गन्तव्य
|
मुस्ताङ
जाऊँ हैल्होमान्थाङ!
ल्होमान्थाङ्ग कमै नेपाली पुगेको, छुट्टै सभ्यता
हेर्न पाइने ठाउँ हो।
•
सुमन ढकाल
मुस्ताङ्गको सदरमुकाम
जोमसोम पुग्ने धेरै बाटा छन्ः पोखराबाट करिब १५ मिनेटको हवाईयात्रा
बेनी, नयाँपुल–घोडेपानी वा फेदी–घान्द्रुक–घोडेपानी हुँदै दाना, तातोपानी
निस्केर तथा बेसीँशहर–मनाङ– थोराङला भञ्ज्याङ हुँदै मुक्तिनाथ भएर।
पैदलयात्राका धेरै विकल्प भए पनि कम्तीमा एकतर्फी हवाई
यात्रा गर्यो भने दुई अग्ला हिमालको बीचबाट उड्दाको रोमाञ्चक अनुभव
गर्न पाइन्छ। जोमसोम पुगेर देशका अन्य धेरै भागबाट उत्तरतर्फ देखिने
हिमाल दक्षिणपट्टि देखिँदा अनौठो अनुभव हुन्छ। सानो र सफा जोमसोममा
बस्नलाई ससाना लजदेखि पाँचतारे होटलसम्म छन्। मास्तिर लाग्नुअघि कम्तीमा
एक–दुई दिन यहाँ बस्यो भने स्थानीय हावापानीमा अभ्यस्त भएर लेक लाग्ने
डर कम हुन्छ। यहाँ मुस्ताङ्गको इतिहास, कला–सँस्कृति, सामाजिक–आर्थिक
अवस्था, हिमाली भेगका जडिबुटी, वनस्पति र जीवजन्तुको जानकारी दिने
खालका बस्तुहरूको सङ्ग्रहालय छ। नदीपारि नीलगिरिको काखमा रहेको ठिनी
गाउँ अर्को आकर्षण हो जहाँ एउटा सुन्दर ताल पनि छ।
ज्ाोमसोमबाट करिब तीन घण्टामा दामोदर कुण्डबाट आउने
गण्डकी नदी र मुक्तिनाथबाट आउने कृष्ण खोलाको सङ्गम कागवेनी पुगिन्छ,
जहाँ पितृहरूका नाउँमा श्राद्ध गर्ने परम्परा छ। यहाँबाट दुई गन्तव्य
छुट्टिन्छन्– मुक्तिनाथ र उपल्लो मुस्ताङ्ग। नियन्त्रित पर्यटकीय स्थल
उपल्लो मुस्ताङ्गमा अनुमति प्राप्त ट्रेकिङ एजेन्सीका माध्यमबाट प्रतिवर्ष
बढीमा एक हजार विदेशी पर्यटक जान पाउँछन्। प्रत्येकले १० दिनको भ्रमणका
लागि ७०० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। नेपालीहरूलाई न कुनै शुल्क
लाग्छ, न सङ्ख्यात्मक बन्देज नै छ। उपल्लो मुस्ताङ्गमा भिडियो खिच्न
प्रतिबन्ध भएकाले भिडियो क्यामरा छ भने चाहिँ कागवेनी चेकपोष्टमा राखेर
रसिद लिई जानुपर्छ।
उपल्लो मुस्ताङ्ग क्षेत्रमा सात गाविस र करिब ३० बस्ती
छन्। यहाँका मानिसहरू अत्यन्त सरल र मिलनसार स्वभावका छन्। उनीहरूको
मुख्य पेशा पशुपालन र खेतीपाती हो। हिउँदमा अधिकांश मानिस पोखरा, काठमाडौँ
वा भारततिर गएर व्यापार–व्यवसाय गर्दछन्। पानी अत्यन्त कम र हिउँ धेरै
पर्ने यस क्षेत्रमा प्रायः आलु, फापर र जौको खेती हुन्छ। स्याउ, आरु,
आलुबखडा, खुर्पानी आदि फलफूल हुन्छन्। साउन–भदौमा गलैँचा ओछ्याएजस्तै
लाग्ने फापर फूलेको मनमोहक दृश्य देखिन्छ।
कागबेनीदेखि माथि कालीगण्डकीको तीरैतीर उकालो शुरु हुन्छ।
ठाउँ–ठाउँमा १०–२० घरका साना बस्ती हुँदै पहिलो बासका लागि छुक्साङ्ग
वा चैले पुगिन्छ। बाटोमा एक रात बसेको रु.३०० देखि ५०० सम्म लिने राम्रै
होटल पाइन्छन्। कति ठाउँमा नेपालीलाई खाना खाएपछि सुत्न पैसा नलाग्ने
सुविधा पनि छ। खानाको मोल चाहिँ जति मास्तिर लाग्यो उति महङ्गो, प्रतिप्लेट
सादा खानाको रु.१०० भन्दा बढी नै, हुन्छ।
चैलेदेखि शुरु हुने करिब चार हजार मिटर उचाइको समर लेक
यात्राको सबैभन्दा अग्लो क्षेत्र हो। स्थानीय बासिन्दाहरू लेक नलागोस्
भनेर लसुन र टिम्मुरको धूलो खाँदै हिँड्न सल्लाह दिन्छन्। लेक लाग्दा
रिङ्गटा लागेर टाउको दुख्छ र वान्ता हुन्छ। यस्तो भएमा सकेसम्म छिटो
होचो ठाउँमा झ्रेर आराम गरी फेरि उकालो लाग्नु पर्दछ। तैपनि सञ्चो
भएन भने 'डायोमोक्स–५००' भन्ने औषधि खान सकिन्छ।
जोमसोमबाट चैले र घामीमा बास बसेर गयो भने तेस्रो रात
ल्होमान्थाङ्ग नै पुग्न पनि सकिन्छ भने घिलिङ्ग बसेर गयो भने चराङ्गसम्म
पुगिन्छ। चराङ्गको प्रवेशद्वारमै एउटा आकर्षक छ्योर्तेन (मृतात्माको
सम्झनामा बनाइने सानो गुम्बा) छ। त्यसपछि चौधौँ शताब्दीमा निर्मित
मराङ्गको 'ल्हो घेघर' (घर गुम्बा) आउँछ। यो गुम्बासँग एउटा किम्वदन्ती
पनि गाँसिएको छ– तिब्बतमा यस्तै गुम्बा निर्माण गर्न लाग्दा धेरै पल्ट
भत्किएकाले पहिले यहाँ त्यसको प्रतिरूप बनाएपछि मात्र उता बनाइएको
रे। मुस्ताङका सबै छ्योर्तेन र गुम्बालाई दाहिने पारेर हिँड्ने र हरेक
देउरालीमा ढुङ्गा चढाउने चलन छ। यसबाट स्थानीय कला–सँस्कृतिको सम्मान
गरेको ठहरिनेछ।
चराङ्गबाट ल्होमान्थाङ्ग करिब चार घण्टाको दूरीमा पर्दछ। जाँदाजाँदै
पहिलो डाँडाबाट ठूलो पर्खालभित्र रहेका घरैघर देखिन्छन्। करिब १५०
घरको यो बस्तीमा केही होटल, रेष्टुरेण्ट र खुद्रा पसल छन्। अधिकांश
सामान चीनबाट आयात गरिन्छन्। यहाँ बस्नका लागि दिनको रु.३०० देखि १
हजारसम्म लिने होटल छन्।
नेपालका राज्यरजौटा उन्मूलनपछि पनि कायम केही राजामध्ये
एक मुस्ताङ्गी राजा जिग्मे परवल विष्ट लोमान्थाङ्गमै बस्छन्। बस्तीको
बीचमा देखिने सबैभन्दा अग्लो घर उनकै दरवार हो। घोडा लिएर जानेले यो
बस्तीको पर्खालभित्र पसेपछि डोर्याएर हिँड्नु पर्दछ, जसले राजदरवारप्रति
सम्मान गरेको ठहर्छ। राजा आगन्तुकहरूसँग भेटघाट–कुराकानीका लागि सहजै
उपलब्ध हुन्छन्, जसका लागि उनका स्वकीय सचिवसँग समय मिलाएर जानु पर्दछ
र खादा उपहार लैजान बिर्सनु हुँदैन। ल्होमान्थाङ्गमा पुरातात्विक हिसाबले
महत्वपूर्ण तीन वटा ठूला गुम्बा छन्– छोदे, घ्याम्पा र थुप्चेन।
ल्होमान्थाङ्गपारि पनि दुई गाविस छन्– छ्योसेर र छोन्हुप।
छोन्हुपको सिमाना चीनको तिब्बतसँग जोडिएको छ। नेपालका अन्य भागबाट
सडक नजोडिएको मुस्ताङको ल्होमान्थाङ्गमा तिब्बततिरबाट गाडी आउँछन्।
हवाईमार्गबाट ल्याइएका केही ट्र्याक्टर, गाडी र मोटरसाइकलहरू जिल्लाको
तल्लो भेगको लेतेदेखि जोमसोम, कागवेनी, मुक्तिनाथ ओहोर–दोहोर गरिरहेका
पनि देखिन्छन्।
|