरौला रेडक्रसले गुपचुप राख्दै जाने
हो भने समस्याले विकराल रूप लिने बताउँछन्। उनी भन्छन्, “प्रमाण भेटिएपछि
रक्तसञ्चार केन्द्रले हामीलाई तुरुन्तै खबर गर्नुपर्थ्यो। त्यसपछि
म सम्बन्धित निकायमा त्यो विवरण पठाउँथे। र, रोकथामका उपाय अपनाउन
सकिन्थ्यो। जानकारी नदिएका कारण अहिलेसम्म समस्या लुकेर बसेको छ।”
रक्तसञ्चार केन्द्रकी निर्देशक डा. कर्णिकार चाहिँ सम्बन्धित व्यक्तिबाहेक
अरूलाई यसबारे जानकारी गराउन नसक्ने बताउँछिन्। विश्व स्वास्थ्य सङ्गठन
(डब्लुएचओ) ले बन्दीहरूलाई जोखिममा रहेको समूहमा राख्दै उनीहरूबाट
रक्तदान नगराउने मापदण्ड तय गरेको जानकारी गराउँदै डा. कर्णिकारले
भनिन्, “डब्लुएचओको गाइडलाइन पालना गरिरहेको अवस्थामा बन्दीबाट रक्तदान
नगरौँ भनेर हामीले धेरै प्रयास गरेका हौँ। तर एक पटकलाई गरौँ न भन्दा
परिणाम त्यस्तो आयो। कुनै पनि ठाउँमा रक्तदान गरिएकामध्येबाट कसैको
रगतमा एचआइभी भेटियो भने केन्द्रले सम्बन्धित व्यक्तिलाई मात्र जानकारी
दिने, अरूलाई दिन नमिल्ने भएकाले मिडियालाई समेत केही भन्न मिल्दैन।”
बन्दीहरू आफैँ जानकारी लिन आउन नसक्ने भएकाले सरकारलाई जानकारी गराउनु
पर्दैन र? डा. कर्णिकारको भनाइ थियो, “हामीले जरुरी ठानेनौँ।”
यसबारे सरकारी निकायलाई अहिलेसम्म कुनै
सूचना छैन। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका प्रमुख
डा. राजेन्द्र पन्त बन्दीहरूमा देखिएको समस्याबारे आफूले फाट्टफुट्ट
सुनेको तर यकिन जानकारी नपाएको बताउँछन्। पन्तले यति मात्रै भने, “समस्या
देखियो भने अनुसन्धान गरौँला।”
समाचार स्रोतका अनुसार, बन्दीहरूमा ठूलै
सङ्ख्यामा एचआइभी सङ्क्रमण देखिएपछि रक्तसञ्चार केन्द्रले असजिलो महसुस
गरेर यसलाई गुपचुप राखेको हो। डब्लुएचओको मापदण्डविपरीत रक्तदान गराइएको
गाल आउला भन्ने भयले पनि केन्द्रले यो विवरण लुकाउन चाहेको हुनसक्छ।
तर केन्द्रकी निर्देशक डा. कर्णिकार चाहिँ “बन्दीमा पर्नसक्ने खतरालाई
ध्यानमा राखेर यसबारे कसैलाई जानकारी नगराइएको” बताउँछिन्।
त्यसो त, केन्द्रीय कारागारभित्रै पनि
बन्दीहरूको स्वास्थ्य उपचार गर्ने सरकारी अस्पताल छ। तर सो अस्पतालले
अहिलेसम्म बन्दीको रक्तपरीक्षण गर्ने गरेको छैन। अस्पतालका एक कर्मचारी
दुःखेसो पोख्छन्, “अलिकति गम्भीर समस्या देखिने बित्तिकै वीर वा शिक्षण
अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ।”
कारण थाहा छैन
बन्दीहरूमा अकस्मात यति ठूलो सङ्ख्यामा देखिएको यो समस्याको कारण अहिलेसम्म
थाहा हुनसकेको छैन। पुरुष बन्दीहरू बीचमै हुने यौनक्रिडा (होमोसेक्स)
का कारण समस्या ह्वात्तै बढेको हुनसक्ने एकथरीको आशङ्का छ। तर केन्द्रीय
कारागारका प्रमुख निरौला यो सम्भावनालाई अस्वीकार गर्छन्। उनी भन्छन्,
“केही समयअघि एक गैरसरकारी संस्थाले यो अवस्था छ/छैन भन्ने पत्ता लगाउन
पुरुष बन्दीलाई कण्डम वितरण गर्न खोजेको थियो। तर सबै बन्दीले आवश्यक
नभएको भन्दै लिन अस्वीकार गरे।”
यसबाहेक, कतिपयले बाहिरबाट जेलमा जाँदैखेरि
एचआइभी सङ्क्रमण बोकेको हुनसक्ने आशङ्का छ। कपाल काट्न धेरैले एउटै
छुरा प्रयोग गर्ने हुनाले पनि यो फैलिएको हुनसक्छ। त्यसैगरी, लागुपदार्थ
ओसार–पसारमा समातिएका धेरै बन्दी त्यहाँ भएकाले लागूपदार्थ प्रयोग
गर्ने सुई जेलभित्र छिराइएको आशङ्का पनि गरिँदैछ। सम्बन्धित निकायहरू
अहिलेसम्म यस्तै अनुमानमा सीमित देखिएका छन्।
|