हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

वारिपारि उही सुरताल

डम्बरकृष्ण श्रेष्ठ

दार्जीलिङमा जन्मेर सिक्किमलाई कर्मभूमि बनाएकी शान्ति ठटालले नेपालमा के भेट्छिन्? उनकै शब्दमा, “सद्भाव र प्रेरणा।” सीमापारि रहँदा पनि उनी नेपाल सम्झ्िरहन्छिन्। र, वारिकाले पनि नेपाली सङ्गीतप्रतिको उनको गुन बिर्सदैनन्। मङ्सिरको तेस्रो साता नारायणगोपाल सङ्गीत कोषले प्रदान गरेको नारायणगोपाल सम्मान थाप्न काठमाडौं आइपुगेकी ठटालले आफ्नो मूल्याङ्कन फेरि पनि दोहोर्‍याइन्, “दार्जीलिङ, सिक्किमका डाँडाडाँडामा छ नेपाली सङ्गीत। हामी त्यसैलाई गोडमेल गर्छौं।”

नेपाली सिने क्षेत्रमा पहिलो महिला सङ्गीतकार हुन् ठटाल। चलचित्र 'परालको आगो' र 'बाँच्न चाहनेहरू' मा प्रस्तुत कर्णप्रिय गीतहरूले कमाएको ख्यातिलाई 'श्रोताको अनुमोदन' सम्झ्िन्छिन् उनी। ईश्वरवल्लभको 'एउटा नीलो सूर्यास्त' मा उनले सजाएको 'क्यान्टटा' पनि त्यस्तै उल्लेख्य उदाहरण हो। सिक्किमको सांस्कृतिक विभागमा उपप्रमुखको २५ वर्षे कार्यभारपछि चार वर्षअघि सेवा–निवृत्त भएकी ठटाल अहिले फेरि दार्जीलिङ आइपुगेकी छन् सङ्गीत– साधनाका लागि। गत वर्ष काठमाडौँ आएर नेपालयको पलेटी शृङ्खलामा डेढ दर्जन गीत सुनाएकी ठटालले प्रत्यक्ष देखाएकी थिइन्– उनको सुर र स्वर सुस्ताएका छैनन्। तर नेपाल र दार्जीलिङ–सिक्किमबीच रहेको वषौँदेखिको साङ्गीतिक सुसम्बन्ध पातलिँदै गएको आभास भइरहेको छ अहिले उनलाई। भन्छिन्, “नारायण गोपाल, गोपाल योञ्जनजस्ता साधकको अवसानपछि दार्जीलिङसँगको साङ्गीतिक सम्बन्ध सुस्ताएको छ। यसलाई नयाँ पुस्ताले पुनः जीवन्त बनाउनुपर्छ।”


बोलीको मोहनी

किरण पाण्डे

रेडियो कार्यक्रममा भरिया, रिक्साचालकदेखि विभिन्न वर्ग र तहका पात्रहरूलाई प्रस्तुत गर्ने उनको अभियानले कसैलाई अभिभावक दिलायो त कसैलाई संघर्ष गरेर बाँच्ने प्रेरणा। रेडियो नेपालको 'सुरसङ्गम' का धेरै श्रोता उनले लिएका अन्तर्वार्ता र गीतिकथा सुनेर भक्कानिएका छन्। अर्काको अनुभूतिलाई आवाज दिन खप्पिस मानिन्छन् रेडियो प्रस्तोता नवराज लम्साल (३७)। हरेक शुक्रबार प्रसारण हुने 'मधुवन' ले त श्रोता–सहभागिताको कीर्तिमान नै बनाएको छ। ९० वटा श्रोता क्लब, तिनले निकाल्ने करीब तीन सय साहित्यिक पत्रपत्रिका र चाङका चाङ श्रोतापत्रका मियो बनेका छन् नवराज। कुनै हप्ता ४०२ वटासम्म चिठी आएको अभिलेख देखाउँदै उनी भन्छन्, “यो मायाले कहिलेकाहीँ अत्याउँछ पनि।”

नभन्दै रेडियो श्रोताहरूका लागि लोकप्रियताको दृष्टान्त बनिसकेका छन् नवराज। वक्तृत्व–क्षमताले उनलाई ६१ जिल्ला र प्रवासका धेरै स्टेज कार्यक्रमहरूमा पुर्‍याइसकेको छ। संस्कृत र नेपाली साहित्य दुबैमा स्नातकोत्तर नवराजसँग कवि/गीतकारको अर्को लोकप्रिय छवि पनि छ। आधुनिक सङ्गीतका सबै स्थापित स्रष्टाले उनका गीत गाएका छन्।

'मेरो गीत मेरै प्यारो सभ्यता र रीत एउटा, मेरो आस्था मेरो विश्वास सिर्जनाले पुज्ने द्यौता...' भन्दै सिर्जनाका तीन ठेली सार्वजनिक गरिसकेका, धादिङ–ज्यामरुङका यी युवा रेडियोकर्मलाई श्रोतासँगको मायाप्रीति भन्न रुचाउँछन्। रेडियोमा जनताका आवाज बजाएवापत शाही शासनकालमा कार्यक्रममाथि प्रतिबन्ध र पटक–पटक स्पष्टीकरण भोगेका नवराज भन्छन्, “पिछडिएका समुदाय र तिनको भोगाइमा वाणी भरेनौँ भने हामीले रेडियोमा बोलेको कुनै अर्थ छैन।”