हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | संक्षेप

भारत पुग्यो सिन्धुलीको अदुवा

सिन्धुलीका किसानले उब्जाएको अदुवा भारतका पट्ना, दरभङ्गा, नक्सलबारी, सिलिगुडी लगायतका ठाँउहरूमा निकासी हुन थालेको छ। व्यापारीहरूका अनुसार सिन्धुलीको पञ्जावाल अदुवा भारतको बजारमा समेत निकै रुचाइन्छ। अदुवा भारतमा मसलाका रुपमा मात्र नभई आयुर्वेदिक औषधि बनाउनसमेत प्रयोग गरिने व्यापारीहरू बताउँछन्। तीन वर्षयता यहाँकोे अदुवा भारत निकासी हुँदै आएको हो।

कृषि सेवा केन्द्र दुधौलीका अनुसार आ.व. ०६०/६१ मा सिन्धुलीबाट ८८ टन अदुवा भारततर्फ निकासी भएकोमा ०६२/६३ मा ३५० टन पुगेको छ। यो वर्ष मङ्सिर लागेदेखि नै साताको २८ देखि ४५ टनसम्म अदुवा निकासी भइरहेको छ। यो क्रम फागुनसम्म जारी रहने हुँदा यो वर्ष अदुवाको उत्पादन र बिक्री स्वतः बढ्नेे अनुमान केन्द्रका प्रमुख रामनारायण महतोको छ।

तीन वर्षअघि सिन्धुलीका पहाडी क्षेत्रमा शुरु भएको अदुवा खेती अहिले जिल्लाका दुधौली, सिर्थौली, अरुण ठाकुर, आमबोटे, लाम्पटार, जिनखु, बाहुनतिल्पुङ्ग लगायतका गाउँमा बिस्तार भइसकेको छ। बजारमा माग बढेको र बालीभन्दा राम्रो आम्दानी भएका कारण पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।

उत्पादन बढे पनि अदुवाको बजार भाउ भने घट्दो छ। दुई वर्षअघि किसानले प्रति किलो ३६ रुपैयामा बेच्ने गरेको अदुवाको बिक्री मूल्य अहिले ९ रुपैयामा झ्रेकेा छ। व्यापारी रामचन्द्र महतो भन्छन्, “उत्पादनमा वृद्धि भएकाले भाउ घटेको हो। तर घटेको भाउमा समेत किसानहरू घाटामा छैनन्।” १० कठ्ठा जमिनमा अदुवा लगाएका आम्बोटे–९ का सूर्यबहादुर मगर भन्छन्, “ज्यालासहित १० कठ्ठा जमिनमा अदुवा लगाउन रु. ३० हजार खर्च हुन्छ। तर ९ रुपैया किलोले पनि लागतको चौबर नाफा हुन्छ।”

उत्पादनमा भएको वृद्धिका कारण यसअघि उदयपुरको खोक्सामा सीमित अदुवाको घाटगद्दी (खरीदबिक्री केन्द्र) अहिले सिन्धुलीको रातमाटे, दुधौली र सिर्थौलीसम्म बिस्तार भएको छ। कृषि सेवा केन्द्र दुधौलीका अनुसार ५० भन्दा बढी भारतीय व्यापारीहरू किसानका घरघर पुगेर अदुवा सङ्कलन गरिरहेका छन्।

सन्तोष बराइली, सिन्धुली


अम्लिसो सुक्यो, कुचो घट्नेभो

कुचो, घाँस, दाउरा र डाँठका रूपमा उपयोग हुने इलामको एक प्रमुख नगदेबाली अम्लिसो फुल्ने बेलामा घारीका घारी सुकेर पहेँलपुर भएको छ। इलामको पूर्वी भेगमा दुई–तीन हप्तादेखि अम्लिसोको पात सुक्ने रोग देखिएको हो।

वर्षेनि करीव १० मन कुचो बेचेर झ्ण्डै रु.१२ हजार आम्दानी गर्ने इलाम, गोदक–५ का किसान ऋषि गौतम आफ्नो बारीको हरियो अम्लिसो घारी फुल्ने बेलामा एकाएक सुकेकाले चिन्तित छन्। गोदक लगायत पञ्चकन्या, कन्याम, कोल्बुङ्ग, फिक्कलका अम्लिसोका बगानहरूमा पनि यस्तै रोग देखिएको छ। कतिपय किसानहरू बोट सुक्न नपाउँदै काटेर बस्तुभाउलाई खुवाउन थालेका छन्। मङ्सिरको पहिलो साता फुल्न शुरु गर्ने अम्लिसोबाट पुसभरिमा कुचो टिपिन्थ्यो। मङ्सिरदेखि जेठसम्म घाँस नपलाउने सुख्खा मौसममा बस्तुभाउलाई अम्लिसोकै बोट खुवाइन्थ्यो। अम्लिसोमा लागेको रोगले आगामी सुख्खायाममा पशुपालक किसानहरूको दुग्ध उत्पादनमा समेत असर पार्ने देखिएको छ।

घाँस र कुचोबाहेक दाउरा र डाँठका रूपमा पनि उपयोगी अम्लिसोमा देखिएको रोगको पहिचान हुन सकेको छैन। जिल्ला कृषि विकास कार्यालय, इलामलाई समेत रोगबारे थाहा छैन। कार्यालयका बाली संरक्षण अधिकृत श्रीकान्त पौडेलले अम्लिसोमा फङ्गस, भाइरस र ब्याक्टेरियाबाट यस्तो रोग लाग्न सक्ने भए पनि पछिल्लो रोगको पहिचान गर्न नसकिएको बताए।

सरकारी तथ्याङ्कअनुसार इलाममा ८१.२१ हेक्टर (१६२४ रोपनी) जग्गामा अम्लिसो लगाइएको छ। त्यसबाट उत्पादन हुने वार्षिक औसत १७४ मेटि्रक टन कुचो देशभित्र खपत हुनुका साथै भारत समेत निकासी हुन्थ्यो। प्रतिकिलो सरदर रु.३० मा कुचो बेचेर इलामका किसानले वार्षिक रु.६ करोडभन्दा बढी रकम भि156याउने गरेका थिए। अम्लिसोको खेतीमा इलामका ९० प्रतिशत किसान संलग्न भएका कृषि विकास कार्यालयले जनाएको छ।

रोहितचन्द्र भट्टराई, इलाम


'घरेलु पर्यटनले टेवा पाउन थाल्यो'

शान्ति प्रक्रिया अघि बढ्ने क्रममा पर्यटन क्षेत्रमा नयाँ उत्साह देखिएको छ। तर, नेपाल पर्यटन बोर्डका निर्देशक सुवास निरौला भन्छन्, “यसको सामाजिक तथा आर्थिक असर सन् २००७ मा मात्रै देखिन्छ।”

शान्ति प्रक्रियापछि पर्यटन क्षेत्रमा देख्न सकिने परिवर्तन के हो?
नेपाल भ्रमण गर्न चाहने र हिजोसम्म त्रासका कारण आउन नसकेका विदेशी पर्यटकहरूमा नेपाल जानुपर्छ भन्ने उत्साह बढेको छ। यो सङ्केत मात्रै हो, यसको सामाजिक तथा आर्थिक असर देखिन छ/आठ महिना लाग्छ अर्थात् यसको वास्तविक असर सन् २००७ मा मात्रै देख्न पाइन्छ। अहिले यसले घरेलु पर्यटनलाई टेवा प्रदान गर्ने वातावरण बनाइदिएको छ।

पर्यटन क्षेत्रमा साँच्चिकै विश्वासको वृद्धि भएको छ त?
यो रातारात हुँदैन। त्यसमा पर्यटन व्यवसायी, ट्राभल टूर अपरेटर, मिडिया सबैको सहयोग चाहिन्छ। विश्वासको वातावरण बन्न थालेको छ। देख्न सकिने सुधारका लागि केही समय पर्खनै पर्छ।

शान्ति बहाली भएपछि पर्यटन क्षेत्रमा के भयो त?
चार–पाँच वर्षयता पर्यटन क्षेत्रले कडा प्रहार व्योहोर्नु पर्‍यो। अझ्ै पनि युरोपेली पर्यटकहरूका लागि सोझ्ो हवाई सम्पर्क छैन। अमेरिका, बेलायत जस्ता राष्ट्रले आफ्ना नागरिकलाई 'नेपाल जान उपयुक्त छ' भन्ने खालको 'ट्राभल एड्भाइजरी' जारी गरिसकेका छैनन्। उता भारतबाट आउने पर्यटकलाई पर्याप्त हवाई टिकट उपलब्ध नहुनाले आवागमनमा अवरोध हुने गरेको छ। अहिले सुधारको क्रम शुरु भएपनि देख्न सकिने परिवर्तन आउन केही समय पर्खनै पर्छ।

बद्लिँदो परिवेशमा नेपाल पर्यटन बोर्ड के गरिरहेको छ?
आफूलाई 'रिपोजिसन' गर्नुपर्ने अवस्था छ। संस्थालाई पुनर्संरचना गर्नु जरुरी छ। उपलब्ध साधनस्रोतलाई सक्दो सदुपयोग गर्ने कुरामा नयाँ मान्यतालाई अँगाल्ने सोच छ। अहिलेसम्म हाम्रो साधनस्रोत पर्यटन प्रवर्द्धन र बजार व्यवस्थापनमा सीमित छ। त्यसलाई पर्यटन क्षेत्रको पूर्वाधार विकासतर्फ पनि परिचालन गर्न सकिन्छ। तुरुन्तै देखाउने कुरा चाहिँ सन् २००७ लाई 'पोखरा भ्रमण वर्ष' का रुपमा मनाउने हाम्रो योजना छ।

पछिल्लो समयमा भइरहेका स्थानीय महोत्सवहरूको औचित्य के हो?
यस क्षेत्रका सरोकारवालाहरूको पर्यटनप्रतिको चेतना, संलग्नता र स्वामित्व बढाउनका लागि यस्ता उत्सव/महोत्सवहरूको आयोजना गरिएको हो। यसको दीर्घकालीन प्रभाव भनेको उद्यमशीलता र मानव संसाधनको विकास पनि हो। यसले प्रयोगविहीन भएर बसेको तरलतालाई अर्थतन्त्रमा प्रवाह गर्छ। यस्ता महोत्सवहरू स्थानीय मनोबल उकास्ने संयन्त्र पनि हुन्।

आन्तरिक पर्यटनको विकासका लागि के गर्दै हुनुहुन्छ?
यो हाम्रो मुख्य मुद्दा हो। हामीले कर्मचारीहरूलाई वर्षको एकपटक छुट्टी मनाउनका लागि तलबी बिदाको सुविधा दिन सरकारसँग अनुरोध गरेका छौँ। विगतमा उपत्यकामा सीमित हप्ताको दुई दिनको बिदामा मानिसहरूमा छुट्टी मनाउन जाने प्रवृत्ति बढेको थियो। त्यसलाई देशव्यापी गर्नुपर्छ भनेका छौँ। सँगै यहाँका पर्यटन व्यवसायीहरूमा रहेको स्वदेशीहरूलाई उति सारो महत्व नदिने प्रवृत्तिलाई निरुत्साहित गर्न विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच पनि छ।


लक्ष्मी बैंकको आठौं शाखा

राजधानीको एक प्रमुख व्यापारिक क्षेत्र टेकु तथा कालिमाटीमा ब्यािङ्कङ सेवा बिस्तार गर्ने उद्देश्यका साथ लक्ष्मी ब्याङ्कले आफ्नो आठौँ शाखाका रुपमा टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखामार्फत ग्राहकहरूले अत्याधुनिक सूचना प्रविधिसहितको ब्यािङ्कङ सेवा प्राप्त गर्नेे ब्याङ्कले जनाएको छ।

निर्व्याजी किस्ताबन्दी योजना

तपाईको परिवारको खुसीमा नयाँ रङ्ग भर्ने सरल उपाय' भन्ने नाराका साथ जापानी कम्पनी सोनीको आधिकारिक वितरक नेपाः हिम ट्रेड लिंकले निर्व्याजी किस्ताबन्दी योजना ल्याएको छ। विभिन्न ६ वटा व्याङ्क तथा सहकारी संस्थासँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताहरूले निर्व्याजी किस्ताबन्दीमार्फत सोनीका ह्याण्डिक्याम, म्युजिक सिस्टम, होम थिएटर लगायतका उपकरणहरू किन्न सक्ने कम्पनीले जनाएको छ।

फुजीफिल्मसँग रेन्बो आवद्ध

एक्काइस वर्षदेखि फोटोग्राफी सम्बद्ध कारोबारमा संलग्न रेन्बो ग्रुपले नेपालका लागि फुजीफिल्म, जापानको आधिकारिक विक्रेताको हैसियत प्राप्त गरेको छ। आधिकारिक विक्रेतामा नियुक्त भएलगत्तै रेन्बोले फुजीफिल्म मिनिल्याबका दुईवटा मोडल– फ्रन्टियर डिजिटल ५०० र फ्रन्टियर डिजिटल ५५० सँगै फोटोग्राफीका विभिन्न उपकरण सार्वजनिक गरेको थियो। कम्पनीले आउँदा दिनमा फोटोग्राफीका अत्याधुनिक उपकरणहरू भि156याउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छ।

'ब्याङ्क अफ दि इयर' एभरेष्ट ब्याङ्क

एभरेष्ट ब्याङ्क, यो वर्षका लागि लण्डनस्थित फाइनान्सियल टाइम्स समूहको 'द ब्याङ्कर' बाट 'ब्याङ्क अफ द इयर–२००६' बाट सम्मानित भएकोे छ। ब्याङ्कले हासिल गरेको उपलब्धि, पूँजीमा भएको वृद्धि, संस्थागत सञ्चालन, लगानीकर्तालाई दिइएको प्रतिफलका आधारमा सो उपाधि पाउन सफल भएको ब्याङ्कले जनाएको छ। वर्षेनि हरेक मुलुकको एउटा ब्याङ्कलाई प्रदान गरिने सो उपाधि यसअघि सन् २००३ र २००५ मा नेपाल इन्भेस्टमेन्ट र सन् २००४ मा नविल बैंकले पाएका थिए।

एसओआईको 'क्यास रजिष्टर'

एसओआई प्रा.लि.ले पसल तथा डिमार्टमेन्टल स्टोरको कारोबारको लगत राख्न सकिने एसएएमफोएस इलेक्ट्रोनिक क्यास रजिष्टर मेशिन बजारमा भि156याएको छ। राजस्व विभागले तोकेको मापदण्ड अनुरुपकोे उक्त कोरियन मेशिनले बार कोड पढ्न र कारोबारलाई प्रिन्टरमार्फत् छाप्न सक्छ। एक वर्ष वारेन्टी दिइएको यो उपकरण बिजुली नभएको खण्डमा आन्तरिक ब्याट्रीबाट १५ घण्टासम्म चल्ने कम्पनीले जनाएको छ।

पल्सरको नयाँ संस्करण

बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्दले बजाज पल्सरको परिस्कृत संस्करण बजारमा ल्याएको छ। बजाज पल्सर यूजी ३ मा डिजिटल इण्डिकेटर जडान गरिएको छ। १५० सीसी तथा १८० सीसी इञ्जन क्षमताको नयाँ पल्सरको मूल्य क्रमशः रु. १ लाख ४७ हजार तथा रु. १ लाख ५५ हजार रहेको छ।