देश | समाचार
धान जति 'मालिक' र माओवादीलाई
राष्ट्रिय जनशक्ति
पार्टीका नेता एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाका भाइ यतिन्द्रनाथको
चार विगाहा खेत अधियामा कमाएका रुपन्देहीका किसान रफिउल्लाहले उब्जाएका
१२ बोरा धान माओवादीले खलोबाटै उठाए। “उनीहरूले जति भाग लाइदिन्छन्,
हामीले त्यति पाउने हो”, रफिउल्लाह भन्छन्।
माओवादीले यतिन्द्रकै खेतमा धान लगाउने रामदास हरिजनको १२ बोरा र
सर्वज्ञनाथ शुक्लाको खेतमा धान लगाउने सन्तराम चमारको ७२ बोरा धान
पनि लगेका छन्। जग्गाधनीले पनि आफ्नो हिस्सा लगेकाले अब आफूसँग ५०
बोरा जति मात्र धान बाँकी रहेको चमार बताउँछन्। धान बेचेर आउने पैसाले
खेती गर्न लिएको ऋण तिर्ने, घर खर्च चलाउने र छोरीको बिहे गर्ने उनको
योजना भताभुङ्ग छ।
यस क्षेत्रका अरू किसानले पनि तीन भागको एक भाग माओवादीलाई नबुझ्ाएसम्म
धान भियाउन नपाउने भएका छन्।
ाओवादीका फरेना क्षेत्र इञ्चार्ज गोविन्द चौधरी 'प्रवेश' ले शुक्लालगायत
स्थानीय जमिन्दारहरूको खेत पार्टीको कब्जामा रहेकोेले उनीहरूले पाउने
धान लिएको बताएका छन्। तर, अधिया गर्ने किसानहरू मालिकलाई पनि आधा
धान नदिई सुख पाउँदैनन्।
स्थानीय उमेश कहारका अनुसार माओवादीको दबाबपछि तीन वर्षअघि फरेना छोडेका
सर्वेन्द्रनाथ शुक्ला काठमाडौँमा, यतिन्द्र र सर्वज्ञनाथ भारतको गोरखपुरमा
बस्छन् भने उनीहरूका खेतमा ४६ परिवारले अधियामा काम गर्दै आएका छन्।
शुक्लाहरू दुई–तीन महिनामा एकपटक आई रेखदेख र अह्रन–खटन गरेर जाने
गरेको अधियामा काम गर्नेहरू बताउँछन्।
जमिन्दारहरूलाई साधारण जनतासरह बस्न आए बस्न दिने माओवादीको भनाइ
छ। मर्चवारका ६–७ जमिन्दार परिवार यसरी फर्किसकेका पनि छन्। एरिया
इञ्चार्ज गोविन्दले पार्टीलाई सहयोग गर्ने र आत्मसमर्पण गर्नेहरूलाई
मात्र आउन दिइएको र घरजग्गा फिर्ता गरिएको बताएका छन्। माओवादीका जिल्ला
नेता विनोद उपाध्याय लोकतन्त्रविरुद्ध र राजाको पक्षमा लाग्नेहरूलाई
पनि फिर्ता नबोलाइने बताउँछन्। तर, पछिल्लो समय घर फर्कन दिइएका अधिकांश
जमिन्दारहरू शाहीसत्ताका समर्थक नै छन्। माओवादीले कपिलवस्तुको फुलिका
र वसन्तपुरमा किसानहरूले झ्ण्डै पाँच सय विगाहामा उब्जाएको धान काटेर
लगेका छन्। माओवादीका स्थानीय नेता रामलोटन तिवारी पनि “जमिन्दारबाट
कब्जामा लिइएको जग्गाको धान भएकोले काटेको” बताउँछन्।
कपिलवस्तुका इन्सेक प्रतिनिधि नन्दराम पौडेल भन्छन्, “हतियारको राजनीति
मात्र रोकिएको हो, अरू सबै यथावत छ।”
•
मुकेश पोखरेल, भैरहवा
अझ्ै हटेनन् काँडेतार
र बम
लमजुङमा
नेपाली सेनाले नियन्त्रणमा लिएको सर्वसाधारणका घरबारी
अझ्ै छाडेको छैन। लोकतन्त्र बहाली भएको आठ महिना बितिसक्दा पनि पाँच
वर्षदेखि राखिएका काँडेतार, बम र एम्बुस अझ्ै हटेका छैनन्।
सदरमुकाम बेसीशहरस्थित सेनाको गरुडदल गणले
ब्यारेक विस्तार गर्ने क्रममा २०५८ कात्तिकदेखि खुशीराम गौली र फुलमाया
श्रेष्ठको घर कब्जा गरी तारबार लगाएको थियो। उनीहरूलाई घर नछाडेको
चिन्ताभन्दा पनि घरबारीभरि र वरिपरि राखिएका बम र एम्बुस पड्कने डरले
बढी सताएको छ। खुशीराम भन्छन्, “सेनाले छतमा पाँच वर्षसम्म पोष्ट राखेकोले
घर पूरै भत्किएको छ। क्षतिपूर्ति पाइएको छैन। एक महिनाअघि प्रेसरकुकर
बम पड्केको थियो। त्यतिबेला क्षति केही नभए पनि अरू बम कहिले पड्कने
हुन् भन्ने डरमा बस्नुपरेको छ।” कति बम कहाँ र कसरी राखिएको छ भन्नेबारे
सेनालाई समेत जानकारी नभएको पीडितहरू बताउँछन्।
उनीहरूलाई आफ्नो घर बाहिर निस्कन वा भित्र
छिर्न पनि सेनाको मुख्य प्रवेशद्वार प्रयोग गर्नुपर्छ। सेनाले साँझ्
६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म गेट बन्द गर्ने हुनाले त्यो भन्दा
ढिलो–छिटो भित्र–बाहिर गर्न पाइँदैन।
उता फूलबारी मञ्चमा रहेको सेनाको अस्थायी
ब्यारेक शेराफाँटमा सरेपछि जिल्ला प्रहरी कार्यालयले कब्जामा लिएको
बेसीशहर–१ स्थित फूलबारी मञ्च पनि प्रहरीले छाडेको छैन। उक्त मञ्च
खाली गर्न प्रशासनलाई दबाब दिइरहेको बेसीशहर नगर विकास समितिका अध्यक्ष
कृष्णबहादुर अधिकारी बताउँछन्। मञ्चलाई मुख्यद्वारको रूपमा प्रयोग
गर्दै प्रहरीले त्यहाँ थोत्रा गाडी थन्काएर राखेको छ। यता खुल्लामञ्चको
अभावमा बेसीशहरमा हुने कार्यक्रमहरू पनि सडकको बीचमा हुंदै आएका छन्।
फुलबारी मञ्च कब्जा गरिए–पछि त्यससँगै
जोडिएका कृतिमान श्रेष्ठ, अम्बिका पौडेल र विष्णु श्रेष्ठका परिवारले
पनि अनेकन् सास्ती भोग्दै आएका छन्। आफ्ना घरअगाडि ठूला–ठूला खाडल
खनी एम्बुस थापिएको उनीहरू बताउँछन्।
पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा
निवेदन दिँदा पनि अहिलेसम्म सुनुवाइ भएको छैन। लमजुङका प्रमुख जिल्ला
अधिकारी ज्ञानप्रसाद शर्मा पङ्गेनी सेना र प्रहरीसँग समन्वय गरी सर्वसाधारणका
घर–जग्गाभित्र लगाइएका तारबार तत्कालै फिर्ता गरिने बताउँछन्।
•
गणेश पाण्डे, लमजुङ
संसदको
'समावेशी' बाटो
देशको संसद रहेको
सिंहदरबार 'ग्यालरी' बैठकमा अब ह्वीलचेयर प्रयोगकर्ताहरू पनि प्रवेश
गर्न सक्छन्। संसद सचिवालयले अपाङ्गता भएका नागरिकहरू ह्वीलचेयरमा
बसेर संसदको प्राङ्गण र बैठक कक्षमा जान सकून् भनेर उनीहरूका लागि
सजिलो बाटो 'र्याम्प' बनाएको छ।
करीब ३० लाख अपाङ्गता भएका नागरिकहरूको मानवअधिकारको
कुरा उठाउँदै हिमाल ले १६–३० कात्तिक २०६३ मा एक रिपोर्ट प्रकाशित
गरेको थियो, जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेट्न जाँदा
आयोगको कार्यालय भवन अपाङ्ग–मैत्री नभएकोले अपाङ्गता भएकाहरूलाई परेको
कठिनाइबारे लेखिएको थियो। केन्द्रीय निकायका भवनहरूको यो हालत भएको
बेला बरु तनहुँको जिल्ला प्रशासन कार्यालयले 'र्याम्प' निर्माण गरेको
कुरा रिपोर्टमा उल्लेख थियो। त्यसलगत्तै योजना आयोगले सबै सार्वजनिक
स्थलमा अपाङ्गता भएका नागरिकको सहज आवागमनका लागि 'र्याम्प', 'लिफ्ट'
लगायत अपाङ्ग–मैत्री निर्माण गर्नुपर्ने निर्णय गरेपछि अहिले उक्त
कार्यले गति लिन थालेको हो।
अपाङ्गता भएका नागरिकहरू मूलतः तीन प्रकारले वञ्चित
छन्– मानव निर्मित भौतिक अवरोध, संस्थागत अवरोध र दृष्टिकोणको अवरोध।
यसमध्ये संसदले मानव निर्मित भौतिक अवरोध हटाएकोमा खुशी व्यक्त गर्दै
अपाङ्गता भएका नागरिकहरूले अब त्यहाँ उनीहरूलाई हेरिने दृष्टिकोणमा
पनि परिवर्तन हुनुपर्ने अपेक्षा राखेका छन्। मुलुकको
सर्वोच्च विधायिकामा विना रोकतोक प्रवेशलाई उनीहरू आफ्नो
अधिकार ठान्छन्। संसद भवन अपाङ्ग–मैत्री बनेकोमा खुशी भएका ह्वीलचेयर
प्रयोगकर्ता भोजराज श्रेष्ठ भन्छन्, “अब विधि–निर्माणमा पनि हामीलाई
सहभागी गराउनु पर्छ।”
आदिवासी, जनजाति, महिला, मधेशी र अपाङ्गता भएकाहरू सबैको
प्रतिनिधित्व गराएर अन्तरिम संसदले समावेशी बाटो समात्ने सभामुख सुवासचन्द्र
नेम्वाङ्ग बताउँछन्। उनको भनाइ छ, “ग्यालरी बैठकको दर्शक–दीर्घामा
मात्र होइन, अपाङ्गता भएकाहरूलाई प्रतिनिधिका रूपमा नै सहभागी बनाउने
सोचाइ छ।”
•
ध्रुब सिम्खडा
'घामका पाइला' रोकिए
'घामका पाइला' मार्फत्
लोकप्रियताको कीर्तिमान बनाएका आख्यानकार धनुषचन्द्र गौतम (ध.च. गोतामे)
अब रहेनन्। ७४ वर्षको उमेरमा १९ मङ्सिर बिहान काठमाडौंमा हृदयाघातबाट
निधन भएका गौतम 'संस्मरणमा आख्यान र आख्यानमा संस्मरण' को प्रयोग गर्ने
कुशल साहित्यकार मानिन्थे।
२०३५ सालमा प्रकाशित घामका पाइला बाट एकै वर्ष मदन तथा साझ्ा पुरस्कार
पाएका ध.च. गोतामेको अर्को उपन्यास यहाँदेखि त्यहाँसम्म र संस्मरणात्मक
कृतिहरू कालान्तर, सम्झ्नाका गल्छेडाहरूमा, तीनवास, उत्तरोत्तर, आरोह–अवरोह
पनि पाठकहरूले उत्तिकै रुचाएका थिए। उनको संज्ञा सर्वनाम नामको हास्यव्यङ्ग्य
सङ्ग्रह पनि प्रकाशित छ।
वीरगञ्जका प्रख्यात साहित्यिक परिवारका यी अगुवाले राजनीति र पत्रकारिता
क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याएका थिए। पछिल्लो समयमा भने
उनी साहित्यमै निर्लिप्त थिए। नयाँ पुस्ताका लेखक/पत्रकारहरूले उनको
वर्णनात्मक शैलीलाई मार्गदर्शक मान्ने गरेका छन्।
'असली
पेडा' को होडवाजी
७६ वर्षीय
बैजनाथ साहले ४० वर्षअघि सप्तरी, बरमझ्ियाको राजमार्ग छेवैमा एउटा
पेडा पसल शुरु गरेका थिए। तिहारताका एकै दिन रु.२० हजार–सम्मको पेडा
बिक्री हुने उनको पसलमा ठूला–ठूला कराहीमा दैनिक डेढ–दुई सय लिटर दूधको
खुवा घोटिन्छ। त्यसबाट बन्ने राता, डल्ला पेडाले स्थानीय बासिन्दासहित
यात्रुहरूसम्म सबैलाई मुग्ध बनाएका छन्। उनले शुरु गरेका पेडा पसलको
नक्कल गरेर दायाँ–बायाँ, सडक पारि र पर–परसम्म पनि लहरै पेडा पसल खुलेका
छन्। र, सबैजसो उनकै जस्तो साइनबोर्ड टाँगेर आ–आफ्नो पेडा बिकाउन ढुकेर
बसेका देखिन्छन्। उनीहरू सबैले आ–आफ्नो पेडालाई 'असली' दावी गर्दै
'पुरानो', 'प्रसिद्ध', 'सप्तरी', 'बरमझिया', 'बैद्यनाथ', 'बुढो', 'बाजे'
जस्ता शब्द खेलाएर ग्राहक तान्न खोजेका छन्। (हे. साइनबोर्ड कोलाज)।
•
रुपा जोशी
झ्न् झ्न् आतङ्कित
मधेश
 |
माओवादीले जिविसमा च्यातेका
टेण्डर फारम तथा अन्य कागजात। |
बाइस् मङ्सिरमा सप्तरी
जिल्ला विकास समितिको कार्यालयमा टेण्डर खोलिरहेका बेला माओवादीका
२ नं. एरिया इञ्चार्ज महेश यादवको नेतृत्वमा आएको २०–२५ जनाको जत्थाले
आफूले ठेक्का पाउनु पर्ने दावी गर्दै स्थानीय विकास अधिकारी राममणि
भट्टराईसहित जिविसका ६ जना कर्मचारीलाई कुटपीट गरी टेण्डर फारम, दर्ता
रजिष्टर लगायतका कागजपत्र च्यातचुत पारे। यसअघि ६ मङ्सिरमा माओवादीले
आफूले ठेकेदारसँग लिएको रकम इष्टिमेटमा थप्न नमान्ने जिविसका सब–ओभरसियर
उमेश यादवलाई पिटेका थिए।
माओवादीसँगै विद्रोह गरेर गठन भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा
(जतमुमो), जुन अहिले जयकृष्ण गोइत र ज्वाला सिंहका दुई गूटमा विभाजित
छ, का कार्यकर्ताले पनि सप्तरी, सिरहालगायत आसपासका जिल्लालाई आतङ्कित
बनाएका छन्। अहिले पहाडी समुदायका मानिसहरूलाई अपहरण गरी पैसा असुल्ने
काममा सक्रिय मोर्चाका कार्यकर्ताले मङ्सिरमा मात्रै सात जनालाई अपहरण
गरेर दुई जनालाई गाउँवासीको दबाबमा र चार जनालाई फिरौती लिई छाडेका
थिए। उनीहरूले मागेका रु.४ लाख दिन नसक्दा ६ गते कुनौलीमा अपहरित राजविराज–७
का राजकुमार तामाङलाई नछाडिएको उनकी श्रीमती मीनाले बताएकी छन्। हालसम्म
मोर्चाका कार्यकर्ताले २५ जना जतिलाई अपहरण गरी फिरौती असुलेका छन्।
मोर्चाले ७ मङ्सिरमा रामनगर, कोदरकट्टी बस्ने माओवादी कार्यकर्ता शुभकलाल
ठाकुरलाई अपहरण गरेर माओवादी छाड्ने शर्तमा रिहा गरेको थियो।
३ मङ्सिर साँझ मोटरसाइकलमा भारतको कुनौली गइरहेका सप्तरीको रम्पुरा
मल्हनियाँ–७ का बेलाल मियाँलाई 'अज्ञात' व्यक्तिहरूले बर्साइन–३, बनरझ्ुल्लामा
गोली प्रहार गरी मारे। नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सँग सम्बद्ध
३२ वर्षीय मियाँको हत्या भएकै दिन कल्याणपुरस्थित गिरधारी खाद्य उद्योगमा
बम पड्काइयो। दुवै घटनाको जिम्मेवारी कसैले लिएको छैन, न त प्रहरीले
नै अपराधी पत्ता लगाउन सकेको छ।
मोर्चासँग सम्बद्ध व्यक्तिहरूले सिरहाका सांसद कृष्णचरण श्रेष्ठ,
चार माओवादी कार्यकर्ता र तीन सर्वसाधारणसहित आठ जनाको हत्या गरेका
तथा पहाडे समुदायका १७ जनाको जग्गा कब्जा गरेका छन्। सरकार–माओवादी
सम्झ्ौताले मधेशको समस्यालाई सम्बोधन नगरेको बताउँदै मोर्चाको ज्वाला
सिंह गूटले १ पुसदेखि १५ पुससम्म पहाडे मूलका व्यक्तिहरूलाई महेन्द्र
राजमार्गमा सवारीसाधन नचलाउन धम्की दिएको छ।
मानवअधिकारकर्मी प्रकाश खतिवडा माओवादीले इमान्दारिपूर्वक सम्झ्ौता
पालना गरेनन्, मोर्चाका कार्यकर्ता सम्वादको बाटोमा आएनन् र राज्यले
यसनिम्ति उचित वातावरण तयार पारेन भने पूर्वी तराईमा हिंसा र हातङ्क
अरू चर्किने बताउँछन्। गएको ४ असोजमा प्रतिनिधिसभा परराष्ट्र तथा मानवअधिकार
समितिले मोर्चाले थालेको हिंसा र अपहरण तत्काल बन्द गराई उनीहरूलाई
शान्ति प्रक्रियामा सहभागी गराउन सरकारलाई आग्रह गरेको थियो। तर, अहिलेसम्म
सरकारले कुनै ठोस प्रयास गरेको छैन।
•
श्रवणकुमार देव, राजविराज
आलोचना सुन्ने माओवादी अभ्यास
पहिले आलोचना
गर्नेलाई 'सुराकी' र 'दुश्मनका मतियार' भन्दै कारवाही गर्ने गरेका
माओवादीले हिजोका गल्ती–कमजोरी सच्याउने र आगामी दिनमा कसरी जाने विषयमा
सुझ्ाव लिने उद्देश्यले आलोचना र सुझ्ावका लागि आग्रह गर्दै सार्वजनिक
कार्यक्रम गर्न थालेका छन्। यस क्रममा नेकपा (माओवादी), पर्वत जिल्ला
समितिले २५ मङ्सिरमा सदरमुकाम कुस्माबजारमै 'सुझ्ाव तथा आलोचना कार्यक्रम'
गरेको थियो।
कार्यक्रममा माओवादीमाथि शान्ति सम्झ्ौतापछि पनि माओवादीले
जिविसको प्रमुख आयस्रोतको रूपमा रहेको स्थानीय कर उठाइरहेको र आफू
अनुकूलको निर्माण समिति नबनेको निहुँमा मोदीखोलाको पुल निर्माणको काम
रोकेको आरोप लगाइएको थियो। यति मात्र होइन, कार्यक्रममा माओवादीले
गाउँमा धम्की दिन नछोडेको, अन्य दललाई कार्यक्रम सञ्चालन गर्न नदिएको,
आफ्नो पक्षमा लाग्ने बद्माशहरूको संरक्षण गरेको, फरक आस्था राख्नेहरूलाई
दुःख दिने गरेको लगायतका गुनासो सुन्नु परेको थियो। तीमध्ये एउटा प्रश्न
यस्तो पनि थियो– 'सामन्त भनेर चिनिएका केहीलाई संरक्षण दिने, तर सोझ्ा
पूर्णप्रसाद पन्तलाई निर्मम कुटपीट गरी जीवन–मरणको दोसाँधमा किन पुर्याइयो?'
कार्यक्रममा राजनीतिक दलका जिल्लास्तरका नेता र सर्वसाधारणका
साथै प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मी समेतले विभिन्न बहानामा
सदरमुकाम बाहिर अवरोध पुर्याउनुभन्दा सर्वदलीय बैठकमा सहमति खोज्न
सुझ्ाव दिएका थिए। कार्यक्रमका दुई–तिहाई सहभागी माओवादी कार्यकर्ता
नै थिए। माओवादीले 'सर्वसाधारण' भनेर वक्ताको रूपमा निम्त्याएकाहरू
समेत आफू निकट विभिन्न मोर्चाका पदाधिकारी नै थिए। माओवादीले आलोचना
सुन्न र सुधार गर्न तत्पर रहेको बताउँदै निर्धक्कसँग प्रश्न राख्न
आग्रह गरे पनि सर्वसाधारणले सोझ्ै मौखिक प्रश्न नगरी लेखेर प्रश्न
गरेका थिए।
“जनस्तरबाट सुझ्ाव र आलोचना सङ्कलन गर्न कार्यक्रम आयोजना
गरेका हौँ”, माओवादी जिल्ला इञ्चार्ज प्रज्ज्वलन भन्छन्, “सुझ्ाव आत्मसात
गरी नयाँ कार्यक्रम र योजनामा सुधार ल्याउने छौँ।”
•
दुर्गाप्रसाद शर्मा, पर्वत
|