हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद | दोहा एसियाड

सफलता तेक्वान्दोमै सीमित

सुन्दर श्रेष्ठ
दशौँ एसियाडका पदक विजेता दीपक, आयशा र मनिता।

९ मङ्सिरमा कतारको दोहामा सम्पन्न पन्ध्रौँँ एसियाली खेलकुदमा नेपालले तीन कास्य मात्र जित्न सक्यो। करीब सवा करोड रुपैयाँ खर्च गरेर १२० जनाको लस्करका साथ दोहा पुगेको नेपाली टोलीको प्रदर्शनले फेरि एक पटक नेपालको खेलस्तरलाई उदाङ्ग पारेको छ। प्रतियोगिता उद्घाटनसँगै शुरु भएको पहिलो राउण्डबाटै नेपाली खेलाडी बाहिरिने क्रम अन्तिमसम्म पनि जारी रह्यो। सहभागी १४ खेलमध्ये केही खेेलमा बाहेक नेपालको खेलस्तर दक्षिण एसियाको स्तरमै सीमित रहेको फेरि प्रष्ट भएको छ।

शुटिङ खेलमा पदकको आशा त टाढाको कुरा भगवती खत्री, फूलमाया क्याप्छकी र अस्मिता राईको ओलम्पिक छनौटलाई नै ठूलो उपलब्धि मानिएको छ। पुरुष सहभागी असिम यादवले त्यो अवसर पनि प्राप्त गरेनन्। दशौँ दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङको ६४ केजी तौल समूहमा रजत पदक विजेता सुशील घिमिरे पहिलो भिडन्तमै पराजित हुन पुगे, जो बक्सिङमा भाग लिने एक्लो नेपाली थिए। त्यस्तै अवस्था रह्यो, ब्याडमिन्टनकी सुमिना श्रेष्ठको। उनी सिङ्गापुरकी खेलाडीसँग पहिलो चरणमै पराजित भइन्। भारोत्तोलनमा दशौँ सागका स्वर्ण विजेता कमलबहादुर अधिकारीले दोहामा सागको प्रदर्शन समेत दोहार्‍याउन सकेनन्। म्याराथनका सहभागी अर्जुनबहादुर बस्नेत पनि एघारौं स्थानमा रहे। एसियाडमा पहिलो पटक समावेश गरिएको चेसमा विलमलाल श्रेष्ठ, सुरवीर लामा र मोनालिसा खुम्बुको प्रदर्शनलाई भने सन्तोषजनक मान्न सकिन्छ।

पदक जित्ने आशा गरिएको करातेको नतिजाले भने सबैलाई निराश पार्‍यो। दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, सुलोचना सिजख्वा लगायतका खेलाडी पहिलो चरणमै पराजित भए। उसुमा पनि नेपाली खेलाडीहरू विपक्षीका सामु धेरैबेर टिक्न सकेनन्। जुडो, गल्फ र सफ्टटेनिसमा पनि त्यस्तै हविगत रह्यो।

तेक्वान्दोका परिणामलाई मात्र केही सुखद मान्न सकिन्छ। सागमा स्वर्ण पदकको ह्याटि्रक गरिसकेका दीपक विष्ट दोहामा ७८ केजी तौल समूहमा कास्य पदकमा सीमित रहे पनि उनको प्रदर्शन तारिफयोग्य थियो। उनले सेमिफाइनल प्रवेशका लागि कुवेतका खेलाडीमाथि ३–२ को रोमाञ्चक जित हात पारेका थिए। विष्टले बुसानमा आयोजित चौधौं एसियाडमा पनि कास्य पदक जितेका थिए। दीपक अहिलेको सफलताबाट पूर्ण सन्तुष्ट भने छैनन्। उनी भन्छन्, “निर्णय निष्पक्ष भइदिएको भए अर्कै परिणाम पनि आउन सक्थ्यो। तर देशका लागि कास्य नै भएपनि, पदक जित्न सकेकोमा औधि खुसी छु।” यो सफलतासँगै दीपकको ओलम्पिक–यात्राको अपेक्षा अरु बढेको छ।

तेक्वान्दोमै आयशा शाक्य र मनिता शाहीले पनि आ–आफ्नो स्पर्धामा कास्य पदक जितेर नेपालको प्रतिष्ठा जोगाउन सहयोग गरेका थिए। चौधौँ बुसान एसियाडमा पनि नेपालले तेक्वान्दोबाटैे तीन कास्य हात पारेको थियो। ब्याङ्ककको तेह्रौँ एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन्। एसियाडमा त्यो नै नेपालको अहिलेसम्मकै उच्च प्रदर्शन हो।
समग्रमा दोहा एसियाड नेपाली खेलाडीहरुको प्रदर्शनका हिसाबले सुखद रहेन, यसअघिका संस्करणमा जस्तै सहभागिता र सयरमै सीमित रह्यो।