चिठी
• खै मतदाता–सचेतना?
'तयारीबिनाको रटान' (हिमाल आवरण, १६–२९ मङ्सिर) बाट
मुलुकका राजनीतिज्ञहरूमा बोली परिवर्तन भएपनि प्रवृत्ति पुरानै रहेको
स्पष्ट हुन्छ। आगामी जेठभित्र गराइने संविधानसभाको चुनावको तयारी अहिलेसम्म
हुन नसक्नु दुखद् कुरा हो।
संविधानसभाबारे थाहै नभएका जनतालाई सुसूचित नगरी एकैपल्ट
मत खसाल्न लगाउनु पनि व्यावहारिक हुँदैन। चुनावको तयारीसँगै आम मतदातालाई
संविधानसभाका बारेमा जागरुक गराउनु अहिलेको एउटा प्राथमिक काम हो।
यो तत्काल गरिहाल्नुपर्छ।
भुमराज तिवारी
बेल्कोट–७, अमारे डेउडी, नुवाकोट
• धर्म
नबिर्सौं
सीके लालले जापानमा काम गर्ने नेपालीहरूबारे लेख्नुभएको
रिपोर्ट ('काम गर्यो बाँच्यो, १६–२९ मङ्सिर) अतिरञ्जित रहेछ। जापानमा
काम गर्ने अधिकांश नेपालीले कम्तीमा महिनाको रु.१ लाख कमाउँछन्। राम्रो
आम्दानी नभएका र दयनीय अवस्थामा रहेका भनिएकाहरू केही अपवाद मात्र
हुन्। आफ्नो मातृभूमिका लागि केही गर्नेमा अमेरिका, रुस, बेलायत वा
नेपालभित्रै काम गर्ने नेपालीहरूभन्दा कम छैनन् जापानमा काम गर्ने
नेपालीहरू पनि। यहाँ स्थायी आवास अनुमति नहुने र भाषाको पनि कठिनाइ
हुने हुनाले सबै नेपाली स्वदेश नै फर्किन्छन्।
हुन त पत्रपत्रिका बिकाउनका लागि तिनमा छापिने लेखहरूले
नकारात्मक पक्षहरूलाई बढी खोतल्नु पर्छ क्यारे! तर पत्रकारले सत्य
कुरा प्रकाशमा ल्याउने आफ्नो धर्म पनि त बिर्सनु भएन।
धनपति नेपाल
होक्काइडो, जापान
• राजनीतिक
हस्तक्षेप!
'रन्थनिएको एन्फा' (खेलकुद, १–१५ मङ्सिर) मा उल्लिखित
विवरणले 'नेपाली खेलकुद राजनीतिमुक्त नभएको' फेरि एकपल्ट देखाएको छ।
खेलकुद–प्रेमीका लागि यो दुखद् खबर हो। नेपाली खेलकुदमा राजनीतिक हस्तक्षेप
रोकिनुपर्ने माग पहिल्यैदेखि उठ्दै आए पनि खेलकुदमाथि पार्टीहरूको
गिद्देदृष्टि अद्यापि हटेको छैन। यसले नेपाली खेलकुदको सुखद् भविष्य
देखाउँदैन। निर्वाचित समितिलाई विघटन गरेर खुट्टा मोल्ने मानिस खोज्ने
अभ्यास हो यो, राष्ट्रिय खेलकुद परिषदको।
यसरी हरेक क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप आगामी
दिनमा रोकिनुपर्छ। अनि मात्र जनताले लोकतन्त्रको अनुभूति गर्न सक्नेछन्।
ओमकार पाण्डे, बबरे–५, दोलखा
हालः काँडाघारी
• सम्झ्ौता
विपरीत छैनौं
'विवादमा गल्फ कोर्स' (खेलकुद, १–१५ मङ्सिर) एकपक्षीय
र वास्तविकताभन्दा टाढा छ। काठमाडौँ हाउजिङ एण्ड लिजिङले ६ वर्षअघि
धरानस्थित गल्फ कोर्स लिजमा लिँदा त्यो कोर्स गौचरणका रूपमा जीर्ण
थियो। हामीले त्यसलाई आधुनिक गल्फ कोर्सको स्वरुप दिएको कुरा घामजत्तिकै
छर्लङ्ग छ। काठमाडौँ हाउजिङले सो कोर्स व्यावसायिक उद्देश्यले नै लिजमा
लिएको हो। अहिले त्यसलाई नाइट गल्फसमेत खेल्न मिल्ने गरी नयाँ स्वरुप
दिने कार्य भइरहेको छ। यस कम्पनीले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई
बुझ्ाउनुपर्ने रकम जुटाउन र व्यावसायिक खेल प्रवर्द्धनका निम्ति सदस्यता
शुल्क लिनु पनि हाम्रो दृष्टिमा अवाञ्छित होइन। शुल्क नतिर्ने केही
सदस्यले हिमाल लाई गलत सूचना दिएका हुन्।
गल्फ कोर्सछेउमा गाई पाल्ने कुरा प्राविधिक सम्झ्ौतामै
उल्लेख छ। कोर्सभन्दा दक्षिण–पश्चिममा रहेको खाली जग्गाको प्रशस्त
घाँसलाई व्यवस्थित गर्न गाई पालिएको हो। रूख काट्ने कुरा पनि सम्झ्ौताअनुसार
नै भएको हो। काम नलाग्ने हटाउने र नयाँ रोप्दै जाने प्रक्रियामा आँप
तथा अन्य जातिका ११ सय बिरुवा रोप्ने काम भइसकेको छ। अतः जे भएको हो,
त्यसको तथ्यगत रूपमा छानविन गरी समाचार प्रवाह गरिदिनुहुन अनुरोध गर्दछु।
शशिराम भण्डारी
काठमाडौँ हाउजिङ एण्ड लिजिङ
निर्वाण कन्ट्री क्लब
हेल्थ एण्ड गल्फ रिसोर्ट प्रालि, काठमाडौँ
• झ्ूटैझ्ूट
भयो
'हिजोअस्ति जे गरे नि छूटैछूट भयो
लोकतन्त्र र सुशासन खै? झ्ूटैझ्ूट भयो
क्रान्ति, युद्ध भन्दाभन्दै जनता नै मारे
सुरक्षा र शान्ति भन्दै जनता नै मारे
मार्ने दुबै एउटै भए मर्ने मरे गए
जनताका आशाहरू सपना झ्ैँ भए
हत्याराले अब गोही आँसु झ्ारे भयो
गम्भीर हुँदै, दुःख मान्दै मुख बिगारे भयो
नाम भए परिवर्तन काम भा'को छैन
शिक्षा, स्वास्थ्य, रोजगारीमा ध्यान गा'को छैन
सबै भोगी, सबै रोगी जनता पिरेका छन्
जति जोगी आए पनि कानै चिरेका छन्
पापीलाई सजाय खै? माफी मागे हुन्छ
यस्तो चलन भोग्नुपर्दा हाम्रो मन रुन्छ।
इन्द्रकुमार श्रेष्ठ,
ओखलढुङ्गा
•
सच्याइएको
'ब्राण्डको भरोसा' (अर्थ/बजार, १–१५ मङ्सिर) मा रकेट ब्राण्डका उत्पादक
टीएम दुगड समूह हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। – सं.
|